काठमाडौं । नेपाली अर्थतन्त्र धानिरहेको वैदेशिक रोजगारी नेपाली युवाहरुका लागि असुरक्षित बन्दैगएको छ । र्सवाधिक नेपाली युवाहरु कार्यरत कतारमा उनीहरुको ज्यान निकै जोखिममा रहेको समाचार प्राप्त भएको छ । कतारमा मात्र वितेका छ महिनामा ९० जना नेपाली युवाहरुले ज्यान गुमाएका छन् ।
स्वदेशमा रोजगारीको अभावले आफू र आफ्नो परिवार पाल्नकै लागि विदेशिन वाध्य नेपाली युवाहरुका लागि कतार लगायत खाडी मुलुक र मलेसिया पछिल्लो समयमा निकै जोखिमपर्ूण्ा बन्दै गएको छ । यसका प्रमुख कारणमा पहिलो धार्मिक, सामाजिक र भौगोलिक असमानता रहेको छ भने अर्को नेपालमा सम्झौता भएबमोजिमको काम नपाउनु रहेको बताइएको छ ।
कतारमा अधिकांशको हृदयघातका कारण मृत्यु भएको तथ्यांकले देखाएको छ । आखिर उनीहरुमा किन हृदयघात भयो त - यसको विभिन्न कारणहरु रहेका छन् । पहिलो कुरा यहाँ मेनपावर कम्पनी र कामदारबीच भएको सम्झौता बमोजिम काम नपाइनु, तोकिएको समयभन्दा बढी काम गर्नुपर्ने, नेपालमा घरखेत बन्धकी राखेर काममा आएपछि जस्तोसुकै काम गर्न पनि वाध्य हुनुपर्ने, अत्यधिक तापक्रममा अधिक श्रम गर्नुपर्ने, उचित आहार र आराम नपाइने लगायतका कारणहरु रहेको छ ।
नेपालमा आकर्ष काम र पारिश्रमिकको लोभ देखाएर बेरोजगार युवाहरुलाई ठग्ने प्रचलनमा कुनै कमी आएको छैन । श्रम दलालहरुबाट बेस्सरी ठगिनुको पीडा र तोकिएभन्दा बढी श्रम गर्नुपर्ने र आराम तथा आहारको कमीका कारण नेपालीहरुमा हृदयघात हुने गरेको हो ।
सरकारले वैदेशिक रोजगारीले मुलुकको अर्थतन्त्र धानिएकोमा जतिसुकै दंग परे पनि यो व्यवसायलाई सुरक्षित र सुलभ बनाउनेतिर पटक्कै ध्यान दिएको छैन । ठगी धन्दा गर्नेहरुको फन्दामा परेर विदेश पुगेकाको उद्धार गर्ने तथा तोकिएभन्दा फरक काम गर्न लगाउनेहरुलाई सम्झौता बमोजिम काममा लगाउन सम्बन्धित देशमा रहेका दूतावासले कुनै पहल नगरेको कतारबाट प्राप्त समाचारमा उल्लेख गरिएको छ ।