| युगसम्बाद साप्ताहिक | ||||
|
भारतीय अपराधी आम्दानीको उर्बर स्रोत ! Wednesday, 06.26.2013, 12:08pm (GMT5.5) नवलपरासी । भारतमा विभिन्न अपराधमा संलग्न आरोप लागेर नेपालमा बस्दै आएका भारतीय नागरिकहरू नेपाली प्रहरीका लागि कमाई गर्ने स्रोत बन्दै आएका छन् । भारतबाट नेपाल छिरेका त्यस्ता अभियुक्तलाई भारत लैजान भारतीय प्रहरीले समय समयमा उपयुक्त मोल लगाउने गरेको छ । मोललाई हात पार्न सीमावर्ती जिल्लामा कार्यरत धेरै अधिकारीहरू यस मौकालाई उचित अवसरको रुपमा प्रयोग गर्दै आएका छन् । यस्तै भयो बिहिबार । भारतीय स्पेशल टास्क फोर्स (एसटीएफ) ले गैरकानुनी तवरले सीमा नाघेर नवलपरासीबाट अपहरण गरिएका एक व्यक्तिलाई भारतको विहार पुर्यायो तर नेपाली पक्षले घटनाबारे केही थाहा नपाएजस्तो गर्याे । जिल्लाको कुडिया गाविस ३ सेखुवानाबाट अपहरित ३० वर्षे दशरथ यादवलाई भारतीय प्रहरीले विहारको पश्चिमी चम्पारण जिल्लाको चौतरवा थानामा बुझाएपछि शुक्रबार जिल्ला अदालत पेश गरिएको उनका आफन्तले जनाएका छन् । तर घटनास्थल नजिकै रहेको इलाका प्रहरी कार्यालय बेलाटारीलाई घटनाबारे कुनै चासो छैन । दशरथलाई पक्रनका लागि सो गाडी विहान ९ बजेदेखि नै नेपालमा देखिएको स्थानीयवासीन्दाको भनाइ छ । खुल्ला नाका र कमजोर सुरक्षा संयन्त्रका कारण हतियार सहितका भारतीयहरू नेपाली सीमामा पसेर घटना घटाउने गरेको क्रम रोकिएको छैन । नम्बर प्लेट स्पष्ट नभएको भारतीय प्रहरी चढेको सो गाडी कुन बाटो नेपाल भित्रियो र अपहरण पश्चात कुन बाटो भारत फर्कियो, नखुलेको तथा अनुसन्धान पनि नगरिएको कार्यालय प्रमुख तथा सहायक निरीक्षक छबि पन्थीले सञ्चारकर्मीसंगको भेटमा बताउनुभयो । यादवलाई भारतीय प्रहरीले पक्रे पनि नेपाली सीमाभित्रबाट पक्राउ गरिएकोमा स्थानीयवासीले रोष प्रकट गरेका छन् भने नेपाल प्रहरी र प्रमुख जिल्ला अधिकारीले घटना जानकारीमा आएको बताए पनि हतियार सहितको भारतीय प्रहरीको नेपाली सीमामा भएको प्रवेशबारे बोल्न चाहेका छैनन् । करीब ३ वर्ष पहिले पनि यस्तै एक घटना भटेको थियो । ०६७ साल साउनको ३० गतेका दिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सेखुवानाबाट नियन्त्रणमा लिइएका रुदल यादवलाई भारतीय प्रहरीले भारतमा इन्काउन्टरमा मारिएको बताएको थियो । नेपाल प्रहरीले दिउँसो समात्ने र सो व्यक्ति सोही राती भारतमा इन्काउन्टरमा मारिनुलाई रहस्यमय घटनाको रुपमा हेरिएको छ । ३ वर्ष नबित्दै फेरि भारतीय प्रहरी नेपाल पसेर दिउँसै एक व्यक्तिलाई पक्रेर लैजानुलाई त्यही घटनाको निरन्तरताको रुपमा हेरिएको छ । त्यस घटनामा नेपाल प्रहरी आफैले समातेर रुदललाई भारतीय प्रहरीको हातमा बेचेको थियो भने यस घटनामा पनि नेपाल प्रहरीको अप्रत्यक्ष संलग्नता रहेको स्थानीयको आरोप छ । दशरथ यादवमाथि भारतमा चोरी डकैती राहदानी र अपहरणको आरोप रहेकाले उनीमाथि प्रहरीले मुद्दा चलाएको हो । दशरथ विहार प्रदेशको पश्चिमी चम्पारण जिल्लाको चौतरवा थाना अन्तर्गतको चौतरवा गाउँका स्थायी वासीन्दा हुन् । भारतीय प्रहरीले यस अघि नवल परासीको कुडिया, त्रिवेणी, नरसही, पकलिहवा लगायतका गाविस क्षेत्रबाट कम्तीमा पनि १५ जनाभन्दा बढी व्यक्तिलाई यसरी नै उठाएर लगेको छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||