युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 02.22.2018, 02:37pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विशेष रिपोर्ट
 
एउटा नाटक जसले हराएकाहरूको खोजी गर्छ
Tuesday, 09.06.2016, 11:01am (GMT+5.5)

अन्जली रम्तेल
द्वन्द्वकालमा राज्यपक्ष र माओवादी पक्षबाट बेपत्ता पारिएका अझै पनि फर्किन्छ कि भन्ने आशामा उनका परिवारले बाटो कुरिरहेका छन् ।
निर्देशक राजन खतिवडाद्वारा निर्देशित ‘आधा सत्य’ नाटकमा तत्कालीन अवस्थाका पीडित अहिले पनि आफन्त, परिवारका सदस्यको खोजी गरिरहेका देखिन्छन् । 

अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा गत मंगलबार अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन गरिएको नाटकका पात्रले निभाएको भूमिका आफ्नै वरिपरि घुम्दा बेपत्ता भएकालाई सम्झँदै आफन्तजन दुःखी भएका थिए ।

आफ्ना बाबुले दिएको सारङ्गी रेट्दै श्रीमान् श्रीमतीले नाटकको सुरुवात गर्छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका बाबुले चिनोस्वरुप दिएको सारङ्गी रेट्दै ठाउँठाउँमा खोज्दै हिँड्छन् छोराबुहारी । 

आफ्ना बाबुले सिकाएको धुनलाई बजाउँदै छोराले भन्छन्, “बाबुलाई थाह पनि छैन मैले विवाह गरेको उनलाई थाहा पनि दिन्छु ।” त्यही बेला कोइली कुहुकुहु गर्छ । आफन्तको खोजीमा हिँडेको कोइलीले पनि आफन्त भेटेको छैन्, हामीले पनि भेटेका छैनौँ भन्दै कुराकानी गर्छन् ।

नाटकमा अर्को पात्र देखिन्छन्, खाना पकाउँदै गरेको परिवारलाई एकछिनमा आउँछु, मासु राम्ररी पकाएर राख है भनेर हिँडेका ती पात्र फेरि फर्कंदैनन् । 

तराईको घटनालाई महिला पात्रले दुरुस्तै उतार्ने प्रयास गर्छिन् । दाजुको पर्खाइमा रहेकी उनी बाबुले विवाह गरेर जाउभन्दा पनि दाजुलाई कुर्दै बस्छिन् । दाजु चाँडै फर्किउन् भन्ने ‘मन्नत’ माग्दै उनी हरेक दिन पिपलको बोटमा पानी चढाउँछिन् । 

स्वास्थ्य चौकीमा कार्यरत एक युवाले ठूलै सङ्घर्षपछि प्रेम विवाह गर्न सफल हुन्छन् । स्वास्थ्यकर्मी भएकाले द्वन्द्वमा परी घाइते भएका माओवादीलाई उपचार गरेकै कारण उनलाई सेनाले माओवादीलाई आश्रय दिएको भन्दै बेपत्ता पार्छन् । विवाह भएको एक महिना पनि नहुँदै आफ्ना श्रीमान्सँग बिछोडिनुपरेको पीडालाई श्रीमतीले व्यक्त गरेकी छिन् ।

अर्को घटनामा, मूर्ति बनाएर आफ्नो परिवारको पेट पाल्दै आएका एक युवालाई सेनाले लैजान्छ तर उनी फर्कंदैनन् । उनका दुई छोरी र आमाको कथालाई समेट्न खोजिएको छ । उनका दुई छोरी अझै पनि उनलाई पर्खिरहेका छन् । 

एक पूर्व सिपाही हराएकी आफ्नी श्रीमतीलाई खोजिरहेका छन् । श्रीमतीको वियोगमा उनी अलिअलि मानसिक रोगीसमेत भइसकेका हुन्छन् । उनी आफैँसँग कुरा गरिरहेका हुन्छन् । कोही केटी देख्नेबित्तिकै आफ्नै श्रीमती पो हो कि भनेर टर्च लाइट बालेर हेर्ने प्रवृत्ति उनीमा बढेको हुन्छ । 

नाटक निकै मार्मिक भए पनि ‘इमोसनल’ हुने घटना र दृश्यमा विभिन्न सङ्गीत प्रस्तुत गरी दर्शकलाई ‘इमोसनल’ हुनबाट जोगाउने कोसिस गरिएको छ । कोइलीको कुहुकुहुबाट सुरु भएको नाटकको अन्त्य पनि कोइली झैँ आफन्तको खोजीमा हिँडेका अझै खोजीमै छन् भन्ने कुहुकुहुको प्रतिकात्मक आवाजबाट नै हुन्छ । 

नाटकमा प्रकाश गन्धर्व, रञ्जना ओली, जीवन भट्टराई, विजया कार्की, विनिता गुरुङ, रोहित पौडेल, शक्ति राई, इँगिहोपो कोइँच सुनुवार, निलकुमारी चौधरी, सिर्जना सुब्बा, उमेश तामाङ र आकाङ्क्षा कार्कीको अभिनय देख्न सकिन्छ । 

वास्तविक घटना र पात्रलाई नाटकमा उतारेर पीडितसामु प्रस्तुत गरिएको उक्त नाटकलाई काठमाडौँमा मात्र नभई मध्यपश्चिममा समेत प्रदर्शनी गरिन लागेको नाटकका लेखक सिजन दाहालले जानकारी दिए । “हामीले यो नाटक प्रर्दशन गर्न बाँके, बर्दिया, दाङलगायतका जिल्लामा ‘मोबाइल टुर’ गर्न लागेका छौँ” उनले भने ।

नाटकका निर्देशक खतिवडाले वास्तविक पीडितसँग विभिन्न समयमा लिइएको अन्तवार्तालाई आधार बनाएर नाटकमा उतारिएको बताए । नाटकमा प्रस्तुत घटना काठमाडौँ, ललितपुर, ओखलढुङ्गा, बर्दिया लगायतका जिल्लाका हुन् । 

यसैगरी थिएटरमा बेपत्ता परिवार राष्ट्रिय सञ्जालले बेपत्ताको सम्झनामा स्मृति कार्यक्रमको आयोजना गर्याे । सञ्जालका अनुसार द्वन्द्वकालमा बेपत्ता पारिएका करिब १३ हजार व्यक्तिको अवस्था अझै अज्ञात छ । उनीहरूको अवस्था सार्वजनिक गर्नसमेत पीडितले माग गरेका छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
जनताको घर बनाउन ढुंगा–माटो बोक्दै धुर्मुस–सुन्तली (05.17.2016)
फेरिंदैछ राउटेको जीवनशैली (02.10.2015)
अपार स्रोत र दक्षिण एसियामा ऊर्जाको स्थिति (11.25.2014)
मधुमेह रोगबारे समयमै ध्यान दिन आग्रह (02.17.2014)
नेपाली समाजको यथार्थ चित्रण : झोला (02.10.2014)
आतंक अब साइबर टेरोरिजमको - इन्द्र आचार्य (09.10.2013)



 
::| Latest News

 
[Page Top]