भूकम्प पीडितका लागि एकीकृत नमूना बस्ती बनाएसकेपछि तराई झरेका धुर्मुस सुन्तलीले अति पिछडिएको समुदाय मुसहरका लागि बनाएको एकीकृत नमूना बस्ती नयाँ वर्ष २०७४ को शुभसन्ध्यामा हस्तान्तरण गरिएको छ ।
चर्चित हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चार्यले बस्तीको मुल गेटमा रिवन काटेर उद्घाटन गरिएको कार्यक्रममा उहाँहरुले नै बस्तीको साँचो एकीकृत नमूना मुसरहर बस्तीका अध्यक्षलाई हस्तान्तरण गर्नुभयो ।
नेपाली चलचित्र क्षेत्रका शीर्षस्थ कलाकारहरुका उपस्थिति रहेको कार्यक्रममा कलाकारहरुले यो अभियानले आफू कलाकार हुनुमा गर्व रहेको बताए ।
अतिथिका रुपमा उपस्थित नायक शिव श्रेष्ठले सीता, जनक, बुद्ध जन्मेको यो देशमा अहिले धुर्मुस सुन्तलीको जन्म भएको भन्दै यसबाट सम्पूर्ण देशबासीले गर्व गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै अभिनेत्री बसुन्धरा भुसालले धुर्मुस सुन्तलीलाई सधैं आफूले आशीर्वाद दिइरहेको बताउनुभयो ।
कार्यक्रममलाई सम्बोधन गर्दै मदनकृष्ण श्रेष्ठले सरकारलेभन्दा ठूलो काम गरेको धुर्मुस सुन्तलीले अब हामीलाई हैन हामीले नै ढोग्नुपर्ने बेला आएको बताउनुभयो ।
त्यस्तै हरिवंश आचार्यले एउटा कलाकार जोडीले तीनवटा एकीकृत नमूना बस्ती बनाउनु सानो कुरा हैन भन्दै यो जोडीलाई जन्मदिनेप्रति आभार व्यक्त गर्नुभयो ।
तीन महिनाको अवधिमा चार करोड ७६ लाख रुपैयाँको लागतमा निर्माण भएको बस्तीका संरक्षणका लागि पाँच लाख रुपैयाँको अक्षयकोश समेत राखिएको छ । कार्यक्रममा बस्तीबासीको स्वास्थ्यका लागि मह जोडीले एक लाख रुपैयाँ प्रदान गर्नुभएको थियो भने अन्य महानुभावहरुले पनि नगद प्रदान गर्नुभएको थियो ।