युगसम्बाद साप्ताहिक

कुशे औँशीमा गोकर्ण : धार्मिक सहिष्णुता अनि पितृ सम्मान दिवस
Tuesday, 09.11.2018, 12:14pm (GMT5.5)

काठमाडौं । नेपालका धार्मिक समुदायबीचको सद्भाव र सहिष्णुृता अनि समानताको ज्वलन्त नमूना देख्न पाइन्छ कुशेऔंसीका दिन काठमाडौंको गोकर्णमा । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी बुबाको मुख हेर्ने तथा दिवंग पितृको नाममा श्राद्ध, पिण्ड र सिदा दान गर्ने गरिन्छ गोकर्णमा गएर । अनि बौद्ध धर्मावलम्बीहरु पनि सोही स्थलमा गएर सोही कार्य गर्दछन् ।
महादेव मन्दिर भए पनि यहाँ हिन्दु र बौद्ध धर्मावलम्बीहरुको ठूलो भीड लाग्दछ । दुबै धर्म सम्प्रदायका मानिसहरु दिवंगत पितृको उद्धारका लागि पितृकार्य गराउँछन् । गोकर्णमा हिन्दु पुरेत र बौद्ध पुरेत एकसाथ आआफ्नो धार्मिक मान्यता अनुसार पितृ उद्धारमा कार्यमा सक्रिय देखिन्छन् । यसले धार्मिक मूल्य मान्यताको समानता र धार्मिक सहिष्णुताको उच्च नमूना पेश हुँदै आएको छ । यो सदियौंदेखिको चलन हो । 
बौद्ध धर्मावलम्बीले गोकर्णेश्वर महादेवलाई बौद्धका १२ तीर्थमध्ये पुण्य तीर्थ बोधिसत्वका रुपमा मानी पूजाआजा गर्ने गरेका छन् । बौद्ध धर्मावलम्बीले यस दिन गोकर्णमा पितृ उद्धारका लागि १००८ दीप दान गर्छन् ।
उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा लाग्ने विशेष मेला हो यो । त्यसैले यो औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ । सो दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्दछ । 
पितृदेवो भवुभन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।
सत्ययुगमा ब्रह्माले नै गोकर्णेश्वरको स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदा दान र पीण्ड दान गर्नाले अगति परेका पितृ पनि तर्छन् भन्ने धार्मिक विश्वास छ । यसैकारण यस दिन मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको छ । भगवान् विष्णुको दायाँ पाउ रहेको गोकर्णेश्वर धार्मिक क्षेत्र पितृ उद्धारका हिसाबले महत्वपूर्ण भए पनि नेपाल सरकारले ध्यान नदिँदा ओझेलमा परेको छ ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।
यो दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । अरु दान दीन दुःखीलाई दिए पनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ । 
यसै गरी यसै दिन शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यस दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ ।
यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।  बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।
– गीता श्रेष्ठबाट


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com