सिक्किमीकरणको चिन्ता ः क. प्रकाश
Monday, 06.02.2008, 05:41pm (GMT+5.5)
काठमाडौं । राजतन्त्रात्मक नेपालको डेढ दशकभन्दा लामो समय भूमिगत रहेर गणतन्त्रात्मक नेपालमा उर्धगत हुनुभएका नेकपा एकता केन्द्र मसालका महामन्त्री क. प्रकाश -नारायणकाजी श्रेष्ठ)ले नेपालको राष्ट्रियता संकटमा परेको संकेत गर्दै मुलुक सिक्किमीकरण या भूटानीकरण हुने खतरा बढेको खुलासा गर्नुभएको छ । माओवादी र सात दलबीचको २०६२ मंसिर ७ को १२ बुँदे दिल्ली सहमतिका लागि सहजकर्ताको विशेष भूमिका निर्वाह गर्नुभएका क. प्रकाशले सत्ताको छिनाझपटीमा अल्झेका उनै दलहरुलाई सिक्किमीकरण या भूटानीकरणको खतराबाट जोगाउन नयाँ सहमतिमा जुट्न अब कस्तो भूमिका खेल्नुहुने हो - जिज्ञासुहरु त्यसको प्रतिक्षामा रहेका छन् । उहाँको भारतप्रतिको आक्रामक प्रस्तुति कति यथार्थपरक र कति अभिनयमूलक हो भन्नेबारे पनि राजनीतिक क्षेत्रमा उत्तिकै जिज्ञासा उत्पन्न भएको छ ।
नयाँ युगमा पुरानै पीडा
काठमाडौं । देश नयाँ युगमा प्रवेश गरेको छ । जनताले भने राष्ट्राध्यक्ष र जननिर्वाचित सरकार समेत पाएका छैनन् । कतै खाद्यान्नको चरम संकट, कतै अराजकता र आतंक, कतै त्रास र धम्की, कतै बन्द र चक्काजाम- वर्तमान समयका उपहार बनेका छन् । पेट्रोलियम पदार्थको अभाव, पाठ्यपुस्तकको अभाव, बजारमा दैनिक उपभोग्य वस्तुको अभाव यी सवै अभावलाई राज्य संचालकहरुको जवाफदेहीता, कार्यक्षमता, विवेकसम्मता र बौद्धिक क्षमताको अभावले उछिनेको आम प्रतिक्रिया जनमानजसमा व्याप्त हुनथालेको छ । नयाँ युगमा प्रवेश गर्दा पनि सीमान्तीकृत जनतालाई प्रत्यक्ष राहतको अनुभूति हुने सुखद् सन्देश दिन छोडेर राजनीतिक नेताहरु सत्ताकै लुछाचुँडी र भागवण्डामा लिप्त देखिएका छन् । नयाँ युगमा पुरानै पीडा बल्झेको छ ।
|