युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.20.2018, 05:38pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दस्तावेज
 
१०५ औं बिपी जयन्ती : बिपीको विचार बिर्सिएकाले जनताले बिर्सिए
Tuesday, 09.11.2018, 12:16pm (GMT+5.5)

काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०५औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आइतबार मुलुकभर मनाइयो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको बिरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो ।
भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता संग्राममा पनि भाग लिनुभयो । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उहाँ त्यो आन्दोलनमा सक्रिय हुनुभयो । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भयो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो ।  
क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–काँग्रेस सरकारमा बिपी गृहमन्त्री बन्नुभयो । विसं २०१५ को आमनिर्वाचनमा काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । विसं २०१७ पुस १ गते दलमाथि प्रतिबन्ध लागेपछि वीपी जेल र निर्वासनमा रहनुभयो । उहाँले प्रजातान्त्रिक समाजवाद र राष्ट्रियताका पक्षमा स्पष्ट दृष्टिकोण दिनुभएको छ । अहिले सोही दृष्टिकोण बोकेको नेपाली कांग्रेस धरासायी छ । 
बिपी जयन्तीकै अवसरमा आयोजित विविध कार्यक्रममा कांग्रेस नेताहरुको धारणा यहाँ प्रस्तुत छ–

बिपीको विचार बिर्सिदाको परिणाम
नेपाली काङ्ग्रेसले बिपी विचार बिर्सिएकाले तीनै तहको निर्वाचनमा पछि परेको राजनीतिज्ञले बताएका छन् । पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०५औँ जन्मजयन्तीका अवसरमा बिपी चिन्तन प्रतिष्ठानले आइतबार आयोजना गरेको ‘आजको सन्दर्भमा बिपी विचार’ कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विधिको शासन स्थापनामा कोइरालाले महत्वपूर्ण योगदान दिनुभएको स्मरण गर्नुभयो ।
“स्वतन्त्र न्यायपालिकाको विकासमा बिपीको योगदान महत्वपूर्ण छ, विसं २००८ मा स्वतन्त्र न्यायपालिकाको व्यवस्था गरी पहिलो प्रधानन्यायधीश हरिप्रसाद प्रधान बनाइएपछि संस्थागत रुप धारण ग¥यो, त्यसबेला कानून गृहमन्त्रालय अन्तर्गत नै थियो,” उहाँले भन्नुभयो ।
पूर्व उपप्रधानमन्त्री एवं काङ्ग्रेस नेतृ सुजाता कोइरालाले बिपी विचार छोडेकै कारण चुनावमा पार्टीको लज्जाजनक हार भएको स्वीकार गर्नुभयो । अझै पनि नेपालको राजनीतिमा बिपीको मेलमिलाप नीति जस्तै सहमति, सहकार्य र एकताको आवश्यकता रहेको उहाँको भनाइ थियो ।
नेकपा मालेका महासचिव चन्द्रप्रकाश (सिपी) मैनालीले बिपी गतिशील विचारका नेताका रुपमा स्थापित हुनुभएको बताउनुभयो । बिपीले श्रमजीवी गाउँलेको उत्थानलाई प्रजातान्त्रिक समाजवादमा समेट्नुभएको उहाँको भनाइ थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता रघुजी पन्तले बिपीको प्रजातान्त्रिक समाजवादी चिन्तनलाई काङ्ग्रेसले नेै भुलेको बताउनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेस (बिपी) का अध्यक्ष हरिबोल भट्टराई, प्रतिष्ठानका कार्यवाहक अध्यक्ष राजकृष्ण अमात्य, उपाध्यक्ष पुष्पराज पराजुली लगायतले बिपी विचारको पुनर्जागरण गरिनुपर्नेमा जोड दिनुभयो ।
सोही सन्दर्भमा आयोजित एक अर्को कार्यक्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका संस्थापक नेता विपी कोइरालाको आदर्श र सिद्धान्तबाट काङ्ग्रेस विचलित नभएको बताउनुभएको छ ।
काङ्ग्रेस जिल्ला कार्यसमिति काठमाडौँ, ललितपुर र भक्तपुरले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उहाँले काङ्ग्रेसले विपीको बाटो छोड्यो भन्ने द्विविधाबाट मुक्त हुन आमकार्यकर्तालाई आग्रह गर्नुभयो । 
काङ्ग्रेसले निर्वाचनमा विजयी हुनबाट चुकेपनि राजनीतिक सिद्धान्तमा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “हाम्रा काम गराइ र व्यहारमा भने केही सच्याउनुपर्छ ।” 
वरिष्ठ नेता पौडेलले सरकारले नागरिक अधिकारमाथि घुमाउरो पारामा हस्तक्षेप गर्न खोजेको र अदालत, संवैधानिक संस्था एवं कर्मचारीतन्त्रमाथि समेत दबाब सिर्जना गर्न अघि बढेको आरोप लगाउनुभयो । 
कार्यक्रममा काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिले काङ्ग्रेसले विपीको बाटो विराएको भन्ने दुस्प्रचार गरिएको टिप्पणी गर्दै बिपी कै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तको सेरोफेरोमा नेपालको संविधान र अन्य राजनीतिक उपलब्धी हासिल भएको बताउनुभयो ।
सरकारले संविधानअनुसार सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संबैधानिक व्यवस्थाको उल्लंघन गरेको आरोप लगाउँदै उहाँले सरकार सङ्घीयताप्रति सकारात्मक नदेखिएको मुख्यमन्त्रीहरूबाटै गुनासो आएको उल्लेख गर्नुभयो । 
काङ्ग्रेस केन्द्रीय सदस्य प्रदीप गिरिले बिपीको आदर्शअनुसार नै काङ्ग्रेस चलेको उल्लेख गर्दै तत्कालीन र अहिलेको परिस्थिति मात्र फरक देखिएको धारणा व्यक्त गर्नुभयो । परिवर्तित सन्दर्भअनुसार काङ्ग्रेस अघि बढ्नुपर्ने उहाँको सुझाव थियो ।
काङ्ग्रेस जिल्ला कार्यसमिति भक्तपुरका सभापति दुर्लभ थापाले बिपीलाई सम्झिदै गर्दा पार्टीलाई सशक्त बनाउन आम नेता कार्यकर्ता अनुशासित र संगठित हुनुपर्ने बताउनुभयो । 

काङ्ग्रेसले बाटो बिरायो’ 
पूर्वसभामुख तथा काङ्ग्रेस नेता तारानाथ राना भाटले नेपाली काङ्ग्रेसले बाटो बिराएको बताउनुभएको छ । उहाँले काङ्ग्रेसले ‘कोर्स करेक्सन’ नगरे भावी यात्रा कष्टकर हुने भविष्यवाणीसमेत गर्नुभयो । “काङ्ग्रेस जुन बाटोमा हिँड्नुपर्ने हो, त्यसमा छैन” । रानाभाटले भन्नुभयो, “काङ्ग्रेसले बिराएको बाटो छाडेर सही बाटो समात्नुपर्छ ।”
काङ्ग्रेस नेता कुलबहादुर गुरुङले बिपीको विचारको अबमूल्यन भएको गुनासो गर्नुभयो । बिपीको सिद्धान्त कागजमा लेख्ने तर व्यवहारमा कार्यान्वयन नगर्नु सिङ्गो काङ्ग्रेसको भुल भएको नेता गुरुङको भनाइ छ ।
काङ्ग्रेस नेत्री तथा पूर्वमन्त्री लिला कोइरालाले नेपाली काङ्ग्रेसको नीतिले प्रजातन्त्र मात्र नभएर संविधान नै जारी भएको उल्लेख गर्दै त्यसको बचाउन पनि काङ्ग्रेसले नै गर्नेले अभियान चलाउनुपर्छ भन्नुभयो । 
बिपी विचार राष्ट्रिय समाजकी केन्द्रीय सदस्य अम्बिका बस्नेतले सबै प्रजातान्त्रिक शक्ति एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । एकले अर्कोलाई दोष देखाएर उम्कने प्रवृत्ति हाबी भएको भन्दै उहाँले बिपीको विचार र सिद्धान्तलाई मनन गरेर अघि बढ्न सुझाव दिनुभयो ।

काङ्ग्रेसको लोकप्रियतामा प्रश्न चिह्न
त्यस्तै जनकपुरमा आयोजित एक कार्यक्रममा जननायक बिपी कोइरालाको विचार, सिद्धान्त र व्यवहार विपरित नेपाली काङ्ग्रेस उद्यत हुनाले लोकप्रियतामा प्रश्न चिह्न लागेको धारणा व्यक्त गरिएको छ ।
काङ्गे्रस धनुषाद्वारा आयोजित विचार गोष्ठीका वक्ताहरूले बिपीका विचार, सिद्धान्तलाई औपचारिकताको परिधिमा सीमित गर्नुले काङ्गे्रसको सङ्गठन कमजोर भएको बताउनुभयो ।
मुलुकको रााष्ट्रियता जोगाएर जनाधिकार सुरक्षित गर्दै विकासका लागि कुन विधि र शासनपद्धति अवलम्बन गर्नुपर्छ भन्ने सन्दर्भमा सिद्धान्त नै प्रतिपादन गरेका कारण जननायक कोइरालाप्रति मुलुकका सबै दलको हृदयतः आदरभाव रहेको उहाँहरूले प्रसङ्ग उल्लेख गर्नुभयो ।
प्रदेश नं २ प्रदेशसभा काङ्ग्रेस संसदीय दलका नेता रामसरोज यादवले बिपी कोइरालाले मुलुकका आर्थिक, राजनीतिक, कूटनीतिक लगायतका क्षेत्रमा जुन महत्वपूर्ण जग बसाल्नु भयो, त्यसैमा आज मुलुक अडिएको छ भन्नुभयो ।
जिल्ला सभापति महेशशङ्कर गिरीको अध्यक्षतामा भएको सो गोष्ठीमा पूर्व सांसद दिनेश परसैला, शिवधारी यादवलगायतले जनताले आफैले आफ्नो संविधान निर्माण गर्न विसं २००६ मा बिपीले अगाडि सार्नु भएको मिसन पूरा भएकाले त्यसलाई सफल, संस्थागत गर्ने दायित्व सबैको हो भन्नुभयो ।

सभापतिलाई पूर्ण अधिकार दिनुपर्छ
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टीलाई बलियो बनाउन सभापतिलाई पूर्ण अधिकार दिनुपर्ने बताउनुभएको छ ।
बिपी जयन्तीका अवसरमा बुटवलस्थित बिपी चोकमा आयोजना गरेको कार्यक्रममा उहाँले सामूहिक नेतृत्वमा जाँदा पार्टी सभापतिको अधिकार कम हुँदा पार्टी नै चलाउन समस्या भएकाले सभापतीय वा एकल सङ्क्रमणीय निर्वाचन प्रणालीमा गएर पार्टीलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।
काङ्ग्रेस नेता खाँणले पार्टीको केन्द्रीय समिति बैठकमा विधानमा नै यस्तो व्यवस्था गर्न विधान समितिमा लिखित धारणा राख्ने र केन्द्रीय समिति बैठकमा कुरा उठाउने बताउनुभयो ।
उहाँले सभापति हुने व्यक्तिले पाँच वर्षसम्म निर्धक्कसँग पार्टी चलाउनसक्ने वातावरण बनाउनुपर्ने र अनुसाशन उल्लङ्घन गर्नेलाई कारवाही गर्नुपर्ने बताउनुभयो ।
काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक खाँणले अहिले कम्युनिष्ट नेतृत्वको झण्डै दुई तिहाइ बहुमतको सरकार बनेपछि बल्ल कम्युनिष्टसँग मिल्न हुँदैन भन्ने विषय पार्टीका नेताले बल्ल बुझेको बताउनुभयो ।
कार्यक्रममा काङ्ग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकले पार्टीलाई बलियो बनाउन काङ्ग्रेस नेता कार्यकर्ताले बिपीका सिद्धान्तलाई व्यावहारिक पालना गर्नुपर्ने बताउनुभयो । महासमिति सदस्य बालकुमारी भण्डारीले पार्टीभित्रको गुटको राजनीति अन्त्य हुनुपर्ने बताउनुभयो ।

‘पार्टीभित्र राजा–महाराजा भए
नेपाली काङ्ग्रेसका पूर्वसांसद रामअयोध्याप्रसाद यादवले काङ्ग्र्रेसभित्रका राजा महाराजालाई नेतृत्वबाट नहटाएसम्म बिपीको सपना साकार नहुने बताउनुभएको छ । 
१०५औँ बिपी जयन्तीको अवसरमा कलैयामा आयोजित ‘वर्तमान सन्र्दभमा बिपीको विचारको सान्र्दभिकता’ विषयक गोष्ठीमा नेता यादवले पार्टीमा अहिले पनि तानशाह, नातावाद, कृपावाद र परिवारवाद हावीरहेको हुँदा पार्टी झुपडीमा बस्नेका लागि पनि बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 
स्व महामानव बिपीको विचार र आदर्शलाई काङ्ग्रेसले बिर्सेको भन्दै बिपीले बोकेको सपनालाई साकार गर्नका लागि सबै एकजुट भएर बिपीको मार्गदर्शनमा लाग्नुपर्ने उहाँको जोड थियो । 
त्यसैगरी केन्द्रीय सदस्य राधेचन्द्र यादवले नेपाली काङ्ग्र्रेस बिपीको सिद्धान्त र विचारमा नहिँडेका कारण देशभरी पराजय भोग्नुपरेको बताउनुभयो । 
काङ्ग्रेस बाराले १०५औँ बिपी स्मृति दिवशको अवसरमा आयोजना गरेको सरसफाइ तथा अमृता अनाथलका बालबालिकालाई शैक्षिक सामग्री वितरण कार्यक्रममा यादवले विगतलाई बिर्सेर आजकै मितिदेखि बिपीको विचार, आदर्शलाई आत्मसात् गरी अगाडि बढ्न आग्रह गर्नुभयो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
बिम्स्टेकले मुलुकको कूटनीतिक छवि उच्च र अरु उजिल्यायो (09.04.2018)
प्रधानमन्त्री ओलीको भारत भ्रमण, के के भयो ? (04.12.2018)
लोकतन्त्र र अग्रगमनका लागि उज्ज्वल सम्भावना (04.03.2018)
आआफ्नो दाउमा गठबन्धन र अन्य दलहरु (12.05.2017)
“भारतमा के बोल्ने भनेर मैले सोधेर जाने हो ?” प्रधानमन्त्री देउवा (08.29.2017)
संविधान कार्यान्वयनसँगै राष्ट्रिय अर्थतन्त्रमा ऐतिहासिक सफलता (05.31.2017)
उल्लासमय वातावरणमा सम्पन्न पहिलो चरणको निर्वाचन (05.17.2017)
असङगत अभ्यासको दुष्परिणति (02.15.2017)
गोर्खा भूतपूर्वको नाममा भारतीय रक्षा सञ्जाल (02.15.2017)
देशलाई किस्ता किस्तामा बाँड्ने खेल रोकौं ः ओली (01.04.2017)
“कर्णाली क्षेत्रमा जन्म–मरणमा २० किलो चामल निःशुल्क उपलब्ध गराइने” (09.13.2016)
यसरी मौलाइरहेछ नेपालमा डाक्टर बनाउने धन्दा (09.06.2016)
प्रधानमन्त्रीको प्रश्न– “केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलसेवा के गर्नु हुन्छ” (07.26.2016)
आजै मनन गरौं– नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्र (04.27.2016)
नेपालको विकास दुई मुलुकको साझा चासो (03.29.2016)
संविधान जारी गर्दा यति कष्ट भोग्नुपर्ला भन्ने कसैमा पनि थिएन (11.17.2015)
पहिलो महिला राष्ट्रपति भण्डारीको जीवनी (11.03.2015)
उपराष्ट्रपति पुनको जीवनी (11.03.2015)
नेपालको नयाँ संविधानका केही विशेषता (09.22.2015)
तीन दलको संयक्त संशोधन प्रस्ताव पारित : अब धाराधारामा मतदान (09.15.2015)



 
::| Latest News

 
[Page Top]