| युगसम्बाद साप्ताहिक | ||||
|
राजधानीका १० निजी विद्यालयको नतिजा शून्य Tuesday, 06.18.2013, 02:39pm (GMT5.5) काठमाडौं । नेपालको विद्यालय शिक्षामा निजी क्षेत्रको नतिजा शतप्रतिशत र सामुदायिक विद्यालयको नतिजा शून्य प्रतिशत भन्ने हल्लावाजी मच्चिने गरेकोमा यसपटक उपत्यकाका केही सामुदायिक विद्यालयको एसएलसी नतिजा शत प्रतिशत र केही निजीको शून्य देखिएको । परीक्षा नियन्त्रण कार्यालयले गत २८ जेठमा प्रकाशित एसएलसीको नतिजामा उपत्यका ठूला भनिएका विद्यालयकै नजिता शून्य देखिएको हो । नतिजाअनुसार एसएलसीमा राजधानी काठमाडौंकै सात, भक्तपुरका दुई र ललितपुरको एक निजी विद्यालयको नतिजा शून्य भएको हो । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रह्लाद अर्यालले उपत्यकाकै १० निजी विद्यालय एसएलसी परीक्षामा निल भएको पाइएको बताउनुभयो । उपनियन्त्रक अर्यालले निजी विद्यालयमा बालबालिका पढाउँदैमा सबै उत्तीर्ण हुन्छन् भन्ने मान्यतालाई यी १० विद्यालयको तथ्यांकले खण्डित गरेको पनि बताउनुभयो । काठमाडौंबाट एसएलसीमा एकजना पनि विद्यार्थी उत्तीर्ण गराउन असक्षम भएका निजी विद्यालयमा अधिकांश शहरी क्षेत्रमा छन् । त्यस्ता विद्यालयहरूमा पुष्पवाल एकेडेमी लाजिम्पाट, आशनी इन्टरनेसनल स्कुल बाँसबारी, पिस प्वाइन्ट बोर्डिङ स्कुल सिनामंगल, चन्द्रागिरि विद्याश्रम थानकोट, नेसनल क्रिएटिभ एजुकेसन चण्डोल, सिजन एकेडेमी इंग्लिस बोर्डिङ स्कुल नयाँ बानेश्वर र वडेसे इन्टरनेसनल एकेडेमी छन् । यी विद्यालयबाट एकजनादेखि १४ जनासम्मले परीक्षा दिएका थिए । तर, एकजना पनि उत्तीर्ण हुन सकेनन् । शून्य नतिजा ल्याउनेमा भक्तपुरका शिक्षा निकेतन मावि यालाछें र सिद्धिकाली मावि थिमी रहेका छन् । शिक्षा निकेतनले तीन र सिद्धिकालीले ११ विद्यार्थी परीक्षामा सामेल गराएको थियो । त्यस्तै, ललितपुरको नमुना मच्छिन्द्र आवासीय मावि लगनखेलबाट परीक्षामा सहभागी भएका १३ विद्यार्थीमध्ये एकजना पनि परीक्षामा उत्तीर्ण भएनन् । यसको विपरीत उपत्यकाका सामुदायिक विद्यालयको नतिजा भने शून्य छैन । सामुदायिक विद्यालय १ देखि शतप्रतिशतसम्म विद्याथी उत्तीर्ण गराउन सफल भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अर्यालका अनुसार यस वर्षको परीक्षाको नतिजाको तथ्यांकअनुसार निजीको तुलनामा सामुदायिक विद्यालयको उत्तीर्ण प्रतिशत राम्रो देखिएको छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||