आन्तरिक उत्पादन धरासायी छ, उद्योगधन्दा चौपट छन्, कुल गार्हस्थ उत्पादनको ठूलो अंश ओगट्ने कृषितन्त्र ओरालो लागेको छ, तैपनि नेपालीहरुको आय बढेको तथ्यांक देखाएको छ । धनी र गरिबबीचको खाडल झन् गहिरो र फराकिलो बन्दै गइरहेको छ । आन्तरिक रोजगारीको सिर्जना छैन, खाद्यान्न संकट पर्ने जिल्लाहरु थपिंदैछन्, मानवीय र प्रकृतिजन्य प्रकोपले उव्जाउ भूमि उजाड बनिरहेका छन्, तैपनि तथ्यांकमा नेपालीको आय बढेकै छ ।
अघिल्लो साता नेपालमा मानव वेचविखन विरुद्ध विविध कार्यक्रम गरियो । सो अवसरमा मानव वेचविखन रोक्नुपर्ने र यस्ता कार्यलाई निरुत्साहित बनाउनुपर्ने नीतिगत भाषण भए । मानव बेचविखनको परिभाषाभित्र के के पर्दछन् - यसको भने खुलासा गरिएन । चेलीवेटी बेचविखनलाई अत्यधिक प्राथमिकता दिइएको त्यस्तो कार्यक्रमले समग्रतामा मानवबेचविखन विरुद्ध आवाज उठाएको पाइएन । नेपालीहरुको आय बढ्नुको प्रमुख कारण मानव वेचविखन नै हो । हालसम्म बीस लाखभन्दा बढी नेपाली युवा विदेशमा श्रम बेच्न पुगेका छन् । उनीहरुकै श्रमको आधारमा राष्ट्रको अर्थतन्त्र धानिएको छ । यसैले नेपालीको जीवनशैलीमा परिवर्तन ल्याएको छ । तर, उनीहरुको आम्दानीलाई आयमूलक लगानी गर्ने वातावरण छैन, त्यस्तो नीति सरकारले बनाउन पनि सकेको छैन ।
मुलुकको अर्थतन्त्र वैदेशिक रोजगारीले धानेकोमा अर्थशास्त्री, नीति निर्माता तथा योजनाविद् मक्ख पर्दै नेपाली धनी भएको र्सगर्व घोषणा गर्दछन् । तर, त्यो धनलाई उपयोग गरी अरुलाई पनि धनी बनाउने योजना उनीहरुसंग छैन । वाषिर्क दर्ुइ खर्बभन्दा बढी व्रि्रेषण भित्रिएर धानिएको अर्थतन्त्रले कहिलेसम्म आफूलाई सक्रिय गर्ला त्यो भविष्यकै गर्भमा छ ।
त्यस्तै वैदेशिक रोजगारीमा गएकाहरु स्वदेश फर्किएपछि उनीहरुले के प्राप्त गर्ने - यो अहं र ज्वलन्त प्रश्नको खोजी अर्थजगतले समयमै गर्न सकेन भने भोलिको दुष्परिणामको भागी उनीहरु मात्र हैन सिंगै मुलुक हुनेछ ।