|
रामकुमारीको नाममा नयाँ इतिहास
Monday, 09.29.2008, 04:04pm (GMT+5.5)
काठमाडौं । "राष्ट्रिय एकता, दीगो शान्ति र संघीयता नयाँ नेपालको आधार, शिक्षा, स्वास्थ्य र रोजगार मौलिक अधिकार" भन्ने मुल नाराका साथ सम्पन्न भएको नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन -अनेरास्ववियू)को अध्यक्षमा रामकुमारी झाँक्री विजयी हुनुभएको छ । मुलुकको राजनीतिक मूल प्रवाहमा समावेसी प्रतिनिधित्व र उपस्थिति हुनुपर्ने नारा घन्किरहेको बेला रामकुमारी झाँक्रीले अखिलको नेतृत्वमा विजयी हुनुलाई एउटा ऐतिहासिक क्षण मानिएको छ । जनजाति र पिछडिएको समुदायबाट मुलुकको प्रमुख राजनीतिक दलको प्रमुख भातृ संगठनको नेतृत्व सम्हाल्न पुग्नुभएकी झाँक्रीको विगतदेखिको लगनशीलता, संर्घष्ा र निष्ठा नै उहाँको विजयको प्रमुख कारण रहेको बताइन्छ । विद्यार्थी आन्दोलन र शैक्षिक वातावरणप्रति स्पष्ट दृष्टिकोण राख्ने भएकैले रामकुमारी युवा विद्यार्थीमाझ लोकप्रिय हुनुहुन्थ्यो । उहाँको लोकप्रियताको पारख यतिबेला भएको छ । आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै बढी मत प्राप्त गरेर रामकुमारीले नयाँ इतिहास मात्र रच्नुभएन कि उहाँको यो विजयले अरु महिलाहरुलाई पनि प्रतिस्पर्धाबाटै सफल हुन सकिन्छ भन्ने सन्देश पनि दिएको छ । कतिपय अवस्थामा पुरुष प्रधान समाज भन्दै गालीगलौजमा उत्रने र पुरुषहरुले नै दिएको भागमा मस्त हुनेहरुका लागि रामकुमारीको चुनावी प्रतिस्पर्धा र विजयले त्यस्ता महिलाहरुलाई संर्घष्ा र दृढताबाटै अधिकार स्थापित गर्न सकिन्छ भन्ने सन्देश पनि दिएको छ ।
|