काठमाडौं । नेपाल चीन समाजका अध्यक्ष रामबाबु तिवारीको असामयिक निधन भएको तेह्रौ दिनको पुण्य तिथिमा गत बिहिबार राजधानीमा एक शोकसभा आयोजना गरियो ।
नेपाल चीन समाजका उपाध्यक्ष जनार्दन आचार्यको सभापतित्वमा भएको सो समारोहमा प्रमुख अतिथि नेपालका लागि चीनका राजदूत वाङ चियालिङ हुनुहुन्थ्यो । अतिथिको आशनबाट स्व. तिवारीको योगदानका बारेमा बोल्दै राजदूत चियालिङले स्व. रामबाबु तिवारीले नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्याउन महत्वपर्ूण्ा भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले आफू नेपाल आएपछि पहिलो मित्रका रुपमा उहाँलाई पाएको स्मरण गर्नुभयो । नेपाल र चीनका जनतामाझ रहेको सम्बन्धलाई अझ प्रगाढ बनाउन स्व. तिवारीले पुर्याउनुभएको योगदानका राजदूत चियालिङले खुलेर प्रशंसा गर्नुभयो ।
शोकसभामा नेकपा माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले नेकपा माओवादी र चिनीया सरकारबीच सम्बन्ध विस्तार गर्न स्व. रामबाबु तिवारीले महत्वपर्ूण्ा भूमिका निर्वाह गर्नुभएको स्मरण गर्नुभयो । उहाँले नेपाल र चीनबीचको सम्बन्ध सुमधुर बनाउन रामबाबु तिवारीले खेल्नुभएको भूमिकाको सह्राना गर्दै परिवर्तित राजनीतिक परिस्थितिमा दर्ुइ छिमेकी मुलुकको सम्बन्धको नयाँ परिभाषा खोज्नुपर्ने बेलामा तिवारीको निधनले ठूलो घाटा पुगेको बताउनुभयो ।
एमालेका नेता राजेन्द्र पाण्डेले रामबाबु तिवारीसंगको आफ्नो छोटो भेटघाटले निकै उत्साह प्रदान गरेको बताउँदै उहाँको देहावसानसंगै आफ्ना थुप्रै योजनाहरु ओझेलमा परेको बताउनुभयो । उहाँले रामबाबु तिवारीको एमाले नेताहरुसंग गहिरो सम्बन्ध रहेको चर्चा गर्नुहुँदै स्व. मदन भण्डारीदेखि मनमोहन अधिकारीसम्मका नेताहरुसंगको उहाँको उठबसको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा रामबाबु तिवारीको व्यक्तित्वमाथि प्रकाश पार्दै अधिकांश वक्ताहरुले उहाँको सामाजिक योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा नेपाल चीन समाजका महासचिव डा. हरिचन्द्र साह, जनार्दन आचार्य लगायतले रामबाबु तिवारीका विविध पक्षहरुको स्मरण गर्नुभएको थियो ।