काठमाडौं । मुलुकको एउटा युगले विश्राम लिएको छ । यो विश्रामसंगै एउटा तरंगको पनि अन्त्य भएको छ । त्यो हो ग्य्राण्ड डिजाइन । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बेलाबेलामा भन्ने गरेको ग्य्राण्ड डिजाइनको अन्तिम दृश्यको मञ्चन भैसक्यो । २०५१ सालदेखि सुरु भएको ग्य्राण्ड डिजाइन २०६५ जेठ १५ गते राति ११ः३० मा सफल भयो । अब गिरिजाप्रसाद कोइरालाको मुखबाट ग्य्राण्ड डिजाइनको शब्द ननिस्कन सक्छ ।
आखिर के हो ग्य्राण्ड डिजाइन - त्यसको सुरुवात कहाँबाट भएको थियो र त्यसको संचालक को हो र को विरुद्ध त्यो डिजाइन भैरहेको थियो - त्यसको जानकार प्रधानमन्त्री कोइरालाले अहिलेसम्म मुख खोल्नुभएको छैन । उहाँले बेलाबेलामा आवश्यक परेको र उपयुक्त समयमा म त्यसलाई बाहिर ल्याउनेछु भन्नुभएको थियो । त्यसको रहस्य खोल्ने उपयुक्त समय भनेको यही हो । यही बेलामा ग्य्राण्ड डिजाइनको रहस्य खोलेदेखि नेपाली जनता धन्य हुने थिए ।
नेपालमाथि ग्य्राण्ड डिजाइन कहिलेदेखि कोबाट भैरहेको थियो - नेपाली जनता अनभिज्ञ छैनन् । हुनसक्छ जनताले बुझेको र गिरिजाप्रसादले बुझेको डिजाइन फरक होस् । राजतन्त्रको अन्त्य गरी मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने र जातीय, क्षेत्रीय, भाषिक आधारमा स्वायत्तता दिने डिजाइन सफल भएको हो कि - नागरिकता वितरणमा ५० को दशमा स्व. राजा वीरेन्द्रले लगाइएको अंकुशका कारण राजतन्त्रको अन्त्यका लागि पो त्यो डिजाइन गरिएको थियो कि - नेपाली जनताले जान्न चाहेका अनगिन्ती प्रश्नहरुको पोको फुकाउने एकमात्र पात्र गिरिजाप्रसाद कोइराला भए पनि उहाँले अझै त्यो पोको फुकाउने हिम्मत गर्नुहुने छैन ।
कोइरालाले ग्य्राण्ड डिजाइनको रहस्य कहिले खोल्ने होला - यसको उत्तर सहज नभए पनि जुनदिन कोइराला गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्ने अवसरबाट वन्चित हुनुहुनेछ त्यहीबेला उहाँले ग्य्राण्ड डिजाइनको रहस्य खोलेर नेपाली जनतालाई पुनः आन्दोलित पार्नुहुनेछ । यसबेला थाहा हुने छ ग्य्राण्ड डिजाइनको रहस्य । सत्ता र शक्ति आर्जन गर्न जस्तोसुकै सौदावाजी गर्नेहरुले आफ्नो अभीष्ट पूरा नभएपछि अरुलाई पनि त्यो स्थानमा पुग्न नदिने अनेक षड्यन्त्र गर्ने गरेको राजनीतिक इतिहास नेपालका अनगिन्ती छन् ।