युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.16.2018, 02:12am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विशेष रिपोर्ट
 
आतंक अब साइबर टेरोरिजमको - इन्द्र आचार्य
Tuesday, 09.10.2013, 06:54pm (GMT+5.5)

अब विश्वमै साइबर टेरोरिजमको खतरा बढिरहेको छ । अब विश्वभर साइबर हमलाका संकेतहरू देखिएका छन । यदि सावधानी अपनाउनुहुन्न भने यसको प्रत्यक्ष शिकार तपाई जो कोही पनि पर्न सक्नुहुन्छ । अमेरिकाका चर्चित साइबर सुरक्षा विज्ञ नोहलले विश्वका झण्डै पौने अर्ब प्रयोगकर्ताहरूका मोबाइल ह्याक हुने खतरामा रहेको तथ्य फेला पारेका छन् । त्यसै गरी विश्वभरि नै अर्बौं बराबरका सामाजिक सञ्जाल इमेलहरू पनि ह्याक भइरहेको तथ्य सार्वजानिक भइरहेको छ । विश्वका साइबर अपराधीहरूको आँखा यतिबेला नेपालमा पनि परिसकेको छ । त्यसैले नेपाल बन्दै छ साइबर अपराधको मुख्य थलो । नेपालमा पनि साइबर अपराधीहरूले हंगामा नै मच्याउन थालेका छन् । उनीहरूले नेपालका नाम चलेका व्यक्तिहरूको इमेल ह्याक गर्दै सोही इमेलबाट रकम माग गर्ने गरेका घटना दोहोरिन थालेका छन् । 

संवैधानिक कानुनका ज्ञाता तथा वरिष्ठ कानुन व्यवसायी भिमार्जुन आचार्यको जिमेलमा पनि अघिल्लो आइतबार “तपाईको इमेलको सेक्युरिटीका लागि थप फर्म फिलअप गर्नुहोस्” भन्ने ब्यहोराको इमेल आयो । आचार्यले केही व्यक्तिलाई सोध्नुभयो, यो के हो ? साथीहरूले भने, यो त जिमेल कम्पनीले नै पठाएको हो, त्यसैले यसलाई रेस्पोन्स गर्नुभए हुन्छ । आचार्यले पनि साथीहरूको सल्लाह अनुरुप मेलको रेस्पोन्स गर्नुभयो तर, दुर्भाग्य, जिमेलकै नामबाट आएको उक्त फर्म नै ह्याकरले पठाएको रहेछ र त्यही डाटाको माध्यमबाट आचार्यको जिमेल ह्याक गरिएको रहेछ ।

त्यसै गरी राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाको पनि सामाजिक सञ्जाल फेसबुक यसरी नै ह्याक भएको थियो । नाईजेरीयन एक ह्याकर गिरोहले लामाको फेसबुक एकाउन्ट ह्याक गरेर फेसबुकमा भएका सबै साथीहरूलाई आफू विदेशी भूमिमा लुटिएको सन्देश पठाएर रकम लुट्ने प्रयास गरेका थिए । ह्याकरले लामा विदेशी भूमिमा लुटिएको र स्वदेश फर्किन केही रकम आवश्यक पर्ने भएकाले तत्काल रकम पठाएर प्राण रक्षा गरिदिन लामा स्वयंमले आग्रह गरिएको सन्देश लामाकै फेसबुकबाट उनका साथीहरूलाई पठाएका थिए । उक्त सन्देश देखेपछि लामाका अमेरीकामा रहेका साथिले ७ सय पाउण्ड रकम बैंक एकाउण्टमा पठाइदिएका थिए । तर तत्काल उक्त साथीसंग लामाको कुरा भएकाले ट्रान्सफर भएको रकम रिफन्ड गर्न सफल भएका थिए । 

यी र यस्ता घटना त प्रतिनिधि घटना मात्रै हुन् ।  यस घटनाले दिन प्रतिदिन साइबर अपराध बढ्न थालेको संकेत दिएको छ ।  साइबर अपराधबाट पीडित हुनेहरूको संख्या दिन प्रतिदिन बढ्न थालेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान व्युरो सिआइवीका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालका अनुशार साइबर अपराधबाटै आप्mनो सबै लुटाउनेहरू यहाँ बढिरहेका छन् । साइबर अपराधीहरूले शक्तिशाली मुलुकमा समेत आक्रमण गरिरहेका कारण न्युन ज्ञान भएका इन्टरनेट प्रयोगकर्ता भएको देशमा यो जटील समस्या बन्दै गएको डिआइजी अर्यालको भनाई छ । संविधानविद् आचार्यलाई जस्तै यसअघि बीबीसीका पत्रकार नारायण श्रेष्ठको जिमेल आइडी पनि त्यसै गरी ह्याकरले प्रयोग गरेर टर्कीको स्तानबुलमा लुटिएको भन्दै सहयोग मागिएको थियो । अन्य व्यक्तिहरूको पनि जिमेल ह्याक गरेर यसरी पैसा माग्ने क्रम नेपालमा समेत बढेको छ ।  जिमेल ह्याक गरेर अप्ठयारो परेको भन्दै सहयोग पठाइदिन आग्रह गरेपछि आफन्त र शुभचिन्तकहरूले उद्दारका लागि रकम पठाइदिने लोभले ह्याकरहरूले यसरी चर्चित व्यक्तिको जिमेल आइडी ह्याक गर्दै रकम माग्ने गरेका छन् । 
कतै तपाई पनि यस्तो फन्दामा त पर्नुभएको छैन ? ख्याल गर्नुहोला । तपाई पनि इमेलमा नयाँ कुरा देख्नासाथ जथाभावी क्लिक गरेर र्फम भर्दै हुनुहुन्छ भने विचार पुर्याउनुहोला । 

नेपालमा साइबर अपराधको अवस्था
साइबर स्पेशमा रहेका सूचनाहरू पीडितको इच्छा बेगर कम्प्युटरको दुरुपयोग गरी निर्माण गर्नु, वितरण गर्नु, परिवर्तन गर्नु, चोरी गर्नु, दुरुपयोग गर्नु वा नाश गर्नु साइबर अपराध हो । यो अपराध विश्वका शक्तिशाली देशहरूका लागि समेत चिन्ताको विषय बनेको छ । नेपाल प्रहरीमा इन्टरनेटको दुरुपयोग गरेको, यसैको सहायतामा अपराध गरेको भन्दै दिनहुँ जस्तो निवेदन पर्ने गरेका छन् । प्रहरीले दिएको जानकारी अनुसार साइबर अपराधका दैनिक १० देखि १५ उजुरी पर्ने गरेको छ । त्यसमा धेरै चरित्र हत्या गर्न सामाजिक संजालमा राखिएको फोटा, कमेन्ट, सन्देश रहने गरेको छ । विषेश गरी महिलाहरूको चरित्र हत्या गर्ने उद्देश्यले बिभिन्न गतिविधिहरू इन्टरनेट मार्फत गरिएको उजुरी आउने गरेको छ । त्यसै गरी इमेल गरेर पैसाको लागि धम्की दिने, दुल्ख दिने उद्देश्यले बारम्बार सन्देश वा फोटा पठाउने, अश्लिल वेवपेज बनाउने लगायतका बिषयलाई प्रहरीले साइबर अपराधको सुचिमा राखेर खोजी गरिरहेको छ । साना ठूला सबैलाई नकारात्मक गतिविधि जो कम्युटरको माध्यमबाट हुन्छ भने नेपाल प्रहरीले त्यसलाई साइबर अपराध भनेको छ । त्यसैले नेपाल प्रहरीले साइबर अपराधको विषयमा पर्न आएको सबै उजुरीलाई गम्भीर भएर अनुसन्धान गर्ने गरेको छ । 

साइबर अपराध र कानूनी अवस्था
विस्फोटक र हमलायुक्त आतंकवादभन्दा पनि भयानक बन्दै गएको छ साइबर आतंक, साइबर आतंकले न गरीब मुलुक भनेको छ न कि धनी शक्तिशाली मुलुक नै । नेपालमा पनि साइबर अपराधको विगविगी बढ्न थाले पनि यसको नियन्त्रण र न्युनिकरणका लागि केही पहल सुरु भएका छन् । ढिलै भए पनि विद्युतीय कारोबार ऐन, २०६३ कार्यन्वयनमा ल्याई अपराधको परिभाषा दिइएको छ । अपराध भन्नाले त्यस्तो कार्यलाई बुझिन्छ जसलाई त्यस देशको कानुनले निषेध गरेको हुन्छ र त्यस्ता कार्य गरेमा दण्ड सजायँको व्यवस्था गरेको हुन्छ । अर्थात् कानुनले निषेधित गरेको कार्य गर्नु वा समादेश गरेको कार्य नगर्नु अपराध हो । नेपालको कुनै कानुनले अपराधको परिभाषा गरेको छैन । नेपाल कानुन व्यवख्या सम्बन्धी ऐन, २०१० को दफा २९ (घ) ले कसूर शब्दलाई परिभाषित भने गरेको छ । यस अनुसार, कसूर भन्नाले प्रचलित नेपाल कानून बमोजिम गरेमा वा नगरेमा सजाय हुने कुनै कार्य सम्झनुपर्छ । 

अपराध यस्तो कार्य हो जुन मानिसको व्यवहारका कारणबाट वा परिणामबाट सिर्जना हुन्छ साथै जसबाट हुने नोक्सान वापत राज्यले कानुनी माध्यमबाट कुनै कार्यलाई अपराधका रुपमा सजायको व्यवस्था गरेको हुन्छ । अन्य कानुनले जसरी अपराधलाई परिभाषित गरेको छैन, त्यसैगरि साइबर अपराधको परिभाषा पनि नेपाली कानुले गरेको पाइन्न । विद्युतीय कारोबार ऐन २०६३ ले केही कार्यलाई निषेध गरि त्यसको उल्लंघनलाई सजायको व्यवस्था मात्र गरेको छ । यसले साइबर अपराधलाई परिभाषित गरेको भने छैन । सामान्यतः साइबर स्पेशमा रहेका सूचनाहरू पीडितको इच्छा बेगर कम्प्युटरको दुरुपयोग गरी कुनै भौतिक शक्ति प्रयोग नगरी निर्माण गर्नु, वितरण गर्नु, परिवर्तन गर्नु, चोरी गर्नु, दुरुपयोग गर्नु वा नाश गर्नु साइबर अपराध हो । दिन प्रतिदिन बढ्दै गएको साइबर अपराध अनुसन्धान तथा नियन्त्रण प्रक्रिया सहज छैन । तर साइबरबाट हुनसक्ने संभावित अपराध नियन्त्रणमा योजनावद्ध रुपमा सबै पक्षले अत्यन्त चासो दिन सकेमात्रै यो अपराध नियन्त्रणमा केही सहजता आउनसक्छ । यसका साथसाथै यो अपराध नियन्त्रणका लागि प्रभावकारी कानुन बन्न आवश्यक छ । कानुनले यो अपराधमा संलग्न अपराधी उम्कनसक्ने सबै आधारलाई छोड्नु हुँदैन । साथै, कानुन प्रहरीलाई अनुसन्धान गर्न मद्दत पुर्याउने खालको हुनुपर्छ ।

त्यस्तै, न्यायालयलाई उचित सजाय गर्ने अधिकार प्रत्यायोजन गर्र्दै सुरक्षा संस्कृतिलाई प्रवद्र्धन गर्नसके पनि यो अपराध न्युनिकरण गर्न सकिन्छ । यसका लागि बुहपक्षीय साझेदारी हुन आवश्यक छ । एकक्षीय प्रयासले साइबर अपराध नियन्त्रण गर्न सकिदैन । यसका लागि सबै प्रहरी इकाई र सेवा प्रदायकहरू, निजी तथा सार्वजनिक निकाय र प्रयोगकर्ताबीचको समन्वयबीच आपसी समन्वय हुन आवश्यक छ । यस्तै प्रयोगकर्ताले साइबर अपराध नियन्त्रणमा आफैंमा पनि प्रणाली विकसित गर्नु आवश्यक छ । कार्यालयहरूले आफ्ना कर्मचारीहरूलाई सुरक्षा शिक्षा दिनु, उनीहरूलाई सुरक्षा जवाफदेहिता तथा अभ्यासका लागि प्रोत्साहन गर्नु, बेलाबेलामा सुरक्षा अडिट गर्नु तथा प्रमाणिकरणमा ध्यान दिनु, साइबर क्राइम बिमा प्रणाली अपनाउनाले समेत साइबर अपराधमा कमी आउन सक्छ । प्रयोगकर्ताले आत्मसुरक्षा प्रणाली अपनाएमा पनि अपराध नियन्त्रणमा कानुन कार्यान्वयन एजेन्सीलाई मद्दत पुग्छ । कार्यालयहरूले कुन कर्मचारी अथवा प्रयोगकर्ताले कतिवेला कुन कम्प्युटर प्रणालीमा काम गरेको थियो त्यसको लगत राख्दै तत्काल रेस्पोन्स टीम खडा गर्न सक्नुपर्छ । यस्तै सूचना प्रविधि सम्बन्धी उद्योग एकद्वार प्रणाली अनुसार दर्ता तथा संचालन हुन सकेमा अपराध हुनसक्ने संभावित क्षेत्रमा सुरक्षा प्रणालीको प्रभावकारी कार्यान्वयन हुनसक्छ । 

यदि अब साइबर अपराधबाट बच्ने हो भने, ऐन बमोजिम गठन हुनु पर्ने कतिपय एजेन्सीहरू, जस्तैः प्रमाणिकरण निकाय, सुचना प्रविधि न्यायाधिकरण तथा सूचना प्रविधि पुनरावेदन न्यायाधिकरणको स्थापना तथा गठन हुन नसक्दा हालसम्म पनि ऐन प्रभावकारी कार्यन्वयन हुन सकेको छैन । अर्कोतर्फ समेट्न नसकिएका अपराधहरूलाई दायराभित्र ल्याउने गरी ऐनलाई परिमार्जित गर्नु पनि उत्तिकै जरुरी छ । अझ हामी प्रयोगकर्ताहरू सचेत र शिक्षित बन्न जरुरी छ । इन्टरनेट प्रयोगकर्ता स्वयं आफुले प्रयोग गर्ने इमेल इन्टरनेटको सुरक्षामा बढी ध्यान दिन जरुरी हुन्छ । आफूले प्रयोग गरेका सामाजिक सञ्जालहरूका पासवर्डको गोप्यता, प्राइभेसी सुरक्षा लगायतका विविध विषयमा प्रयोगकर्ता स्वंम चनाखो हुनुपर्छ । अनी मात्र साइबर अपराध न्यूनिकरण गर्न सम्भव छ ।


Rating (Votes: )   
Share     Print




 
::| Latest News

 
[Page Top]