युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 08:38pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दस्तावेज
 
सार्क क्षेत्रको विकासमा कसको कस्तो धारणा ?
Tuesday, 12.02.2014, 02:37pm (GMT+5.5)

सार्कको अर्थपूर्ण एकता आवश्यक– कोइराला
सार्कका १८ औं शिखर सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रको चौतर्फी विकासका लागि सबल, एकीकृत एवम् अर्थपूर्ण एकता अपरिहार्य भएको बताउनुयो । तीन दशक लामो यात्रा पूरा गर्नै लागेको सार्कलाई प्रगतिको पथमा अग्रसर गराउन एकता र ऐक्यबद्धता आवश्यक भएको बताउनुभयो । दक्षिण एसियाका जनतामाझ गरिएका बाचा पूरा गर्नेतर्फ सार्क मुलुक इमानदारीका साथ लाग्नुपर्ने आवश्यकता औँंल्याउँदै प्रधानमन्त्री कोइरालाले गरिबी, भोकमरी, आतङ्कवाद, सीमापार अपराध, साना हतियार तथा लागू पदार्थको ओसारपसारको सामना गर्न सार्क मुलुकले सामूहिकरूपमा काम गर्नुपर्छ भन्नुभयो । 

सदस्य देशबीच साँचो अर्थमा गहन एकताको अभिवृद्धि, व्यापार–वाणिज्य क्षेत्रको विकास गर्दै दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) कार्यान्वयन, सार्कका संस्थागत संयन्त्रहरूको सुदृढीकरण, सार्क क्षेत्रमा वस्तु तथा सेवा व्यापारको अवरोधरहित ढुवानी र जनताको आवागमनका लागि साझा प्रतिबद्धताका साथ आवश्यक काम गर्न जरुरी भएको प्रधानमन्त्री कोइरालाले बताउनुभयो । 

दक्षिण एसियाको बहुआयामिक गरिबी घटाउन कृषि, स्वास्थ्य, सरसफाइ, महिला सशक्तीकरणलाई उच्च प्राथमिकतामा राखेर दक्षिण एसियालाई समुन्नत क्षेत्रका रूपमा विकास गर्न स्रोत, साधन, प्रविधि तथा विज्ञान र प्रविधिको क्षेत्रले प्रतिपादन गरेका नवीनतमा साधनको बुद्धिमत्तापूर्वक उपयोग गर्नैपर्नेमा जोड दिनुभयो । 

नकारात्मकताबाट सकारात्मकतातर्फ लागौं– मोदी
भारतका प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य मुलुकहरूको आर्थिक समृद्धि र विकासका लागि निराशालाई आशामा र नकारात्मकतालाई सकारात्मकतातर्फ उन्मुख गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले सदस्य देशबीचको सहकार्य र सहयोगबाटै ३० वर्ष अगाडि सार्कले निधारण गरेको उद्देश्य र लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । मोदीको कथन थियो– “सँगसँगै भएर मात्र हुँदैन नजिक पनि हुनुपर्छ जसले सार्कका लक्ष्य प्राप्त गर्न ऊर्जा प्रदान गर्छ ।” दक्षिण एसियाको समग्र विकासका निम्ति व्यापार, लगानी, हरेक क्षेत्रमा पारस्परिक सहयोग अपरिहार्य भएको बताउँदै उहाँले शान्ति र समृद्धिका लागि हातमा हात र काँधमा काँध मिलाएर अग्रसर हुनुपर्छ ।

छिमेकीका सुख र समृद्धिमा रमाउने र दुःख र विपत्तिका बेला सघाउने भारतको चरित्र भएको भन्दै उहाँले शिक्षा, स्वास्थ्य, दैवीविपत्ति, स्रोत–साधनको व्यवस्थापन, विज्ञान–प्रविधि, सूचना तथा सञ्चारका क्षेत्रमा सदस्य राष्ट्रसँग सहकार्य गर्न भारत सदा तत्पर रहेको बताउनुभयो । सदस्य देशका गाउँ र सहर उज्यालो पार्न सकेमात्र दक्षिण एसियाको भविष्य समुज्वल बन्ने भएकाले यस क्षेत्रलाई विश्वको अँध्यारो भागका रुपमा रहन नदिन सौर्य र स्वच्छ ऊर्जाका क्षेत्रमा सामूहिक ढङ्गले काम हुनुपर्ने आवश्यकता प्रधानमन्त्री मोदीले औँल्याउनुभयो ।

व्यापार, वाणिज्य, बौद्ध चक्रपथसहित क्षेत्रीय पर्यटन प्रवद्र्धन, जनता जनताबीचको सम्पर्क विस्तारका लागि जल, स्थल र आकाशमार्गबाट सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिँदै उहाँले ती क्षेत्रको प्रवद्र्धनका निम्ति भौतिक पूर्वाधार निर्माणमा भारत नेतृत्वदायी भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट पार्नुभयो । 

शान्त र समृद्ध दक्षिण एसिया– सरिफ
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले दक्षिण एसिया क्षेत्रलाई विवादरहित, शान्त र समृद्ध बनाउन सबैको सामूहिक कार्य र सहयोगको अपेक्षा गर्नुभयो । प्रधानमन्त्री सरिफले शान्ति र समृद्धिका लागि गहन एकता नारा दिइएकाले यस सम्मेलनमार्फत नै दक्षिण एसियालाई यसै नाराबमोजिम अगुवाइ गर्न सबैलाई आह्वान पनि गर्नुभयो । उहाँले आपसमा रहेका विगतका सबै खालका आपसी तिक्ततालाई मेटाउँदै आपसी सहयोग र समृद्धिका लागि सबैको साझा समस्याका रुपमा रहेको आतङ्कवाद र गरिबी निवारणको मुद्दामा ऐक्यबद्धरुपमा लाग्न पनि आह्वान गर्नुभयो । 

सरिफले दक्षिण एसियाली क्षेत्रमा सामाजिक एवम् आर्थिक रुपान्तरणका लागि महिला सशक्तीकरण, गरिबी निवारण, स्वास्थ्य र शिक्षामा पहुँच एवम् सुधार गर्नेतर्फ सार्कका आगामी कार्यक्रमलाई लक्षित गर्नुपर्नेमा जोड दिनुभयो । 

दक्षिण एसियाली क्षेत्र विश्वको कम्तीमा पनि पाँच भागको एकभाग जनसङ्ख्या रहेको क्षेत्र हो भन्दै यहाँ १५ देखि २४ वर्षको युवा शक्ति करिब पाँच भागको एक भाग बसोवास गर्ने हुँदा आगामी दिनमा यो शक्तिलाई सम्बोधन गरी उनीहरूको भविष्यलाई उज्ज्वल बनाउनेतर्फ हाम्रा कार्यक्रम लक्षित हुनुपर्नेमा जोड दिनुभयो ।

दक्षिण एसियाको आर्थिक विकास केही हदसम्म यहाँ ऊर्जा क्षेत्रको विकास र यसको आपसी उपलब्धतामा सहजीकरण तथा खरिद गर्नसक्ने मूल्यमा पनि भरपर्ने भएकाले ऊर्जाको उत्पादन र वितरणमा सामूहिक प्रयासतर्फ सार्कका आगामी कार्यक्रम केन्द्रित गर्न आग्रह गर्नुभयो । साथै ऊर्जाको समस्या समाधानका लागि भौगोलिक अवस्था र त्यसको सम्भावनाका आधारमा अन्तरदेशीय ग्यास पाइप लाइनको अवधारणालाई पनि अब अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो । 

शान्ति र समृद्धि पहिलो प्राथमिकता– राजापाक्ष
श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्षले दक्षिण एसियाका जनताको समृद्धि र शान्तिपूर्ण दक्षिण एसिया निर्माणका लागि यस क्षेत्रका सरकार र जनताले सामूहिक रुपमा मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रपति राजापाक्षले दक्षिण एसियामा विद्यमान जलवायु परिवर्तन, प्राकृतिक सम्पदाको अधिकतम् उपयोग, श्रम आप्रवासन, आतङ्कवादजस्ता प्रमुख विषयको सम्बोधनका लागि क्षेत्रीय प्रयासलाई दोब्बर बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

उहाँले दक्षिण एसियाका देशमा रहेका प्रचूर सम्पदा एवम् ऐतिहासिक, सांस्कृतिक, धार्मिक महत्वका स्थानले यस क्षेत्रका जनताबीच गहिरो आत्मियता कायम राखेको भए पनि ओहोरदोहोरमा समस्या खडा गरिएका कारण आमजनतालाई पीडा भइरहेको छ भन्नुभयो ।

राष्ट्रपति राजापाक्षले भन्नुभयो– “दक्षिण एसियामा करिब एक अर्ब ६० करोड मानिस बसोवास गर्दछन् तर ठूलो सङ्ख्याका जनता गरिबीको रेखामुनि बस्न विवश छन् । विभेद्को यो चरम अवस्थालाई सम्बोधन गर्न गहिरो आर्थिक सहकार्यका निमित्त यहाँका सरकारले ठोस कार्य गर्न जरुरी भइसकेको छ । उहाँले सार्कलाई अझ सान्दर्भिक, अर्थपूर्ण मञ्चका रुपमा स्थापित गरी यस क्षेत्रका जनताको जीवनस्तर उकास्ने र उनीहरूको जीवनलाई सरल बनाउने कार्यमा हाम्रा प्रयत्नहरू बढी मात्रामा केन्द्रित हुनु जरुरी छ भन्नुभयो । उहाँले भन्नुभयो–‘‘हामीले अब बढी नतिजा–उन्मूख कार्यहरूमा ध्यान दिनु आवश्यक छ ।’’

श्रीलङ्काले सन् २००९ मा देशभित्र जारी आतङ्कवादलाई परास्त गरेयता ६ प्रतिशतभन्दा बढीको दरले आर्थिक वृद्धि गरिरहेको चर्चा गर्दै उहाँले यस प्रगतिलाई कायम राख्न र क्षेत्रीय आर्थिक सम्बन्धलाई थप विस्तार गर्न पारस्परिक लाभका आधारमा सम्बन्धलाई अझ बढावा दिनु आवश्यक छ भन्नुभयो । 

सहकार्य आवश्यक – घानी
दक्षिण एसियामा भारत, पाकिस्तानको कटुतापूर्ण सम्बन्धले सार्कको गतिशीलतामा असर पुर्याएको प्रष्टै देख्नुभएका अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले राजनीतिक र आर्थिकरुपमा यस क्षेत्रका जनतालाई सबल बनाउन यस क्षेत्रको ऊर्जाका स्रोतको सदुपयोग गर्न सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुठभेडबाट नभई आपसी सहकार्य र समन्वयबाट क्षेत्रीय विकासका लक्ष्यहरू हासिल गर्न पहल गर्नुपर्ने बताउनुभयो ।

सार्क क्षेत्रीय समन्वयका लागि उपयुक्त मञ्च भएको धारणा राख्दै उहाँले भन्नुभयो, “यस क्षेत्रमा दूरसञ्चार, रेलमार्ग र हवाईमार्गको सम्पर्कबाट सार्क सदस्य मुलुकहरूलाई एकापसमा जोड्ने काम हुनुपर्दछ ।” उहाँले भन्नुभयो–‘‘पूर्वाधार विकास यस क्षेत्रको उन्नति र समृद्धिको पूूूर्व शर्त हो ।’’ सम्मेलनको नारा ‘शान्ति र समृद्धिका लागि गहन एकता’ सान्दर्भिक भएको उल्लेख गर्दै उहाँले यस नारालाई सार्थक बनाउन भ्रष्टाचार, अन्याय र कुशासन अन्त्यका सामूहिक प्रयास हुनुपर्छ भन्नुभयो ।

समृद्धिका लागि साथसाथ– वाजेद
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले सार्कलाई यथार्थपरक, नतिजामुखी, आपसी हितका र समृद्धिका लागि दक्षिण एसिया एकताबद्ध भएर सँगसँगै अगाडि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले शान्त प्रगतिशील ज्ञानमा आधारित दक्षिण एसियाको विकास गर्न एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले दक्षिण एसियाको शान्ति विकासको बाधकका रुपमा देखिएको गरिबी निवारणका लागि खाद्य तथा पोषण सुरक्षाको निश्चित गर्नुपर्ने उल्लेख गर्नुभयो । बङ्गलादेशको औसत आर्थिक वृद्धि ६.२ प्रतिशत रहेको उल्लेख गर्दै प्रधानमन्त्री हसिनाले पछिल्लो पाँच वर्षमा गरिबी २४.४ प्रतिशतमा झार्न सफल भएको बताउनुभयो । बङ्गलादेशलाई सन् २०२१ सम्ममा मध्यमखालको आय भएको र सन् २०४१ सम्ममा विकासित देशका रुपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि उत्पादनलाई केन्द्रित गर्न तथा कृषि क्षेत्रको आधुनिकीकरण गर्ने दिशातर्फ अगाडि बढेको उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री हसिनाले यस क्षेत्रको गरिबी निवारणका लागि सार्कको खाद्य र बीउ बैैैंकको प्रभावकारीरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । बङ्गलादेशमा महिलालाई स्नातक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको उल्लेख गर्दै उहाँले दक्षिण एसियामा युवा जनशक्तिलाई गुणस्तरीय शिक्षा र प्रभावकारी तालिमका माध्यमबाट मानव संसाधनको विकास गर्न सकिने बताउनुभयो । 

जलवायु परिवर्तनका असरले निम्त्याउने विनासबाट आफ्नो मुलुकको कुल गार्हस्थ्य उत्पादनको दुईदेखि तीन प्रतिशत नाश हुने उल्लेख गर्दै प्रधानमन्त्री हसिनाले जलवायु परिवर्तनको मुद्दा यस क्षेत्रको प्रमुख चुनौतीका रुपमा देखिएको बताउनुभयो । उहाँले निरन्तर विकासका लागि ऊर्जाको अत्यधिक खपत आवश्यक भएकाले दक्षिण एसियाकै क्षेत्रीय जलविद्युत् उत्पादनमा जोड दिनुपर्ने बताउँदै क्षेत्रीय, उपक्षेत्रीय तथा ऊर्जा विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । 

हिन्द महासागरमा रहेका अपार प्राकृतिक स्रोत साधनलाई परिचालन गरी निलो अर्थतन्त्र (ब्लु इकोनोमी) लाई प्रवद्र्धन गर्न यस क्षेत्रको दिगो विकास योगदान गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री हसिनाले त्यसका लागि क्षमता, सहकार्य र अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभयो । 

शान्ति, प्रगति र स्थायित्वका लागि भौतिक सम्बन्ध महत्वपूर्ण भएको बताउनुहुँदै उहाँले त्यसका लागि बुहआयामिक पूर्वाधार विकास गरी सार्क क्षेत्रका सबै भौगोलिक क्षेत्रलाई एकआपसमा जोड्न आवश्यक रहेको उल्लेख गर्नुभयो । 

समस्या समाधानका लागि सामूहिक प्रतिबद्धता– तोक्बे
भुटानका प्रधानमन्त्री छिरिङ तोक्बोले दक्षिण एसियामा जलवायु परिवर्तनका कारण परेको समस्यालाई हल गर्नका लागि सबै मुलुकको सामूहिक प्रतिबद्धता र एकीकृत योजनाको आवश्यक रहेको बताउनुभयो । उहाँले सामूहिक प्रयासबाट मात्रै जलवायु परिवर्तनले पारेको समस्यालाई समाधान गर्न सकिने बताउनुभयो ।

सार्क क्षेत्रको शान्ति र स्थायित्वका लागि यसका सदस्य राष्ट्रले आपसी हित र चासोलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले एकलरुपमा अगाडि बढेमा कहीँ पनि नपुगिने र सामूहिकरुपमा अगाडि बढे धेरै उपलब्धि हासिल हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । 

आफ्नो मुलुकले ६० प्रतिशतभन्दा बढी वन जङ्गलको संरक्षण गरेका कारण कार्बन उत्सर्जनका कारण देखिएको समस्या हल गर्न सक्षम रहेको धारणा राख्दै प्रधानमन्त्री तोक्बेले अरु मुलुकलाई पनि सोही खालको प्रणाली विकास गर्न आग्रह गर्नुभयो । विश्व तापमानमा भएको वृद्धिका कारण हिमाली क्षेत्रमा कम हिउँ परेको, हिमनदी पग्लदै गएको र त्यसले यस क्षेत्रमा थप सङ्कट निम्त्याउनेतर्फ सचेत गराउनुभयो । 

सार्क क्षेत्रको समृद्धिका लागि एकीकृत योजनाको जरुरत रहेको भन्दै प्रधानमन्त्री तोक्बेले अन्तर्राष्ट्रियरुपमा व्यक्त गरिएका प्रतिबद्धतालाई व्यवहारमा लागू गर्न आफ्नो मुलुक तत्पर रहेको विश्वास दिलाउनुभयो । सीमापार आतङ्कवादका साथै मानव बेचबिखन पनि यस क्षेत्रको साझा समस्या र अर्को कलङ्कका रुपमा देखिएकाले त्यसलाई नियन्त्रणका लागि साझा प्रयत्न र प्रतिबद्धताको जरुरत रहेको उहाँको कथन थियो । आतङ्कवादले आर्थिक उन्नति र प्रगतिमा समस्या निम्त्याएकाले त्यसलाई नियन्त्रण गर्न सबैले मिलेर काम गर्नुपर्ने प्रधानमन्त्री तोक्बेको भनाइ थियो । 

व्यापारले आपसी समझदारी र समृद्धि बढाउने – गैयुम 
माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुमले दक्षिण एसियाली राष्ट्रहरूबीचको व्यापार विस्तारबाट आपसी समझदारी बढाउनुका साथै साझा समृद्धिलाई पनि अघि बढाउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आपसी विश्वास नभइकन व्यापार बढ्न नसक्ने र यसका लागि नविनतम प्रविधि र सही नेतृत्व आवश्यक हुने बताउनुभयो ।

यस क्षेत्रका एक चौथाइ जनताको विश्वरङ्गमञ्चमा आवाज पुग्न नसकेको वास्तविकता औँल्याउँदै उहाँले यहाँका आवाजलाई विद्यमान परिस्थिति अनुकूल मुखरित गर्नुपर्नेमा जोड दिनुभयो । विभिन्न सम्भावना भएर पनि गरिबीले व्याप्त यस क्षेत्रको विकासमा विद्यमान सम्पदालाई अधिकतम रुपमा उपयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

सार्क स्थापनाको ३० वर्षमा कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जालगायतका धेरै क्षेत्रमा सहयोगको क्रम बढेको बताउँदै उहाँले सार्कको संस्थागत सुधारको प्रशंसा गर्नुभयो । आफू समुद्री सतहको देशबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा भएको देशमा आउन पाएकामा खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो “हालका वर्षहरूमा जलवायु परिवर्तनका कारण माल्दिभ्सलगायत यस क्षेत्रमा परेको असर न्यूनीकरणका लागि साझा प्रयास आवश्यक हुन्छ ।”

जलवायु परिवर्तनको मुद्दा अहिले पछि परिरहेको उल्लेख गर्दै उहाँले यो मुद्दालाई उचित प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सार्क क्षेत्रका पर्याप्त सम्भावनाबारे कुनै शङ्का नरहेको चर्चा गर्दै राष्ट्रपति गैयुमले भन्नुभयो – हाम्रो विश्वासमा हामी अडिग हुनुपर्छ । दक्षिण एसियाली नेताहरूको हातमा अर्बौं मानिसको जनजीविकाको सवाल रहेको र यस क्षेत्रलाई विश्वकै एउटा शक्तिशाली क्षेत्रका रुपमा चिनाउन यहाँका नेताहरू सफल हुनेमा शङ्का नभएको विचार पनि उहाँले व्यक्त गर्नुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपाल–भारत शान्ति तथा मैत्री सन्धि, जुलाई ३१, १९५० (08.20.2014)
सुडान काण्डको नालीबेली (08.13.2014)
वेपत्ता छानबिन तथा सत्य निरुपण आयोग गठन विधेयकको मुख्य अंश (04.21.2014)
नवौंं महाधिवेशनले स्पष्ट पार्नुपर्ने विषयहरु - शंकर पोखरेल (03.31.2014)
कांग्रेस–एमालेका साझा नीति तथा कार्यक्रम (03.19.2014)
“प्राप्त उपलब्धि संस्थागत गर्न धेरै हदसम्म सफल” (11.19.2013)
प्रमुख तीन दलको प्रतिस्पर्धा कहाँ कोसंग ? (10.08.2013)
भारत सरकार र श्री ५ को सरकारबीच आपसी सहयोग सहमतिको मस्यौदा (08.28.2013)



 
::| Latest News

 
[Page Top]