र्सलाही र सुस्तामा सीमा मिचियो
Monday, 06.30.2008, 06:35pm (GMT+5.5)
काठमाडौं । संविधानसभा निर्वाचनपछि स्थापित भएका दलहरु शक्ति आर्जनको होडवाजीमा लागिरहँदा नेपालको सीमा खुम्चिने क्रम जारीे छ । भारतले नेपाली नेताहरुको अकर्मण्यता र राष्ट्रप्रतिको गैरजिम्मेदारीताको फाइदा उठाएर सीमा अतिक्रमण कार्यलाई गति दिएको हो । नेपालको राजनीतिक अस्थिरता र संक्रमणकालको फाइदा उठाउँदै भारतले पछिल्लो पटक र्सलाहीमा सीमा अतिक्रमण गरेको समाचार छ । भारतीय सीमा सुरक्षा बल एसएसबीको आडमा भारतीय सुकुम्बासीहरुले नेपाली भूमि अतिक्रमण गरी खेती समेत गरेको प्राप्त समाचारमा जनाइएको छ । र्सलाहीको दसगजा क्षेत्रभन्दा तीन किलोमिटर भित्र ल्याएर सीमास्तम्भ गाडिएको स्थानीय बासिन्दाहरु बताउँछन् । अहिले सो क्षेत्रमा १३ ठाउँमा सीमा मिचिएको छ, जसका कारण वितेका एक महिनायता मात्रै हजारौं विघा जमिन भारततिर गाभिएको छ । नेपालको संक्रमणकालीन राजनीतिको फाइदा उठाएर भारतले सुकुम्बासीहरुलाई नेपाली सीमा अतिक्रमण गरेर खेती गर्न लगाएको हो । उनीहरुलाई प्रति व्यक्ति पाँच हजार ऋण दिएर नेपाली भूमिमा बस्न लगाइएको समाचारस्रोतको भनाइ छ ।
उता सुस्तामा पुनः अतिक्रमण सुरु भएको छ । केही समय अघि सुस्ताबासीको व्यापक विरोधका कारण रोकिएको सुस्ता खुम्च्याउने कामलाई भारतले पुनः निरन्तरता दिएको समाचार छ । सुस्तामाथि भारतीय अतिक्रमणको विरोधमा स्थानीय बासिन्दाले सुस्तादेखि राजधानीसम्म हार गुहार गर्दा पनि कुनै सुनुवाई नहुँदा सुस्ताका नेपालीहरुको उठिबास हुने अवस्था सिर्जना भैसकेको छ ।
नेपालको जलस्रोतमा आँखा गाडिरहेको भारतले जसरी, जुनसुकै अवस्थामा भए पनि त्यसलाई हत्याउने रणनीति अख्तियार गरेको छ । यसका लागि राजनीतिक रुपमा दवाव दिएर नदी सम्झौता गराउने र सीमा सुरक्षा बलको आडमा जमिनमाथि कब्जा जमाउने अभियान जारी राखेको छ । जतिबेला नेपालका राजनीतिक दलहरु सत्ता र शक्तिका लागि बाझाबाझ गरिरहन्छन् त्यति नै बेला भारतले सीमा अतिक्रमण गर्न सुरु गर्छ । राजनीतिक दल र नेताहरुको ध्यान सत्ता र शक्ति आर्जनमा मात्र केन्द्रित रहँदा भारतले नेपाली सीमा खुम्च्याउन क्रम सुरु गर्ने गरेको छ ।
|