युगसम्बाद साप्ताहिक

काठमाडौं भ्यू टावर बन्ने कहिले ? ठेकेदार प्रहरी हिरासतमा, खलामञ्च बसपार्क बन्यो,
Tuesday, 05.08.2018, 10:57am (GMT5.5)

काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न र महानगरपालिकाको आम्दानी बनाउने उद्देश्यका साथ निर्माण आरुम्भ गर्ने भनिएको भ्यू टावर कहिले बन्ने हो पत्तो छैन । अहिले टावर बनाउने ठेकेदार मनोज भेटवाललाई एपेक्स बैंक घोटाला काण्डमा संलग्न रहेको भन्दै प्रहरी अनुसन्धानमा छन् । टावर बनाउन दिएको तीन वर्षको समय आउने भदौमा सकिदैँछ । साढे दुई वर्षमा भवनको जग पनि पूरा भएको छैन । पूरानो बसपार्कमा छड र रोडाको थुप्रो लगाएर वरपर टिनले ढाकिएको छ । खुलामञ्च बसले भरिएको छ ।
२०६८ असार २६ को नगरपरिषद् बैठकले २३ रोपनी ५ आना ३ दाम १ पैसाका पुरानो बसपार्कमा सार्वजनिक–निजी साझेदारी मोडलमा बहुतलीय बहुउद्देश्यीय टावर निर्माण गर्ने निर्णय पारित गर्योरेको थियो । सोही वर्ष चैतमा ठेक्का आह्वान भयो । आठ कम्पनीले टेन्डर हाले ।
सबैभन्दा बढी रोयल्टी बुझाउन कबोल गर्ने जलेश्वर, स्वच्छन्द र बिकोइ बिल्डर्स प्रालिले ठेक्का पायो । भवनको आवश्यकता नभएको, ठेक्कामा प्रक्रिया मिचिएको लगायत प्रश्न उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी प¥यो । ०६९ मंसिर २८ गते अख्तियारले टावर निर्माण रोक्न निर्देशन दियो । सम्झौता नेपाली भाषामा गर्ने, जग्गाको ४० प्रतिशत क्षेत्रमा मात्र भवन निर्माण गर्ने, ६० प्रतिशत खुला राख्ने र जमिनमूनिसहित तीन तल्ला पार्किङ गर्ने लगायतका निर्देशनसहित आयोगले २०७० वैशाख २४ गते रोक्का फुकुवाको पत्र पठायो ।
कलंकी र गोंगबुमा आकाशे पुल बनाएका भेटवालको कम्पनीले महानगरलाई पैसा तिर्न बाँकी रहेको, उनीसँग त्यत्रो भवन बनाउने पैसा नै नभएको लगायतका विषय उठाएर संसदको सार्वजनिक लेखा समितिमा उजुर प¥यो  । २०७१ फागुन ४ गते लेखा समितिले नियम, विधि तथा प्राविधिक रूपले सम्झौता गरी काम अघि बढाउन निर्देशन दिएर पत्र लेख्यो ।
महानगरपालिकाले २०७१ फागुन २२ गते कम्पनीसँग सार्वजनिक–निजी साझेदारीको मोडलमा २९ तले बहुउद्देश्यीय टावर निर्माण सम्झौता ग¥यो । तर, ठेकेदारसँग २९ तलाको सम्झौता गरे पनि शहरी विकास मन्त्रालयले त्यहाँ १२ तलाभन्दा ठूलो भवन बनाउन नमिल्ने बतायो ।
कतैबाट केही सीप नलागेपछि २०७२ भदौमा महानगरले १२ तले भवनको नक्सा पास ग¥यो । तीन वर्षभित्र भवन बनाइसक्ने सम्झौता भयो । कात्तिक २५ गते उपराष्ट्रपति नन्दबहादुर पुनले टावरको शिलन्यास गर्नुभयो । नक्सा १२ तलामात्र पास भए पनि ठेकेदारलाई भवन भने २९ तलाकै बनाउन भनियो । अहिले बनेको जग २९ तलाकै लागि हुने गरी बनाइएको छ । अर्कोतिर मध्य सहरमा बन्न लागेको यो टावरको अहिलेसम्म वातावरणीय प्रभाव मूल्यांकन भने भएको छैन ।
सम्झौता हुँदा टावर बनाउन झन्डै ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । अहिले यो लागत बढेर साढे पाँच अर्बभन्दा बढी पुग्ने देखिन्छ । तर ठेक्का पाएको कम्पनीसँग यत्रो पूँजी लगानी गर्ने क्षमता छैन । कुनै बैंकले अहिलेसम्म पैसा दिन पनि मानेका छैनन् । 
यो टावर कुन मोडलमा बन्न लागेको हो भन्नेमा पनि महानगर स्पष्ट छैन । महानगरका एक कर्मचारीले यसमा बनाउँदा पिपिपी र बनिसकेपछि बुट (बनाउने, स्वामित्वमा लिने, चलाउने र सरकारलाई हस्तान्तरण गर्ने) मोडल अपनाइएको बताए । ठेकेदारलाई सजिलो हुने गरी पिपिपी र बुट दबैका कुरा लागु गरिएको बताउँछन् ।
तीन वर्षसम्म भवन बनाउँदा जग्गाको भाडा वार्षिक ९८ लाख ३४ हजार र भवन बनिसकेपछि वार्षिक २ करोड ७० लाख रूपैयाँ महानगरलाई दिने सम्झौतामा उल्लेख छ । ३० वर्ष सञ्चालन गरेर कम्पनी भवन महानगरलाई हस्तान्तरण गर्ने गरी सम्झौता भएको छ ।
टावरको कामले सबैभन्दा सास्ती यात्रुले पाएका छन् । सुरूमा छ महिनाका लागि भनेर महानगरले बसपार्कलाई खुलामञ्चमा सारिदिएको थियो । अब त्यो स्थान बसपार्ककै रुपमा कति वर्षसम्म रहने हो पत्तो छैन । भ्यू टावर बनेपछि बसपार्क कहाँ बनाउने भन्ने पनि कुनै योजना छैन । काठमाडौंको एकमात्र खुला ठाउँ पनि अनेक बहानामा अतिक्रमित  हुँदा भूकम्प जस्ता विपत्तिमा सहारा लिने स्थानकै अभाव हुने स्पष्टै छ ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com