युगसम्बाद साप्ताहिक

सगरमाथाको साख जोगाउनुपर्छ
Wednesday, 06.05.2019, 12:31pm (GMT5.5)

सन् १८४९ मा ब्रिटिस सर्बे अफ इण्डियाले सर्वेक्षण गरी विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा भएको निष्कर्ष निकालेको थियो । नेपालको सोलुखुम्बु जिल्लामा पर्ने अग्लो शिखर भनी चिनिएको भए पनि यहाँका मानिसलाई केही थाहा थिएन । त्यसैले १०४ वर्षपछि बल्ल शिखरमा मानिसको पाइला पुग्यो ।
सोलुखुम्बुको थामेमा जन्मेका तेञ्जिङ नोर्गे शेर्पाले दार्जिलिङमा पुगेर ट्रेकिङ कम्पनी खोलेपछि सोही माध्यमबाट एडमण्ड हिलारीसँग भेट भएको बताइन्छ । एडमण्ड हिलारीले सगरमाथा चढ्ने प्रक्रिया अगाडि बढाएपछि तेञ्जिङलाई समेत जन्मभूमि फर्कने अवसर मिलेको उनीहरुलाई बाटो देखाउने कान्छा शेर्पा सुनाउनुहुन्छ । 
नेपाल सरकारबाट आरोहण अनुमति पाएपछि सन् १९५३ मे २९ का दिन थामेका तेञ्जिङनोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले सगरमाथाको शिखरमा पहिलो पटक पाइला टेकेका थिए । उनीहरुको पाइला शिखरमा पुगेसँगै सगरमाथाको चर्चा विश्वभरि फैलियो ।  
आरोहण यात्रा शुरु भएको ६६ वसन्त पूरा भएर अहिलेको यो सिजनसहित ६७ वसन्तसम्म आठ हजारभन्दा स्वदेशी तथा विदेशीले आरोहण गरेका छन् र विभिन्न कीर्तिमानी कायम भएको कायम भएको छ । 
हिलारी र तेञ्जिङसँग पहिलोपटक शिखरमा जाने समूहमध्यको खुम्बुपासाङल्हामु गाउँपालिका–३ नाम्चेका कान्छा शेर्पा पनि एक हुनुहुन्छ । त्यसबेला ‘हाई अल्टिच्युड शेर्पा’ का रुपमा गएका ८७ वर्षीय शेर्पाले २० वर्षको उमेरमा तेञ्जिङ र हिलारीका लागि बाटो बनाउँदै शिखर नजीक सात हजार ८०० मिटरसम्म पुग्नुभएको थियो । उनीहरु दुई जना मात्र हाई अल्टिच्युड शेर्पा थिए भने अन्य लो अल्टिच्युट शेर्पाका रुपमा थिए ।
कान्छा शेर्पाका अनुसार भक्तपुरबाट चार सय भरियासहित आरोहण दलका ३५ सदस्य टोली नाम्चे हिँडेको थियो । चार सयमध्ये एकसय जनाको टोली एक दिनको फरकमा हिँडेको थियो । शेर्पाले हाँस्दै सुनाउनुभयो, “काठमाडाँैमा गाडी थिएन, भक्तपुरमा गाईवस्तु चथ्र्यो, अहिले भक्तपुरमा त दश हजार घरहरु होला है, सपनाकै कुरा हो ।”
बाटोमा कुनै होटल पसल थिएन । शेर्पाले भन्नुभयो, “मकैको छ्याङ अनि सातु खाँदै हिँड्नुपथ्र्यो, अहिले त जताततै होटल पसल, सुविधा राम्रो छ, त्यो बेला केही थिएन निक्कै गाह्रो थियो ।”
भक्तपुरबाट हिँडेको टोली १६ दिनमा नाम्चे पुगेको थियो । सगरमाथा प्रवेशद्वार नाम्चे पुगेपछि चार सय भरियालाई दैनिक रु पाँच ज्याला दिएर फर्काएपछि टोली आधार शिविरतर्फ प्रस्थान गरेको टोली ६ दिनमा आधार शिविर पुगेको शेर्पाले सुनाउनुभयो । उहाँका अनुसार चार सय भरियाले बोकेका मध्ये २५ भारी पैसा मात्र थियोे । 
“नाम्चेबाट ३५ जना टोली आधार शिविर लाग्याँै, पाँच दिनमा त्यहाँ पुगेपछि बस्ने व्यवस्था मिलायौँ”, सञ्चारकर्मीसँग मङ्गलबार नाम्चेमा भेटेको अवसरमा शेर्पाले ६६ वर्षअघिको अनुभव सुनाउनुभयो, “क्याम्प एकसम्म पुग्नकै लागि निक्कै कठिन भयो, बाटो खोज्दै जाँदा खुम्बु आइसफलमा ठूलो खर्पस भेटियो, हामीसँग भ¥याङ थिएन, अनि नाम्चे फर्केर १० वटा सल्लाको रुख काट्यो, २० जनाले बोकेर उकालो लाग्यौँ, अनि काठको पुल बनाएर अगाडि जाने बाटो बनायौँ ।”
त्यतिबेला सगरमाथा नामकरण गरिएको थिएन, स्थानीय भाषामा चोमोलोङमा भन्ने गरेको शेर्पाले सुनाउनुभयो । क्याम्प २, ३ हुँदै ४ सम्म बाटो बनाएपछि, तेञ्जिङ र हिलारी शिखरतर्फ गएका थिए । “मे २९ को दिन दिउँसो १ बजे आरोहण सफल भयो, तिमीहरु क्याम्प २ मा बस्नु भने हामी सबै खुशी भयौँ”, शेर्पाले भन्नुभयो, “दुई घण्टामा क्याम २ मा उनीहरु आए खुशीले अँगालो हाल्याँै, किस खायौँ, सबै नाच्याँै ।” काठमाडौँदेखि हिँडेको ४५ दिनमा आरोहण सफल भएको थियो । 
सात पटकसम्म बाटो देखाउने काम गरेका कान्छा चुचुरोमा जान मन भए पनि अनुमति नभएका कारण नपुगेको बताउनुहुन्छ । तेञ्जिङ र हिलारीले आरोहण सकेपछि नाम्चे झरेको टोलीले कान्छा शेर्पालाई त्यहीँ छाड्यो । पैसा लिएर केही दिनमा आउँछु भनेको हिलारी पुन नाम्चे आउनुभयो । नाम्चे आएर कान्छालाई के कति दिए भन्ने थाहा छैन । उनको दैनिक ज्याला रु आठ थियो । तर के कति पाइयो थाहा भएन । 

कान्छाको सुझाव 
६६ वर्षअघि सगरमाथामा हिउँ नै हिउँ थियो भने आधार शिविर घाँसेमैदान जस्तै थियो । तर अहिले एउटै पनि वनस्पति पाइँदैन । हिउँसमेत धेरै घटिसकेको छ । 
सगरमाथामा जो कोही चढ्छन्, त्यसरी चढ्दा सगरमाथाको साख घट्नेमा कान्छा शेर्पाको चिन्ता छ । सरकारले आरोहण रोक्नेभन्दा पनि सीमित मात्रामा अनुमति दिने व्यवस्था गर्दा यसको साख जोगिने उहाँको सुझाव छ । पैसाका लागि मात्रभन्दा पनि साखलाई जोगाउनका लागि पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ । 
सगरमाथाको बदनाम गर्नका लागि विभिन्न क्रियाकलाप हुने हुँदा त्यस्ता गतिविधि नियन्त्रण गर्ने गरी काम अगाडि बढाउनुपर्ने कान्छाको सुझाव छ । 

खुम्बुको विकासमा हिलारीको योगदान
के गर्न जाने होला किन जाने होला त्यस्तो ठाउँमा भन्ने लागेको कान्छा शेर्पा अहिले हिलारीलाई भगवान् सम्झनुहुन्छ । हिलारीको कारण खुम्बुको विकास भएको उहाँको भनाइ छ । हिलारीले खुम्बु क्षेत्रको शिक्षा, स्वास्थ्य तथा विमानस्थल निर्माणको काम गरेका हुन् । लुक्ला, फाप्लु विमानस्थल निर्माण गरेका हिलारीले अस्पताल र क्याम्पससमेत स्थापना गरी सोलुखुम्बुको विकासमा टेवा पु¥याएका हुन् ।
  लुक्लासम्म आउनका लागि समस्या भएका कारण उनले सामान ढुवानी गर्नका लागि लुक्ला विमानस्थल निर्माण गरेका हुन् । त्यसैले लुक्ला विमानस्थलको नाम तेञ्जिङ हिलारी नामकरण गरिएको हो । खुम्बु क्षेत्रमा आलु मात्र उत्पादन हुने हुँदा त्यस बेला जङ्गली कन्दमूल खाएर जीवन बिताउनु परेको कान्छा शेर्पाले सुनाउनुभयो । तर अहिले त्यस क्षेत्रमा विकासले गति लिएको देख्दा उहाँलाई नै अचम्म लाग्छ । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com