युगसम्बाद साप्ताहिक

गायक बिष्ट सिकिस्त : उपचारका लागि खर्चको अभाव
Tuesday, 09.12.2017, 11:53am (GMT5.5)

कलाकारको भौतिक देह मर्छ, तर, उसले छाडेर गएको कला कहिल्यै मर्दैन । कला र कलाकारको महिमा कहिल्यै राउँदैन । तापनि नेपालमा कलाको तारिफ गर्ने अनि कलाकारको वेवास्ता गर्ने प्रवृत्ति छ । मरेपछि उसकको गुणगान गाउने गरिन्छ । सिर्जनाको जति तारिख गरिन्छ, त्यसको सर्जकको उत्तिकै वेवास्ता । विगतदेखि वर्तमानसम्म सर्जक–सिर्जनाको व्यथा हेर्दा यस्तै देखिन्छ । न राज्य गम्भीर छ, न त्यो सिर्जनामा रमाउने आम मानिस नै ।
अहिले यस्तै एउटा सर्जक मृत्युसंग संघर्ष गरिरहेको छ– सात समुद्रपारी । “म मौनतामा अल्झिएको एउटा जीवन, कहाँ जाने, कसलाई सोध्ने, कसलाई खोज्ने ?” भन्दै आफ्नो जीवन रक्षाका लागि पुकार गरिरहेको छ । तर, न विदेशमा रहेर नेपाल र नेपालीप्रति चिन्ता जाहेर गर्दै भाषण गर्नेहरुको ध्यान गएको छ, न त स्वदेशमा कला–कलाकर्मीहरुका संघसंस्थाहरुले चासो दिएका छन् ।
यहाँ सन्दर्भ उठाउन खोजिएको छ ‘पप सम्राट’ ओमविक्रम बिष्टको । गायक विष्ट यतिबेला अमेरिकामा रोगसंग संघर्ष गरिरहेका छन् । नेपाली संगीतलाई अलग धारमा मोड्ने गायक बिष्ट अमेरिकामा थला परेका छन् तर बिष्टको बारेमा काठमाडौं मात्रै हैन संसारका ७० भन्दा बढी देशामा संगठित भएका नेपालीहरु नै बेखबर जस्तै छन् । पप सम्राट ओम विक्रम विष्ट अमेरिकाको न्यूयोर्कमा उपचार खर्चको अभावमा बसिरहेका छन् । विष्टको दुबै मृगौला फेल भएको छ र प्रत्यारोपण आवश्यक छ । चिकित्सहरुले त्यसको विकल्प अर्को नभएको बताइसकेका छन् ।
अमेरिकामा छोरी ज्वाईको साथमा बस्दै आएका बिष्ट यतिबेला हप्तामा तीनपटक डाइलोसिस गरिरहेका छन् । आफू आर्थिक संकटमा परेको बताउँदै उनी भन्छन छोरी– “ज्वाइँको घरमा पाहुना लागेर उपचार गरिरहेको छु । दुवै मृगौला फेल भएको छ । हप्तामा ३ दिन डाइलोसिसका लागि अस्पताल जानुपर्छ ।”
त्यसो त बिष्टका बारेमा अनर्गल प्रचार पनि भएका छन् । उनी सम्पन्न मान्छे हुन्, अमेरिकामा स्थायी बसोबास अनुमति पाएका छोरीको संरक्षणमा छन् । उपचार गर्न गाह्रो छैन । विष्टको उपचारका विषयले अमेरिकामा विरोधाभाषी कुरा पनि आए । उनलाई पैसा उठाउन खोजेको आरोप पनि लगाइयो । नौ महिनादेखि नियमित उपचार गराइरहेका पपसम्राट ओमविक्रम विष्ट यस्ता प्रश्नहरुको उत्तर दिंदा आक्रोश व्यक्त गर्छन– “म बिरामी मान्छे । अहिलेसम्म कति खर्च भयो हिसाबकिताब नै छैन ? म कसरी हिसाब देखाऊँ ? उपचार मात्र हो र ? अमेरिकाको न्यूयोर्क जस्तो महँगो शहरमा बसेर खान पनि त खर्चै लाग्छ नि ! त्यसमाथि पनि म त बिरामी ।”
“डाक्टरले भनेअनुसारको खाना खानुपर्छ, पथ परेजमा बस्नुपर्छ । डाइलाइसिस गर्नलाई मात्र त इन्सुरेन्सले बेहोर्छ । अस्पताल जाँदा–आउँदा र औषधिमा लाग्ने अन्य खर्च इन्सुरेन्सले बेहोर्दैन ।” म यस्तो बिरामी छु, यतिबेला उपचार सहयोग गर्नुको साटो करोडौं रुपैयाँ उठाएर भाग्न लागेजस्तो गरी मिडियाले पनि मेरै खैरो किन खन्नुपर्यो” भन्दै गायक विष्टले मिडियामाथि आक्रोश पोखे । दुवै मृगौैला फेल भएर जीवन मरणको दोसाँधमा छट्पटिएको शिथिल शरीर र समयमै उपचार होला कि नहोला भन्ने अन्योलले पनि हुन सक्छ, गायक विष्टको त्यो चिड्चिडाहटलाई अस्वाभाविक हैन ।
विष्ट अस्वस्थ भएको समाचार फाट्टफुट्ट आए पनि अमेरिकाको कुनै पनि सञ्चारकर्मीले फोनसम्म नगरेको गुनासो उनको छ । “अहिलेसम्म कुनै पत्रकारले मलाई फोनसमेत गरेका छैनन् । मलाई यहाँका पत्रकारदेखि अति नै चित्त दुखेको छ । शारीरिक रुपमा अशक्त भएपछि आशा र भरोसा सबैको लाग्दो रहेछ । जतिबेला म तन्दुरुस्त थिएँ तिनै पत्रकारले मेरो अन्तरवार्ता छाप्थे, मेरा सांगीतिक कार्यक्रमहरुलाई प्राथमिकतासाथ पत्रपत्रिकामा ठाउँ दिन्थे अहिले मेरो यस्तो अवस्था हुँदा मलाई साथ नदिएको भान हुन्छ ।”
नौ महिनादेखि नै क्रिएटिनिन र ब्लड सुगरको समस्या देखिएपछि उपचार गराउँदै आएका विष्टको स्वास्थ्य पछिल्लो समय निकै बिग्रिएको छ । दुबै मृगौलाले काम गर्न छोडेपछि उनी कहिले घर र कहिले हस्पिटल गरेर दिन बिताइरहेका छन् । न्यूयोर्कको अपस्टेटमा रहेको एम्स्र्टन सेन्ट मेरिज हस्पिटलमा १२ दिन बसेर भर्खरै मात्र फर्किएका उनी हाल अपस्टेटस्थित छोरीको घरमा बसिरहेका छन् । ६३ वर्षीय विष्टको स्वास्थ्य बिग्रिँदै गएर श्वास फेर्न गाह्रो भएपछि ३ दिनसम्म भेन्टिलेटरमा बसेको बताए ।
डाइलाइसिस गराइरहेका उनले अब जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गराउनु पर्नेछ । तर, अमेरिकामै उपचार गराउने हो भने मृगौला प्रत्यारोपणका लागि पाँच वर्ष पर्खनुपर्ने हुन्छ । अमेरिकाको किड्नी पेसेन्ट्स एसोसिएसनले डोनर पाउन कम्तीमा पाँच वर्ष पर्खनुपर्ने बताएपछि उनको परिवारले भारत लगेर प्रत्यारोपण गर्ने योजना बनाएको छ । साथै, मृगौला दान गर्ने व्यक्ति पनि तयार हुनुपर्छ । बिष्ट भन्छन्– “मलाई माया गरेर एक–दुई ठाउँबाट मृगौला दान दिन तयार हुनुभएको छ । सबै चाँजोपाँजो मिलेपछि मात्रै उपचार सम्भव छ । अहिले यत्रो खर्च जुटाउन निकै अप्ठेरो परेको छ । तर पनि हालसम्म मैले कसैसँग मागेको थिइँन । कसैसँग एक रुपैयाँ लिएको पनि छैन ।”
आर्थिक सहयोग संकलनका विषयमा गायक बिष्टले चित्त दुखाउँदै भने– कसैकसैले भन्छन् रे गायक विष्ट आफैं सम्पन्न व्यक्ति हो, किन चाहियो उसलाई दुनियाँको सहयोग ? त्यस्तो राय व्यक्त गर्नेहरुका लागि गायक विष्टले भने मेरो घरबार पूरै बेच्यो भने त उपचार गर्न सकौंला तर पनि मेरो सिंगो जीवन नेपाली संगीत क्षेत्रमा लगाएको छु । के मेरो मृगौला उपचारका लागि घरबार पूरै बेचौं ।’ विष्टको उपचार खर्च जुटाउने उद्देश्यले अमेरिकामा ‘गो फण्ड मी’ नामक अनलाइन साइटमार्फत आर्थिक संकलन अभियान चलाइएको छ ।
नेपाली संगीतमा एउटा अध्यायको सुरुवात गर्ने गायक हुन बिष्ट । जतिबेला हिन्दी शैलीका गीतहरुले बजार पिटिरहेको थियो त्यतिबेला बिष्टले पाश्चात्य शैलीका गीत गाएर नेपाली आधुनिक संगीतको भण्डार भर्न योगदान दिए । बिष्टकै अनुसरण गर्दै आज सयौं गायकहरु सोही पथमा हिंडिरहेका छन् । के बिष्टलाई आदर्श मान्नेहरुले मात्रै पनि उनको उपचारका लागि सक्रियता देखाउँदा सबैलाई दवाव पथ्र्यो कि ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com