तीन वर्षअघिसम्म मुलुकमा अनेकतामा एकताको सुगन्ध थियो । आज त्यो सुगन्ध विभाजन र फुटको दर्ुगन्धमा परिणत भएको छ । हिजो नेपाल र नेपालीको विशेषताको फर्ुका गास्नुपर्दा अनेकतामा एकताको चर्चा गरिन्थ्यो । आज यो विशेषताको विपरीत अर्थ लाग्न थालेको छ । राजनीतिक शक्ति आर्जनको भोक जागेका अघासुरहरूले मुलुकको एकतालाई छिन्नभिन्न पार्दै राष्ट्रिय एकता नै तहस नहस हुने गरी नेपाली भूमिमा विभाजनको बीउ छरिदिएका छन् । यही विभाजन र फुटको बीउले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको अवमूल्यन गरायो । हिन्दु राष्ट्र भैकन पनि धार्मिक सहिष्णुताको बेजोड नमूना रहेको नेपालमा धार्मिक सद्भाव खल्बलियो । चार वर्ण्र्ाात्तीस जातको साझा फूलबारीमा साँढेहरूले सिंगौरी खेल्न थाले । नेपाल यतिबेला यस्तै दुष्चक्रको जाँतोमा पिसिएको छ । यतिबेला नेपाल विघटनको सम्भावित दर्ुघटनाको पीडाले छटपटिएको छ । नेपालको जातिय विशेषता, धार्मिक-सांस्कृतिक महत्वलाई बुझेर राष्ट्र एकीकरण गर्ने पृथ्वीनारायण शाहले कुनै पनि राज्यलाई गोर्खाको धर्म, संस्कृति नलादेर त्यसलाई संरक्षण गर्दै अघि बढे । भन्नेहरू पृथ्वीनारायण शाहलाई तानाशाही र साम्राज्यवादी भन्ने गर्दछन् तर उनले काठमाडौं उपत्यकामा विजय हाँसिल गरेपछि नेवार परम्पराअनुसार कुमारीको हातबाट टीका लगाएर आशर्ीवाद लिए । दरबारहरूमा बनेका मल्ल राजाहरूको सालिकमा सुनको जलप लगाउन लगाए । त्यसलाई उखेलेर फालेनन् वा त्यो ठाउँमा आफ्नो बनाउन लगाएनन् । जातिय सद्भाव र धार्मिक-सांस्कृतिक सहिष्णुताको बेजोड नमूना पृथ्वीनारायण शाहले देखाएका छन् । उनले आफ्ना दिव्य उपदेशहरूमार्फ नेपालको वास्तविक चित्र कोरेका छन् । नेपालका शासकहरूले ख्याल गर्नुपर्ने नीति निर्देश गरेका छन् । नेपालको यही विविधतायुक्त विशेषतालाई चिनेर पृथ्वीनारायण शाहले चार वर्ण्र्ाात्तीस जातको साझा फूलबारीको रुपमा नेपाललाई व्याख्या गरेका हुन् ।
फूलबारीरुपी यो साझा बगैंचामा फुल्ने, फक्रने हरेक फूलको आफ्नै विशेषता छ, आफ्नै मौलिकता छ र आफ्नै अस्तित्व छ । यसैकारण यो फूलबारीलाई कसैले विखण्डित गर्न सकेन, कसैको दासत्व स्वीकार्नु परेन र यो निरन्तर आफ्नो शिर उच्च पारेर विश्व मानचित्रमा आज पर्यन्त र्सगर्व उभिएको छ । नेपाल र नेपालीको यही विशेषताले हामीलाई आजसम्म नेपाली भन्नमा गौरवको अनुभूति हुन्छ । माथिका कथनहरू नेपाली परम्पराका हुन्, नेपाली विशेषताका हुन्, जो शाश्वत छ, अजर र अमर छ । तर यस्तै विशेषताभित्र घोत्लिंदै जाँदा आजभोलि अनेकतामा एकता नभई एकतामा अनेकता देखापर्न थालेको छ । समग्र मुलुकको राजनीतिक, आर्थिक, सामाजिक वातावरण अहिले द्वन्द्वको चपेटामा परिरहेको छ । विविधतायुक्त नेपाली समाजको त्यो वास्तविकता इतिहासको एउटा कुनामा थन्कने पो हो कि भन्ने चिन्ता आमरुपमा जागृत छ । इतिहासले वर्तमान र भविष्यलाई मार्गदर्शन गर्नुपर्नेमा इतिहास नै नामेट गर्ने अभियान चलिरहेको छ ।
प्रसङ्ग एकतामा अनेकताकै हो । उपरोक्त प्रसङ्गहरूले अनेक सोच र संस्कार राख्ने, उद्देश्य अनेक बोक्ने, नयाँ बनाउने भन्दै राज्यको समग्र संरचना ध्वस्त पार्न लागिपर्नेहरूबीचको एकताले अनेकताको दर्ुगन्ध फैलाइरहेको छ । संविधान निर्माण गर्ने दायित्वलाई छाडेर मुलुकभित्र कहिल्यै ननिभ्ने र यसअघि कहिल्यै नसल्केको आगो सल्काउने होडवाजी सुरु भएको छ । संविधानसभाले सबै समस्याको समाधान गर्छ भन्दै हरेक पक्षसित गरिएका सम्झौताको कार्यान्वयन हुनर्ुपर्छ भन्दै आन्दोलनहरू हुन थालेका छन् । हिउँदयाम त्यसै पनि आन्दोलनको मौसम हो । तर आन्दोलन मुलुकलाई समृद्ध बनाउन र जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउन भन्दा पनि जनता-जनताबीच फाटो ल्याउने, धोती-टोपी, कछाड-भोटोबीच द्वन्द्वको बीउ रोप्न अग्रसर देखिएको छ । एउटा बाहुन सात ठाउँमा पुगेर सातथरि भेषभुषामा सजिँदै नाच्दै-गाउँदै 'आजदेखि तिमीहरूको गणराज्य भयो गरिखानु' भन्दै ब्रहृमाजीले मानसपुत्रलाई आदेश दिएको शैलीमा जातिय राज्यहरूको घोषणा गर्दै हिंड्छन् । काठमाडौं उपत्यकालाई नेवारहरूको राज्य बनाउने पहिलो घोषणा माओवादीले गर्यो त्यसपछि अर्को कुनै संस्थाले पनि गर्यो । काठमाडौंमा दर्ुइवटा नेवाः गणराज्य बनेको छ । त्यस्तै काठमाडौंभित्रै बस्ने ६५ प्रतिशतभन्दा बढी अरु जातिले आफ्नो गणराज्य घोषणा गरे भने त्यसबाट उत्पन्न हुने अकल्पनीय अवस्थाको जिम्मा कसले लिने - नयाँ बनाउने भनेर लागिपर्नेहरू पुरानै एकढिक्का नेपालको संरक्षण गर्न नसक्ने हैसियतका रहेछन् भनेर बुझन अब कुनै आइतबार पर्खनु पर्दैन ।
हिमालको भोटेदेखि तर्राईको यादवसम्म सबैले आफ्नो जन्मभूमि नेपाल हो भन्थे तर अब नेपाल होइन भोटे राज्य वा मधेश भन्ने भएका छन् । काठमाडौं देशकै राजधानी थियो अब यो नेवारहरूको मात्र राज्य हुने भयो । यहाँका अन्य जातजाति, उद्योगी-व्यवसायीहरूको हैसियत के हुने हो पत्तो छैन । जति पनि जातिय राज्यहरूको घोषणा भएको छ यसलाई 'प्रचारात्मक' मात्र भने पनि यसको नतिजा भनेको विषवृक्षकै हुन्छ । विष रोपेर त्यसबाट अमृतको आश गर्न सकिन्न । एकीकृत नेकपा माआवादीले जनयुद्धकालदेखि उठाउँदै आएको 'जातिय स्वशासन'लाई यतिबेला जातिय गणराज्यको रुपमा विभाजित गरेको छ । नेपालको भूखण्ड कुनै जात विशेषलाई बाँड्ने हैसियत माओवादीलाई कसले दियो पत्तो छैन । संविधानसभामा प्रतिनिधित्व गरेका दलहरूले यस विषयमा माओवादीसंग प्रश्न सोध्ने हिम्मत गरेका छैनन् । जे नहुनुपर्ने थियो त्यो भैसकेको छ । प्रचारात्मक भनिए पनि मुलुकमा विखण्डनको बीउ रोपिइसकेको छ ।
संविधानसभा सक्रिय रहेकै समयमा माओवादीले घडेरी दलालले 'जग्गा प्लटिङ्ग' गरेजस्तो भूमिको भागवण्डा लगायो । यसले भविष्य सुखद् बनाउँदैन । राज्य पुनःसंरचना आयोग बन्नै नसकेको अवस्थामा एकातिर छ भने अर्कोतिर राज्यको स्वरुपको निर्धारण गर्ने काम संविधानसभाको हो । संविधानसभालाई समेत ओझेलमा पारेर यसको मानमर्दन गरेर गरिएको जातिय गणराज्य घोषणाले त्यो दलबाट मान्यता पाए पनि त्यसको कानुनी र वैधानिक हैसियत हुँदैन तर यसले एउटा द्वन्द्वको विजारोपण भने अवश्य गरेको छ । आज गणराज्यहरूबीच सिमानाको विवाद उत्पन्न हुन थालेका छन् । यसलाई सच्याउन माओवादीले अब ६ वटा गणराज्यमा जानुपर्ने बहस छेडेको छ । यो सब माओवादीले मुलुकलाई 'कठपुतली' ठानेर खेल खेलिरहेको मात्र हो । मुलुक खेलौना होइन भन्ने बुझ्न सकेको देखिएन ।
राष्ट्रमा जातिय विद्वेषको बीउ रोपियो भने त्यसले समृद्धिको ढोका उघार्दैन । जातिय राज्यहरूले मुलुकलाई स्थिर राख्दैनन् । आज एउटा जातिको राज्य, भोलि अर्को जातिले आफ्नो हक अधिकार खोज्न थाल्छन् । संघीयता अपनाएको भारतमा ६० वर्षभैसक्दा पनि नयाँ नयाँ राज्य जन्मिने क्रम जारी छ । भारतमा अब छिट्टै तीनवटा नयाँ राज्यहरूको जन्म हुने संकेत देखिएको छ । अझ भारतको संरचना संघीयताका लागि उपयुक्त थियो भनिन्छ । किनभने अंग्रेजले सयौं राज्य जितेर विशाल भारत बनाएको थियो । संघहरूको निर्माण पनि हिजोको राज्यलाई हेरेरै बनाइएको छ । यदि संघीयताले मुलुकलाई सम्पन्न पार्ने, लोकतन्त्रको संस्थागत विकास गर्ने निश्चित हुँदो हो त विश्वका १७० भन्दा बढी मुलुक एकात्मक शासन प्रद्धतिमा जाने थिएनन् । संघीयतामा गएका मुलुकहरूमध्ये थोरै मुलुकमा मात्र स्थिरता कायम छ । कतिपय मुलुकहरू त टुक्राटुक्रा भएर शक्तिहीन भएका छन्, कतिपय मुलुकहरूको अस्तित्व नै मेटिएको छ ।
यो विश्व राजनीतिक इतिहास मात्र होइन २० औं शताब्दीको अन्त्य र २१ औं शताब्दीको सुरुवातका दिनहरूमा मुलुक विघटन हुने र नयाँ नयाँ मुलुकको जन्म हुने क्रम रोकिएको छैन । ती मुलुकहरू धर्म, सम्प्रदायका आधारमा विभाजित भएका छन् । नेपालमा अहिले जसरी राष्ट्रिय एकतामाथि नै खलल पुग्ने गरी जातिय नारालाई प्राथमिकता दिइएको छ यो मुलुकका लागि दर्ुभाग्यको सूचक मात्र हो । मुलुकलाई खण्डित गर्ने षड्यन्त्र हो । संघीयताको साटो मुलुकमा स्थानीय स्वशासन दिनर्ुपर्छ र शक्ति विकेन्द्रीकरण गर्नुपर्ने आवाज उठिरहे पनि त्यसको सुनुवाई छैन । संघीयतामा जानु हुन्न, मुलुक विभाजित हुनुहुन्न भन्नेहरूको मानमर्दन गर्ने गरिएको छ । त्यस्ता राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाउनर्ुपर्छ भन्ने आवाज उठिरहेका छन् । मुलुकको राष्ट्रिय एकता, जातिय सद्भाव, धार्मिक-सांस्कृतिक सहिष्णुता खलबलिएको छ । परिवर्तनको नाममा राष्ट्र नै खण्डित हुने भय पैदा भएको छ ।
अहिले मुलुकले खोजेको एकता हो र त्यो एकता राजनीतिक दलहरूबीच राष्ट्रियताका विषयमा एकमत भएर सामूहिक आवाज उठाउने हैसियत बनाए मात्र कायम हुन्छ । तर अहिलेसम्मको वास्तविकता के भने दलका नेताहरूमा राष्ट्रिय चिन्तनशीलताको अभावमा त्यस्तो काम हुन सकिरहेको छैन । बाहृय षड्यन्त्र र निर्देशनको प्रभावमा परेर प्रमुख राजनीतिक शक्तिहरूबीच दूरी मात्र पैदा भैरहेको छ । अर्थात् बाहृय शक्तिहरूले जे चाहेका थिए नेपालमा त्यही भैरहेको छ । यसलाई नेपालमा विखण्डनको बीउ रोप्न चाहनेहरूको सफल रणनीतिको रुपमा बुद्धिजीवीहरूले लिन थालेका छन् । नेपाललाई कमजोर बनाएर, द्वन्द्वमा फसाएर यहाँका प्राकृतिक स्रोत साधन हत्याउन चाहने बाहृय शक्तिको चालवाजी नेताहरूले बुझेर पनि त्यसको प्रतिकार गर्न सकिरहेका छैनन् । हाम्रो विडम्वना नै यही हो । यतिबेला नेपालको एकीकृत र्सार्वभौमिक अखण्डता कमजोर हुँदै गैरहेको छ । मुलुक पुनः टुक्रा टुक्रामा विभाजित हुने भय मडारिएको छ । राष्ट्रिय एकतामा चारैतिरबाट प्रहार भैरहेका छन् । यसले नेपालको परम्परागत मौलिक पहिचान नै मेटाउन सक्ने खतरा उत्पन भएको छ । मुलुक कहिल्यै ननिभ्ने द्वन्द्वको आगोको लप्कामा पर्ने सन्त्रास बढिरहेको छ ।