युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 08.22.2018, 01:13pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दस्तावेज
 
नवौंं महाधिवेशनले स्पष्ट पार्नुपर्ने विषयहरु - शंकर पोखरेल
Monday, 03.31.2014, 04:34pm (GMT+5.5)

१. क्रान्ति सम्बन्धी धारणामा स्पष्टता
पार्टीको पाँचौ महाधिवेशनमा छयालिस सालको परिवर्तनलाई क्रान्ति मान्ने कि नमान्ने भन्ने सन्दर्भमा वहस चलेको थियो । त्यतिवेला जननेता मदन भण्डारील उक्त राजनीतिक परिवर्तनलाई क्रान्ति मान्न नसकिने धारणा राख्नु भएको थियो । अहिले फेरी वैसठ्ठी त्रिसठ्ठीको जनआन्दोलनको सफलता पछि क्रान्ति पूरा भएको भन्ने कोणबाट वहस सुरु भएको छ । पार्टीको आठौंंं महाधिवेशन र आठौंंं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले जनआन्दोलनले जनक्रान्तिको स्वरुप ग्रहण गरेको र जनक्रान्ति जारी रहेको मान्यतालाई अघि सार्याे । क्रान्तिका कार्यभारहरु पूरा नहुँदै क्रान्ति सम्पन्न भएको भन्नु राजनीतिक कार्यदिशाका दृष्टिकोणले पनि त्रुटीपूर्ण कुरा हो । तर कतिपय जिम्मेवार कमरेडहरु पार्टीको उक्त निर्णयका विपरित क्रान्ति सम्पन्न भएको भनेर आफ्नै मान्यताको निरन्तर पैरवी गरिरहनु भएको छ । पार्टी निर्णयका पक्षमा उभिनेहरुलाई नै पार्टीको निर्णय विपरित उभिएको आरोप लगाइरहनु भएको छ । आउने महाधिवेशनबाट यस सन्दर्भमा पार्टीको दृष्टिकोणलाई पुनः स्पष्ट पार्नु आवश्यक छ ।

छयालिस सालको जनआन्दोलनको तुलनामा बैसठ्ठी त्रिसठ्ठीको जनआन्दोलनको दायरा र उचाई निश्चय नै निकै माथिको रहेको छ । छयालिस सालको जनआन्दोलनले निरंकुश राजतन्त्रलाई बैधानिक बन्न र जनताको प्रतिनिधिहरु समेतको सहभागितामा नयाँ संविधान निर्माण गर्न सकिएको अवस्था थियो । बैसठ्ठी त्रिसठ्ठीको जनआन्दोलनले सामन्ती राजतन्त्रकै अन्त्य गरी मुलुकमा संविधान सभाबाट नयाँ संविधान निर्माणको बाटो खोलिदिएको छ । छयालिसको जनआन्दोलनसम्म नेपालको वुर्जवा वर्गको प्रतिनिधिका रुपमा रहेको नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनको वैचारिक नेतृत्व गर्न सफल भएको थियो । त्यतिवेला उसका मान्यताहरु नेपाल अधिराज्यको संविधान निर्माणमा स्थापित भएका थिए । जवकी तात्कालिक नेकपा(माले)को महासचिवको हैसियतमा जननेता मदन भण्डारीले २७ बुँदे असहमति दर्ज गर्नु परेको थियो । तर बैसठ्ठी त्रिसठ्ठीको जनआन्दोलनमा आइपुग्दा वुर्जुवा वर्गको प्रमुख प्रतिनिधिका रुपमा रहेका नेकांले बैचारिक नेतृत्वको हैसियत गुमाउन पुगेको पुग्यो । उक्त जनआन्दोलनबाट पुनस्र्थापना भएको संसदले २०६३ जेठ ४ मा गरेको ऐतिहासिक घोषणा मूलतः ०४७ मा नेपाल अधिराज्यको संविधान जारी गर्दाका समयमा तात्कालिक नेकपा(माले)ले प्रस्तुत गरेको २७ वुँदे असहमतिको पुनःस्थापना नै थियो । वास्तवमा बैसठ्ठी त्रिसठ्ठीको ऐतिहासिक जनआन्दोलनबाट सामन्ती राजतन्त्रको अन्त्य भएको, नेपालको वुर्जवा वर्गको प्रतिनिधि संस्थाका रुपमा रहेको नेपाली कांग्रेसले जनआन्दोनको बैचारिक नेतृत्व गुमाउन पुगेको र नेकपा(माओवादी)ले सशस्त्र संघर्षको राजनीतिक कार्यदिशा गुमाउनु परेको अवस्था हो । यी सबै सन्दर्भ र परिप्रेक्षमा उक्त जनआन्दोलनका माध्यमबाट जनताको वहुदलीय जनवादले आफ्नै वैचारिक श्रेष्ठता र औचित्य प्रमाणित गर्न सफल भएको स्थिति हो । पार्टीको आठौं महाधिवेशनबाट जनआन्दोलनको विश्लेषण गर्दा पार्टीले उक्त यथार्थतालाई समेत मनन् गरिएको थियो । सोही अनुरुप नै जनआन्दोलनले जनक्रान्तिको स्वरुप ग्रहण गरेको र जनक्रान्ति जारी रहेको निश्कर्ष निकालेको थियो । जवजले आत्मसात गरेको नयाँखाले क्रान्तिको अवधारणाका दृष्टिकोणबाट पनि पार्टीको उक्त विश्लेषण सही छ र पार्टी सोही मान्यताका पक्षमा दृढतापूर्वक उभिनु आवश्यक छ । क्रान्तिका सन्दर्भमा कतिपय कमरेडहरु जनताको सहभागिताका ठूलो संघर्षहरुलाई सामान्य अर्थमा क्रान्ति भन्दा के फरक पर्छ र भन्ने धारणा राख्नु हुन्छ । फ्रान्सेली राज्य क्रान्ति लगायतका पूराना राजनीतिक संघर्षहरुका सन्दर्भमा प्रयोग गरिएको शब्दावलीलाई त्यसको दृष्टान्तका रुपमा प्रस्तुत गर्नु हुन्छ । तर नेपालको कम्युनिष्ट आन्दोलनमा सात सालको जनआन्दोलनलाई जनक्रान्ति मान्ने कि नमान्ने भन्ने सन्दर्भबाट नै क्रान्ति सम्बन्धी नेपाली दृष्टिकोण निर्माण भएको हो । कमरेड पुष्पलालले उक्त आन्दोलनलाई जनआन्दोलन भन्नु उपयुक्त हुन्छ भन्ने विश्लेषण अघि सार्नु भयो । नेकपाको चौथो महाधिवेशनको एउटा धार निर्मल लामा समुहले भने लामो समयसम्म असफल क्रान्ति भन्नु पर्दछ भन्ने मान्यता अघि सार्दै आयो । हाम्रो पार्टीले भने पुष्पलालको विश्लेषणलाई आत्मसात गर्याे र त्यही दृष्टिकोणलाई नै अहिलेसम्म निरन्तरता दिएको अवस्था छ । निश्चय नै छयालिस सालको परिवर्तन सात सालको तुलनामा विस्तारित थियो । 

तर मदन भण्डारीले उक्त आन्दोलनलाई क्रान्तिको तहमा विकास भएको भनेर विश्लेषण गर्नु त्रुटीपूर्ण हुने मान्यता अघि सार्नु भयो र पार्टी अहिलेसम्म पनि सोही मान्यतामा कायम छ । वास्तवमा पुष्पालाल र मदन भण्डारीले भनेका आधारमा मात्र पार्टीले उक्त दृष्टिकोण अवलम्वन गरेको होइन, त्यसका पछाडी खास आधार पनि रहेका छन् । यस सन्दर्भको मान्यताका पछि पूँजीवाद साम्राज्यवादका रुपमा विकास भएपछि पूरानो वुर्जुवा क्रान्तिले आफ्नो क्रान्तिकारी चरित्र र क्रान्तिकारी परिवर्तनको सम्भावना गुमाएको विश्लेषण नै मुख्य आधार हो । सोही विश्लेषणका आधारमा नै विश्वव्यापी रुपमा क्रान्ति सम्बन्धी नयाँ अवधारणको विकास भयो । जुन अवधारणाको अगुवाई तेस्रो कम्युनिष्ट इन्टरनेशनलले गरेको थियो । जसलाई पूँजीवादी जनवादी क्रान्तिको नयाँ बाटोको रुपमा बुझ्ने गरिन्छ । जनताको वहुदलीय जनवाद र नेकपा(एमाले)ले अवलम्वन गर्दै आएको मान्यता साम्राज्यवादको उदय पछि तेस्रो विश्वमा पूरानो खाले पूँजीवादी क्रान्तिको सम्भावना रहेन भन्ने मान्यतामा आधारित छ । त्यस अर्थमा नेपालको बैसठ्ठी त्रिसठ्ठीको जनआन्दोलनलाई वुर्जवा पूँजीवादी क्रान्तिको रुपमा विश्लेषण गर्ने कुरा भनेको आफ्नै घोषित मान्यताका विरुद्धमा उभिने कुरा हो । अनि नेपालमा पछिल्लो समयको परिवर्तनको वैचारिक नेतृत्व गर्न असफल नेपाली कांग्रेसलाई यस परिवर्तनको बैचारिक नेताको रुपमा स्थापित गर्ने कुरा हो । जुन नेपालको लोकतान्त्रिक आन्दोलनको यथार्थभन्दा निकै बाहिरको कुरा हो ।

जहाँसम्म नयाँ क्रान्तिको अवधारणा अनुरुपको क्रान्ति सम्पन्न भएको अर्थमा यस घटनालाई विश्लेषण गर्ने हो भने पनि त्यो गलत नै हुनेछ । किनकी यो परिवर्तनको सिमा परम्परागत वर्जुवा क्रान्तिभन्दा निकै माथिको रहेको भए पनि त्यसले नयाँ क्रान्तिको मान्यता अनुरुपको छैन । गणतन्त्र संस्थागत भए पनि जनताका अधिकारहरुलाई संविधान सभा मार्फत संस्थागत गर्न अझै बाँकी छ र नयाँ क्रान्तिको अवधारणा अनुरुपको आर्थिक(सामाजिक रुपान्तरणका कार्यभारहरु पूरा गर्न बाँकी नै छ ।  जवजको मान्यता अनुरुप पनि उक्त अभिभारा पूरा गर्न अझै लामो समय लाग्ने अवस्था छ । यस सन्दर्भमा जनताको वहुदलीय जनवादको कार्यक्रममा स्पष्ट रुपमा तिन चरणको अवधारणा प्रस्तुत गरिएको छ । आगामी नवौंं महाधिवेशनका माध्यमबाट उक्त कार्ययोजना ठोस रुपमा अघि सार्नु पर्दछ । जसको सफलताले मात्र जनताको वहुदलीय जनवादको कार्यक्रमले दिशा निर्देश गरेको पूँजीवादी जनवादी क्रान्तिको कार्यभार पूरा हुनेछ ।

यद्यपी बैसठ्ठी त्रिसठ्ठीको ऐतिहासिक जनआन्दोलनले जनक्रान्तिको स्वरुप ग्रहण गरेका कारणले नयाँ क्रान्तिका कार्यभारहरु शान्तिपूर्ण र बैधानिक बाटोबाट समेत अघि बढाउन सकिने सम्भावना प्रकट भएको निश्कर्षमा पार्टी पुगेको छ । त्यसका लागि संविधान सभाबाट जवजको अवधारणा अनुरुपका जनअधिकारहरुलाई संस्थागत गर्न सक्नु पर्दछ । त्यसपछि उक्त अधिकारका माध्यमबाट उत्पादक शक्तिको भूमिकामा बृद्धि गरी नेपाली समाजको प्रगतिशिल रुपान्तरणको आधार तयार गर्न सकिन्छ । पार्टीको आठौंं महाधिवेशनले यस सन्दर्भमा सापेक्षिक हिसावले सही दृष्टिकोण अवलम्वन गरेको छ । उक्त दृष्टिकोणका आधारमा नेपाली समाजको अग्रगामी रुपान्तरणको अभिभारा पूरा गर्ने गरी पार्टीलाई अघि बढाउन सक्नु पर्दछ । वास्तवमा अहिले नै पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको तर्क गर्ने र त्यसबाट नेपाली समाज भने दलाल नोकरशाही पूँजीवादमा बदलिएको भन्ने विश्लेषण जारी क्रान्तिका उपलव्धिहरुलाई अवमूल्यन गर्ने दृष्टिकोण हो । यस प्रकारको विश्लेषणले पार्टीलाई क्रान्तिकारी कार्यभार र कार्यदिशाबाट विचलित बनाउँछ । तसर्थ नवौं महाधिवेशनबाट  क्रान्ति सम्बन्धी बुझाईमा रहेको उपरोक्त प्रकृतिको  भ्रम र अस्पष्टतालाई चिर्दै सही दृष्टिकोण स्थापित गर्न सक्नु पर्दछ ।

२. नेपाली समाजको चरित्रको निरुपण
पार्टीको आठौंं महाधिवेशन देखिनै कतिपय कमरेडहरुले नेपाली समाजको चरित्र बदलिएको र त्यो पूँजीवादी भएको विश्लेषण अघि सारिरहनु भएको छ । साथै नेपालमा विकास भएको पूँजीवादको चरित्र भने दलाल चरित्रको छ भनेर विश्लेषण गर्ने गर्नु भएको छ । यस विश्लेषणका आधारमा उहाँहरु नेपाली समाज अर्धसामन्ती र अर्ध औपनिवेशिक हो भन्ने कुरालाई सच्याएर पूँजीवादी समाज हो भन्ने कुरा उल्लेख गर्नु पर्दछ भन्ने मान्यताको पैरवी गरिरहनु भएको छ । अर्धसामन्ती र अर्धऔपनिवेशिक भन्ने शब्दावलीको ठाउँमा अर्को कुनै उपयुक्त शब्दको प्रयोग गरौं भन्ने कुरा विचारणीय विषय हुन सक्छ । तर नेपाली समाज पुरै पूँजीवादी समाजमा फेरियो भनेर विश्लेषण गर्ने कुरा मनोगत कुरा हो । यसले क्रान्तिकारी कार्यदिशा र कार्यभारबाट आन्दोलनलाई विचलित बनाउने खतरा रहन्छ ।

पार्टीको आठौंं महाधिवेशनमा पनि यस सम्वन्धी विचारहरु वहसका क्रममा प्रस्तुत भएकै थिए । उक्त वहसका क्रममा पार्टीले नेपाली समाज अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट परिवर्तनको तिव्र प्रक्रियामा अघि बढिरहेको संक्रमणकालिन अवस्थामा रहेको विश्लेषण गरेको थियो । नयाँ क्रान्तिको अवधारणा अनुरुपको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणका अभिभारा पूरा नहुञ्जेलसम्म उक्त अवस्था कायम नै रहने पार्टीको निचोड हो । तर समाजको चरित्र बदलिएको भन्ने पक्षमा रहनु भएका कमरेडहरु भने समान्तवादको प्रमुख नाइके नै सामाप्त भइसक्यो तसर्थ अझै पनि सामन्तवाद विरोधी कार्यक्रम जारी राख्नु गलत हो भनेर पार्टी नीतिको आलोचना गरिरहनु भएको छ । निश्चय नै राजनीतिक रुपमा सामन्तवादको प्रमुख प्रतिनिधि संस्थाका रुपमा रहेको राजतन्त्र समाप्त भएको छ । तर सामन्तवादको कुनै राजनीतिक प्रतिनिधि नै छैन भन्ने कुरा भने गलत हो । राप्रपा नेपाल लगायतका दक्षिणपंथी राजनीतिक दलहरु र कतिपय क्षेत्रियतावादी राजनीतिक दलहरु अहिले पनि नेपालमा सामन्तवादको राजनीतिक प्रतिनिधिका हैसियतमा भूमिका खेलिरहेका छन् र उनीहरु आफ्नो त्यो भूमिको विस्तारका लागि अवसरको खोजीमा छन् ।

नेपाली समाजको चरित्रको निरुपणका सन्दर्भको विश्लेषण गर्दा नेपालको कम्युनिष्ट आन्दोलनले अर्धसामन्ती र अर्धऔपनिवेशिक शब्दावलीको प्रयोग कुन पृष्ठभूमिमा कसरी गर्याे भन्ने कुरामा स्पष्ट हुनु जरुरी हुन्छ । नेपालको कम्युनिष्ट आन्दोलनका अग्रजहरुले अर्धऔपनिवेशिक सन्दर्भका बारेमा चित्रण गर्ने क्रममा ब्रिटिश इण्डियासंगको १८१६को सुगौली सन्धिलाई आधार बनाउने गरिन्छ । उक्त सन्धिका माध्यमबाट नेपालको सार्वभौमसत्ता खण्डित भएको र राणातन्त्र त्यसको प्रतिनिधिका रुपमा रहेको भन्ने विश्लेषणका आधारमा नेपाली समाज अर्ध औपनिवेशिक हो भनेर भन्न सुरु गरिएको हो । भारत स्वतन्त्र भए पनि स्वतन्त्र भारत अन्तिम राणा प्रधानमन्त्री मोहन शम्सेरलाई बोलाएर भारत र नेपालका बीचमा सन् १९५० शान्ति तथा मैत्री सन्धि गर्न बाध्य बनायो । उक्त सन्धिले नेपालको स्वाधीनता पुनः खण्डित गरियो भन्ने अर्थमा अर्ध औपनिवेशिक चरित्रको चित्रणलाई निरन्तरता दिइएको हो । अहिले कतिपयले नेपाल कहिले कसैको उपनिवेश भएन किन अर्ध औपनिवेशिक भन्ने भनेर वहस गरिरहनु भएको छ भने कतिपयले नेपालको मामिलामा विदेशी हस्तक्षेप खुलम्खुल्ला भइरहेको अवस्थामा अर्ध भनेर पुग्दैन भन्ने अर्थमा तर्क अघि सारिरहनु भएको छ । यी दुबै खाले तर्कहरु भावनात्मक छन् । यिनले नेपाली राजनीति र समाजको सही चित्रण गर्ने काम गरिरहेका छैनन् । तर यस सन्दर्भमा संविधान सभाबाट नेपाल सार्वभौम र स्वाधीन मुलुक भनेर आफैले उल्लेख गरिसकेको अवस्थामा कसरी प्रस्तुत हुने भन्ने प्रश्न भने विचारणीय प्रश्न हो । तर यसका नाममा नेपालको स्वाधीनता र सार्वभौम सत्ताका पक्षको हाम्रो लडाईलाई भुत्ते बनाउने गल्ती गर्नु भने हँुदैन ।

जहाँसम्म अर्ध सामन्ती शब्दको प्रयोग नेपाली समाजमा आधा सामन्तवाद र आधा पूँजीवाद भन्ने अर्थमा प्रयोग गरिरहेको थिएन र होइन । यस शब्दावलीको प्रयोगको अर्थ नेपाली समाजमा दुई प्रकारका उत्पादन सम्वन्धहरु स्थापित भए र विद्यमान छन् भन्ने हो । कम्युनिष्ट आन्दोलनले विराटनगरमा जुट उद्योगको स्थापना पछि नेपाली समाज अर्ध सामन्ती भयो भनेर विश्लेषण गर्न सुरु गरिएको हो । एउटा उद्योगको स्थापनाले नेपाली समाजमा सामन्तवादको हाराहारीमा पूँजीवादको विकास भयो भन्ने कदापी होइन । यसको अर्थ सामन्तवादी उत्पादन सम्वन्धको एकाधिकार रहेन भन्ने हो । अहिले पूँजीवादको विकास भयो भन्नेहरुले आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा सामन्तवादको उपस्थिति उल्लेख्य मात्रामा रहँदा रहँदै पनि सामन्तवादको समूल अन्त्य भयो भन्ने कुरा मनोगत आग्रह प्रेरित विश्लेषण हो । यस प्रकारको विश्लेषणले एकातिर जवजको कार्यक्रमिक औचित्य समाप्त भएको र नेपालमा स्थापना काल देखिनै कम्युनिष्ट पार्टीले अघि सार्दै आएको नयाँ क्रान्तिको दृष्टिकोण नै गलत थियो भन्ने निश्कर्षमा पुर्याउँछ । साथै यस विश्लेषणले अहिलेसम्म कम्युनिष्टहरुले समाज परिवर्तनका लागि खेलेको भूमिकालाई फगत वुर्जुवा वर्गको सेवाका लागि गरिएको काममा सिमित गरिदिन्छ । जुन कुरा नेपालका जनआन्दोलन तथा कम्युनिष्ट आन्दोलनको भूमिकाको विश्लेषण गर्ने जो कोहीले सहजै अस्विकार गर्ने कुरा हो । नेपाली समाज हिजोको तुलनामा निकै नै परिवर्तन भएको छ । बैसठ्ठी त्रिसठ्ठीको ऐतिहासिक जनआन्दोलनको सफलता आफैमा त्यसको महत्वपूर्ण आधार हो । नेपाली समाजमा सामन्तवाद कमजोर हुने र पूँजीवादको विकास हुने चरित्र फरक छ र फरक हुनु पनि पर्दछ । नेपाली समाज अहिले पनि सामन्तवाद विरोधी पूँजीवादी जनवादी क्रान्तिको चरणबाटै अघि बढिरहेको छ । त्यसलाई जनताको वहुदलीय जनवादले सैद्धान्तिक र कार्यक्रमिक दुबै रुपमा मार्गदर्शन गरिरहेको छ । यस्तो अवस्थामा विकसित भएको नेपाली समाज पूरानो पूँजीवादी समाजतर्फ जानु हुँदैन र गइरहेको पनि छैन । त्यसमाथि जनताको क्रान्तिकारी पहलकदमी पछिको नेपाली समाजको प्रमुख चरित्र दलाल नोकरशाही भयो भन्नु त झनै त्रुटीपूर्ण र मनोगत विश्लेषण हो । यस अर्थमा नेपाली समाज सामन्तवाद कमजोर हँुदै गएको र पूँजीवादी जनवादी रुपान्तरणको प्रारम्भिक अवस्थामा छ । यसका प्रभावहरु स्वभाविक रुपमा नेपाली समाजमा मध्यम वर्गको विकासले प्रकट गरिरहेको छ । पार्टीको नवौं महाधिवेशनले नेपाली समाजको चरित्रमा देखिएको यस प्रकारको परिवर्तनलाई बस्तुगत रुपमा चित्रण गर्न शुत्रवद्ध गर्न सक्नु पर्दछ । नेपाली समाजमा भइरहेको परिवर्तनका विशेषताहरु यस प्रकार रहेका छन्–

(क) नेपाली समाजको विकास परम्परागत पूँजीवाद तर्फको होइन
कम्युनिष्ट पार्टीको स्थापना देखि नै नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका कम्युनिष्ट पार्टीको भूमिका महत्वपूर्ण रहँदै आएको छ । सात साल देखिको राजा र कांग्रेस बीचको सत्ता संघर्षमा कम्युनिष्ट पार्टीले खेलेको भूमिका र ०१७ साल पछि पञ्चायतका विरुद्धमा कम्युनिष्ट घटकहरुले संयुक्त र अलग अलग रुपमा संचालन गरेका संघर्षहरुले नेपाली समाजको रुपान्तरणमा उल्लेख्य प्रभाव छोडेका छन् । छयालिस साल पछिका दिनहरुमा कम्युनिष्ट आन्दोलन नेपालको राष्ट्रिय राजनीतिको मुख्य शक्तिका रुपमा स्थापित भएको छ र उसको सहभागिता र सहमती बिना अघि बढ्नै नसक्ने परिस्थिति सृजना हँुदै गएको छ । यस्तो अवस्थामा

उनीहरुको नेतृत्वकारी भूमिका र सकृय हस्तक्षेप पछिको नेपाली समाज परम्परागत पूँजीवादी समाज हो भनेर विश्लेषण गर्ने कुरा पूर्णतः गलत छ । नेपाली राजनीतिमा कम्युनिष्ट क्रान्तिकारीको एकल प्रभुत्व स्थापित नभए पनि उनीहरुको उपस्थिति र भूमिका निर्णायक तहमा स्थापित छ । ०४७ सालको नेपाल अधिराज्यको संविधान, २०६४को नेपालको अन्तरिम संविधान र संविधान सभाबाट संविधान निर्माण गर्ने प्रकृयामा कम्युनिष्ट क्रान्तिकारी भूमिका निकै नै महत्वपूर्ण छ । यसले स्वभाविक रुपमा नेपाली समाजमा परम्परागत चरित्रको पूँजीवादको विकास हुने र त्यसले ठूलो पैमानामा औद्योगिक सर्वहारा र मजदुर वर्गको सिर्जना गर्ने अवस्था छैन । नेपालमा सामन्तवादी र पूँजीवादी उत्पीडनका विरुद्धको वर्ग संघर्षमा कम्युनिष्ट पार्टीको नेतृत्वकारी भूमिकाले यहाँ मध्यम वर्गको विकास ठूलो पैमानामा भएको छ । यसले नेपाली समाज परम्परागत पूँजीवादको बाटोबाट नभै नयाँ क्रान्तिको बाटोबाट अघि बढ्दैछ भन्ने देखिन्छ । अहिलेको नेपाली समाज सामन्तवाद कमजोर हँुदै गएको, पूरानोखाले पूँजीवादको विकास पनि नभएको र पूँजीवादी जनवादी क्रान्तिको राजनीतिक कार्यभार संविधान सभाबाट एकहदसम्म सम्पन्न गर्न सकिने र अन्य कार्यभारहरु योजनवाद्ध रुपमा शान्तिपूर्ण ढंगले अघि बढाउन सकिने अवस्थामा प्रवेश गरेको स्थिति हो । समाज विकासका सन्दर्भमा यो अवस्था सापेक्षिक हिसावले अनुकूल र प्रगतिशिल अवस्था हो । तर पनि यो जनवादी चरण कै र जवजको कार्यान्वयन कै चरणको अवस्था हो । यसलाई सोही रुपमा बुझ्न सक्नु पर्दछ ।

(ख) हामी जवजको कार्यक्रमिक कार्यान्वयन कै चरणमा छौ
संविधान सभाबाट जवजका राजनीतिक कार्यभारहरु एकहदसम्म पूरा गर्न सकिने परिस्थिति विद्यमान रहे पनि उक्त कार्यभार अझै पूरा भइसकेको छैन र चुनौतिहरु विद्यमान नै रहेको अवस्था छ । जवजको राजनीतिक कार्यभार संविधान सभाबाट पूरा गर्न सकिएको अवस्थामा पनि उक्त अधिकारको प्रयोगबाट नेपाली सामाजको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणको ठोस काम भने गर्न बाँकी नै छ । जनताको वहुदलीय जनवादी क्रान्ति पछि पनि जनवादी चरण अपेक्षाकृत लामो हुनसक्ने विश्लेषण जवजले गरेको छ । जवजको कार्यक्रममा जनवादी व्यवस्थाको सुदृढीकरणको तीन चरण रहने स्पष्ट मान्यता अघि सारेको छ । जो यस प्रकार छ–

पहिलो, पूरानो समाज व्यवस्थाका शोषण र उत्पीडनका अवशेषहरु सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने अवधि, दोस्रो, नयाँ उत्पादन सम्वन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र साँस्कृतिक दुबै हिसावले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने अवधि र तेश्रो, समाजवादमा संक्रमणका निम्ति केन्द्रित भएर भौतिक तथा साँस्कृतिक तयारी गर्ने अवधि ।

संविधान सभा मार्फत जारी हुने संंविधानलाई उपरोक्त कार्यभार पूरा गर्न सकिने गरी तयार गर्ने र नवौंं महाधिवेशनका माध्यमबाट उपरोक्त तीन चरण अवधारणा अनुरुप आर्थिक सामाजिक विकास र रुपान्तरणका कार्यक्रम अघि सार्नुपर्ने हुन्छ । यसका लागि अहिले देखि नै नयाँ क्रान्तिको अवधारणा अनुरुप जवजको मार्गदर्शनमा नेपाली समाजको अग्रगामी रुपान्तरणको योजना तयार गर्ने काममा केन्द्रीत भएर लाग्नु पर्दछ । नेपाली समाजको चरित्र, क्रान्ति सम्बन्धी बुझाइमा रहेको अस्पष्टता अन्त्य नगरी तथा योजनावद्ध र एकतावद्ध पहल र प्रयत्न नगरी प्राप्त उपलव्धिहरुको रक्षा गर्दै नेपाली समाजलाई अग्रगामी परिवर्तनको दिशामा डोर्याउन कठिन हुनेछ । यसमा सिंगो पार्टी पंक्ति वैचारिक र राजनीतिक रुपले सचेत र सजग हुनु आवश्यक छ ।

(ग) सामन्तवाद कमजोर भएको हो, तर सामन्तवाद विरोधी संघर्ष अभिभारा पूरा भएको छैन
विर्ताप्रथा उन्मुलन, हदवन्दी र भूमिसुधारका प्रयासहरु, कमैया कमलहरी मुक्ति तथा हलिया प्रथाको अन्त्यजस्ता सुधारात्मक प्रयासहरुबाट कमजोर भएको सामन्तवाद राजतन्त्रको उन्मूलनपश्चात् निकै कमजोर अवस्थामा छ । तर क्रान्तिकारी भूमिसुधारको आवश्यकता र औचित्य नै सामाप्त भइसकेको, जमिनमा द्वैध स्वामित्वको स्थिति समाप्त भइसकेको र खेती योग्य जमिनमा अनुपस्थित जग्गाको स्वामित्व समाप्त भएको र खेतीयोग्य जमिनको मालिक किसानहरु भइसकेको अवस्था होइन । अझै पनि ठूलो संख्यामा कृषिमा संलग्न किसानहरुसंग आफ्नो जमिन छैन । कुत, बटैया र ठेक्का प्रथामा ठूलो संख्यामा किसानहरु आफ्नो जीविका चलाइरहेका छन् । मध्य तराईका कृषि मजदुरहरुको अवस्था अझै पनि पश्चिम तराईका मुक्त कमैया र हलियाहरुको भन्दा फरक छैन । कृषिको आधुनिकीकरण र व्यवसायिकरणका केही प्रवृत्तिहरु देखा परेपनि त्यो नेपालको कृषि प्रणालीको मुख्य चरित्र बन्न सकेको छैन । यति मात्रै कुरालाई आधार बनाएर हेर्ने हो भने नेपालमा सामन्तवाद उत्पादन पपद्दतिका रुपमा कायम छ भन्ने कुरा स्पष्ट छ । यद्यपी विज्ञान प्रविधिको विकास र विकसित राजनीतिक चेतनाको प्रभावबाट सामन्ती उत्पादन सम्वन्ध पनि गहिरो गरी प्रभावित छ । सामाजिक र साँस्कृतिक रुपमा पनि सामन्तवाद हिजोको तुलनामा निकै कमजोर भएको छ । तर पनि नेपाली समाजका विभिन्न क्षेत्रमा त्यसको प्रभाव उल्लेख्य रुपमा पाउन सकिन्छ । यतिसम्म कि सामन्तवाद विरुद्धको आन्दोलनको अग्रदस्ताका रुपमा रहेका कम्युनिष्ट पार्टीका नेता र कार्यकर्ताहरुमा समेत सामाजिक र साँस्कृतिक रुपमा सामन्तवादको प्रभाव प्रचुर मात्रामा पाउन सकिन्छ । माक्र्सवादी दर्शन र सिद्धान्तको निरन्तर अध्ययन र प्रशिक्षणको अभावमा पूराना क्रान्तिकारीहरु समेत त्यसबाट आक्रान्त हुने गरेको तितो यथार्थ हाम्रा सामु छन् । यी सबै सन्दर्भमा गरिने संघर्ष पनि सामन्तवाद विरोधी संघर्ष कै रुप हो । आगामी दिनमा यसलाई योजनावद्ध रुपमा तिव्रता दिनु आवश्यक छ । पार्टी र राज्य दुबैका तर्फबाट यस सन्दर्भमा प्रभावकारी भूमिका खेल्नु आवश्यक छ ।

(घ) स्वाधिन र समृद्ध अर्थतन्त्र निर्माणका लागि दलाल नोकरशाही पूँजीवाद विरुद्धको संघर्ष अपरिहार्य 
सामन्तवाद कमजोर बन्दै गएको र राष्ट्रिय अर्थतन्त्र अझै सुदृढ हुन नसकिरहेको अवस्थामा दलाल नोकरशाही पूँजीवाद मुलुकका सामु चुनौतिका रुपमा खडा हुनु स्वभाविक नै हो । पूँजीवाद साम्राज्यवादका रुपमा विकास भइसकेपछि नै तेस्रो विश्वका पछौटे सामन्ती समाजमा साम्रज्यवादको प्रभाव विस्तारका क्रममा दलाल नोकरशाही पूँजीवादको विकास हुन पुगेको हो । साम्राज्यवादसंगको सामन्तवादको संश्रयको नीति वा पूँजीवादी वजार विस्तारको सरल उपायका रुपमा यस चरित्रको विकास हुन पुग्यो । त्यसपछिका दिनहरुमा नै पछौटे सामन्ती समाजको पूँजीपति वर्ग एक्लैले पूँजीवादी क्रान्तिको नेतृत्व गर्न नसक्ने निश्कर्ष निकालिएको थियो । विश्व समाजवादी आन्दोलन रक्षात्मक भएको अवस्थामा साम्राज्यवादको प्रभाव तिव्र हुनु स्वभाविक नै थियो । संयुक्त राष्ट्रसंघ, विश्व व्यापार संगठन, अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व वैंक समेत पूँजीवादी साम्राज्यवादको प्रभाव विस्तारका माध्यम बनेकै छन् । यस्तो अवस्थामाजनवादी पूँजीवादी क्रान्तिको दिशामा पनि गम्भिर चुनौति खडा भए । त्यसको सामना गर्ने क्रममा नै नेपालमा जननेता मदन भण्डारीको अगुवाईमा हाम्रो पार्टीले जनताको वहुदलीय जनवादको विकास गरेको थियो । जनताको वहुदलीय जनवादको नीतिका आधारमा हाम्रो मुलकको क्रान्तिकारी आन्दोलनले पूँजीवादी साम्राज्यवादका हस्तक्षेप र घुसपैठका असरहरुलाई एकहदसम्म प्रतिरोध गर्दै आएको छ । यहाँको राजनीतिक आन्दोलन, मजदुर आन्दोलन र विभिन्न समयका किसान आन्दोलनहरुले नेपाली समाजमा मध्यम वर्गको विकास सम्भव भएको छ । यस प्रकारको विशिष्ठ अवस्थाले हाम्रो समाजलाई परम्परागत पूँजीवादको बाटोबाट होइन, नयाँ क्रान्तिको अवधारणा अनुरुपको पूँजीवादी जनवादी क्रान्तिको बाटोबाट शान्तिपूर्ण ढंगले समाजवादमा रुपान्तरण हुन सक्ने आधार तयार गर्दै लागिरहेको छ । यहाँ पूँजीवादको परम्परागत विकास नभएका कारणले नै नेपाली समाजमा परम्परागत कृषिमा श्रम शक्तिको अभाव बढ्दै गएको भए पनि त्यसले औद्योगिकिकरणको प्रक्रियालाई विस्तार गर्न सकेको छैन । बरु परम्परागत कृषिबाट विस्थापित र निरुत्साहित बन्न पुगेको श्रम शक्ति वैदेशिक रोजगारतर्फ आकर्षित हुन पुगेको छ । यसले नेपालमा रेमिटेन्समा उल्लेख्य बृद्धि गरेपनि उत्पादकत्वको बृद्धिमा उल्लेख्य प्रभाव छोड्न सकेको छैन । बरु उल्टै पहाडी इलाकाहरु ठूलो पैमानामा कृषियोग्य जमिन बाँझो हुने परिस्थिति सृजना गरिदिएको छ । नेपाल कृषि प्रधान मुलुक भएर पनि पछिल्लो समयमा खाद्यान्न, माछा मासु र तरकारी तथा फलफूल समेत विदेशबाट आयात गर्नुपर्ने दुःखद स्थिति सृजना भएको छ । क्रान्तिकारी भूमिसुधार, भूमिको वैज्ञानिक व्यवस्थापन र कृषिको आधुनिकिकरण र व्यवसायिकरणका माध्यमबाट नै यथार्थ रुपमा नेपाली समाजमा दलाल पूँजीवादको प्रभावलाई न्यून गर्न सकिन्छ । साथै स्थानिय कृषि, वनपैदावार र स्थानिय खनिजमा आधारित उद्योगको स्थापनाका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रको विकासलाई सुदृढ गर्न सकिन्छ । यसका लागि आर्थिक सामाजिक विकास र रुपान्तरणको ठोस योजना अघि बढाउनुपर्ने हुन्छ । जिन्दावाद र मुर्दावादको नाराले मात्र साम्राज्यवादी शोषण र उत्पीडनको अन्त्य हँुदो रहेनछ भन्ने अन्तर्राष्ट्रिय जगतको अनुभवलाई समेत शिक्षाका रुपमा लिंदै स्वाधीन अर्थतन्त्रको विकासमा जोडदिनु पर्दछ । यसका लागि सामन्तवादका आधार र अवशेषको उन्मूलन गर्ने, श्रमजीवि वर्गको नेतृत्वमा राष्ट्रिय पूँजीको विकास गर्ने, नेपाली समाजमा विद्यमान सामाजिक विभेद, असमानता र पछौटेपनको अन्त्य गर्ने, जनशक्ति विकास, पूर्वाधार विकास, रोजगारीको सृजना, आय आर्जन, राष्ट्रि«य वचत र लगानी बृद्धिमा जोड दिंदै राष्ट्रि«य अर्थतन्त्रको विकास गर्ने, अर्थतन्त्रको विकासमा आम जनताको सहभागिता जुटाउने, राज्यको पुनःसंरचनासंगै स्थापना हुने नयाँ संघात्मक राजनीतिक इकाईका रुपमा पार्टीको नेतृत्व स्थापना गर्ने कामलाई योजनावद्ध रुपमा अघि बढाउनु पर्दछ । यस प्रकारको काममा हुने अगुवाइबाट नै जनताको वहुदलीय जनवादको अवधारणा अनुरुपको स्वाधीन अर्थतन्त्रको निर्माण सम्भव हुनेछ ।

३. पार्टीमा उत्पन्न समस्याको कारणको पहिचान
जनताको वहुदलीय जनवादले नेपाली राजनीतिमा आफ्नो बैचारिक श्रेष्ठता हासिल गर्न सफल भए पनि नेकपा(एमाले) चुनौतिबाट मुक्त छैन । पार्टीले लिएका कतिपय क्रियाकलापहरु र निर्णयहरुले पार्टीको क्रान्तिकारी भूमिका माथि नै प्रश्न खडा हुने गरेको पनि छ । सही निर्णय लिने र त्यसमा अड्न नसक्ने समस्याले पार्टीको चरित्र मै गम्भिर समस्या पैदा हुने गरेको छ । पार्टीमा बढ्दै गएको अराजकता, गुटवन्दी र क्रान्तिकारी जीवनशैली र आचरणबाट भएको विचलनले पार्टीको भविष्यका बारेमा समेत चिन्ता बढाएको अवस्था छ । तर यो स्थितिको कारण जवज हो कि त्यसबाट विचलनको परिणाम भन्ने कुरामा स्पष्ट हुनु आवश्यक छ । जनताको बहुदलीय जनवादले वर्गिय रुपमा सामन्तवाद दलाल नोकरशाही पूँजीवादसंग नेपाली जनताको प्रधान अन्तरविरोध रहेको निश्कर्ष निकालेको अवस्थामा समेत पार्टी कहिले वर्गिय रुपमा प्रमुख शत्रुको भूमिकाका रुपमा रहेको पूर्वपञ्चहरुसंगको सहकार्यमा संलग्न भयो भने कतिपय अवस्थामा प्रमुख प्रतिस्पर्धी राजनीतिक दलसंगको सहकार्यमा सामेल भयो । अनि कतिपय अवस्थामा आफैले उग्रवामपन्थी अतिवादी शक्ति रहेको ठहर गरेको शक्तिसंगको सहकार्यमा सामेल भयो । यस प्रकारका गतिविधिले पार्टी प्रति सत्तालोलुपताको आरोप लाग्यो । पार्टीले दोहोरो चरित्र देखाएको आरोप लाग्यो । के कति कारणले पार्टीले त्यस प्रकारको निर्णय गर्नु पर्याे भन्ने कुरालाई समय मै स्पष्ट गर्ने काम गरेन । एउटै समयमा कहिले एक प्रकारको नीतिका साथ एकखालको गठवन्धनमा त कहिले त्यसभन्दा फरक नीतिका साथ अर्को प्रकारको गठवन्धनको सरकारको नेतृत्व गर्याे । पार्टीको प्रमुख नेताहरु नै त्यस प्रकारको भिन्न भिन्न नीतिका वाहक बने । यसले पार्टीको आन्तरिक एकता गम्भीर रुपमा प्रभावित भयो र पार्टीको प्रतिष्ठामा समेत गम्भिर नकारात्मक असर पुर्यायो । त्यसरी नै प्रतिस्पर्धाका परिणामहरुलाई स्विकार्न नसक्ने तथा प्रतिस्पर्धीसंग मित्रवत व्यवहार गर्न नसक्ने जस्ता कमजोरीले पनि पार्टीको एकता कमजोर बन्न पुग्यो । तर ती कमजोरीहरु जवजको सिद्धान्त र कार्यक्रममा आधारित कमजोरी थिएनन् । ती त कार्यनीतिक कामका सन्दर्भमा नेतृत्वले आवश्यक ठानेर गरेका कमजोरीहरु थिए । कुन कुन काम कमजोरी थिए र कुन कुन कामहरु तात्कालिक परिस्थितिका उपज थिए भन्ने कुरा स्पष्ट नगरिंदा पार्टीको कार्यक्रम र सिद्धान्तकै कारणले कमजोरी प्रकट भएको भनेर बुझ्ने र बुझाउने गलत काम पनि भयो । कार्यनीतिक काममा भएका कमजोरीहरुलाई पार्टीको कार्यक्रम र सिद्धान्तकै कमजोरीका रुपमा चित्रण गर्ने कुरा गलत हो । कार्यनीतिक कामका सन्दर्भमा भएका अधिकांश कमजोरीहरु सिद्धान्तलाई सही ढंगले आत्मसात गर्न नसक्दा र कार्यक्रमलाई ठिक ढंगले कार्यान्वयन गर्न नसक्दाका परिणाम हुन् । वास्तवमा पार्टीको कार्यक्रम र सिद्धान्तमै त्रुटी छ भने त्यसमै आधारित भएर वहस चलाउन सकिन्छ । तर नाच्न नजान्ने आँगन टेंढो भनेझैं सबै प्रकारका कमी कमजोरीको भारी जवजलाई बोकाउन खोज्ने कुरा गलत हो । पार्टी पंक्ति यस्ता भ्रामक कुरामा स्पष्ट हुँदै जवजको प्रभावकारी कार्यान्वयनमा अग्रसर हुनु पर्दछ । नवौं महाधिवेशनले पनि यस सन्दर्भमा स्पष्ट रुपमा दिशानिर्देश गर्नु पर्दछ ।

४. समाजवादी कार्यक्रम कि जवजकै निरन्तरता
विगतको ऐतिहासिक जनआन्दोलनबाट राजतन्त्रको अन्त्य भएको सन्दर्भलाई आधार बनाएर जवजको क्रान्ति पूरा भएको र अव समाजवादी कार्यक्रम अघि सार्नु पर्दछ भन्ने विचार पनि प्रकट हुन थालेका छन् । यस प्रकारका विचार प्रवृत्तिहरु विश्व कम्यूनिष्ट आन्दोलनमा विभिन्न समयमा देखिने भड्काउ कै निरन्तरता हुन् । पाँचौ महाधिवेशनको समयमा पनि जनताको वहुदलीय जनवादलाई पूरानो पुँजीवादी क्रार्यक्रम कै रुपमा लान्छित गर्दै छयालिस सालको जनआन्दोलनलाई एकखाले पूँजीवादी क्रान्ति पूरा भएको भन्ने विश्लेषणका साथ जवज आइसक्यो भनेर जवजको कार्यक्रमबाट विचलित गर्ने कोशिस भएको थियो । त्यतिबेला चलेको त्यो वहसमा जननेता मदन भण्डारीले छयालिस सालको परिवर्तन राजनीतिक रुपमा सिमित रहेकोले सामाजिक क्रान्ति मान्न नसकिने धारणा अघि सार्नु भएको थियो । पार्टीले जननेता मदन भण्डारीकै विश्लेषणलाई स्विकार गरेको थियो । बैसठ्ठी त्रिसठ्ठीको ऐतिहासिक जनआन्दोलन पछि पनि यस विषयमा पार्टीमा निकै ठूलो वहस भयो । उक्त जनआन्दोलनलाई जनक्रान्तिको अर्थमा विश्लेषण गर्दै क्रान्ति सम्पन्न भएको निश्कर्ष निकाल्ने कोशिस गरियो । तर पार्टीले जनआन्दोलनले जनक्रान्तिको स्वरुपसम्म ग्रहण  गरेको, तर क्रान्ति सम्पन्न नभएको अर्थमा उक्त वहसलाई टुंग्याउने काम गर्याे । त्यस अर्थमा उक्त जनक्रान्ति अहिले पनि जारी छ । अर्थात चालु जनक्रान्तिका माध्यमबाट कतिपय राजनीतिक कार्यभारहरु पूरा भए पनि क्रान्तिका कार्यभारहरु पूरा गर्नका लागि अझै धेरै काम बाँकी छ । जवकी जवजले भनेझंै जनक्रान्ति सम्पन्न भएपछि पनि लामो समयसम्म जवज कार्यक्रमका रुपमा नै लागु हुन्छ ।  क्रान्ति पछिको अवस्थामा जवजको कार्यान्वयन तीन चरणमा हुने कुरा जवजकै कार्यक्रममा उल्लेख छ । वास्तवमा अहिलेको राजनीतिक परिवर्तन जवजले परिकल्पना गरेको तहमा पुगेकै छैन । हाम्रो कोशिस संविधान सभा मार्फत त्यो दिशामा अघि बढाउने हुनु पर्दछ । संविधान सभाबाट राजनीतिक अधिकारहरुलाई अधिकतम् रुपमा स्थापित गर्न सकिएको अवस्थामा पनि जवजको कार्यान्वयनको चरण बाँकी नै रहन्छ । वास्तविकता यस्तो रहँदा रहँदै पनि तीन चरणको अवधारणालाई उपेक्षा गरेर अहिले नै समाजवादी कार्यक्रम दिने कुरा गर्नु भनेको सोभियत संघमा ब्रेजनेभ राष्ट्रपति हुँदाका समयमा २० वर्ष मै सोभियत समाजवाद साम्यवादमा पुग्छ भनेर घोषणा गरेझैं कुरा हो । जवकी उनले भनेको २० वर्षमा त सोभियत समाजवाद प्रतिक्रान्तिको बाटोबाट पूँजीवाद तर्फ फर्किएको थियो । समाजवादी चिनले आर्थिक क्षेत्रमा उल्लेख्य प्रगति गरिरहेको भए पनि लोककल्याणकारी राज्यको तहको समाजवादको निर्माण समेत सन् २०२१ पछि अघि बढाउने कुरा गरेको छ । तर हामी कहाँ केही कमरेडहरु अहिले नै हतारिएर समाजवादी कार्यक्रमको कुरा गर्दै हुनुहुन्छ । यो एक प्रकारले आत्मरतीको कुरा बाहेक केही होइन । जवजको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा ध्यान दिनुपर्ने बेलामा जवजको कार्यक्रमिक औचित्यका बारेमा प्रश्न खडा हुने गरी समाजवादी कार्यक्रमका सन्दर्भमा वहस गर्न अघि सर्नु तात्कालिक कार्यभार र कार्यदिशाबाट पार्टीलाई विचलित गर्ने कुरा नै हो । यस प्रकारको प्रवृत्तिबाट जोगिन सक्नु पर्दछ ।

निश्चय नै नेपाली कम्यूनिष्टहरुको अधिकतम् लक्ष्य समाजवाद हुँदै साम्यवादमा पुग्नु नै हो । तर त्यसका लागि उनीहरु जहाँ उभिएका छन् त्यहाँबाट अघि बढ्नु जरुरी हुन्छ । पूरानो ढाँचाबाट पूँजीवादको विकास हुने अवस्थामा नरहेको र नयाँ बाटोबाट पूँजीवादको विकास राम्ररी नभइसकेको अवस्थामा समाजवाद निर्माणको न्यूनतम् लक्ष्य तथा कार्यक्रम अघि सार्नु भनेको एक प्रकारको भड्काउ नै हो । जतिबेला पूँजीवाद साम्राज्यवादका रुपमा विकास भयो, त्यतिबेला देखि पछौटे समाजमा नयाँ क्रान्तिको अवधारणा अघि आयो । त्यसको प्रमुख कारण तेस्रो विश्वमा विद्यमान सामन्ती व्यवस्थासंग पूँजीवादले संघर्ष होइन, संंश्रयको नीति लिनु थियो । कम्युनिष्टहरुले साम्राज्यवादको विकास पछि पछौटे सामन्ती समाजमा दलाल पूँजीवादको विकास नभै दलाल नोकरशाही पूँजीवादको विकास हुने र त्यसको प्रभुत्वमा रहेको पूँजीवादले सामन्तवाद विरोधी क्रान्तिको नेतृत्व गर्न नसक्ने निश्कर्ष निकाले । सोही मान्यता अनुरुप चिनियाँ कम्यूनिष्ट पार्टीको नेतृत्वमा १९४९ मा चिनियाँ क्रान्ति सम्पन्न भएपछि त्यसले विश्वव्यापी मान्यता पायो । अक्टुवर क्रान्तिको सफलता र चिनिया क्रान्तिको प्रेरणाबाट दक्षिण एशियामा कम्युनिष्ट आन्दोलनको विस्तार हुने क्रममा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । स्थापना काल देखिनै नेकपाले नयाँ क्रान्तिको मान्यतालाई आत्मसात गर्दै आएको छ । जहाँ नयाँ क्रान्तिको अवधारणा अनुरुपको राष्ट्रिय अर्थतन्त्रको विकास गर्न बाँकी छ त्यहाँ समाजवाद निर्माणको न्यूनतम् कार्यक्रम अघि सार्न खोज्नु त्रुटीपूर्ण विचार हो । पूँजीवादी समाजमा समाजवादको निर्माण न्यूनतम् लक्ष्य र कार्यक्रमको विषय हो । तर हाम्रो समाज भने सामन्तवादविरोधी पूँजीवादी जनवादी क्रान्तिको चरणबाट अघि बढ्दै छ । जसलाई जवजको विचार तथा कार्यक्रमले नेतृत्व गरिरहेको छ । जहाँ हामीले श्रमजिवी वर्गको नेतृत्व र सहकार्यमा राष्ट्रिय पूँजीको विकास गर्ने बाटो लिएका छौं । राष्ट्रिय पूँजीको विकास नभई समाजवादी अर्थतन्त्रको विकास हुनै सक्तैन । निश्चय नै विगतको ऐतिहासिक जनआन्दोलनले हाम्रो संघर्षका लागि अनुकूलता सृजना अवश्य गरिदिएको छ । तर नयाँ क्रान्तिको अभिभारा भने त्यस आन्दोलनबाट पूरा भैसकेको छैन । यही वस्तुगत यथार्थतामा आधारित भएर नै पार्टीले जवजलाई कार्यक्रमका रुपमा निरन्तरता दिंदै आएको छ र अझै केही समय हाम्रो मुलुकमा यसको कार्यक्रमिक चरण कायमै रहने छ ।

५. कार्यक्रम कि सिद्धान्तको वहस र सिर्जनात्मक प्रयोग र विकासको सन्दभ
कतिपयको धारणा जवज कार्यक्रम मात्रै हो, त्यसलाई सिद्धान्त नै नबनाई मार्गदर्शक सिद्धान्त भनियो भन्ने छ । निश्चय नै पार्टीको पाँचौ महाधिवेशनमा जनताको वहुदलीय जनवादलाई नेपाली क्रान्तिको कार्यक्रमका रुपमा नै प्रस्तुत गरिएको थियो र पारित पनि कार्यक्रमका रुपमा नै गरिएको थियो । पार्टीको छैटौंं महाधिवेशनले जवजलाई पार्टीको नेतृत्वकारी विचारका रुपमा ग्रहण गर्याे । पार्टीको आठौंंंं महाधिवेशनसम्म आईपुग्दा जवजलाई पार्टीले मार्गदर्शक सिद्धान्तका रुपमा समेत ग्रहण गरेको छ । पार्टीले यसो गरिरहँदा जवजमा अन्तरनिहित नीति तथा सिद्धान्तहरु जो व्यवहारको कसीमा सही सावित भए वा भविष्यमा समेत पार्टीलाई दिशानिर्देश गर्ने सामथ्र्य राख्दछन् ती नीति र सिद्धान्तलाई नै मार्गदर्शक सिद्धान्तका रुपमा ग्रहण गरेको हो । सिद्धान्तका बारेमा जननेता मदन भण्डारीका विचारहरु अत्यन्त सान्दर्भिक र मर्मस्पर्सी छन् । उहाँले सिद्धान्तको रंग खैरो र जीवनका रंग हरियो हुने, पहिले भाषा जन्मने र व्याकरणले त्यसलाई पछ्याएझंै सिद्धान्त र व्यवहारका बीचको सम्वन्ध हुने मान्यता अघि सार्नु भएको छ । यस अर्थमा जवजको कार्यक्रममा नै सिद्धान्तहरु अन्तरनिहित छन् भन्ने कुरा त्यसको सार हो । जवजमा अन्तरनिहित कतिपय सिद्धान्तहरु विश्व कम्यूनिष्ट आन्दोलन तथा आफ्नै मुलुकको आन्दोलनका अनुभवमा आधारित भएर निर्माण भएका छन् भने कतिपय पार्टीले त्यसलाई लागु गर्दै जाने क्रममा विकास भएका छन् । जनताको वहुदलीय जनवादको कार्यक्रमलाई पार्टीले मार्गदर्शक सिद्धान्तका रुपमा ग्रहण गरिरहँदा सोही मान्यताको जगमा उभिएर नै ग्रहण गरेको हो । कार्लमाक्र्सको निधन पछि एंगेल्सले माक्र्सवादका घोषणा गर्दा माक्र्सका रचनाहरुबाट नयाँ सिद्धान्त बनाएर घोषणा गरेका होइनन् । उनले माक्र्सको नेतृत्वमा विकास भएका उपलव्धिहरुको जगमा उभिएर नै माक्र्सवादको घोषणा गरेका थिए । मदन भण्डारी र जवजका सन्दर्भमा भने त्यो भन्दा भिन्न मान्यताको खोजी गर्नु आग्रहपूर्ण कुरा हो । कहिले जवजलाई कार्यक्रम मात्र भन्ने कहिले जवजलाई सिद्धान्त मात्र बनाउँदै जवजको कार्यक्रमका ठाउँमा नयाँ समाजवादी कार्यक्रम अघि ल्याउन खोज्ने कुरा आफैमा विरोधाभाषपूर्ण छ । त्यो विचार निर्माणका क्षेत्रमा जवजको मौलिकता र मदन भण्डारीको योगदानलाई अवमूल्यन गर्ने कुरा नै हो । वास्तवमा सिद्धान्त र कार्यक्रमका बीचमा अन्योन्याश्रित सम्वन्धको खोजी जवजको आधारभूत मान्यता हो । यतिवेला जवजको आफ्नो वैचारिक र राजनीतिक श्रेष्ठता नेपाली राजनीतिमा स्थापित हँुदै गएको अवस्थामा जवज माथिनै अनास्था र अविश्वास पैदा गर्ने काम गर्नु पार्टी र आन्दोलनकै विरुद्धको कदम हो ।

यसै परिप्रेक्षमा चलिरहेको वहसमा जवजको पोषण गर्नुलाई नै कतिपयले जडशुत्रवादको अरोप लगाउने गरेका छन् । जवजले नेपाली क्रान्तिको मार्गदर्शन गरिरहेको निश्कर्षमा पार्टी पुगेको बेला त्यसको पोषण गर्नु जडशुत्रवादी हुनु होइन, त्यो त हरेक पार्टी कार्यकर्ताको कर्तव्य हो । बरु जवजको मौलिक कार्यक्रमको औचित्य समाप्त भएको भन्दै त्यसलाई विस्थापन गर्नु सुधारवादी हुनु हो र घुमाउरो तरिकाले माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासको वाटोवाट विचलित हुदै जडशुत्रवाद तर्फ फर्कनु हो । अनि त्यो क्रान्ति सम्बन्धी नयाँ अवधारणा र जवजको मौलिक विचारबाट पछि हट्न खोज्नु हो । जवजको रक्षा र विकासको प्रयासलाई जवजलाई धर्म शुत्र बनाइयो भन्नु र पाँचौ महाधिवेशन पछि जवजमा कुनै परिमार्जन र विकास नै गरिएन भन्नु यथार्थतालाई उपेक्षा गर्नु हो । आफ्नो आग्रह स्थापित भएन भन्ने मान्यताका आधारमा अहिलेसम्मका प्रयासहरुलाई निरर्थक वनाउन खोज्नु हो । पाँचौ महाधिवेशनमा प्रस्तुत र पारित दस्तावेजको मौलिकता यथावत राखेर त्यसको सिर्जनात्मक प्रयोग र विकासको वाटोमा अघि वढ्नु अनुचित कुरा होइन । माक्र्स र एंगेल्सले १८४८ मा लेख्नु भएको कम्युनिष्ट घोषणापत्रमा अहिलेसम्म कसैले केही संशोधन गरेन । यसको अर्थ त्यसयता माक्र्सवादको विकासमा कसैले केही पनि गरेन भन्ने कुरा साचो हो र ? होइन । त्यसरी नै जवजको मौलिक दस्तावेज यथावत राखेर अघि वढेका आधारमा केही भएन भन्नु त्यस्तै कुरा हो । मौलिक दस्तावेजलाई यथावत राखेर त्यसको सिर्जनात्मक प्रयोग र विकासको वाटोवाट अघि वढेको कुरालाई आधार वनाएर जडशुत्रवादी भयो भन्नु आग्रह प्रेरित कुरा हो । वास्तवमा पाँचौ महाधिवेशन यता जवजको कार्यान्वयन र विकासका सन्दर्भमा पार्टीमा गम्भिर छलफल र वहस हुँदै आएका छन् । जवजका कतिपय पक्षमा महत्वपूर्ण परिमार्जन र विकास पनि गरिएको छ । नयाँ नयाँ विषयहरु पनि थप गरिएका छन् । कतिपय सन्दर्भमा त पूर्वमान्यताहरु भन्दा फरक मान्यताहरु समेत स्थापित हुन पुगेका छन् । यद्यपी जवजको सफल कार्यन्वयन र त्यसको विकासका सन्दर्भमा पर्याप्त काम भयो भन्ने चाहीँ होइन । पार्टीको छैटांै महाधिवेशनमा जवजको कार्यनीतिक स्पष्टता र विकासका सन्दर्भमा गम्भिर वहस भयो र महाधिवेशनले जवजको कार्यनीति सम्बन्धी दस्तावेजलाई पारित गरी जवजको कार्यनीतिलाई परिस्कार गर्ने काम गरेको थियो । छैटौं महाधिवेशनबाट नै पार्टीले जाती, भाषा र संस्कृति सम्बन्धी नीति पारित गरेर जवजको कार्यक्रमलाई समृद्ध बनाउने काम गरेको थियो । 

सातौं र आठौंं महाधिवेशनमा पार्टीको संगठनात्मक सिद्धान्तका प्रश्नमा गम्भिर छलफल र वहस भयो र सर्वसम्मत रुपमा नै पार्टीको लोकतान्त्रिकरणको अवधारणालाई स्थापित गर्ने काम गरिएको थियो । पार्टीको आठौंं महाधिवेशमा जवजलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा स्थापित गर्ने काम भएको हो । आगामी दिनमा क्रान्तिका आर्थिक सामाजिक कार्यभार पूरा गर्ने गरी अग्रगामी विकास र रुपान्तरणको योजना अघि सार्ने प्रतिवद्धता पार्टीले प्रकट गर्दै आएको छ । गएको संविधान सभाको निर्वाचनका क्रममा जारी चुनावी घोषणापत्र मार्फत त्यस सम्वन्धमा केही अवधारणा प्रस्तुत गरेको थियो । त्यसलाई नवौं महाधिवेशनका माध्यमबाट थप व्यवस्थित गर्नु आवश्यक छ । नवौं महाधिवेशनका सन्दर्भमा वहसमा आएका कतिपय वैचारिक प्रश्नहरुले पनि जवजको कार्यक्रमिक र सैद्धान्तिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने अवस्था छ । यस अर्थमा पनि पार्टीले जवजको पक्षमा गरेको पैरवीलाई जडशुत्रवादका रुपमा विश्लेषण गर्नु भनेको पार्टीले त्यसको रक्षा र विकासका सन्दर्भमा खेलेको भूमिकालाई अवमूल्यन गर्नु हो । राष्ट्रिय राजनीतिमा जवजले नेतृत्वकारी भूमिका निर्वाह गर्याे पनि भन्ने र अर्कोतिर जवजको प्रयोग र विकासमा पार्टीले केही पनि गरेन भन्ने कुरा विरोधाभाषपूर्ण छ । यद्यपी जवजको प्रभावकारी कार्यान्वय र सिर्जनात्मक विकासमा भने पार्टी बेलावखतमा चुकेकै छ । यस विषयमा पनि यथोचित समिक्षा गर्नु आवश्यक छ ।

महाधिवेशन विचारहरुको वहसको थलो हो । नेकपा(एमाले)ले महाधिवेशनका समयमा खुला वहस समेत सञ्चालन गर्दै आएको छ । तर महाधिवेशनका समयमा संचालन गरिने वहसले पार्टी प्रति नै नकारात्मक असर नपुगोस् भन्ने कुरामा सबैले हेक्का राख्नु पर्दछ । कमजोरीको चर्चा गरिरहँदा आन्दोलनका उपलब्धीहरुलाई देख्न सक्नु पर्दछ र उपलव्धिहरुको चर्चा गरिरहँँदा आपूmभित्रका कमजोरीहरु पनि खोज्न सक्नु पर्दछ । तर विचारको वहसका नाममा पार्टी र आन्दोलन प्रति नै अनास्था र अविश्वास पैदा हुने गरी ढंगले निरर्थक वहस गर्नु हँदैन । कस्तुरी मृगले आफ्नै नाभिमा रहेको सुगन्धको खोजीमा चारैतिर भौंतारिए जस्तो एउटा क्रान्तिकारीले आफ्नो आन्दोलनका सवल पक्षलाई उपेक्षा गर्दै नयाँको खोजीका अँध्यारो सुरुङमा पस्ने गल्ती गर्नु हँुदैन । त्यसैले पार्टीको नवौं महाधिवेशनलाई वैचारिक वहसको सार्थक महाधिवेशन बनाउन पहल गरौ । नेपालका अन्य राजनीतिक दलहरुको तुलनामा विचारको वहसमा हामी निकै अघि छांै, अझै अघि बढ्ने कोशिस गरौ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
कांग्रेस–एमालेका साझा नीति तथा कार्यक्रम (03.19.2014)
“प्राप्त उपलब्धि संस्थागत गर्न धेरै हदसम्म सफल” (11.19.2013)
प्रमुख तीन दलको प्रतिस्पर्धा कहाँ कोसंग ? (10.08.2013)
भारत सरकार र श्री ५ को सरकारबीच आपसी सहयोग सहमतिको मस्यौदा (08.28.2013)



 
::| Latest News

 
[Page Top]