युगसम्बाद साप्ताहिक

भ्रष्टाचारीहरू धमाधम अख्तियारको पञ्जामा
Wednesday, 08.28.2013, 02:16pm (GMT5.5)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ट्रान्सफरमर खरीद काण्डमा मुछिएकाहरूबाट भ्रष्टाचार बिरुद्धको अभियान छेडेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय बढी भ्रष्टाचार हुने भनेर चिनिएका सरकारी निकायहरूमा धावा बोलेको छ । यसक्रममा शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल अध्यागमन विभाग र वैदेशिक रोजगार प्रवद्र्धन विभागका ३५ जना कर्मचारीलाई आयोगले भ्रष्टाचार गरेको अभियोगमा पक्रेको छ । 

पक्राउ पर्ने वैदेशिक रोजगार विभागका शाखा अधिकृत निर्मला न्यौपाने, मन्जु शर्मा सुवेदी, अजिता शर्मा, मुक्ति प्रसाद खनाल, गंगाबहादुर भुजेल, ज्ञानेन्द्र शर्मा, पवित्र कुँवर पक्राउ परेका छन् । त्यस्तै कम्प्युटर अधिकृत हिराध्वज कार्की, नासुहरू शंकर कार्की, रमेशकुमार अधिकारी, योगेन्द्रकुमार अधिकारी, खरिदार माधव भट्टराई, केशव बन्जारा, भाषा अनुवादक रज उल्लाह, कम्प्युटर अपरेटर– सन्तोष सुवेदी, कृष्णप्रसाद खतिवडा, कार्यालय सहयोगी यशोदा थापा मगर छन् ।

त्यसै गरी अध्यागमन विभागका शाखा अधिकृत भोजबहादुर ऐडी, रामचन्द्र कार्की, नरबहादुर बिक, रामकृष्ण पराजुली, डिल्लीराम भट्टराई, दिवाकर शर्मा, गोपीप्रसाद पौडेल, रामचन्द्र खतिवडा, कमलबहादुर कार्की, विक्रमबहादुर सोमई पनि भ्रष्टाचारको अभियोगमा पक्राउ परेका छन् ।

अख्तियारले लेखा अधिकृत बाबुहरि पन्थी, नायव सुब्बा रामकुमार ओझा, जयबहादुर सिंह, लिला रमण पोखरेल, वरिष्ठ अध्यागमन सहायक– सन्जय नेपाल, नवराज कोइराला, रुद्रप्रसाद मरासिनी, चिरन्जीवी अधिकारीलाई पनि हिरासतमा लिई आवश्यक कारबाही थालेको प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।

अख्तियारले अध्यागमन विभागका कर्मचारी पक्रेको थियो । उनीहरूमाथि गैरकानूनी लाभ लिई गलत विवरणका कागजातलाई आधार बनाएको, भाषा अनुवाद गर्ने, ठीक छ भनी फाइल पेश गर्ने र स्वीकृत गर्ने काम गरी वैदेशिक रोजगारीमा जाने ७७ जना नेपालीलाई इजाजत पत्र दिई सक्कल फाइल नै कार्यालयबाट बेपत्ता पारेको आरोप लागेको छ ।

यसअघि आयोगले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवसहित १० जना उच्च अधिकारीलाई ट्रान्सफरमर खरिदमा करोडौं रुपैयाँ भ्रष्टाचार गर्दै आएको अभियोगमा छानबिनका लागि मंगलबार पक्राउ गरेको थियो । यसै विषयमा आयोगले १२ जनालाई यसअघि नै गिरफ्तार गरिसकेको छ ।

त्यस्तै घूस लिएको भिडियो प्रमाणसहित अख्तियारले अध्यागमन विभागका शाखा अधिकृत सूर्यप्रसाद दाहालसहित पाँच जनालाई मंगलबार नै छानबिनका लागि गिरफ्तार गरेको छ । अख्तियारकै विशेष टोलीले वैदेशिक रोजगार विभागका निर्देशक (उपसचिव) रमेश मैनालीसहित पाँच जनालाई म्यानपावर कम्पनीसित घूस लिई कम्पनी नै अनधिकृत रूपमा परिवर्तन गरी नेपाली कामदारलाई विदेश पठाउने काम गरेको भन्दै नियन्त्रणमा लिएको छ ।

प्राधिकरण र अध्यागमन विभागका गिरफ्तार गरिएका अभियुक्तहरूलाई अख्तियारकै हिरासतमा राखिएको छ । ट्रान्सफरमर खरिद प्रकरणमा प्राधिकरणका यसअघि गिरफ्तार गरिएका ११ जना पनि अख्तियारकै हिरासतमा छन् । 

विद्युत ट्रान्सफरमर खरीद प्रकरणमा गिरफ्तार गरिएकामा प्रमुख यादवसहित प्राधिकरणका पूर्व कार्यकारी निर्देशक जीवेन्द्र झा, योजना प्रमुख कृष्णबहादुर थापा, पूर्वमहाप्रबन्धक चिरञ्जीवी शर्मा पौडेल, पूर्व उपकार्यकारी निर्देशक टीकाराम बीसी, उपनिर्देशक (लेखा) कृष्ण बहादुर केसी, ११ औं तहका देव शर्मा पौडेल, वितरण तथा ग्राहक सेवाका लेखा अधिकृत सुशीलप्रसाद खनाल, विद्युत विकास आयोजनाका पूर्वसंयोजक महेशप्रसाद आचार्य र इन्जिनियर प्रमोद रिजाल छन् ।

अख्तियारले प्राधिकरणमा लामो समयदेखिको ट्रान्सफरमर खरीदमा ठूलो घोटाला भएको र आरोपितहरूले प्रमाण नष्ट गर्ने, लुकाउने सम्भावना रहेकाले प्रकरणको गम्भीरता हेरी उनीहरूलाई गिरफ्तार गरिएको बताएको छ । 

दश जनाबिरुद्ध ४१ करोडको मुद्दा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ट्रान्सफरमर खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवसहित १० जना उच्च अधिकारीविरुद्ध ४१ करोड रुपैयाँ मागदाबीसहित मुद्दा दायर गरेको छ । आयोगले आइतबार मुद्दा दायर गरेको हो । 

यसै गरी म्यानपावर कम्पनीहरूले पेश गरेको झुठा विवरणलाई सही छ भनी प्रमाणित गर्ने ३५ कर्मचारीसहित ३९ जनालाई आइतबार विशेष अदालतले थुनामा राखी अनुसन्धान गर्न पन्ध्र दिनको म्याद दिएको छ । आयोगले वैदेशिक रोजगार विभागका १७ कर्मचारी, १८ अन्य कर्मचारी र चार वैदेशिक रोजगार व्यवसायीलाई आइतबार अदालत उपस्थित गराएपछि अदालतका अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यद्वय मोहनरमण भट्टराई र भूपेन्द्रप्रसाद राईको इजलासले सो आदेश दिएको हो ।

आयोगले विभागका ३५ जना कर्मचारीलाई गत शुक्रबार पक्राउ गरेको थियो । झुठा कागजातलाई आधार बनाई कम्युप्टरमा प्रविष्ट गर्ने, भाषा अनुवाद गर्ने र ठीक छ भनी फाइल पेस गरी वैदेशिक रोजगारीमा जाने ७७ जना नेपाली नागरिकलाई अनुमतिपत्र दिएको आरोपसहित अख्तियारले ती कर्मचारीलाई पक्राउ गरेको थियो ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com