विज्ञान र प्रविधिको उच्चतम विकासले मानव जीवन अत्यन्त सरल र सहज बनेको अहिलेको समयमा यसैका कारण उत्पन्न समस्याहरुको समाधानका लागि विश्वकै ध्यान केन्द्रित भएको छ । विज्ञान विकासको उच्चतम् अवस्थामा आइपुग्दा पृथ्वी तात्दैछ, पानी सुक्दैछ, जंगल मासिंदैछ, खुला जमिन मिचिदैछन्, नदी प्रदूषित हुँदैछन् । यसको प्रत्यक्ष असर मानव समाजलाई मात्र होइन प्राकृतिक सन्तुलनमाथि नै पर्नेछ । अनेक विपत्ति र महामारीको सामना गर्नुपर्ने अवस्था आउँदैछ । विकासको अर्थ जीवन सहज बनाउने हो कष्टकर बनाउने होइन । विकसितको अर्थ सम्पन्न हुनु हो त्रासमा जीवन बिताउनु होइन । अहिले विकसित भनिएका औद्योगिक राष्ट्रहरुको कारण नेपाल जस्ता मुलुकहरुले समस्या भोगिरहेका छन् । विकसित देशले उर्त्र्सजन गरेको हरित गृह ग्यासको प्रभाव नेपालको हिमालमा परेको छ । यसको प्रभाव जलस्रोतमा परेको छ । नेपालमाथि अनेक विपत्ति आउने संकेत गरेको छ । जलस्रोतमा धनी मानिएको नेपालका जनताले समेत पेटभरी खानेपानी पाउन सकेका छैनन् । विकास गर्ने नाममा विनाश निम्त्याउँदै गर्दा जीवन दायिनी पानीको यस्तो हाहाकार हुँदैछ ।
पानी जीवन हो । हाम्रो शरीरमा अधिकांश भाग पानीकै हुन्छ । चाहे वैदिककाल होस् चाहे आधुनिक काल पानीको विकल्प छैन । उतिबेलादेखि अहिलेसम्म पानीको बहुबिध अर्थ र प्रयोग हुँदैआएको छ । पानीविनाको संसार कल्पना गर्न सकिदैंन । यतिबेला वैज्ञानिकहरु मंगल ग्रहमा पानीको अंश छ कि छैन भनेर अनुसन्धान गरिरहेका छन् । यदि त्यहाँ पानीको अंश फेला पर्यो भने जीवको अस्तित्व कुनै बेला थियो भन्ने निष्कर्षनिस्कने छ र मानव वस्तीका लागि समेत मंगल ग्रह उपयुक्त हुने निष्कर्षनिकालिने छ । यसले पानीको महत्व कति छ भन्ने स्पष्ट पार्छ । पानीविना जीवन मात्र होइन जगतकै कल्पना गर्न सकिन्न । असाध्य रोगको उपचारदेखि फोहर सफा गर्न, तिर्खा मेट्न, शितलता प्रदान गर्न, न्यानो प्रदान गर्न हरेक पक्षमा पानी आवश्यक छ । यसै भएर यसलाई जीवन भनिएको हो । तर यही जीवन प्रदान गर्ने पानीका स्रोतहरु प्रदूषित हुँदैछन्, अतिक्रमित हुँदैछन् र मासिंदैछन् ।
आज पानीका लागि अनेक द्वन्द्व चलेको छ । नेपालमाथि विदेशीको चासोको एउटा प्रमुख कारण पनि पानी नै हो । नेपालमा रहेको अपार जलस्रोतको एकलौटी दोहन गर्न तम्सेका विदेशीहरुले नेपालमा अनेक किसिमबाट लगानी गरेर नेपालको पानीमाथि हैकम जमाउने प्रयास गरिरहेका छन् । अर्कोतिर जनता पानी खान नपाएर प्याकप्याक्ती परिरहेका छन् । अथाह जलस्रोतको भण्डार रहेको नेपालमा नेपाली जनता पेटभरि पानी पिउन नपाउने अवस्था विद्यमान छ । पिता पर्ुखाले आफ्ना सन्ततिका लागि जोगाएर राखेका धारा, कुवा, इनार, पोखरी तथा नदी-नालाहरु पनि सुक्दै गएका छन् । राजधानीका ४ सयभन्दा बढी ढुङ्गे धारा र ३ सयभन्दा बढी पोखरीहरुको अस्तित्व मेटिंदैछ । एक दशक अघिसम्म चौबीसै घण्टा पानी झर्ने ढुङ्गे धाराहरु यतिबेला सुकेका छन् । अर्कोतिर पोखरीहरुको हालत पनि उस्तै छ । काठमाडौंको मुटुमा रहेको रानीपोखरीको माछा जोगाउन ट्यांकरबाट पानी खसाल्नुपर्ने नियति हाम्रा सामु छ ।
राजधानीमा खानेपानीको ठूलो संकट छ । यसको निवारणका लागि मेलम्ची ल्याउने तयारी भैरहेको छ तर, यो हल्ला चलेको पनि आधा दशकभन्दा बढी समय भैसक्यो । काम कति भयो त्यसको कुनै मूल्यांकन छ्रैन । अर्कोतिर उपत्यकाभित्रै रहेका खोलानालाहरु प्रदूषित भएर ढल निकासको माध्यम बनिरहेका छन् । उपत्यकाको सभ्यता मानिने बागमतीकै अवस्था अहिले नाजुक छ । खोलानालाहरु सुक्दै, प्रदूषित हुँदै र भासिदै जाने क्रम एकातिर बढिरहेको छ भने अर्कोतिर भूमिगत जल पनि घट्दै गएको विज्ञहरुको दावी छ । काठमाडौंको भूमिगत जलसतह ५ मिटर तल झरेको जानकारी र्सार्वजनिक हुँदा पनि न विकासविद् न योजनाविद् न राजधानीबासीमै कुनै चेतना आएको छ । ५ मिटर जल सतह घट्नु भनेको कुनै पनि बेला राजधानी भासिनु हो । तर यसप्रति कसैको ध्यान गएको छैन । बागमती सभ्यता बचाउनर्ुपर्छ भनेर लागिपर्नेहरुको आवाज मधुरो छ । नदी प्रदूषणमुक्त राख्नर्ुपर्छ भन्नेहरुको योजना कसैलाई चासोको विषय पनि बन्दैन ।
अन्ध शहरीकरणको मार काठमाडौं उपत्यकामा मात्र होइन देशैभरि छ । हरेक जिल्लाका मुख्य नदीहरु प्रदूषित नै भएका छन् । नदीको वहावमा नै अवरोध ल्याउने गरी अतिक्रमण गरिएका छन् । पैसा कमाउने धुनमा नदीको सतहमा नै गडबडी आउने गरी बालुवा चोरी भैरहेका छन् । आजभन्दा २० वर्षअघिको बागमती नदी र अहिलेको बागमती नदीको तुलनै हुन सक्दैन । नदीलाई नदीको स्वरुपमा राख्न नसकेपछि भोग्नुपर्ने अनेक समस्याहरु राजधानीले भोगिरहेको छ । खानेपानीका लागि यता उता भौतारिंदै हिंड्नुपरेको छ ।
कुरा खानेपानीको समस्यासंग मात्र सम्बन्धित छैन । अब राजधानी उपत्यकाको भविष्य पनि गाँसिएको छ । अव्यवस्थित शहरीकरणको मार खेपेको उपत्यकाले विकास निर्माणसंगै भूमिगत जलको सतह समेत घटाउँदै लगेको छ । भवन निर्माणदेखि सडकलाई पक्की र कालोपत्रे गर्नेसम्मका कार्यमा वातावरणीय पक्षलाई ध्यान नदिंदा नै यस्तो संकट उत्पन्न भएको हो । घरघरबाट निस्केको फोहरमैला ढलबाट नदीमा मिसाउने कार्यलाई रोक्न सकिएको छैन । हरेक घरमा सेफ्टी ट्यांक निर्माण गर्नैपर्ने नियम भए पनि त्यसको अनुगमन छैन । घरको फोहर ढलबाट सिधै नदीमा मिसाइन्छ । वषर्ाको पानी पनि ढलबाटै निकास हुन्छ । जमिन भिज्न पाउँदैन । अनि खानेपानीको समस्या समाधानका लागि मेलम्ची र के के ल्याउनेभन्दै कमिशन कुम्ल्याउन पल्केकाहरु मुख मिठ्याएर बसिरहेका हुन्छन् । हाम्रो आफ्नै कारणले यो दर्ुदशा निम्तिरहेको छ ।
आगामी दिनमा पानीका लागि ठूलो संर्घष्ा हुने भविष्यवाणी धेरै पहिले नै भैसकेको छ । विश्वव्यापी औद्योगिकीकरणले निम्तिएको वातावरणीय प्रदूषण र तापक्रममा भएको वृद्धिले प्राकृतिक सन्तुलन नै व्रि्रन थालेको छ । वषर्ा हुनुपर्ने समयमा खडेरी पर्नु, आकाशमा अनेकथरि बादल देखापर्नु, विकिरणयुक्त हावा वहनु, पानी प्रदूषित हुनु जस्ता पक्षहरु जलवायु परिवर्तनसंग सम्बन्धित छन् । यसको प्रत्यक्ष असर मानव शरीरमा भित्रिएका अनेक रोगव्याधीले नै देखाइसकेको छ । दशकौं पहिले निर्मुल भएका रोगहरु पुनः बल्झन थालेका छन् । पशुबाट मानिसमा र्सर्ने रोगहरु अब मानिसबाट मानिसमै र्सन थालेका छन् । हिमाल पग्लदैछ र समुद्रको सतह बढ्दैछ । नदीहरु प्रदूषित हुन थालेपछि त्यसका किनारका वस्ती र संचित हुने भूमिबाट उत्पादिन अन्न पनि प्रदूषित हुन थालेको छ । माटोको उर्वराशक्ति कमजोर बन्दैछ । जैविक खेती प्रणाली अपनाउनुको साटो थोरै समयमा धेरै उत्पादन गर्ने लोभमा अनावश्यक रासायनिक पदार्थको प्रयोगले खाद्य वस्तुहरु विशाक्त मात्र बनिरहेका छन् । यसले तत्कालको भोक मेट्ने काम गरे पनि शरीरलाई चाहिने आवश्यक तत्व दिनुको साटो रोगव्याधी मात्र निम्त्याइरहेको छ ।
काठमाडौंको जनघनत्व विश्वका अग्रणी शहरको हाराहारीमा छ । सुविधा, मौका र सेवा सवै केन्द्रिकृत भएकै कारण मन्दिर संस्कृतिको प्रतीक मानिएको मन्दिरै मन्दिरको हराभरा शहर अहिले कंक्रिटको अव्यवस्थित जंगलमा परिणत भएको छ । यसको परिणाम यहाँका ढुङ्गेधारा सुके, पानी पोखरी सुके, नदी प्रदूषित भए । शितल हावा वहने वन जंगल मासिए, उपत्यका प्रदूषित भयो । यसका कारण अनेक समस्याको समना गर्नु परिरहेको छ ।
वैदिक संस्कृतिमा हर्ुर्केको हाम्रो समाजमा ध्वनि, वायु र जल प्रदूषणबाट बचाउने अनेक उपाय पर्ुखाले सिकाएका भए पनि त्यसको पालना भएको छैन । उतिबेलै वायु, जल र ध्वनि प्रदूषण गर्नु हुन्न भन्ने ज्ञान भएका हामी नेपालीहरु अहिले आएर यसको मर्म बुझ्न थालेका छौं ।
नयाँ नेपाल निर्माणदेखि आधुनिकताको जतिसुकै बखान गरे पनि पिता पर्ुखाले उत्तराधिकारमा छाडेको सांस्कृतिक सम्पदाको यथावत रक्षा गर्न नसक्ने हो भने हाम्रो मौलिक पहिचान नै समाप्त हुनेछ । बाबुबाजेले जोगाइदिएको धरोहरहरुकै संरक्षण गर्न नसक्नेले नयाँ र आधुनिक नेपालको सपना नदेखे हुन्छ । तैपनि विकासे नारा भट्याउन छाडिएको छैन । विकास गर्ने भनेको समग्रतामा सवैको हित हुने काम हो । तर यहाँ एउटा सम्भ्रान्त व्यक्तिको हितको लागि सिंगो समाजलाई अहित हुने काम गर्ने गरिन्छ । बागमती प्रदूषित हुनुको मुख्य कारण यस्तै हो । नदी जव जव शहरी क्षेत्रतिर प्रवेश गर्छ त्यसपछि नाक थुनेर हिंड्नुपर्ने अवस्था आउँछ । यसको एउटै कारण अव्यवस्थित शहरी विकास र त्यसलाई सघाउने नीति निर्माताहरु नै हुन् । ढलको साटो सेफ्टी ट्यांक बनाएर ढलबाट पानी मात्र निकास गर्नुपर्ने कडा कानुनी प्रबन्ध र प्रभावकारी अनुगमन भएको भए बागमती प्रदूषित हुने थिएन र पानीविनाको अवस्था आउने थिएन ।
आकाशे पानी संकलन गर्ने हो भने काठमाडौंमा देखिएको खानेपानी समस्या आधा समाधान हुने विज्ञहरुको दावी छ । त्यस्तै घरघरमा सेफ्टी ट्यांक निर्माण गर्ने र शहरी क्षेत्रमा आकाशबाट परेको पानी जमिनमुनि विर्सजन गर्ने प्रविधिको विकास गर्ने हो भने भूमिगत जलको सतह बढ्नेछ । उपत्यकाभित्रका नदीनालालाई स्वच्छ राख्ने र यहाँ भएका पानीका अन्य स्रोतहरुको उपयोग गर्ने हो भने मेलम्चीको सपना बाँडिरहनु पर्दैन । विकासले जनतालाई सहजता दिनुपर्नेमा यहाँ सकस मात्र दिइरहेको छ । नदी किनारलाई अतिक्रमण हुनबाट बचाउने र उपत्यकाका पहाडहरुलाई सुरक्षा प्रदान गरिरहेको डाँडा र थुम्काहरुको संरक्षण कार्य तत्काल गर्नुपर्दछ । अहिले घरजग्गा कारोबार गर्नेहरुले वातावरणीय प्रभावको ख्यालै नगरी डाँडा र थुम्काहरुमा डोजर कुदाउने गरेका छन् । यसले भविष्यमा राजधानीको प्रदूषणलाई अझ बढाउने छ । तर्सथ शहरी विकासका लागि स्पष्ट नीति आवश्यक छ र राजधानीको वातावरण स्वच्छ र नदी प्रदूषित हुनबाट बचाउन स्पष्ट दृष्टिकोणसहित आवश्यक गुरुयोजना ल्याउनु कुनै पनि वहानामा ढिलाई गर्नु हुँदैन । अरुकै नक्कल गरेर आधुनिक बन्ने होडवाजी बढिरहृयो भने काठमाडौं उपत्यकाको मात्र नभै नेपालको सभ्यता नै खतरामा पर्ने निश्चित छ ।