अहिलेका गम्भीर सवाल
Monday, 11.10.2008, 04:59pm (GMT+5.5)
राष्ट्रिय परिस्थिति विषम बन्दैगएको र राष्ट्रियताको जग नै हल्लिन थालेको कुरा राजनीतिक नेताहरुले अभिव्यक्त गर्न थालेका छन् । राष्ट्रिय परिस्थिति जटिल बन्दैगएको र राष्ट्रियतामाथि आँच आउने काम भैरहेको तथ्य राजनीतिक नेताहरुले नै स्वीकार गर्न थालेपछि त्यसको मूल कारण के हो र त्यसको निराकरण कसरी गर्ने भन्नेबारे राजनीतिक नेताहरुले नै प्रष्ट धारणा बाहिर ल्याउनु पर्ने हो । दर्ुभाग्यको कुरा सत्ता महत्वकांक्षी कुनै पनि राजनीतिक दलका नेताहरु आफू सत्ताबाहिर पर्दा राष्ट्रियताको जग हल्लिएको र राष्ट्रिय अखण्डता नै धरापमा परेको देख्छन् तर सत्तामा पुग्नका लागि र सत्तामा पुगेपछि त्यसलाई टिकाउनका लागि राष्ट्रियताविरुद्ध नै क्रियाशील भएर राष्ट्रघातकै बाटो रोज्छन् । नेपालको सत्तामुखी राजनीतिक नेतृत्व राष्ट्रियताका मामिलामा सधैं कमजोर सावित हुँदैआएका छन् । राष्ट्रियतामाथि नै आँच पुर्याउने प्रकृतिका काम र क्रियाकलापमा संलग्न भएर राजनीतिक सौदावाजी गर्ने प्रवृत्तिले २००७ सालको परिवर्तनदेखि लिएर २०६२-०६३ को परिवर्तनपछिका घटना सर्न्दर्भहरुलाई बारम्बार प्रभावित पार्ने गरेका छन् । क्षणिक लाभ र सस्तो लोकप्रियताका लागि उत्तेजनात्मक र सस्ताखाले नाराहरु उराल्ने प्रवृत्तिमा कुनै कमी आएको छैन । २००७ सालको परिवर्तनपछि प्रजातन्त्रको संस्थागत विकास हुन नसक्नाको मूल कारण र स्रोत जे थियो २०४६ सालको परिवर्तनपछि संसदीय प्रजातन्त्रको संस्थागत विकास हुन नदिने कारण र स्रोत पनि त्यही थियो भने २०६२-०६३ को राजनीतिक परिवर्तनपछि लोकतन्त्रले संस्थागत विकासको बाटो समात्न नसक्नुको कारण र स्रोत पनि प्रकारान्तरले त्यही हो भन्ने कुरामा कुनै सन्देह छैन । छ दशकको अन्तरालमा आमूल राजनीतिक परिवर्तनका लागि नेपाली जनताले बारम्बार उर्त्र्सग गरे तर परिवर्तनको लाभ भने देश र नेपाली जनताले उठाउन सकेको देखिएन । कुनै पनि परिवर्तनपछि एउटा नयाँ भुइँफुट्टा वर्ग जन्मिने र परिवर्तनको लाभ त्यही वर्गभित्रै सीमित गर्ने अपसंस्कृतिको मात्र विकास भयो । देश र जनता सधैं पछाडिकै पछाडि । परिवर्तनको र्सार्थकता अनुभूत हुनसकेन । शासकवर्गको अदली बदली र सस्तो लोकप्रियताका लागि उरालिने सस्ता नाराले देश र जनताको अपेक्षालाई सम्बोधन गर्न नसक्ने अनुभूति फेरि पनि बढ्दै जान थाल्नु भविष्यप्रतिको अशुभ संकेत नै हो । देशको वर्तमान राजनीतिक परिस्थितिलाई गहिरिएर अवलोकन गर्दा राष्ट्रियतालाई मलजल गरी दह्रो पार्ने र जनतालाई सामाजिक न्यायको अनुभूति गर्राई उज्यालो भविष्यप्रति आश्वस्त गराएर उनीहरुको मनोबल माथि उठाउने काम हुन सकेको कहीं कतै देखिंदैन । परिवर्तनको र्सार्थकता जनताले अनुभूत गर्न पाउनै पर्दछ नत्र भने जनतामा छाउने निराशाले जनताको आत्मबल कमजोर पार्दछ र राष्ट्र कमजोर हुँदैजान्छ । बाहिरी शक्तिहरुले अनपेक्षित रुपमा मुलुकभित्र राइँदाइँ गर्न पाउने आधार पनि त्यही नै हो ।
मुलुकलाई सही बाटोमा कसरी हिंडाउने - नेपाल जस्तो अति सम्वेदनशील भूराजनीतिक स्थिति भएको मुलुकका निम्ति यो सधैंका लागि जीवन्त प्रश्न हो । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता भएको नेपालजस्तो देशले कुनै पनि पक्षमा थोरै मात्र पनि सन्तुलन गुमायो भने राष्ट्रिय एकता र अखण्डतामाथि नै अकल्पनीय आँच आउनसक्छ । प्रभाव बिस्तार-शक्ति बिस्तारको दूराकांक्षा राख्ने शक्ति राष्ट्रहरुले हरेक सम्वेदनशील पक्षमा आफ्नो पहुँच बढाउने, अन्तरविरोध बढाउने र आन्तरिक सद्भाव विथोल्दै अन्तरद्वन्द्व बढाएर त्यसबाट रणनीतिक लाभ उठाउने गर्दछन् । राष्ट्रिय एकता खण्डित नगरेसम्म राष्ट्रियता कमजोर नहुने तत्वज्ञान शक्ति विस्तारकहरुले गर्दैआएका छन् । त्यही तत्वज्ञानको प्रभावमा नेपालको राजनीति वहकिन जाँदा ठूलै उथलपुथल हुने गरेको छ । यथास्थितितावादबाट मुक्ति खोजिरहने जनता परिवर्तनका निम्ति उर्त्र्सग गर्न उत्साहित हुने गर्दछन् । भ्रमको जालोले यथार्थलाई सधैं ढाक्ने गर्दछ, रणनीतिक उद्देश्य पूरा गर्न हुने निर्देशित परिवर्तनले देश र जनताको पक्षमा कुनै सकारात्मक परिणाम ल्याउन सक्दैन । नेपाली जनताले आजसम्म राजनीतिक परिवर्तनको लाभ हाँसिल गर्न नसक्नुको कारण पनि यही हो । अहिले पनि नेपाली जनमानसमा उत्साह कम निराशा बढी व्याप्त हुन थालेको छ । भविष्यप्रति आशाभन्दा चिन्ता बढी बढ्न थालेको छ । आमूल परिवर्तनको यो लाभ कसको पक्षमा कसरी गैरहेछ भन्नेबारे जनता बेखबर नभए पनि त्यसलाई प्रतिवाद गर्नसक्ने स्थितिमा पुगेका छैनन् । देश कमजोर बन्दै गएको र जनता दर्ुवल भैरहेको अनुभूति मात्र बढ्दै गएको छ । वर्तमान राजनीतिक नेतृत्वपंक्तिका निम्ति र्सवाधिक चुनौतीको विषय नै यही हो । जनताको अजेय शक्ति आमूल परिवर्तनका लागि उपभोग भए पनि जनबलमा स्थापित सत्ताले परिवर्तनको अनुभूति जनतालाई दिन नसक्नु ठूलो विडम्वना हो । जनमानसमा अहिले यस्तै धारणा बलवती हुँदैगएको कटुयथार्थ नै हो ।
मुलुकलाई सही बाटोमा हिंडाउन राष्ट्रिय एकता पहिलो अपरिहार्यता हो । क्षणिक राजनीतिक स्वार्थमा बहकिने र निरन्तर अरुको उपयोगमा आइरहने राजनीतिक शक्ति समूहहरुको 'बुख्याचा' प्रवृत्तिले सिर्जना गरेका समस्याहरु नै राष्ट्रिय एकता खण्डित गर्ने र राष्ट्रियताको जग हल्लाउने कारण बनेका छन् । जनता र्सार्वभौम बनेका र आफ्नो भविष्य आफैं कोर्ने संविधान निर्माण गर्ने अवस्थामा आइपुग्दा पनि राष्ट्रियताको जग नै हल्लिन थालेको चौतर्फी आभास किन भैरहेको छ - राष्ट्रिय एकता र अखण्डतामाथि आँच पुर्याउने र राष्ट्रियताको जगर्ेनामाथि नै शंका उब्जने परिस्थितिको सिर्जना हुँदैजाने हो भने आमूल राजनीतिक परिवर्तनको र्सार्थकता कसरी अनुभूत गर्ने - अहिलेका गम्भीर सवाल यिनै हुन् ।
|