अघिल्लो हप्ता विश्व सिमसार दिवस मनाइयो । यो दिवसमा सिमसार क्षेत्रका बारेमा नीतिगत भाषण छाटिए, सिमसार संरक्षणका बुँदागत र ओठे प्रतिवद्धता पनि व्यक्त गरियो । तर व्यवहारतः यसको कार्यान्वयनका बारेमा कसैले चासो दिएका छैनन् । बोल्न सबै जान्ने, भाषण गर्न सबै खप्पिस तर काम गर्न कोही अग्रसर नहुने । नेपालको हर क्षेत्रले भोगिरहेको विडम्वनामध्ये सिमसार क्षेत्र अझ भनौं वातावरण संरक्षणको विषय पनि नारावादी मात्रै बन्दै गएको छ । अरुले घोकाइदिएका नारा भट्याउने बाहेक कुनै काम भएको छैन । जैविक विविधता र वातावरण संरक्षण लगायत जनताको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने सिमसार क्षेत्रको संरक्षणका सवालमा राज्य तहबाट कुनै नीति नै बनेको छैन । विश्व सिमसार दिवस मनाउन थालिएको झण्डै चार दशक पुग्न लागिसक्दा पनि नेपालका महत्वपर्ूण्ा सिमसार क्षेत्रको संरक्षणमा वेवास्ता गरिएको छ । सिमसार क्षेत्र भनेको त्यस्तो क्षेत्र हो जसले जनताको जीवनयापनसंग प्रत्यक्ष सरोकार राख्दछ र जैविक विविधता तथा पर्यावरणीय र ऋतु चक्रलाई समेत कायम राख्दछ । सिमसार क्षेत्र भनेको ओसिलो क्षेत्र हो । विशेष गरेर बाह्रैमास पानी उम्रिइरहने, विभिन्न थरिका जलचर, थलचरको बसोबास र आगन्तुक पक्षीहरूको 'ट्रान्जिट प्वाइन्ट' पनि हो । कोशी टप्पु र घोडाघोडी तालले यसलाई पुष्टि गरेको छ । कोशी टप्पु र घोडाघोडीमा साइबेरिया लगायतका क्षेत्रदेखि चराहरू आइपुग्छन् । नदीक्षेत्र, ताल क्षेत्रलाई पनि सिमसार क्षेत्रको रुपमा लिन थालिएको छ ।
यतिबेला सिमसार क्षेत्रको संरक्षणको नारा घन्किइरहेको छ । केही महिना अघिसम्म जलवायु परिवर्तनको चर्को चर्चा जसरी भएको थियो अहिले सिमसार क्षेत्रको संरक्षण हुनुपर्ने विषयले पनि चर्को रुपमा बहस छेडेको छ । यो सब मौसमी हरकत हुन् । दर्ीघकालीन रुपमा उत्पन्न समस्याको समाधान गर्ने र दीगो संरक्षणको काम गर्ने प्रयास कागजी रुपमा मात्र भैरहेको छ । नेपाली परम्परामा सिम क्षेत्रको संरक्षण गर्ने अलग्गै संस्कार छ । गाउँघरमा बूढापाकाहरूले सिम क्षेत्रमा नागको पूजा गर्नु, त्यो क्षेत्रमा दिसा-पिसाब गर्न हुँदैन भन्नु र त्यहाँ रहेका चराचुरुङ्गी तथा सरिसृप मार्न हुँदैन, नाग लाग्छ भनेर धार्मिक आड लिएर भए पनि सिम क्षेत्रको संरक्षण गरेका थिए र अहिले पनि त्यो परम्परा जारी नै छ । सिम क्षेत्रमा खनजोत समेत गर्नु हुँदैन भन्ने मान्यता नेपाली समाजमा थियो र अहिले पनि छ । तर यतिबेला सिमसार क्षेत्रका रुपमा लिइने ठूला ठूला तालतलैया तथा हिमतालहरूको बेहाल अवस्थाले नेपालको सिमसार क्षेत्रको विनास हुने क्रमलाई बढाउँदै लगेको छ । यसमा जलवायु परिवर्तनको प्रभाव कम छैन र हाम्रो आफ्नै गलत व्यवहार पनि कम दोषी छैन ।
नेपालमा मात्र ५ हजारभन्दा बढी तालतलैया रहेको विश्वास गरिन्छ । यो क्षेत्रको संरक्षणले नेपालको मात्र होइन विश्वकै जलवायुलाई अत्यधिक प्रभाव पार्ने निश्चितै छ । विश्व चर्चित सिमसार क्षेत्रका रुपमा रहेको पर्ूवको 'कोसी टप्पु' र पश्चिमको 'घोडाघोडी ताल'को संरक्षणमा राज्यका तर्फाट अहिलेसम्म पहल भएको थाहा छैन । अघिल्लो वर्षकोसी नदीको तटबन्ध फुटेर कोसी टप्पुलाई पुर्याएको नोक्सानको लेखाजोखा हुन सकेको छैन । यहाँका कति जनावर हराए भन्ने तथ्यांक समेत र्सार्वजनिक भएको सुन्नमा आएको छैन ।
सिमसार क्षेत्रको संरक्षणले के हुन्छ र यसलाई किन संरक्षण गर्नुपर्छ भन्ने महत्वपर्ूण्ा सवालमा वर्षो एकपटक विचारगोष्ठी र कार्यक्रमको आयोजना गरेर मात्र पुग्दैन । वातावरणसंग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरूले गर्ने यस्ता कार्यले जनतामा प्रचूर सन्देश पुग्न सकेको छैन । सिमसार क्षेत्रको आफ्नै किसिमबाट संरक्षण गरिरहेका जनताका लागि यो क्षेत्रको महिमा र महत्व अझै बढाउनु आवश्यक छ । जनताका लागि सिमसार क्षेत्र खाद्य सुरक्षा कवचको रुपमा समेत चिनिन्छ । सिमसार क्षेत्रले घेरिएका खेतीयोग्य जमिनहरूमा जंगली जनावरको प्रवेश कम हुने र बाली मासिने सम्भावना कम हुन्छ । अर्कोतिर यहाँ हुने चराचुरुङ्गी तथा र्सपहरूले बालीनालीको नोक्सामन गर्ने मुसा, किरा लगायतलाई मास्न महत्वपर्ूण्ा भूमिका निर्वाह गरिरहेका हुन्छन् । यस अर्थमा सिमसार क्षेत्र कृषिमा आश्रति नेपाली समाजको एउटा बलियो सुरक्षा आधार पनि हो । तर यसको संरक्षणमा सरकारी निकायबाट कुनै पहल भएको छैन ।
राजधानीमा मात्र होइन देशका प्रमुख जिल्लाहरूमा घडेरी विकासको नाममा सिमसार क्षेत्र समेत मासिएका छन् । ठूला ठूला पोखरी मात्र सिमसार क्षेत्र होइन । जहाँ चौबीसै घण्टा पानी उम्रिरहन्छ, जहाँको माटो चिसो छ त्यो हो खासमा सिमसार क्षेत्र । दर्ुलभ चराचुरुङ्गी तथा घस्रने प्राणीको प्रमुख बासस्थान रहेको सिमसार क्षेत्र आफैंमा आय आर्जनको स्रोत पनि हो । यहाँ पाइने माछाको व्यवसायबाट कृषकहरूले मनग्गे आम्दानी गर्न सक्छन् । त्यसै गरी यसको संरक्षणले वातावरण शुद्ध हुने र मौसमलाई समेत अनुकल बनाइराख्छ । चाहिएको बेलामा अर्थात् मौसम अनुसार पानी पर्नका लागि पनि सिमसार क्षेत्र आवश्यक छ । पोखरामा धेरै पानी पर्नुको कारण त्यहाँ रहेका थुप्रै तालहरूको भूमिका महत्वपर्ूण्ा छ ।
सिमसार संरक्षण जलवायु परिवर्तनको मारबाट बच्ने एउटा अचुक उपाय हो । नेपालमा रहेका ५ हजारभन्दा बढी तालतलैको मात्र कुरा होइन, तर्राईदेखि हिमाली क्षेत्रसम्म रहेका सिमक्षेत्रको पनि संरक्षण हुनर्ुपर्छ । आज सानातिनो सिमक्षेत्र मासिने क्रममा छन् । राजधानी उपत्यकाभित्र रहेका अनगिन्ती सिमक्षेत्रमा डोजर कुदिरहेका छन् । यस्तो प्रवृत्ति रोक्न सक्नर्ुपर्छ । राजधानी उपत्यका सिंगो सिमसार क्षेत्रको रुपमा थियो । तर अहिले यहाँ पानीको हाहाकार छ । जैविक विविधता नष्ट भएको छ । राजधानीबासीलाई मात्र होइन सिंगो मुलुकलाई भात खान पुग्ने धान फल्ने राजधानी उपत्यकामा देशैभरिका बासिन्दालाई डेरा उपलब्ध गराउने घर मात्र फलिरहेका छन् । यहाँको जमिनलाई चारैतिरबाट घेरेका बाग्मती, विष्णुमति, रुद्रमति, मनोहरा लगायतका नदीमहरू अतिक्रमणको शिकार भएका छन् । यस्तो अवस्थामा सिमसार क्षेत्रको संरक्षण गर्ने नीतिगत भाषणले कुनै उपलब्धि दिंदैन ।
सिमसार क्षेत्र संरक्षणको हाम्रो आफ्नै मौलिक प्रविधि र संस्कार छ । त्यसको व्यापक पालना गराइनु पर्दछ । माथि नै उल्लेख गरिसकियो कि गाउँघरका सिम क्षेत्रमा नागको पूजा गर्ने चलन छ, त्यहाँ दिशा-पिसाब गर्न निषेध गरिएको छ । भलै त्यहाँ धार्मिक आस्थाको सहारा लिइएको होस् र यसलाई आजकलका कतिपयले अस्वीकार पनि गर्लान् तर जुन रुपमा भए पनि संरक्षण गर्नुपर्ने विधि-व्यवहारको पालना भएको छ । वैदिक सनातन धर्म प्रकृतिसंग सम्बन्धित छ । त्यसै भएर यो धर्मले प्राकृतिक विनाशलाई निषेध गरेको छ । यो धर्मले जल प्रदूषण गर्नेलाई पाताल पुर्याएको छ । भगवद्गीतामा श्रीकृष्णले यमुनाको पानी विषाक्त परेर बसेको काली नागलाई पाताल पठाएर गोकुलबासीलाई स्वच्छ जल उपलब्ध गराएको कथा त्यसै रचिएको होइन । अहिले जल प्रदूषणको मारमा परेका नेपालका प्रमुख नदीनालाहरूले कालीनाग दहनको त्यो कथालाई पुनः रुपान्तरण गरेको हर्ेन पाउलान् त - नदी प्रदूषण गर्ने काली नाग प्रवृत्तिहरूलाई पाताल नसके डाँडो कटाउने कोही श्रीकृष्णको जन्म होला त - यस्ता प्रश्नहरूको उत्तर खोज्न सके र यसलाई व्यवहारमा कार्यान्वयन गर्न सके सिमसार क्षेत्रको मात्र होइन वातावरण संरक्षणकै लागि हाम्रा गाउँघरमा प्रचलनमा रहेका धार्मिक-सांस्कृतिक मान्यता नै पर्याप्त छ । पर्ूण्ारुपमा विदेशीको आयातित प्रविधिमा भर पर्नुपर्ने अवस्था छैन । यसका लागि प्रकृतिको पूजा गरेर दिन सुरु गर्ने नेपाली समाजको मौलिक विशेषताको अध्ययन गर्नुपर्यो । वातावरणसंग सम्बन्धित पक्षहरूले गाउँघरमा चलिरहेका यस्ता प्रविधिहरूको वैज्ञानिक अध्ययन गरेर संस्कृति-परम्परा पनि जोगिने र वातावरण पनि संरक्षण हुने कार्यक्रम अघि सार्नुपर्छ ।
रुख रोपेर, वनजंगलको क्षेत्रफल बढाएर गरेर मात्र जैविक विविधता संरक्षण हुँदैन । यसको ताजा उदाहरणका लागि चितवन राष्ट्रिय निकुञ्जलाई लिन सकिन्छ । निकुञ्जको वन क्षेत्र बढ्यो तर जंगली जनावरहरूको संख्या घट्यो । यसो किन भयो भन्ने तथ्यमाथि अनुसन्धान थाल्नर्ुपर्छ । जंगलको अर्थ झार बुट्यान मात्र होइन, जंगली जनावरलाई चाहिने आहारको पनि बढोत्तरी हुनर्ुपर्छ । पोषिलो घासको साटो विषालु झार बुट्यान बढेकै भरमा जंगल बढेको भ्रम पाल्ने हो भने त्यस्ता जंगलले विनाश मात्र गर्नेछ । चितवनमा बाघ र गैडाको संख्या घट्नुमा चोरी शिकारीको भन्दा उपयुक्त वातावरणको अभाव प्रमुख रहेको छ ।
देशभरमा रहेको तालतलैया र नदी किनारका जमिनको संरक्षण गर्ने हो भने नेपालले अहिले भोगिरहेका अनगिन्ती समस्याको समाधान हुनेछ । वर्षोनी बढ्दो खाद्य संकटलाई सिमसार क्षेत्रको संरक्षणले पर्ूर्ति गर्न सक्छ । नदी किनार र ताल तलैयाले सिंचेको जमिन मलिलो र उब्जाउ हुने हुँदा त्यस्ता जमिनमा बस्ती बस्न नदिने सरकारी योजना अहिलेसम्म बन्न सकेको छैन । डाँडापाखाहरू भासेर र पानीका स्रोत मानिएका सिम क्षेत्र पुरेर घडेरी विकास गर्ने प्रवृत्तिको अन्त्य पनि अहिलेको प्रमुख माग हो । वातावरण संरक्षणमा लागेकाहरूको पनि यो विषयमा त्यति ध्यान गएको देखिंदैन । नेपालको जैविक विविधता र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि जेजस्तो चासो र चिन्ता व्यक्त गरिनु पथ्र्यो त्यो पनि हुन सकेको छैन ।
विश्व जलवायु परिवर्तनको र्सवाधिक बढी प्रभावित मुलुकमध्ये छैठौं स्थानमा रहेको नेपालमा यहाँको हिमालहरू पग्लिरहेको सन्देश विश्वलाई दिन सफल भए पनि त्यसको निराकरणका लागि दह्रो लविङ्ग गर्न सकेको छैन । नेपाल जस्तै हिमाली देशहरू, जो अल्पविकसित छन् उनीहरूसंगको सहकार्य र सामूहिक योजनाले मात्र विश्वका धनी मुलुकहरूका कारण सिर्जित जलवायु परिवर्तनको मारबाट बच्ने वैकल्पिक उपायहरूका लागि स्रोतको जोहो हुन सक्छ । होइन भने हामीले वर्षो एकपटक हिमाल दिवस, सिमसार दिवस, वातावरण दिवस मनाएर मात्र उपलब्धि केही पाउन सक्दैनौं । अनि सानो तिनो कामका लागि पनि विदेशीकै मुख ताक्ने प्रवृत्तिले पनि समस्या जस्ताको तस्तै जहाँको तहीं अझ बढ्दो रुपमा देखा परिरहेको छ । त्यसकारण सिमसार क्षेत्रको संरक्षण मात्र होइन वातावरण संरक्षणकै लागि नारावादी सोच त्यागेर परम्परागत प्रविधि र प्रवृत्तिको संरक्षण गर्दै जनताले आफैं गरिरहेको व्यवहारमा प्रोत्साहित गर्नुपर्छ । आज जति पनि सिमसार क्षेत्र संरक्षित छन् त्यो जनताकै आफ्नै विवेकले गर्दा हो । जनतामा सिमसार क्षेत्र संरक्षणको विश्वव्यापी महत्व थाहा नभए पनि उनीहरू यो क्षेत्रले हाम्रो जीवनलाई सहज बनाइरहेको छ भन्ने कुरामा जानकार छन् । त्यसैले त्यस्ता प्रविधिलाई प्रोत्साहित गरी वैज्ञानिक उपायहरूको समेत अवलम्बन गर्न सकियो भने नेपालको सिमसार क्षेत्र संरक्षण विश्वकै लागि नमुना बन्न सक्छ । आगे जानकार र जिम्मेवारहरूको मर्जी !