युगसम्बाद साप्ताहिक

वाग्मती मुहानमा सुङ्गुर बङ्गुर पालन ः जति सफा गरे पनि फोहर मात्रै
Tuesday, 04.30.2019, 01:45pm (GMT5.5)

काठमाडौं । उपत्यकाको सभ्यतासंग जोडिएको वाग्मती नदी सफाई महाअभियान आधा दशक बढी भैसकेको छ र यसबीचमा नदी सफा त देखिएको छ तर सोचेजस्तो हुन सकेको छैन । यसको एउटै कारण भनेको सफाई गर्दै जाने फोहर पनि हुँदै जाने स्थिति हो ।
अहिले महाअभियानका अभियन्ताहरु किन सोचेजस्तो सफलता मिलेन भनेर समीक्षा गर्ने चरणमा छन् । अभियन्तामध्येका एक चक्रबहादुर चन्दका अनुसार वाग्मती सफाई महाअभियान सफल भएको र यसले देशव्यापी रुपमा सफाईको लहर ल्याए पनि वाग्मती नदीमा सोचेजस्तो हुन नसक्दा यसको समीक्षा गर्नुपर्ने बेला भएको बताउनुहुन्छ । उहाँको गुनासो के पनि छ भने स्थानीय तहले गर्नुपर्ने साथ र सहयोग नगर्दा पनि समस्या कायमै रहेको छ ।
हुन पनि नागरिकस्तरबाट शुरु भएको वाग्मती सफाइ महाअभियानले ३११ हप्ता पूरा गर्दा पनि मुहान क्षेत्रको नदी किनार दायाँबायाँ खोलिएका सुङ्गुर बङ्गुर पालनले नदी फोहर भैरहेको छ । यसलाई हटाउने जिम्मा स्थानीय तहको हो तर उनीहरु यसो गर्न चाहँदैनन् ।
वाग्मती सफाइकै काम गर्न दुई दशकअघि स्थापना भएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति भने नदी फोहर गर्ने समूहको मूकदर्शक मात्र बनेको स्थानीय अच्युत पण्डितले बताउनुभयो । मुहान क्षेत्रस्थित वाग्मतीका सहायक नदी जम्बोत्तरी, कागेश्वरी, कोलमतेश्वर, चन्द्रमती, सूर्यमतीलगायत नदी किनारमा सुङ्गुर बङ्गुर पालनले नदीमा प्रदूषण बढाउँदा यहाँका स्थानीय सरकार पनि रमिते बनेका छन् । 
नदी किनारमा फोहर गर्ने उद्देश्यले नै सुङ्गुर एवं बङ्गुर पालन गर्दा पनि यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाले रोकथाम गर्न सकेका छैनन् । फार्ममा मरेका सुङ्गुर बङ्गुरलाई नदीमै फाल्दा दुर्गन्ध फैलने गरेको रमिला पुडासैनीले बताउनुभयो । 
मुहान क्षेत्रको गोकर्णेश्वर महादेव मन्दिरमाथिको वाग्मती र सहायक नदी किनारमै मात्र करीब एक दर्जनभन्दा बढी यस्ता फार्म खुलेका छन् । अधिकार सम्पन्न वाग्मती समिति सञ्चालक समितिकी सदस्य माला खरेल चार वर्षअघि गोठाटार पुलबाट माथिको क्षेत्रमा गरिएको अनुसन्धानमा करीब २५ वटा फार्म भेटिएको बताउनुहुन्छ । 
अध्ययनपछि गोकर्णेश्वरमुनिको क्षेत्रका धेरै फार्म हटेको जानकारी पनि उहाँले दिनुभयो । समितिले तत्कालै अध्ययन गरी फार्म हटाउन पहल गर्ने प्रतिबद्धता जनाएको छ । यता चैत अन्तिम सातादेखि नै रोकिएको वाग्मती सौन्दर्यीकरणको काम अझै शुरु हुन सकेको छैन । 
गोठाटार पुल क्षेत्रमा नदीको बहाव कायम गर्दा मुआब्जा नदिएको भन्दै स्थानीयवासीले वाग्मती कोरिडोरमै टहरा हालेर विरोध गरिरहेका छन् । नदीको बहाव कायम गर्दा १८८ रोपनी जग्गा नदीमा परेको वाग्मती पीडित सङ्घर्ष समितिको भनाइ छ ।
यसैबीच वाग्मती सफाइ महाअभियानको प्रेरणाले शुरु भएको गोदावरी खोलास्थित गोदावरी नहर क्षेत्रको सफाइमा आठौँ हप्ता पनि १०० भन्दा बढी अभियानकर्मीको सक्रियता रह्यो । सफाइबाट तीन टन फोहर व्यवस्थापन गरिएको संयोजक बेवी थापाले जानकारी दिनुभयो । 
सफाइमा गोदावरी नगरपालिका–३ का अध्यक्ष बालमुकुन्द घिमिरे लगायत जनप्रतिनिधि सहभागी हुनुभयो । नेपाल रेडक्रस सोसाइटी गोदाम चौर उपशाखा, अन्नपूर्ण महिला सहकारी, उद्यमशील महिला सहकारी, सन्तानेश्वर नौधारा महिला सहकारी, विभिन्न विद्यालयका छात्रछात्रा, वाग्मती सफाइका अभियानकर्मी लगायतको सहभागिता थियो । 
उपत्यकाका अन्य नदी र चक्रपथ सफाइ शनिबार गर्ने गरिए पनि गोदावरी खोला भने आइतबार सफाइ हुँदै आएको छ । गोदावरी खोला सफाइ अभियान गत फागुन २६ गतेदेखि शुरु भएको हो ।

सगरमाथा सफाइ अभियान
विश्वको सवोच्च शिखर सगरमाथामा थुप्रिएको फोहर सफ ागर्न यही वैशाख १ गतेदेखि लुक्लाबाट शुरु गरिएको सगरमाथा सफाइ अभियानको समूह सगरमाथाको आशार शिविर ‘बेस क्याम्प’ पुगेको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाको नेतृत्वमा संयुक्त रुपमा सरसफाइ गर्दै टोली बेस क्याम्प पुगेको अभियानले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । यसबीचमा नेपाली सेनाको एम आई १७ हेलिकोप्टरबाट करीब तीन हजार किलो सङ्कलित फोहरमध्ये दुई हजार किलो फोहर ओखलढुङ्गा राख्ने र करीब एक हजार किलो काठमाडौँसम्म ल्याएर ब्ल्यूओष्ट टु भ्यालू नामक संस्थालाई हस्तान्तरण भइसकेको पर्यटन विभागका महानिर्देशकसमेत रहनुभएका अभियानको सूचना प्रबाह समितिका संयोजक डण्डुराज घिमिरेले बताउनुभयो ।
सफाइ अभियानअन्तर्गत नेपाली सेनालगायत शेर्पासहितको टोली बेस क्याम्प व्यवस्थापनमा खटिने सम्पूर्ण सदस्यको लागि आवश्यक रसद पानी र बन्दोवस्तीलगायतका आवश्यक सामग्री आधार शिविर पुगिसकेको र क्याम्प–२ का लागि तयारी भइरहेको जनाइएको छ । 

दुई करोड बढी सहयोग रकम उठ्यो 
अभियानअन्तर्गत आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको र हालसम्म करीब रु दुई करोड ६७ लाख जम्मा भइसकेको अभियानले जनाएको छ । विभिन्न निकायबाट आएको सहयोग रकम पारदर्शी ढङ्गले व्यवस्थित रुपमा सरसफाइमा खर्च गरिने महानिर्देशक घिमिरेको भनाइ छ । अहिले उठेको रकम बढी भए अर्को वर्षको अभियानलाई खर्च गरिनेछ । सरकारी निकायको सरकारी खाता र निजीतर्फबाट आएको सहयोगको सगरमाथा प्रदूषण नियन्त्रण समितिको खातामा जम्मा हुने उहाँले उल्लेख गर्नुभयो ।
सगरमाथा सफाइ अभियानबाट आधार शिविर र वरपरबाट करीब पाँच हजार किलो साउथ कोलबाट करीब दुई हजार किलो र क्याम्प २ र ३ बाट करीब तीन हजार किलो फोहर सङ्कलन गरिनेछ । सम्भव भएसम्म शव सङ्कलन गरी व्यवस्थापन गर्ने लक्ष्य लिइएको अभियानले जनाएको छ ।
सगरमाथाबाट सङ्कलित फोहरलाई आगामी जेठ १५ गते सगरमाथा दिवसको दिन नाम्चे (सोलुखुम्बु)मा प्रदर्शन गरिनेछ भने कानूनी रुपमा पुनःप्रयोग गर्न मिल्ने फोहरलाई काठमाडौँ ल्याएर जेठ २२ गते विश्व वातावरण दिवसका दिन प्रदर्शनी गरी पुनःप्रयोग गरिनेछ । 
पैतालिस दिन अवधिमा सम्पन्न गरिने सफाइ कार्यक्रममा १२ जना शेर्पा जनशक्ति प्रयोग गरिनेछ । अभियानका लागि करीब रु दुई करोड ३२ लाख १६ हजार ३०७ खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । उद्धार टोली र हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिने छ । 
अहिले नेपाली सेनाका तीन हेलिकोप्टरमध्ये दुई फोहर बोक्न र एक उद्धारका लागि तयारी अवस्थामा छन् । आठ जना शेर्पा क्याम्प २ मा बसेर तीन जनाको टोली तलमाथि गरी पालैपालो साउथकेलसम्म पुगेर फोहर जम्मा गरिनेछ । साउथकोल पुग्ने टोली पाँच दिनसम्म त्यही बस्ने र सफाइ टोली अन्तिम समयसम्म बसेर सफाइ गरिने जनाइएको छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com