युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.17.2018, 06:58am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दस्तावेज
 
“नयाँ संविधान निर्माणसँगै पुनःनिर्माण अघि बढाउनुपर्छ”
Tuesday, 06.02.2015, 10:55am (GMT+5.5)

राष्ट्रपति डा रामवरण यादवले भूकम्पको विपत्तिलाई सामना गर्दै नयाँ संविधान निर्माण र भत्किएका संरचना पुनःनिर्माण सँगसँगै अघि बढाउनुपर्ने बताउनुभएको छ ।

आठौँ गणतन्त्र दिवसको अघिल्लो दिन जेठ १४ गते शीतलनिवासमा देशवासीका नाममा सन्देश दिनुहुँदै राष्ट्रपति डा यादवले भूकम्पपछि स्वःस्फूर्त सिर्जना भएको राष्ट्रिय एकता र सद्भावबाट प्राप्त ऊर्जालाई नयाँ संविधान एवम् नव नेपालको निर्माणमा उपयोग गर्न आग्रह गर्नुभयो ।

“भूकम्पले नयाँ चुनौती थपिदिएको छ, प्रश्न उठ्न सक्छ, अब संविधान अथवा भूकम्पले भत्काएका संरचना मध्ये कुन पहिला निर्माण भन्ने तर यसमा हामी कोही पनि द्विविधामा रहनु हुँदैन–नयाँ संविधान र भत्किएका संरचना सँगैअघि बढ्नुपर्छ त्यसमा पनि संविधान निर्माणलाई बढी प्राथमिकता दिदै जानु राम्रो हुन्छ,” राष्ट्रपति यादवले सन्देशमा भन्नुभएको छ ।

पहिलोपल्ट भिडियो मार्फत देशवासीका नाममा सन्देश दिँदै राष्ट्रपति डा यादवले राजनीतिक दलहरूले अहिले भूकम्प पीडित जनतालाई राहत पुर्याउने सन्दर्भमा देखाएको जस्तो एकता र  समझदारी संविधान निर्माणको सवालमा पनि कायम राख्न सक्नुपर्ने बताउनुभयो ।

भूकम्प र महाभूकम्पहरू नेपाली भूमिका वास्तविकता हुन भन्दै उहाँले धरतीको यो वास्तविकतालाई बुझेर उसैसँग मिलेर हामीले हाम्रा निर्माण कार्य र बर–व्यवहार गर्न सक्नुपर्ने आफ्नो सन्देशमा उल्लेख गर्नु भएको छ ।

“हामीलाई भूकम्पले थिच्ने होइन रहेछ, थिच्ने त हामीले नै बनाएका हाम्रा आफ्नै भौतिक संरचनाले रहेछ” भन्दै राष्ट्रपति डा यादवले भोलिका दिनमा भौतिक निर्माण गर्दा बाढी, पहिरो र हुरी बतास जस्ता वातावरणीय पक्षहरूलाई जस्तै भूकम्पलाई पनि ख्यालगरी महत्व दिनुपर्ने बताउनुभयो ।

राष्ट्रपतिले देशवासीका नाममा दिनुभएको सन्देशको पूर्ण विवरण यस प्रकार छः

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू । 

आठौं गणतन्त्र दिवस–२०७२ को पूर्व सन्ध्यामा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति र समृद्धिको कामना गर्दछु ।

मुलुकमा लोकतान्त्रिक गणतन्त्र, विधिको शासन र समावेशी राजनीतिक पद्दति स्थापनाका निम्ति विभिन्न कालखण्डमा भएका ऐतिहासिक आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण अमर सहिदहरूप्रति हार्दिक श्रद्धा र सम्मान अर्पण गर्दछु ।

यही २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनमा परी अकालमा जीवन गुमाउनु भएका नेपाली दिदीबहिनी–दाजुभाइ एवम् विदेशी नागरिकको आत्माले शान्ति पाओस् भन्ने कामना गर्दै सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । भूकम्पमा परी दिवंगत हुनुभएका स्वदेशी एवम् विदेशी नागरिकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

भूकम्पका कारण घाइते तथा अपाङ्ग भई उपचार गराई रहनु भएका सम्पूर्ण दाजुभाई–दिदीबहिनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

भूकम्प गए लगत्तैको विषम परिस्थितिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयमसेवी युवाहरूले पीडितको उद्धार र घाइतेहरूलाई अस्पताल पुर्याउन दर्शाएको तत्परता र आँट अत्यन्त प्रशंसनीय थियो । त्यो साहस र सक्रियताका निम्ति म उहाँहरूलाई हार्दिक धन्यवाद दिन्छु । त्यसैगरी, सङ्कटको घडीमा रातदिन नभनी भूकम्प पीडितको सेवामा खट्ने स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा खानेपानी, विजुली, टेलिफोन, सडक, विमानस्थल जस्ता अत्यावश्यक सार्वजनिक सेवा, सुविधा सुचारु राख्न सघाउने सम्पूर्ण राष्ट्रसेवक, पेशाकर्मी, स्वय्मसेवी एवम् नागरिक समाजका सदस्यहरूको योगदानको कदर गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

भूकम्पले सृजना गरेको मानवीय सङ्कटको घडीमा छिमेकी मित्र राष्ट्रहरू भारत र चीनसहित अन्तर्राष्ट्रिय जगत्ले देखाएको सद्भाव, सहानुभूति र सहयोगका निम्ति हामी कृतज्ञ छौं । विपद्को घडीमा उद्धारका निम्ति तत्काल आवश्यक उपकरण र प्रविधि तथा विज्ञ सहित राहत सामग्री पठाउने सबै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूलाई म हार्दिक धन्यवाद दिन्छु । 

नेपालका विभिन्न भूभागलाई केन्द्रविन्दु बनाई २०७२ साल वैशाख १२ गते गएको ७.८ रिक्टर स्केलको भूकम्प र त्यसपछि निरन्तर गइरहेका पराकम्पनबाट आठ हजार ६०० भन्दा बढी नेपाली तथा विदेशी नागरिकको मृत्यु भइसकेको छ । केही सय मानिस अझै हराई रहेका छन् । भूकम्पका कारण घाइते भएका बीसौं हजार नागरिक उपचारको क्रममा छन् । घर गोठ भत्किएर ओत आश्रय बिहीन भएकाहरूको सङ्ख्या लाखौंमा आँकलन गरिएको छ । भूकम्पले मुलुकको अर्थतन्त्र, जनजीविका र भौतिक सम्पत्तिमा पुर्याएको क्षतिको तत्काल अनुमान गर्न कठिन छ  ।

भूकम्पबाट विश्व सम्पदामा सूचीकृत काठमाडौँ उपत्यकाका थुप्रै मठमन्दिर तथा हिमाली क्षेत्रका प्राचीन गुम्बा एवम् बिहारदेखि जनकपुरको जानकी मन्दिरमा समेत क्षति पुगेको छ । यस्ता धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहर कला सम्पदामा पुगेको नोक्सानी हामीले अनुभव मात्र गर्न सक्ने छौं, तिनको क्षतिपूर्ति गर्न सकिने छैन, किनभने ती आफैमा अमूल्य र अपुरणीय थिए । वितेको एक महिनामा मात्रै कयौं नेपाली आमाका काख रित्तिए, कयौं नानीहरू टुहुरा भए, कयौं दिदीबहिनीका सिउँदो पुछिए । भूकम्पले लाखौं नेपालीको मनमस्तिष्कमा लगाएको यस्तो घाउ निको हुन पुस्तौं पुस्ता लाग्न सक्छ । यथार्थमा नेपालको वर्तमान पुस्ताले प्रकृतिको यति निमर्म प्रहार यसअघि भोग्नु परेको थिएन । तर सन्तोषको कुरा हो, यस्तो दुःखद् अवस्थामा पनि सबै नेपालीले धैर्य धारण गरी विपद्को सामना गर्न साहस र एकताको उदाहरण पेश गर्न सके ।

हामी हिमालय पर्वतको काखमा बसोबास गर्नेहरूका लागि भूकम्प र त्यसले ल्याउन सक्ने विपत्ति एकदमै नौलो र अकल्पनीय कुरा भने होइन र यस भूखण्डको विगत सात सय वर्षलाई नियाल्यौं भने हरेक असी–सय वर्षको अन्तरालमा भूकम्पले यहाँका घर, मठ मन्दिर, गुम्बा आदि भौतिक संरचनाहरू ढालेर तहस नहस पारिदिने अनि हाम्रा पूर्खाहरू हरेक पटक धुलो टक्टक्याउँदै पुनःनिर्माणमा जुट्ने गरेको इतिहास भेटिन्छ । हुन पनि, पृथ्वीमै सबैभन्दा कमलो पर्वतीय भूभागका बासिन्दा भएका नाताले हामी नेपालीले भूकम्पको वास्तविकतालाई आत्मसात् गरेर यहाँको प्रकृति र प्राकृतिक स्रोत अनुरुपको वातावरण मैत्री जीवनशैली विकसित गरी त्यससँगै बाच्न सिक्नु सबैभन्दा उत्तम विकल्प हुने देखिन्छ । त्यस निम्ति हाम्रा मूल्यवान स्रोतसम्पदाका रुपमा रहेका हिमाल, पहाड, शिवालिक र तराई मधेसको प्राकृतिक विशेषता जोगाउनु जरुरी छ । हाम्रा हिमालयमा हिउँ, पहाडका पाखामा वन वनस्पति, शिवालिक र तराईको जङ्गलमा जीवजन्तु र वन सुरक्षित राख्न सक्यौं भनेमात्र तराईं मधेसको उर्वर कृषि भूमि बचाउन सक्ने छौं । जसले राष्ट्रको अन्नको भकारीलाई रित्तिन दिने छैन । 

हामी विगत आठ वर्षदेखि सार्वभौम संविधानसभा मार्फत मुलुकलाई नयाँ संविधान दिन लागि परेका छौं । तर आजसम्म पनि संविधान बन्न सकिरहेका छैन । पछिल्ला दिनहरूमा संविधान निर्माणको निम्ति मुलुकको वातावरण केही अनुकूल बन्दै गएको अनुभव गरिंदै थियो । यही बेला यति ठूलो विनाशकारी भूकम्प आएर हाम्रा सामु नयाँ चुनौती थपिदियों । यो परिस्थितिमा कतै प्रश्न उठन् सक्छ ः अब संविधान अथवा भूकम्पले भत्काएका संरचना मध्ये कुन पहिला निर्माण गर्ने ? तर यसमा हामी कोही पनि द्विविधामा रहनु हुँदैन– नयाँ संविधान र भत्किएका संरचना निर्माणसँगसँगै अघि बढ्नुपर्छ । त्यसमा पनि संविधान निर्माणलाई बढी प्राथमिकता दिंदै जानु राम्रो हुन्छ । यथार्थमा आउँदा केही महिना भूकम्प पीडितहरूको निम्ति राहत र अस्थायी बसोबासको व्यवस्थागर्न मै व्यतित हुने छन् । दीर्घकालीन पुनःनिर्माणको क्रम त्यसपछि मात्र सुरु हुन सक्छ । राजनीतिक दलहरूले अहिले भूकम्प पीडित जनतालाई राहत पुर्याउने सन्दर्भमा देखाएको जस्तो एकता र समझदारी संविधान निर्माणको सवालमा पनि कायम राख्न सकून भन्ने आग्रह गर्दछु । लाखौंको सङ्ख्यामा भत्किएका निजी तथा सार्वजनिक संरचनाहरूको पुनःनिर्माणको काममा वषौं लाग्न सक्छ, तर संविधान लेखनका निम्ति अब त्यति धेरै लामो समय लिनु न्यायोचित हुनेछैन । 

भुकम्प पछिको पुनःनिर्माणलाई सन्तुलित, चुस्त र जनता केन्द्रित तुल्याउनका निम्ति पनि नयाँ संविधानको खाँचो. महसुस गरिने छ । कमजोर राजनीतिक प्रतिबद्धता तथा अन्तरिम संविधानमा पनि स्पष्ट प्रावधान नरहेका कारण विगत दशकदेखि नै स्थानीय निकायहरू जनप्रतिनिधि विहिन रहँदै आएका छन् । ती निकायहरूको अभावमा भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपको बेला राहत वितरण गर्नेदेखि नियमित विकास निर्माणका योजनाको कार्यान्वयनसमेत चाहेजस्तो प्रभावकारी हुन सकिरहेका छैन । यथार्थमा स्थानीय निकायहरूको चुनाव कुनै पनि बहानामा अब टार्न नमिल्ने एउटा अपरिहार्य राष्ट्रिय आवश्यकता बनिसकेको छ । तर त्यस निम्ति पनि नयाँ संविधानको निर्माण पूर्व शर्तको रुपमा रहेको छ । त्यतिमात्रै होइन, सरकार, संविधानसभा एवम् व्यवस्थापिका–संसद, राजनीतिक दल तथा तिनको नेतृत्व र हाम्रो समग्र राज्य प्रणालीप्रति नेपाली जनता एवम् विश्व समुदायको आस्था र भरोसा कायम राख्नका लागि समेत अव संविधान निर्माण प्रक्रियाले उच्च प्राथमिकता पाउनु जरुरी भएको छ । यो कुरा म किन पनि दोहोर्याउदै छु भने, जनचाहना अनुरुपको नयाँ संविधान बनाउनकै लागि भनेर नेपाली जनताको साथ र विश्व समुदायको सहयोगमा हामीले दुई दुई पटक संविधान बनाउनकै लागि भनेर नेपाली जनताको साथ र विश्वलाई वचन पनि दिएका छौ । मुलुकमा करीब एक दशक देखि चल्दै आएको राजनीतिक तदर्थवाद अन्त्य गर्न धेरै ढिलो भइसकेको छ । त्यस निम्ति पनि नयाँ संविधान जारी हुनै पर्छ । आज म विशेष गरी संविधानसभामा रहेका राजनीतिक दलहरूसँग आग्रह गर्न चाहन्छु ः ‘अन्तरिम संविधान अन्तर्गतको गणतन्त्र दिवस यो नै अन्तिम होवस्‘ मुलुकले अर्को गणतन्त्र दिवस नयाँ संविधान अनुसार मनाउन पावस् ।‘

“भूकम्प पीडितहरूको राहत, पुर्नस्थापना र पुनःनिर्माणको कामलाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्ने” भनी संविधानसभामा रहेका सम्पूर्ण दलहरूले सर्वसम्मतिबाट सङ्कल्प प्रस्ताव पारित गर्नुलाई मैले अत्यन्त सकारात्मक रुपमा लिएको छु । दलहरूले उक्त प्रस्ताव मार्फत गरेका संकल्प र त्यसपछि तिनले गाउँ, वडा र घरदैलो तहमा सञ्चालन गरेका राहत र सहयोगका कार्यक्रमले पीडित जनतालाई ढाढस प्रदान गरेको छ । भूकम्पबाट क्षतिग्रस्त पूर्वाधार एवम् बस्तीहरूसँगै नयाँ संविधान निर्माण गर्ने सवालमा पनि राजनीतिक दलहरूबाट आगामी दिनमा यस्तै एकता र सहकार्यको संस्कृति प्रदर्शन हुने छ भन्ने अपेक्षा मैले राखेको छु ।

भूकम्पले राजधानी र आसपासका जिल्लाहरूमा पुर्याएको भौतिक क्षतिबाट हाम्रो राष्ट्रिय अर्थतन्त्र र नागरिकको दैनिक जीवनमा निकै गहिरो असर पार्ने संकेत देखिइ सकेका छन् । भौतिक संरचनाहरूको पुनः निर्माण र पुनःस्थापनामा ठूलो धनरासी र वर्षोको समय लाग्न सक्छ । तर, राष्ट्रको निर्माण र पुनःनिर्माणमा पैसा र प्रविधि भन्दा जनताको जोस, जाँगर र तत्परताको उच्च भूमिका रहने तथ्यलाई हामीले भुल्नु हुँदैन । त्यसैले भूकम्प पछिको पुनःनिर्माण र नवनिर्माणलाई एउटा राष्ट्रिय अभियानको रुपमा अघि बढाउनुपर्छ । त्यस निम्ति एकातिर राष्ट्रिय एवम् अन्तराष्ट्रिय साधन स्रोत जुटाउने प्रयत्न गरिनुपर्छ भने अर्को तिर जनताको मनोबल र उत्साह अभिवृद्धि गर्न पुनःनिर्माणका हरेक निर्णय एवम् कार्यमा उनीहरूलाई स्वामित्व ग्रहण गर्ने अवसर दिइनु पर्छ । हाम्रा पुर्खाले आफ्नै बल, बुद्धि र सीपबाट सिर्जना गरेका गाउँ, नगर, मठ–मन्दिर र अन्य धरोहरहरू पुनर्थापित गर्न अहिलेको पुस्ताका नेपाली उत्तिकै सक्षम छ् भन्ने कुरामा म विश्वास्त छु । त्यसैले, पुनःनिर्माणको कार्यको थालनी गर्दा “हामी नेपाली सक्षम छौ, हामी सक्छौ” भन्ने सङ्कल्प गरौँ ।

भूकम्पको धक्काले चिरा–चिरा पारेका पाखा–पर्वत र खेत–बारीका कान्लामा छिटै सुरु हुने मनसुनी वर्षाको भेल पस्दा जीवन अझ कष्टप्रद हुन सक्ने भयले हिमाल, पहाड र तराई–मधेशसमेत सबै क्षेत्रका वासिन्दालाई सताएको छ । यो स्थितिमा सम्बद्ध विषयका विज्ञहरू परिचालन गरी वर्षा अघि नै सबैलाई सुरक्षाको प्रत्याभूति गराउनेतर्फ कदम चाल्नु आजको आवश्यकता हो । परिस्थिति दुःखद् हुँदाहुँदै पनि अहिलेको घडीलाई भावी नयाँ नेपालको नक्सा कोर्ने अवसरका रुपमा लिन देशवासीसँग आग्रह गर्दछु । सुरक्षित गाउँ–बस्ती कहाँ बसाल्न सम्भव हुन्छ र नगर वा महानगरहरू कहाँ कहाँ विकास गर्न सकिन्छ भन्ने दीर्घकालीन खाका तयार पार्ने बेला यही हो । भूकम्पका कारण पहिरो र भूक्षयको गम्भीर जोखिममा परेका केही गाउँ–बस्तीहरूलाई उचित ठाउँमा स्थानान्तरण गरी मानवीय सुरक्षा सुनिश्चित गर्नु हामी सबैको कर्तव्य हो । त्यसरी स्थानान्तरण गर्दा सकेसम्म उस्तै परिवेश र भूगोल भएको सुरक्षित स्थानलाई प्राथमिकता दिनु उचित हुनेछ ।

विपद्को घडीमा नेपाली युवाहरूले यसपटक स्वतस्फूर्त रुपमा देखाएको स्वयम्सेवी भाव, धैर्य, दृढता र सुन्दर भविष्य निर्माणको चाहनाले हामी सबैलाई भरोसा दिलाएको छ । यी ऊर्जाशील युवाहरू देशका अमूल्य श्रोत र शक्ति हुन् ।भूकम्प पछिको नव नेपालको प्रमुख जिम्मेवारी युवाहरूको काँधमा सुम्पिन सकेको खण्डमा तिनले गणतन्त्र नेपाललाई छोटो समयमै विश्वसामु एक समुन्नत र गतिशील राष्ट्रका रुपमा स्थापित गर्न सक्नेछन् भन्ने मेरो विश्वास छ । यस निम्ति सर्वप्रथम युवाहरूका निम्ति ‘वैदेशिक’ को सट्टा स्वदेशी रोजगारको ढोका खोल्न सक्नुपर्छ ।

अन्त्यमा, म अघि भनेकै एउटा कुरा दोहोर्याउन चाहन्छु, –भूकम्प, महाभूकम्पहरू नेपाली भूमिका वास्तविकता हुन् । धरतीको यो वास्तविकता बुझेर, उसैसँग मिलेर हामीले हाम्रा निर्माण कार्य र बर–व्यवहार गर्न सक्नुपर्छ । यस अघिका भूकम्पबाट हामीले भूकम्प आएको बेलामा ‘जो जहाँ छ, त्यहाँबाट भाग्नु पर्छ‘ भन्ने सिकेका थियौँ । तर २०७२ सालको भूकम्पबाट हामीले धेरै कुरा सिक्नु, जान्नु छ । त्यसमध्ये मनन गर्नै पर्ने सबैभन्दा महत्वपूर्ण पाठ हो–“हामीलाई भूकम्पले थिच्ने होइन रहेछ, थिच्ने त हामीले नै बनाएका हाम्रा आफ्नै भौतिक संरचनाले रहेछ” । तसर्थ, भोलिका दिनमा भौतिक निर्माण गर्दा बाढी, पहिरो र हुरी बतास जस्ता वातावरणीय पक्षहरूलाई जस्तै भूकम्पलाई पनि ख्याल गरौं र महत्व दिऊँ । यो सालको भूकम्पले पैदा गरेको पीडा बिर्सौ तर यो सन्देश नविसौँ ।

साथै, भूकम्प पछि स्वःस्फूर्त सिर्जना भएको राष्ट्रिय एकता र सद्भावबाट प्राप्त ऊर्जालाई नयाँ संविधान एवम् नव नेपालको निर्माणमा उपयोग गरौँ !


Rating (Votes: )   
Share     Print


Other Articles:
“मलाई देश र जनताको चिन्ताले विह्वल बनायो’ : प्रधानमन्त्री सुशील कोइराला (05.15.2015)
शनिबार कसले के भने खुलामञ्चमा ? (03.04.2015)
सरकारको एक वर्षे कार्यकाल कसरी सफल ? (02.24.2015)
“संविधान निर्माण पूरा गराउने अभियानमा प्रतिबद्ध” (01.26.2015)
सार्क क्षेत्रको विकासमा कसको कस्तो धारणा ? (12.02.2014)
नेपाल–भारत शान्ति तथा मैत्री सन्धि, जुलाई ३१, १९५० (08.20.2014)
सुडान काण्डको नालीबेली (08.13.2014)
वेपत्ता छानबिन तथा सत्य निरुपण आयोग गठन विधेयकको मुख्य अंश (04.21.2014)
नवौंं महाधिवेशनले स्पष्ट पार्नुपर्ने विषयहरु - शंकर पोखरेल (03.31.2014)
कांग्रेस–एमालेका साझा नीति तथा कार्यक्रम (03.19.2014)
“प्राप्त उपलब्धि संस्थागत गर्न धेरै हदसम्म सफल” (11.19.2013)
प्रमुख तीन दलको प्रतिस्पर्धा कहाँ कोसंग ? (10.08.2013)
भारत सरकार र श्री ५ को सरकारबीच आपसी सहयोग सहमतिको मस्यौदा (08.28.2013)



 
::| Latest News

 
[Page Top]