युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.16.2018, 02:44am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विशेष रिपोर्ट
 
सामाजिक अभियन्ता- काशीनाथ जोशी
Tuesday, 04.03.2018, 01:35pm (GMT+5.5)

काशीनाथ जोशी सकारात्मक सोच राखेर निरन्तर सक्रिय रहने एक सामाजिक अभियन्ताको नाम हो । मानवसेवा र सामाजिक परिवर्तनका लागि नैतिक मूल्यमा आधारित शिक्षा नै अनिवार्य छ भन्ने दृढ मान्यता राखेर हाल उहाँले सप्तरी जिल्लाको सहज पहुँचभन्दा बाहिर रहेको तर ऐतिहासिक धरोहरको रूपमा रहेको तिरहुत गाउँपालिकाको भेडिया गाउँमा ‘वनखण्डी विद्याश्रम’ नामक गुरूकूल सञ्चालनको अगुवाई गरिरहनुभएको छ । अहिले बहुप्रचलनमा रहेको भौतिक शिक्षाले मात्र कसैको चौतर्फी व्यक्तित्व विकास गर्न नसक्ने र सामाजिक रूपान्तरण पनि हुन नसक्ने भएकाले  मानवसेवा र राष्ट्रसेवामा पूर्णतः समर्पित भाव जागृत गर्ने अध्यात्म चेतनायुक्त नैतिक शिक्षाको समेत जग बसाल्नु अनिवार्य रहेको विश्वास राखेर नै आफू गुरूकूलीय शिक्षाप्रति आकर्षित भएर नै सो विद्याश्रमको संस्थापन र सञ्चालनमा संलग्न रहेको उहाँको कथन छ । हाल सो विद्याश्रममा २२ विद्यार्थी, १ जना प्राचार्य  तथा संस्कृत शिक्षक, १ जना नेपाली र १ जना अंग्रेजी शिक्षक अध्ययन–अध्यापनरत छन् र उनीहरू सवैलाई निःशुल्क खानपानसहितको आवाश प्रबन्ध उहाँले जुटाइरहनु भएको छ । गुरूकूलीय शिक्षाका लागि उहाँलाई काठमाडौंमा गुरूकूल चलाइरहनुभएका डा. चिन्तामणि योगीले मार्गनिर्देशनात्मक सहयोग जुटाइरहनु भएको छ भने अरू थुप्रै सहयोगी हातहरूले आर्थिक तथा भौतिक सहयोग दिएर उहाँको अभियानलाई साथ दिइरहनुभएको  छ । हाल नेपालमा नैतिक मूल्यसहितको संस्कृत शिक्षाका लागि २५० जति गुरूकूल सञ्चालनमा छन् ।
भनिन्छ, हाल विद्याश्रम स्थापित यो जमिनमा चार सय ९५ वर्ष अगाडि गुरूनानक आएर वसोवास गरेका थिए ।  त्यहाँ एउटा मठको स्थापनासमेत भएको थियो । गुरूनानककै पालामा त्यहाँ इट्टाले बनाइएको एउटा इनार पनि भेटिएको छ भने त्यसलाई जिर्णोद्धार गरेर अहिले उपयोगमा समेत ल्याइएको छ  । गुरूनानक आएको झण्डै ३ सय वर्षपछि  सो ठाउँमा भारतबाट बाबा वनखण्डी आएर तपस्या गरेको जनश्रुति छ । उनका समकालीन अलिया बाबाले चतरालाई तपोभूमि बनाएका थिए भन्ने पनि कथन छ । भेडिया मठले त्यो बेला ३६५ बिघा जमिन चर्चेको थियो ।  संरक्षण र सदुपयोगको अभावमा समयक्रममा सो जमिनमा अतिक्रमण हुँदैगयो । अहिले अतिक्रमणबाट बाँकी रहेको ५ बिघा जमिनमा वनखण्डी विद्याश्रम स्थापित भएको छ । गुठी संस्थानले सो जग्गा विधिवत् सो विद्याश्रमलाई उपलब्ध गराउने बचन दिएको छ । त्यहाँ अहिले विद्यालय भवन, छात्रावास, स्वागत कक्ष, भान्साघर र गौशालालगायतका पक्की(कच्ची भवन निर्माण गरिएका छन् । सो जमिनको बीच भागमा ३० फिट अग्लो यस्तो  प्राकृतिक ढिस्कोसमेत रहेको छ जहाँबाट वरिपरिको मनोरम दृश्य हेर्न मिल्नुका साथै हजारौं दर्शकले एकसाथ खेलकूदका कार्यक्रम हेर्नसक्ने दुई बिघा क्षेत्रफलको समतल मैदान छ  । पूर्वाधारको विकास गर्ने हो भने यो रमणीय क्षेत्र धार्मिक र पर्यटकीय आकर्षणको केन्द्र  बन्नसक्छ । यो ठाउँ राजविराजबाट १४ किलोमिटर उत्तर, पूर्वपश्चिम राजमार्गको महलीबिन्दुबाट ३ कि.मि. दक्षिण, भारदहबाट १२ कि.मी. पश्चिममा अवस्थित छ । स्थापित विद्याश्रमको पूर्वमा १५–२० घर माझीहरूको वसोवास छ भने उत्तर, दक्षिण र पश्चिम ३ किलोमोटरसम्म वस्तीविहीन धानखेतीले भरिभराउ ठूलो मैदानी भूभाग छ । नजिकै सफा पानी भएको कहिल्यै नसुक्ने झोरा दह छ भने पश्चिममा एक हजार हेक्टर जमिनमा फैलिएको एकनाथ जंगल छ । जंगलको पश्चिममा लोहजरा नामक ठूलो दह पनि छ जसको बीच भागमा मन्दिर निर्मित छ भने सो दहमा डुँगासमेत सञ्चालनमा छ । यो ठाउँमा भविष्यमा गुरूकूल विश्वविद्यालयसमेत बनाउन सकिने सपना राखेर काशीनाथ जोशीजीले पूर्वाधार विकासका लागि निरन्तर पहल गरिरहनुभएको छ ।    
वि.सं . १९९७ साल बैशाखमा सप्तरी जिल्लाकै  हाल कञ्चनपुर नगरपालिका वडा नं. ११ मा अवस्थित गोरपार गाउँको एउटा जमिन्दार परिवारमा जन्मनुभएका जोशीले २० वर्षको कलिलै उमेरमा विहार विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकको डिग्री हाँसिल गर्नुभएको थियो भने २०२४–०२५ सालमा त्रिभुवन विश्वविद्यालयको अनुसन्धान केन्द्र मानिने ‘सेडा’मा अनुसन्धान अधिकृत भएर काम गर्नुभएको थियो । त्यसपछि उहाँ धनगढी–डडेलधुरा सडक निर्माणका क्रममा अनुसन्धान अधिकृतकै रूपमा सर्वेक्षण एवं सामाजिक–आर्थिक स्थितिको मूल्यांकन कार्यमा संलग्न रहनुभएको थियो । आर्थिक सम्पन्नताको जमिन्दारी पारिवारिक पृष्ठभूमि र उच्चशिक्षा प्राप्तिपछिको आकर्षक जागिरको अवसरले उहाँलाई मानसिक सन्तुष्टि दिन नसकेपछि उहाँ समाज परिवर्तनको ध्येय राखेर आफ्नै गाउँ र क्षेत्रको सेवामा लाग्ने दृढ अठोटका साथ गाउँ फर्किनुभयो । गाउँमा व्याप्त सामन्ती प्रथा, अशिक्षा, निम्सरो र सीमान्तकृत दलित एवं पिछडिएको जातिप्रतिको हेपाहा प्रवृत्ति र खोलाको पानी उपभोगमा समेत देखिएको विभेद एवं अवरोधविरूद्ध उहाँ सक्रिय हुन थाल्नु भएको थियो ।
उहाँले ०४९।०५० सालमा आफ्नो गाउँ गोरपारमा गरीब, दलित तथा पिछडिएका समुदायको आर्थिक सामाजिक उत्थान गर्ने अभिप्रायले “सर्वोदय ग्रामिण विकास” नामक गैरसरकारी संस्था खोलेर निरक्षर स्थानीय जनतालाई साक्षर बनाउन, कृषि उत्पादनमा विविधिकरण र उत्पादन वृद्धितर्फ प्रेरित गर्न एवं कुखुरा पालन, पशुपालनका लागि उत्प्रेरक तालिमको प्रबन्ध गर्न र गाउँमै पाइने बाँसको उपयोग गर्ने शीपमूलक तालिम दिई स्वरोजगारी तर्फ जागरण पैदा गर्न उहाँले रचनात्मक पहल गर्नुभएको प्रसंगलाई स्थानीय वासिन्दाले मुक्तकण्ठले प्रशंसा गर्नेगरेका छन् । 
विगतदेखि वर्तमानसम्म उहाँको मुख्य ध्यान शैक्षिक जागरण अभियानमा केन्द्रित छ । विगतमा उहाँले गाउँका बालबालिका लागि सहज शिक्षा उपलब्ध होस् भन्ने उद्देश्यले आफ्नै जमिन दान दिएर तत्कालीन ठेलिया गाविसको ९ नं. वडामा प्राथमिक विद्यालयको स्थापना गर्नुभएको थियो भने हाल “राष्ट्रिय आधारभूत विद्यालय”को नाममा सो विद्यालयमा कक्षा १देखि ८ सम्मको पढाइ चलिरहेको छ । त्यसै गरी उहाँको सक्रिय पहलमा ठेलिया र बर्म्झियामा स्थापित अर्को प्राथमिक विद्यालय अहिले मण्टेस्वरी कक्षादेखि १२ कक्षासम्म पढाइ हुने स्तरमा उक्लिएको छ ।  हाँकै  प्रेरणा र पहलमा स्वीजरल्याण्ड निवासी एक शिक्षाप्रेमी महिला जोशियानी परिथर क्याथोमेनको आर्थिक सहयोगमा सो विद्यालयको आधुनिक भवन निर्माण भएको छ भने विद्यालय परिशरमा एउटा अस्पतालसमेत परिचालित छ । 
उहाँको कर्मक्षेत्र बनेको  तिरहुत–भेडिया क्षेत्र २०७४ को वर्षामा बाढीको चपेटामा प¥यो । उहाँले आफ्नै पहलमा राहत सामग्री र आर्थिक सहयोग जुटाएर ७ दिनसम्म ५०० जनालाई भोजन र निःशुल्क स्वास्थसेवाको व्यवस्था गर्नुभयो । उहाँको यो जनकल्याणकारी कार्यलाई देशविदेशबाट विविध स्रोत जुटाएर गुरूकुल शिक्षाका अभियन्ता डा. चिन्तामणि योगी, कुलप्रसाद मास्के, ग्रामिण स्वास्थकेन्द्रका डा. सौन्दर्य गिरि  डा. मृगेन्द्रराज पाण्डे, ताराराज पाण्डे, रमा शर्मा रोशनजी, बाबुरामजी, केवल के.सी.लगायता उदारमना थुप्रै व्यक्तिहरूले र अस्ट्रेलियाबाट उहाँकै जेठा छोरा कविन जोशीले त्यहाँको रोटरी क्लब समेतबाट उल्लेख्य रकम जुटाएर सहयोग गर्नुभएको थियो । बाढी–कटानबाट घरवारविहीन भएकाहरूको वसोवास प्रबन्धका निम्ति उहाकै पहलमा “रिलिजन फर पिस” नामक गैरसरकारी संस्थाकी अध्यक्ष इन्दिरा मानन्धरसंग सम्झौता गरी नयाँ घर निर्माण कार्य पनि द्रुतगतिमा चलिरहेको छ भने त्यसको रेखदेखको जिम्मा पनि उहाँले नै लिनुभएको छ । उदारमनाहरूको सहयोगले मानवीय सेवामा निरन्तर सक्रिय रहन आफूलाई ठूलो बलमिलेको र थप प्रेरणा प्राप्त भएको उहाँ बताउनुहुन्छ । यी सवै कार्यबाट आफूलाई प्रेरणा र आत्मसन्तुष्टि दुवै प्राप्त भएको उहाँ बताउनुहुन्छ ।
उहाँको सिंगो परिवार केही वर्षदेखि अस्ट्रेलियाको सिड्नीमा वसोवास गर्दैआएको छ र उहाँलाई पनि स्थायी वसोवासको अनुमति प्राप्त छ । तर पनि उहाँ आफ्नो जन्मथलोलाई  नै कर्मक्षेत्र बनाएर अधिकांश समय नेपालमै बसेर सामाजिक कार्यमा सक्रियता देखाइरहनुभएको छ । अस्ट्रेलिया बसाइको समयलाई पनि उहाँले योग शिक्षाको प्रचारमा खर्चिने गर्नुभएको छ । अस्ट्रेलियामा उहाँलाई योगगुरूको सम्मान प्राप्त छ । सिड्नीको युयसए विश्वविद्यालयमा उहाँले योग शिक्षकको रूपमा समेत काम गर्नुभएको अभिलेख छ । नियमित प्रातः भ्रमण, योग–व्यायाम, प्राणायाम, शाकाहारी स्वच्छ आहार र सामाजिक सेवाकार्य नै उहाँको दिनचर्या बनेको छ र ७८ वर्षको उमेरमा पनि उहाँ स्वस्थ–तन्दुरूस्त हुनुहुन्छ । स्वस्थ जीवन–उच्च विचारको धारणा राख्ने उहाँको मानवीय र शैक्षिक सेवा कार्य निरन्तर जारी रहोस् र नेपाली समाजले उहाँबाट लाभ उठाउने अवसर पाओस् भन्ने हाम्रो कामना छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
गायक बिष्ट सिकिस्त : उपचारका लागि खर्चको अभाव (09.12.2017)
मधेशवादी दलसँग निर्वाचनमा सहभागी हुनुको विकल्प छैन (05.24.2017)
ती महिनामा बन्यो मुसहर बस्ती (04.18.2017)
हिंसा सहेरै बस्न बाध्य छन् ग्रामीण भेगका महिला (11.29.2016)
एउटा नाटक जसले हराएकाहरूको खोजी गर्छ (09.06.2016)
जनताको घर बनाउन ढुंगा–माटो बोक्दै धुर्मुस–सुन्तली (05.17.2016)
फेरिंदैछ राउटेको जीवनशैली (02.10.2015)
अपार स्रोत र दक्षिण एसियामा ऊर्जाको स्थिति (11.25.2014)
मधुमेह रोगबारे समयमै ध्यान दिन आग्रह (02.17.2014)
नेपाली समाजको यथार्थ चित्रण : झोला (02.10.2014)
आतंक अब साइबर टेरोरिजमको - इन्द्र आचार्य (09.10.2013)



 
::| Latest News

 
[Page Top]