युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 07.23.2018, 05:11pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दस्तावेज
 
आजै मनन गरौं– नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्र
Wednesday, 04.27.2016, 11:53am (GMT+5.5)

काठमाडौं । विश्वमा भूकम्पीय दृष्टिले अति सम्वेदनशील मुलुकहरूको सूचीमा नेपाल ११ औं क्रममा छ । यति जोखिमपूर्ण भए पनि नेपालको भौतिक संरचनाको निर्माणमा भने सचेतना अपनाइने गरिएको छैन । त्यसैले गत वर्षको वैशाख १२ गते गएको भूकम्पले ठूलो मात्रामा जनधनको क्षति गर्याे । गोरखा भूकम्पपछि धेरैले थाहा पाए नेपालमा भूकम्पको त्रास सदाा कायम रहन्छ । यसका लागि बच्नुपर्ने उपायहरूको खोजी आफैंले गर्नुपर्छ । त्यसैले त भूकम्प गएको एकवर्ष बितिसक्दा पनि त्यसको त्रास नेपालीको मनबाट हट्न सकेको छैन  । परकम्प जाने क्रम पनि रोकिएको छैन । 

नेपालको भौगर्भिक अवस्था निकै कमजोर मानिन्छ । दैनिक स–साना भूकम्प गइरहनुले पनि नेपालको भौगर्भिक अवस्था कमजोर देखिन्छ । समय–समयमा जाने भूकम्पले नेपाली नागरिकको ठूलो जनधनको क्षति हुने गरेको छ । प्रकृतिको लीला टुलुटुलु हेरेर बस्नुको विकल्प छैन । “नेपाल भूकम्पीय दृष्टिकोणबाट जोखिमयुक्त देश हो, ठूला भूकम्पले चिरा पार्ने क्षेत्र धेरै नै हुन्छ, जसले गर्दा ठूलो धनजनको क्षति हुन्छ”–खानी तथा भूकम्प विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रका अध्यक्ष तथा भूकम्पविद् लोकविजय अधिकारी बताउनुहुन्छ ।

केन्द्रको तथ्याङ्कअनुसार भौगर्भिक सतह कमजोर चट्टानका कारण नेपालमा जोखिम बढेको हो । विसं १९९० सालको ८.३ रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु सङ्खुवासभा थियो । त्यो बेला आठहजार ५१९ जनाको मृत्यु भएको थियो भने भूकम्पले करिब २०० किलोमिटरको क्षेत्रलाई चिरा पारेको र ठूलो मात्रामा जनधनको क्षति भएको थियो ।

त्यस्तै, विसं २०४५ सालको भूकम्पकमा परी ७२१ मानिसको मृत्यु भएको थियो । २०७२ साल वैशाख १२ गते गोरखा केन्द्र विन्दु भएर ७.६ रेक्टर स्केलको भूकम्प गयो । राष्ट्रिय योजना आयोगको पीडीएन प्रतिवेदनअनुसार लगभग नौहजार मानिसको मृत्यु भयो । 

“नेपाल भूकम्पीय जोखिम देश हो, भूकम्प आफै खतरा होइन, हाम्रा संरचनाहरू कमजोर छन्”– भूगर्भविद् डा सोमनाथ सापकोटाले भन्नुभयो, “नेपालले जोखिम क्षेत्रको पहिचान गरी बलियो संरचना निर्माण गर्नुपर्छ ।” उहाँले खानी तथा भूगर्भ विभाग मातहतको २१ वटा साइस्मिक स्टेसन भूकम्प मापन गर्ने कार्यबाहेक अन्य अध्ययन अनुसन्धान गर्ने कार्यका लागि अपुग भएकाले गोरखादेखि रामेछापसम्म अस्थायी रूपमा करिब १०० वटा साइस्मिक स्टेसन स्थापना गरी परकम्पको रेकर्ड गर्ने कार्य सुरू गरिसकको जानकारी दिनुभयो ।

एउटै स्थानमा केन्द्रविन्दु बनाएर भूकम्प जाँदा पनि कमजोर जमिन भएको स्थानमा ठूलो क्षति भयो  भने त्यही आसपासका जमिन बलियो हुँदा भौतिक संरचनाहरू ढलेनन । कमजोर जमिनलाई जोखिम क्षेत्र भनेर सरकारले पहिचान गर्नुपर्छ, त्यही अनुरूप संरचना निर्माण गरेर बस्ती बसायो भने जनधनको क्षति हुनबाट रोक्न सकिने पर्यटन व्यवसायी प्रचण्डमान श्रेष्ठको भनाइ छ ।

भूकम्प कहिले आउँछ ? कहाँ आउँछ ? भनेर पत्ता लगाउने यन्त्रको अहिलेसम्म विकास हुनसकेको छैन । तर भूकम्पीय जोखिमयुक्त देश भनेर पहिचान भइसकेपछि सधैँ सावधानी अपनाउनु जरूरी छ । “भूकम्प आफै खतरा हुदैन, तर एकवर्ष भयो भनेर बिर्सिदै जाने गर्नुहुँदैन, संरचना निर्माण गर्दा ध्यान पुर्याउनु आवश्यक छ”–श्रेष्ठको भनाइ छ ।

भूकम्पपश्चात सरकारले १४ जिल्लालाई बढी प्रभावित भनेर घोषणा गरेपनि एकवर्ष बितिसक्दा पनि उनीहरूको पुनर्वासको व्यवस्था हुन सकेको छैन । पुनःनिर्माण गर्नुपर्ने कुराहरू तीव्र रूपमा अघि बढ्न नसक्दा भूकम्पपीडितले निकै कष्टकर जीवन विताउनु परेको अवस्था छ । 

भूकम्प गएको अस्ति आइतबार एक वर्ष बित्यो, यसबीचमा घरबारविहीन र विस्थापितहरूको हितका लागि यो र त्यो काम गर्ने भनियो तर केही भएन । जमिन नै चिराचिरा भएका उत्तरी रसुवाका जनता अझै आफ्नो थातथलो फर्कन सकेका छैनन् । भूकम्पका कारण जिल्लाका ९९ प्रतिशत घर क्षति भएको र जमिन ठाउँ ठाउँमा चिरा परेको अवस्थामा रहँदा पनि हालसम्म ठोस रूपले भौगर्भिक अवस्था परीक्षण गर्न सकिएको छैन । अर्कातर्फ पटक पटक गएको परकम्पले पनि जनमानसमा बढी त्रास छाएको छ ।  हाकु गाविसका ९० प्रतिशत ग्रामीणवासी अझै पुख्र्यौली थलामा फर्कन नसकेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । 

भूकम्प गएलगत्तै डाँडागाउँ गाविस– ८ र ९ करूम्राङ एवम् हाकु गाविसका आठ वडाका बासिन्दा सुरक्षित ठाउँको खोजी गर्दै जिल्लाका धुन्चे, कालिकास्थान, लहरेपौवाको सातबिसे, बोगटीटार तथा नुवाकोटका सिम्मुटार लगायत शिविरमा आश्रय लिई रहे पनि हिउँदको हावाहुरीले शिविरका टहरा उडाउने समस्या बढ्दै गएको हाकुका विस्थापित निमदर्के तामाङले जानकारी दिनुभयो । 
भूकम्पपछि रसुवाका अधिकांश पानीका मुहान सुकेको, अस्थायी शिविरमा पानी र शौचालयको अभाव, बालबालिकाको अध्ययन, समय समयमा स्वास्थ्य परीक्षण जस्ता कार्यमा परेको समस्या समाधान गर्न विस्थापित परिवारले माग गरेका छन् । 

जमिन चिरा चिरा भएका ठाउँमा बसोबास गर्न उपुयक्त छ, छैन भन्ने भौगर्भिक अवस्था छिटो परीक्षण गराई आफ्नो थातथलोमा पुनर्वासका लागि आवास बनाउने वातावरण सिर्जना गरिदिन सरकार समक्ष आग्रह गर्दै हाकुका सेनवाङ्दी तामाङले शिविरमा बसी शरणार्थी जस्तो जीवन बिताउँदा बिहान बेलुका छाक टार्न गाह्रो परिरहेको बताउनुभयो । प्रायः सबैको आवाज छ, “आफ्नो थातथलो फर्की खेतीपाती गरी जीविकोपार्जन गर्न पाऊँ ।”

हाकु गाविसबाट ४०० भन्दा बढी र डाँडागाउँबाट २०० घर परिवार विस्थापित भई विभिन्न शिविरमा छरिएर बसेका छन् । एकै ठाउँमा शिविर नहुँदा छरिएर बसेका मानिसले राहत पाउनबाट छुटेका छन् । राहत वितरण गर्न पुगेका विभिन्न संस्थाले झुरूप्प भएको शिविरमा मात्र ध्यान पुर्याउँदा कतिपय विस्थापितप्रति अन्याय भएको विस्थापित परिवारको भनाइ छ । 

७८ वर्षमा ६० हजार भूकम्प
गोरखा भूकम्प गएको एक वर्षको अवधिमा साना ठूला गरी ३० हजारभन्दा बढी परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । हालसम्म ४ रिक्टर स्केल र त्यसभन्दा माथिका ४४९ परकम्प गएका छन् । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नेपालमा विसं १९९४ देखि २०७२ वैशाख १२ को भूकम्प हेर्दा करिब ६० हजार भूकम्प गएका छन् । 

नेपालमा मात्र हैन, यसबीचमा छिमेकी मुलुक भारत, पाकिस्तान, जापान इन्डोनेसिया र  चिलीमा ७ देखि ७.९ रिक्टर स्केलका भूकम्प गएका छन् । हालै इक्वेडरमा ७.८ र चिलीमा ७.९ रिक्टरको भूकम्प गएको थियो । भूकम्पसम्बन्धी विश्वका तथ्याङ्क हेर्दा हरेक वर्ष औसतमा एक वटा ८ रिक्टर स्केलभन्दा ठूलो भूकम्प गएको देखिन्छ । त्यस्तै ७.९ रिक्टरका १५ र ७ देखि ७.९ र ६ देखि ६.९ रिक्टरसम्मका १३० भन्दा बढी भूकम्प गएका छन् ।

नेपालमा भूकम्पको लामो इतिहास छ । यतिका धेरै भूकम्प गइसके तर भूकम्प मापन गर्ने निकाय खानी तथा भूगर्भ विभागको एक मात्र राष्ट्रिय भूकम्प मापन केन्द्र जनशक्तिको अभावले आफैँ घाइते अवस्थामा छ ।

पर्याप्त प्राविधिकको अभावले वर्षभरिका भूकम्पको गणना प्रक्रियामा लैजान सकिएको छैन । केन्द्रका प्रमुख अधिकारीका अनुसार वैशाख १२ को भूकम्पताका १३  प्राविधिक थिए अहिले छ जनामा सीमित छ ।

वैशाख १२ पछि २४ सै घन्टा चलाउनुपर्ने केन्द्रमा भूकम्पसम्बन्धी काम गर्ने प्राविधिकको अभावले चुनौती थपिएको छ । “नेपालमा यति धेरै भूकम्प गइसकेका छन् तिनको प्रशोधन गर्न प्राविधिक छैनन् । हाल केन्द्रमा भएका छ, जनामध्ये पनि नेपालभरका भूकम्प मापनसम्बन्धी केन्द्रको मर्मत गर्न जानुपर्ने बाध्यता छ,”–अधिकारीले भन्नुभयो ।

देशभर हाल भूकम्पबारे जानकारी सङ्कलन गर्ने २१ साइस्मिक स्टेसन छन् । केन्द्रलाई अत्याधुनिक र सुविधायुक्त बनाउन नसक्दा भूगर्भीय अनुसन्धानका काम प्रभावित भएका छन् । भूगर्भविद् डा सोमनाथ सापकोटाले भूगर्भीय अध्ययनका लागि अमेरिका, फ्रान्स र सिङ्गापुर लगायत देशको सहयोगमा दरारको अवस्थाबारे थाहा पाउने काम सुरू गरिएको बताउनुभयो ।   नेपालमा फ्रान्स सरकारको सहयोगमा सन् १९६८ देखि भूकम्प मापन गर्न सुरू गरिएको थियो । 

भूकम्पको इतिहास
विसं १९९० को महाभूकम्पपछि ठूलो भूकम्प नै २०७२ वैशाख १२ को ‘गोरखा भूकम्प’ हो ।  विसं २०४५ मा उदयपुर केन्द्रबिन्दु बनाएर ६.७ रिक्टर स्केलको भूकम्प गएको थियो  जसबाट ७२१ जनाको मृत्यु भएको थियो ।

सङ्खुवासभा केन्द्रबिन्दु बनाएर १९९० सालमा गएको ८.३ रिक्टर स्केलको महाभूकम्पबाट नेपालमा आठ हजार ५१९ जनाको मृत्यु भएको थियो भने त्यत्तिकै सङ्ख्यामा भारतको बिहारमा  क्षति भएको थियो ।

संसारमा हालसम्मकै सबैभन्दा ठूलो भूकम्प चिलीमा सन् १९६० मा ९.५ रिक्टर स्केलको गएको थियो । हालसम्म संसारमा ९ रिक्टरभन्दा ठूला पाँच भूकम्प गएका छन् । तीमध्ये चार वटा भूकम्प प्रशान्त महासागर आसपासमा गएका छन् । 

भूकम्प कसरी
भूगर्भविद्का अनुसार जमिनको सतहभन्दा धेरैमुनि रहेको इन्डियन प्लेट युरोसियन प्लेटको मुनि सरिरहेको छ । त्यसमध्ये चुरेदेखि करिब १०० किमी उत्तरसम्म रहेका हिमालय क्षेत्रमा इन्डियन प्लेटलाई अवरोध गर्छ, जसमा प्रतिवर्ष २ सेन्टिमिटर धकेलिरहेको हुन्छ । त्यसको शक्ति सञ्चय हुँदा अवरोधले समस्या भई खुम्चिन्छ, सोमध्ये केही शक्ति हिमालयको स्थायी रूपमा उचाइ वृद्धि हुन प्रयोग भई भूकम्प जाने गर्छ । सबैभन्दा बढी जोखिम प्लेटको सिमाना रहेको दुई हजार ५०० किमी हिमालय क्षेत्र अफगानिस्तानदेखि म्यानमासम्म पृथ्वीको भूखण्डको करिब दुई तिहाइ क्षेत्र पर्छ । यस्तो भूकम्पीयय जोखिम क्षेत्रमा करिब एक अर्ब मानिसको बसोबास छ ।

ऐतिहासिक रूपमा हेर्दा नेपालमा विसं १३१२ मा महाभूकम्प र त्यसको झन्डै ६०० वर्षपछि अर्को महाभूकम्प गएको देखिन्छ । विगतका भूकम्पको तथ्याङ्क हेर्दा मध्य क्षेत्रमा करिब २०० वर्षको हाराहारीमा ठूला भूकम्प गएको केन्द्रका प्रमुख अधिकारीले बताउनुभयो । त्यस्तै पश्चिमाञ्चल क्षेत्रमा विसं १५०५ मा ठूलो भूकम्प गएको थियो । भूकम्प कहिले कुन अवधिमा कसरी जान्छ भनेर हालसम्म कुनै वैज्ञानिकले पत्ता लगाउन सकेका छैनन् ।

यसैबीच भूकम्प मापन केन्द्रले काठमाडौँ उपत्यकाको भूकम्पीय जोखिम अध्ययन गर्न जापानी सहयोग नियोगको सहयोगमा तीनवर्षीय परियोजना सुरू गरी तथ्याङ्क लिने काम सकिएको जनाएको छ । यसबाट काठमाडौँमा अब आउने ठूला भूकम्प कहाँ कति क्षति पुग्छ र कहाँ कस्तो खाले कम्पन गराउँछ, भन्ने थाहा पाउन सकिनेछ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपालको विकास दुई मुलुकको साझा चासो (03.29.2016)
संविधान जारी गर्दा यति कष्ट भोग्नुपर्ला भन्ने कसैमा पनि थिएन (11.17.2015)
पहिलो महिला राष्ट्रपति भण्डारीको जीवनी (11.03.2015)
उपराष्ट्रपति पुनको जीवनी (11.03.2015)
नेपालको नयाँ संविधानका केही विशेषता (09.22.2015)
तीन दलको संयक्त संशोधन प्रस्ताव पारित : अब धाराधारामा मतदान (09.15.2015)
संविधानको पहिलो मस्यौदामा के के सुझाव दिए जनताले ? संक्षेपमा (07.28.2015)
आठ खर्ब १९ अर्ब ४६ करोडको बजेट प्रस्तुत (07.21.2015)
सरकारको नीति तथा कार्यक्रमका केही झलक (07.14.2015)
अब बन्ने संविधानको मस्यौदाको केही झलक (07.07.2015)
यसरी गर्न सकिन्छ राष्ट्रको नवनिर्माण (06.30.2015)
“नयाँ संविधान निर्माणसँगै पुनःनिर्माण अघि बढाउनुपर्छ” (06.02.2015)
“मलाई देश र जनताको चिन्ताले विह्वल बनायो’ : प्रधानमन्त्री सुशील कोइराला (05.15.2015)
शनिबार कसले के भने खुलामञ्चमा ? (03.04.2015)
सरकारको एक वर्षे कार्यकाल कसरी सफल ? (02.24.2015)
“संविधान निर्माण पूरा गराउने अभियानमा प्रतिबद्ध” (01.26.2015)
सार्क क्षेत्रको विकासमा कसको कस्तो धारणा ? (12.02.2014)
नेपाल–भारत शान्ति तथा मैत्री सन्धि, जुलाई ३१, १९५० (08.20.2014)
सुडान काण्डको नालीबेली (08.13.2014)
वेपत्ता छानबिन तथा सत्य निरुपण आयोग गठन विधेयकको मुख्य अंश (04.21.2014)



 
::| Latest News

 
[Page Top]