विचारमा अस्वस्थता, सोचाइमा पर्ूवाग्रह र प्रतिशोध आजको राजनीति भएको छ । त्यसैले षड्यन्त्र र घम्साघम्सीको राजनीति इमान्दारका लागि फाप्दैन । आजको राजनीतिले जनताका समस्यालाई छुदैन, यो त केवल ठूलावडा नेता, साहु महाजन, भ्रष्ट र तस्करहरुका लागि मात्र भएको छ । जनताका लागि गरिने राजनीतिमा षड्यन्त्र चाहिंदैन, तर यहाँ त पाइलैपिच्छे षड्यन्त्र, झुक्यान र बेइमानीका खेल भैरहेका छन् । यथार्थमा राजनीति जनकल्याणका लागि हुनुपर्ने हो, तर यहाँ जनतालाई धोका दिने काम मात्रै भएका छन् र त्यो पनि बाहिरकै इशारामा । राष्ट्रपति- उपराष्ट्रपतिको निर्वाचनमा बाहिरियाले यहाँका नेताका बुद्धि भुट्नसम्म भुटे । अब मन्त्रिमण्डल बनाउने प्रसंगमा समेत शकुनी गोटी चाल्न थालेका छन्, तैपनि नेताले चेतेका छैनन् ।
जनताको कुनै गल्ती छैन, तर नेताले भने गल्तीमाथि गल्ती गरिरहेका छन् । त्यो गल्तीको दुष्परिणाम भने जनताले भोग्नु परेको छ । प्रजातन्त्र आएको छ दशक हुँदा पनि देश र जनताको स्थिति झन्झन् व्रि्रदो छ । पाखण्डी नेताहरुको काम जनतालाई भाषण सुनाउने र आफ्नै खल्ती भर्ने मात्रै भएको छ । संविधानसभा चुनाउ हुनासाथ सम्पर्ूण्ा समस्याको समाधान हुन्छ भनेका थिए, तर समस्या झन् थपिंदै गए । त्यति मात्र पनि नभएर विदेशी हस्तक्षेपबाट देशकै अस्तित्व खतरामा पार्ने संकेत समेत देखिन थालेका छन् । हाम्रा नेताले राजनीतिका नाममा जनता ठग्नेे धन्दा चलाइरहेका छन् । यस्तो व्यक्तिगत स्वार्थप्रेरित राजनीतिबाट जनकल्याण नहुने रहेछ ।
अर्कालाई निरंकुश र तानाशाह भन्नेहरुले आफू अझ बढी निरंकुश भएको थाहा पाउँदैनन् । इमान्दारीसाथ काम गर्ने हो भने प्रजातान्त्रिक संस्कृति र संस्कारको जग पहिले आफूमै बसाल्नर्ुपर्छ, अरुलाई भनेर मात्रै हुँदैन । इमानदारी भनेको नेतृत्वले आफूमा आफैं उमार्नुपर्ने गुण हो । विपक्षीका विचार सुन्दै नसुन्ने र विरोध गर्नै नपाइने हो भने प्रजातन्त्र बाँच्दैन । त्यसैले अरुले गरुन् होइन, पहिले आफैंले आफूमा परिवर्तन ल्याएको व्यवहारबाटै देखाउन सक्नर्ुपर्दछ । जनताले ठूलो कुरा मागेका छैनन् । जनताको चाहना भनेको तत्कालका लागि शान्ति र स्वतन्त्रता हो । तर नेतृत्वले त्यति पनि दिन सकेन, दर्ुभाग्य यही हो । यस्तो हुँदा पनि नेताहरुमा कुनै पश्चाताप नदेखिनु झन् दुःखलाग्दो कुरा छ । आज हामी साँच्चै नै सोचनीय स्थितिमा छौं ।
आज देशमा व्यापक अनुशासनहीनता छ । चरम अराजकता र अव्यवस्था छ । देशको आर्थिक स्थिति जर्जर छ । महंगी उर्लदो छ, जनता बेरोजगार छन्, अपराध बढिरहेका छन् । जनतामा निराशा र अन्योल देखेर सत्ता समाल्नुपर्नेहरु समेत हिच्किचाइरहेको स्थिति छ । हामी सरकारमा जानर्ुपर्छ भने विरोध गर्न र बहुमतका आधारमा सरकार गिराउन पाइदैन भन्नुका पछाडि त्यही हिच्किचाहट छ । विरोधै नहोस् अथवा सवै मिलेर खाऔं भन्ने हो भने किन प्रजातन्त्र र लोकतन्त्रको स्वाङ गर्ने - बहुदलीय व्यवस्था भनेकै बहुमत ल्याउनेले सरकार चलाउने र अरु प्रतिपक्षमा बसेर गुण दोषका आधारमा र्समर्थन वा विरोध गर्ने व्यवस्था हो । यो नियम नमान्ने हो भने 'मोही माग्ने ढुंग्रो लुकाउने' नगरीकन एकदलीय व्यवस्था भने भैहाल्यो नि ।
नेता गैरजिम्मेवार भएपछि देश भाँडिन्छ । आज नेपाल भाँडिएको छ । विदेशीले आन्द्राभुँडी थुतिसकेका छन्, अब कुन बेला हो लडाउन मात्र बाँकी छ । राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनका क्रममा विदेशीले नेताहरुलाई खेलाउनसम्म खेलाएर पछारिदिए । माओवादीसितको कांग्रेस-एमालेको शकुनी मैत्री टुट्यो । यिनीहरुले आफ्नो 'घ्यू बेचुवा र तरबार बेचुवा'को सक्कली अनुहार देखाए । नेपाललाई अरु हिसावबाट त तल पारेकै थिए, विचारको दर्रि्रता समेत स्पष्ट भयो । सीमित स्वार्थमा अल्झने प्रवृत्ति र स्वाभावले स्वतन्त्र वैचारिक परिवेशलाई सहनै नसक्ने स्थिति देखियो । असहमतिलाई नै विरोध सम्झने र आफ्नालाई भन्दा बाहिरकालाई पत्याउने मतिले गर्दा बारम्बार धोका भैरहेको छ, तैपनि नेताहरुमा होस आउँदैन ।
राष्ट्रपति हुन धोती फेरेर बसेका गिरिजाप्रसाद र माधव नेपाललाई घोप्टामुख पार्दा माओवादीलाई जति स्वाद परेको भए पनि अन्ततः आफैं उँधोमुन्टो भयो । यहाँनेर कांग्रेस-माओवादी र एमाले सवैले गच्छेअनुसार गल्ती गरेका हुन्, तर त्यसबाट के सिके, कति सिके वा सिकेनन् त्यो पछि थाहा हुँदै जानेछ । यसरी छलछालका खेलमा अल्झदा यिनीहरुले देश र जनतालाई धोका मात्रै होइन, शत्रु हँसाउने काम समेत गरे ।
नियत राम्रो भए परिणाम पनि राम्रो हुन्छ । बाह्र बुँदे सम्झौता नै राम्रो नियतबाट नभएको हुनाले पाइला पाइलामा ठेस लागिरहेको छ । जेहोस्, हुनु भैसक्यो, अब अगाडि देश र जनताका पक्षमा काम गर्ने हो भने जालझेलको बाटो छोडेर आफूलाई सच्याएर इमान्दारीसाथ काम गर्नसके हुन्थ्यो । आशा गरौं- सम्बन्धित सवैमा त्यो सद्बुद्धि पलाओस् ।