पेट्रोलियम पदार्थको अत्यधिक उपयोगका कारण वातावरणीय प्रदूषण बढिरहेको बेला काठमाडौंमा संचालित झण्डै छ सय ५० का हाराहारीमा रहेका रिक्साहरुले केही मात्रामा भए पनि प्रदूषण कम गर्न सघाउ पुर्याइरहेको छ । यसका अतिरिक्त राजधानीमा आयआर्जनको विभिन्न माध्यमहरुमध्ये रिक्सा पनि एउटा बनेको छ । काठमाडौंमा रिक्सा चलाएर गुजारा चलाउनेहरुको संख्या अहिले दिनदिनै बढ्दै गएको छ । रिक्साले बेरोजगारी समस्याले सताएको बेला राम्रो भरथेग गरिरहेको छ । थोरै लगानी गरेरै पनि राम्रो आम्दानी हुने भएपछि यस पेशातर्फआकर्षा बढ्नु स्वाभाविक हो । रिक्सा चलाएर दैनिक एक सयदेखि पाँच सयसम्म कमाई हुने रिक्सा चालकहरु बताउँछन् । विगत १७ वर्षेखि रिक्सा चलाएर गुजारा चलाउँदै आएका रामेछापका चन्द्रज्योति तामाङका अनुसार रिक्सा चलाएर आफ्नो परिवार पाल्न खासै गाह्रो छैन ।
राजधानीमा विगतमा जति रिक्सा संचालनमा थिए त्यसको कुनै संगठित अवधारणा थिएन । चलिरहेका रिक्साहरु काठमाडौं महानगरपालिकाद्वारा संचालनमा आइरहेका थिए । त्यतिबेला रिक्सा व्यवसाय निकै अव्यस्थित रहेको रिक्सा चालकहरु बताउँछन् । त्यतिबेला प्रहरी प्रशासन, गुण्डागर्दी, जथाभावी भाडादर जस्ता समस्या रहेका थिए । अहिले रिक्सा मजदुर संगठन खुलेकाले रिक्सा चालकहरु एकीकृत भै रिक्सा व्यवसायलाई व्यवस्थित गर्ने काम भैरहेको छ । रिक्सा चालक र व्यवसायका विविध समस्यालाई समाधान गरी व्यवस्थित रुपमा व्यवसाय संचालन गर्ने उद्देश्यले २०६३ मंसिरमा अखिल नेपाल रिक्सा मजदुर संघको स्थापना भएको सो संघका काठमाडौं अध्यक्ष डम्बर राणा बताउँछन् ।
महानगरपालिकाले संचालन गरेको बेला उपत्यकामा कुल चार सय ७२ रिक्सा थिए भने अहिले सो संख्या बढेर छ सय ५० पुगेको छ । संघले रिक्सा व्यवसायलाई व्यवस्थित गर्न रिक्सामा नम्बर प्लेट राख्ने गरेको छ । साथै भाडामा पनि एकरुपता कायम गरेको छ । संघका जिल्ला अध्यक्ष डम्बर राणाका अनुसार नम्बर प्लेट नहुँदा प्रहरीले समातेका रिक्सा हराउने समेत गरेको थियो । अहिले त्यो समस्या छैन । हामीले रिक्सा मजदुरलाई पनि अनुशासित भएर काम गर्न आग्रह गरिएको छ ।
विगत १० वर्षेखि रिक्सा चलाउँदै आएका नुवाकोटका चन्द्रबहादुर लामा संघमा आवद्ध भएपछि काम गर्न निकै सजिलो भएको बताउँछन् । आफ्नै रिक्सा बनाएर काम गरिरहेका लामा भन्छन्- पहिले त धेरै समस्या थियो तर अहिले संघमा आवद्ध भएपछि धेरै सजिलो भएको छ ।'
संघले मजदुरहरुबाट महिनाको एक सय उठाउने गरेको छ । जुन रकम मजदुर विरामी पर्दा र दर्ुघटना भएको बेला खर्च गर्ने गरेको छ । यसो त संघले मजदुहरुलाई परिचयपत्रको पनि व्यवस्था गरेको छ । परिचयपत्र बोकेर हिंडेपछि उपत्यकाको जुनसुकै ठाउँमा गएर काम गर्न कसैले केही नगर्ने बताउँछन् रिक्सा चालक मुस्कान श्रेष्ठ । उनी पनि उपत्यकामा १५ वर्षेखि रिक्सा चलाउँदै आएका छन् । अहिले उनले रिक्सा चलाएरै पाँचजनाको परिवार पालिरहेका छन् ।
रिक्सा चालकहरुको आ-आफ्नो काम गर्ने क्षेत्र हुने र त्यस क्षेत्रमा गएर अर्को रिक्साले सामान ढुवानी गर्न नपाउने व्यवस्था छ । जसले गर्दा मजदुरबीच झगडा हुने सम्भावना कम भएको बताउँछनर रिक्सा मजदुर भुवन कार्की ।
संघले मजदुरहरुको हकहित र व्यावसायिक रुपमा रिक्सा व्यवसायलाई सुधार गर्दै लैजान हरेक क्षेत्रमा मजदुरहरुलाई सहयोग गर्दैआएको छ । तर पनि संघमा व्यावसायिक, सांगठनिक, राजनैतिक, आर्थिक चुनौतीको कारणले संघलाई केही समस्या परेको संघका काठमाडौं अध्यक्ष राणा बताउँछन् । काठमाडौंमा चल्ने रिक्साहरु केही आफ्नै र केही भाडामा चलाउने गरिएको मजदुहरु बताउँछन् ।