युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 09.26.2018, 04:06am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दस्तावेज
 
उपराष्ट्रपति पुनको जीवनी
Tuesday, 11.03.2015, 01:44pm (GMT+5.5)

‘पासाङ’ अर्थात् नन्दकिशोर पुन एउटा यस्तो नाम बनेको थियो १० वर्षसम्म जसको नाम नेपालमात्र होइन विश्वभरका मान्छेले सुनेका छन्– विभिन्न कोणबाट । पटक पटक मृत्युको मुखबाट फर्किएर नाफाको जिन्दगी जिइरहेका पुन समग्रमा तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षको प्रतीकका रूपमा परिचित हुनुहुन्थ्यो । सशस्त्र सङ्घर्षदेखि शान्तिप्रक्रियाको पूर्णतासम्म यो नाम चर्चामा रहिरह्यो । कुनै समय यस्तो पनि थियो माओवादी अध्यक्ष पुष्पकमल दाहालपछि चर्चामा आउने नाम नै पुनको थियो । 

अहिले फेरि सर्वाधिक चर्चामा आएको छ यो नाम । मुलुकका पाँचवटा विशिष्ट पदमध्ये दोस्रो स्थानमा रहेको उपराष्ट्रपति पदमा उहाँ विजयी हुनुभएको छ । सशस्त्र सङ्घर्षका क्रममा कहिल्यै हार्न नजानेको उहाँको विशेषतामा संविधानसभाको दोस्रो निर्वाचनसम्म आइपुग्दा भने विराम लागेको थियो । 

नन्दकिशोर भनेर चिनिने ‘पासाङ’को वास्तविक नाम भने नन्दबहादुर पुन हो । पासाङ भने सशस्त्र सङ्घर्षले जन्माएको नाम हो । राङ्सी–९, रोल्पामा २०२२ कात्तिक ७ गते बुबा रामसुर र आमा मनसरा पुनको कोखबाट जन्मनुभएका उहाँ पाँच भाइमध्ये माइलो हुनुहुन्छ । उहाँका तीन दिदीबहिनी हुनुहुन्छ । श्रीमती र दुई छोराका बाबु हुनुहुन्छ पुन । 

पुनले तत्कालीन राङ्सी निमाविबाट २०३७ सालमा ७ कक्षा उत्तीर्ण गर्नुभयो । माध्यमिक तहको अध्ययन पूरा गर्न सदरमुकाम लिबाङस्थित बालकल्याण माविमा भर्ना हुनुभयो । तर त्यहाँ उहाँलाई अवरोध भयो । प्रहरीले वारेन्ट जारी गर्याे । विद्यालय प्रशासनले विद्यालय वा राजनीति छाड्नुपर्ने चेतावनीपछि २०३९ सालमा ९ कक्षा पढ्न थबाङ पुग्नुभयो । त्यहीँबाट २०४२ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो ।

विसं २०४५ मा महेन्द्र बहुमुखी क्याम्पस दाङमा भर्ना भएर आइएसम्मको अध्ययन पूरा गर्नुभयो । शान्ति प्रक्रियापछि अध्ययनलाई पुनः निरन्तरता दिँदै उहाँले राजनीतिशास्त्रमा स्नातक गर्नुभएको छ । विसं २०३७ मा निमावि राङ्सीमा कक्षा ७ मा पढ्दा उहाँ अनेरास्ववियु छैटौँको एकाइ अध्यक्ष हुनुभयो । लिबाङमा पढ्दा तत्कालीन शिक्षक एवम् हालका एमाओवादीका महासचिव कृष्णबहादुर महराको प्रभावले राजनीतिमा सक्रिय हुन थप प्रेरित गर्याे उहाँलाई । महराको सरल स्वभाव र पढाउने शैलीले उहाँलाई आकर्षित गर्याे । 

विसं २०३९ मा अनेरास्ववियुको बुटवलमा सम्पन्न प्रथम उपकेन्द्रीय राष्ट्रिय सम्मेलनमा रोल्पा जिल्लाबाट प्रतिनिधि भएर सहभागी भएपछि उहाँमा राजनीतिप्रति आकर्षण बढ्यो । सो सम्मेलनबाट लीलामणि पोखरेल अध्यक्ष भएको र खुसीराम पाख्रिनले गाएको गीत अहिले पनि सम्झना छ उहाँलाई । खुसीराम पाख्रिनको ‘अर्काको भारी बोकेर हामी उकाली ओराली, कहिले त खोला कहिले त भन्ज्याङ डाँडाको चौतारी’ पुन सम्झनुहुन्छ । 

प्रवेशिका परीक्षा उत्तीर्ण भएपछि पुनले पार्टी कामको साथसाथै शिक्षण पेसा पनि अङ्गाल्नुभयो । विसं २०४३ देखि आठ वर्षसम्म पहिले आफूले पढेको निमावि राङ्सीमा अध्यापन गर्नुभयो, उहाँ जाँदा जुन मावि बनिसकेको थियो भने अहिले उच्च मावि बनेको छ । पूर्वमन्त्री जयपुरी घर्ती, नेकपा–माओवादीकी नेत्री तारा घर्तीलगायतलाई उहाँले पढाउनुभएको थियो । पूर्णकालीन भइसक्दा पनि अध्यापनको काम जारी राख्नुभयो । विभिन्न खेलमा रुचि भए पनि भलिबल उहाँको प्राथमिकतामा पर्छ । 

बाल्यकालदेखि नै अन्याय नसहने स्वभावका पुनले रोल्पाको राजनीतिमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो जुन सङ्घर्ष सशस्त्र सङ्घर्षको आधार निर्माण थियो । दर्जनौँ विपक्षीलाई लट्ठीले एकसाथ प्रहार गर्न सक्ने उहाँको कला रोल्पामा अहिले पनि तारिफ हुन्छ, जुन कला उहाँको बुबाले सिकाउनुभएको हो । माओवादी पार्टी नबन्दै तत्कालीन एकता केन्द्रले २०४८ पछि योङ् कम्युनिष्ट लिग (वाइसिएल) लाई लडाकु दस्ता बनाएर राजनीतिक गतिविधि चलायो । त्यसबखत पुन वाइसिएलको रोल्पा जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । 

विसं २०४६ मा पार्टी सदस्य हुनुभएका पुन एकता महाधिवेशनबाट बनेको एकता केन्द्रको सदस्य तथा युवक सङ्गठनको सदस्य हुँदै जिम्मेवारी बढ्दै जाँदा २०४८ सालदेखि पूर्णकालीन भएर राजनीति सुरु गर्नुभयो । एकता केन्द्र बनिसकेपछि भएको रोल्पाको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन हुनुभयो । कृष्णबहादुर महरा सचिव, सन्तोष बुढा, करुण, प्रताप र पुन रहनुभएको पाँच सदस्यीय जिल्ला समिति बन्यो । जनयुद्धको तयारी गर्दा वाइसिएलको जिल्ला अध्यक्ष र सैन्य प्रशिक्षक रहनुभएका पुन होलेरी आक्रमण गर्दा उत्तरपश्चिम र दक्षिण कमाण्डका लडाकु दलको इन्चार्ज र आक्रमणको सहकमाण्डर हुनुभयो । माओवादी सेनाको बटालियन कमिसार, बटालियन कमाण्डर, ब्रिगेड कमाण्डर, डिभिजन कमाण्डर, डिपुटी कमाण्डर र जनसेना प्रमुख बन्नुभयो । माओवादीले निर्माण गरेको लडाकु दलको सदस्यदेखि सेना प्रमुखको जिम्मेवारी उहाँले पूरा गर्नुभयो । 

पुन एमाओवादीको जिल्ला सदस्य, क्षेत्रीय ब्यूरो सदस्य हुँदै माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य र भारतको गोवामा बसेको बैठकबाट पोलिटब्यूरो सदस्य हुनुभयो । हाल पुन एमाओवादीको स्थायी समिति सदस्य, युवा ब्यूरो इन्चार्ज, पूर्व पिएलए सङ्घको संयोजक लगायतका राजनीतिक जिम्मेवारीमा हुनुहुन्छ । 

माओवादीले पश्चिम नेपालमा सञ्चालन गरेको सशस्त्र सङ्घर्षका ठूलाठूला लडाईं सबै उहाँकै नेतृत्वमा भएका थिए । प्रहरीमाथि भएका अभियान होलेरी (दोस्रो, झिम्पे, जेल्बाङ, लुहाम, महत, घर्तीगाउँ, तकसेरा, पाँचकटिया, रुकुमकोट उहाँकै नेतृत्वमा भएका हुन् । डोल्पाको दुनै, पहिलो क्षेत्रीय सदरमुकाम कर्णालीको जुम्लामाथिको आक्रमण पुनकै फौजी नेतृत्वमा भएका हुन् । दाङको घोराही, अछामको मङ्गलसेन, अर्घाखाँचीको सन्धिखर्क, म्याग्दीको बेनी कब्जा उहाँकै नेतृत्वमा भएका हुन् । रोल्पाको गाम, लिस्नेमा भएको सङ्घर्षमा पुन नै कमाण्डर हुनुहुन्थ्यो । 

शान्ति प्रक्रिया टुङ्गिनुमा पनि पुनको संयमताले धेरै काम गर्याे । दलहरूले जतिसुकै सहमति वा सम्झौता गरेको भए पनि पुनले नचाहेको भए शान्ति प्रक्रिया नटुङ्गिन सक्थ्यो । शान्ति प्रक्रिया जारी रहँदासम्म उहाँले जनसेनालाई संयमताका साथ जिम्मेवार बनाएर राख्नुभयो । सातवटै लडाकु शिविरका कमाण्डरले उहाँलाई साथ दिए । त्यसमा उहाँमा भएको सैन्य नेतृत्व कलाले काम गर्याे । 

पुन राष्ट्रियताप्रति बढी संवेदनशील हुनुहुन्छ । नेपालमा जे छ त्यसैमा विश्वास गर्ने, साधारण नेपालीले जे उपभोग गर्छन्, त्यही उपभोग गर्ने उहाँको बानी छ । तीन वर्ष पहिले दुवै मिर्गौला काम नगर्ने अवस्थामा पुग्दासमेत सरकार र पार्टीले विदेशमा लगेर उपचार गर्न थालेको प्रयासलाई उहाँले अस्वीकार गर्नुभयो । 

उहाँ नेपालमै उपचार गर्ने, मर्नुपरे नेपालमै मर्ने तर विदेशमा गएर उपचार नगर्ने अस्पतालको आइसियु कक्षबाटै घोषणा गर्नुभयो, जतिबेला डाक्टरले अवस्था असाध्यै गम्भीर भएको र दुवै मिर्गाैला ८० प्रतिशत काम नगर्ने अवस्थामा पुगिसकेको बताएका थिए । 

मिर्गौला नाटकीय रूपमा ‘रिकभर’ हुनु उहाँमा भएको आँटले काम गरेको बताउँछन् डाक्टरहरू । नेपालका अस्पताल र नेपालका डाक्टरहरूप्रति आफ्नो पूर्ण विश्वास भएको उहाँले बताउनुभएको थियो । त्यसपछि उहाँलाई राष्ट्रभक्तको रूपमा लिइने गरिन्छ । 

पुन लडाकु कमाण्डर तथा राजनीतिज्ञ मात्र नभएर दक्ष प्राविधिज्ञ पनि हुनुहुन्छ । सशस्त्र सङ्घर्षका चरणमा उहाँले ट्वेल्भ बोर, थ्री–नट–थ्री राइफल, एसएमजीजस्ता हतियार स्वयम्ले बनाउनुभयो । पुनको साहित्यमा पनि विशेष रुचि छ । उहाँले थुपै्र फुटकर गीत तथा कविता लेख्नुभएको छ । केही गीतहरू सङ्गीतबद्ध हुन बाँकी छन् । सशस्त्र सङ्घर्षको चरणमा उहाँले लेख्नुभएको ‘जनताहरू जाग्दैछन् जाग्दैछन्’ गीत चर्चित थियो । सङ्घर्ष अगाडि बढ्दै जाँदा उहाँले लेखेको ‘हामी राता मान्छे’, ‘हुरीका सन्तान हौँ हामी..’ गीत निकै चर्चित रहे । शान्ति प्रक्रियापछि उहाँले लेख्नुभएको पुस्तक ‘इतिहासको रक्तिम पाइला’ नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित भएको छ । पुन आफैँमा परिवर्तनको एजेन्डा बोक्ने, त्यसका लागि भएको सशस्त्र सङ्घर्ष र जनआन्दोलनको नेतृत्व गर्ने एक यस्तो होनहार योद्धाको नाम हो जसले जीवनका आफ्ना सबै ऊर्जाशील समय देश र जनताका पक्षमा लगाउनुभएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपालको नयाँ संविधानका केही विशेषता (09.22.2015)
तीन दलको संयक्त संशोधन प्रस्ताव पारित : अब धाराधारामा मतदान (09.15.2015)
संविधानको पहिलो मस्यौदामा के के सुझाव दिए जनताले ? संक्षेपमा (07.28.2015)
आठ खर्ब १९ अर्ब ४६ करोडको बजेट प्रस्तुत (07.21.2015)
सरकारको नीति तथा कार्यक्रमका केही झलक (07.14.2015)
अब बन्ने संविधानको मस्यौदाको केही झलक (07.07.2015)
यसरी गर्न सकिन्छ राष्ट्रको नवनिर्माण (06.30.2015)
“नयाँ संविधान निर्माणसँगै पुनःनिर्माण अघि बढाउनुपर्छ” (06.02.2015)
“मलाई देश र जनताको चिन्ताले विह्वल बनायो’ : प्रधानमन्त्री सुशील कोइराला (05.15.2015)
शनिबार कसले के भने खुलामञ्चमा ? (03.04.2015)
सरकारको एक वर्षे कार्यकाल कसरी सफल ? (02.24.2015)
“संविधान निर्माण पूरा गराउने अभियानमा प्रतिबद्ध” (01.26.2015)
सार्क क्षेत्रको विकासमा कसको कस्तो धारणा ? (12.02.2014)
नेपाल–भारत शान्ति तथा मैत्री सन्धि, जुलाई ३१, १९५० (08.20.2014)
सुडान काण्डको नालीबेली (08.13.2014)
वेपत्ता छानबिन तथा सत्य निरुपण आयोग गठन विधेयकको मुख्य अंश (04.21.2014)
नवौंं महाधिवेशनले स्पष्ट पार्नुपर्ने विषयहरु - शंकर पोखरेल (03.31.2014)
कांग्रेस–एमालेका साझा नीति तथा कार्यक्रम (03.19.2014)
“प्राप्त उपलब्धि संस्थागत गर्न धेरै हदसम्म सफल” (11.19.2013)
प्रमुख तीन दलको प्रतिस्पर्धा कहाँ कोसंग ? (10.08.2013)



 
::| Latest News

 
[Page Top]