|
व्यापार घाटाको कहालिलाग्दो चित्र
Monday, 01.18.2010, 03:16pm (GMT+5.5)
आर्थिक टिप्पणीकार
मुलुकको व्यापारघाटा कहालिलाग्दो अवस्थामा पुगेको छ । यतिबेला आयात-निर्यातको अन्तर १६ प्रतिशतमा झरेको छ । यो अघिल्लो वर्षो तुलनामा १० प्रतिशत कम हो । यतिबेला सय रुपैयाँको खरीद गरेर १६ रुपैयाँको विक्री नेपालबाट भैरहेको छ । यसले मुलुकको व्यापार घाटाको पछिल्लो चित्र र्सार्वजनिक गरेको छ ।
मुलुकको अर्थतन्त्र नकारात्मक दिशातिर उन्मुख भैरहेका अनेक तथ्यांकहरू र्सार्वजनिक भैरहँदा व्यापार घाटाको उच्च विन्दु प्रकाशमा आएको हो । पछिल्लो पाँच महिनामा नेपालको व्यापार घाटा करिब एक खर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागद्वारा तपार पारिएको व्यापार सम्बन्धी एक प्रतिवेदन अनुसार चालु आर्थिक वर्षो पाँच महिनाको अवधिमा व्यापार घाटा ९२ अर्ब ६७ करोड पुगेको छ । आयात उच्चदरमा वृद्धि हुनु र निर्यात सुस्ताउनु नेपालको व्यापार घाटाको प्रमुख कारण हो । आर्थिक विश्लेषकहरू यस्तै अवस्था रहेमा मुलुक टाट पल्टने संकेत गर्दछन् । उनीहरूका अनुसार नेपालको निर्यात धानिरहेको रेमिट्यान्स प्रवाहमा आएको कमी र आन्तरिक राजनीतिक अस्थिरता तथा औद्योगिक-व्यावसायिक वातावरण बन्न नसक्दा निर्यातमूलक उद्योगहरू थला पर्दैगएका छन् । अर्कोतिर आन्तरिक माग पर्ूर्ति गर्दैआएका उद्योगहरू पनि सहज रुपमा संचालनमा आउन सकेका छैनन् । बढ्दो लोडसेडिङले पनि उत्पादनमा व्यापक कटौती हुने अवस्था छ । यसले आगामी दिनमा नेपालको व्यापारघाट अझ बढ्ने स्पष्ट छ । विभागका अनुसार मंसिर मसान्तसम्म नेपालले एक खर्ब २२ अर्ब १७ करोड रुपैयाँको आयात गरेको छ भने २९ अर्ब ५० करोड रुपैयाँको निर्यात गरेको छ । मुलुकको वैदेशिक व्यापारको असन्तुलन हरेक वर्षबढिरहेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षो सोही अवधिमा एक अर्ब १५ अर्बको आयात र ३२ अर्ब ४१ करोड रुपैयाँको निर्यात भएको थियो । यी दर्ुइ तथ्यांकले अघिल्लो वर्षो तुलनामा आयात वृद्धि र निर्यात घट्दै गएको देखिन्छ ।
नेपालको भारत निर्भरता बढ्दै गएको सर्न्दर्भमा भारतसंगको व्यापार सन्तुलन पूरै खलबलिएको छ । यस अवधिमा भारतबाट ७३ अर्ब ८१ करोडको आयात र १४ अर्ब ६२ करोडको निर्यात भएको छ । पाँच महिनाको अवधिमा भारतसंगको व्यापार घाटा ५९ अर्ब १९ करोड रुपैयाँ रहेको छ । नेपालको भारत निर्भरता बढ्दै गएको छ । निर्यात व्यापारमा भारत र अन्य मुलुकहरू बराबर रहे पनि आयातमा भारत निर्भरता उच्च रहेको छ ।
आर्थिक टिप्पणीकारहरू वैदेशिक व्यापारमा देखिएको उच्च गिरावट र आन्तरिक आर्थिक सूचकहरूको खराब स्थितिले मुलुक आर्थिक संकटतिर धासिदै जान थालेको बताउँछन् । यतिबेला रेमिट्यान्समा आएको कमी र निर्यात व्यापारको सुस्तताले मुलुकमा सात महिनाको आयात धान्नसक्ने वैदेशिक मुद्रा मात्र संचित रहेको बताइन्छ । अर्कोतिर नेपालको बैंक तथा वित्तीय संस्थाहरूको अनुत्पादक क्षेत्रमा प्रवाह गरेको लगानीको थुप्रो पनि आर्थिक संकटको सूचक हो । राष्ट्र बैंकले हालै मात्र घरजग्गामा लगानीलाई कडाइ गरेको छ भने सुन-चाँदीको आयातलाई निरुत्साहित गर्ने नीति अख्तियार गरेको छ । नेपालमा वितेको पाँच महिनामा ३० अर्ब रुपयाँको सुन-चाँदी आयात भएको थियो । औद्योगिक-व्यावसायिक क्षेत्रमा लगानीको वातावरण नभएपछि लगानीकर्ताहरू घरजग्गा तथा सुन-चाँदीमा लगानी गर्न आकषिर्त भएको विश्लेषकहरूको दाबी छ ।
|