युगसम्बाद साप्ताहिक

तीज विकृत बन्दै
Tuesday, 09.10.2013, 06:44pm (GMT5.5)

काठमाडौं । वर्षभरि नै कुनै न कुनै पर्व–पार्वी पर्ने हिन्दु वैदिक धर्म–संस्कृतिमा तीजको विशेष महत्व छ । जीवन, सृष्टि र प्रकृतिसंग सामिप्यमा रहेर चाड पर्व तथा संस्कृतिको विकास गरिएको वैदिक संस्कृतिमा तीजको महिमा जेजस्तो भए पनि आजभोलि यो अलि भड्किलो र विकृत हुँदै गएकोमा धार्मिक व्यक्तिहरू मात्र होइन यस्तो कार्यले समाजमा पार्दै गएको नकारात्मक प्रभावले समाजशास्त्रीहरू पनि चिन्तित छन् । तीज धार्मिक दृष्टिले मात्र नभएर सांस्कृतिक र पारिवारिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण मानिएको हुँदा यसलाई सोही अनुसार मनाउनुपर्ने धेरैको सुझाव छ । पौराणिककालदेखि प्रचलनमा आएको भनिएको तीज आधुनिक समाजमा महिलाहरूको मेलमिलाप र मित्रताको पर्वका रुपमा विकसित हुँदै गएको छ तापनि पछिल्लो समय तडकभडकपूर्ण हुँदै गएकोमा आलोचना समेत हुने गरेको छ । तीज महिलाहरूको स्वतन्त्रताको दिवस पनि हो भन्ने समाजशास्त्रीहरूको मान्यता छ । 

भाद्र शुक्ल द्वीतियादेखि पञ्चमीसम्म ४ दिन मनाइने तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षाल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा मनाइन्छ । भनिन्छ आद्यशक्ति भगवान शिवकी अर्धाङ्गिनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकि थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो त्यसै दिन आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् । यो चाडमा माइतीले छोरी–चेलीलाई घरमा बोलाएर मीठा–मीठा परिकार ख्वाउँछन् ।

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसंग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिंगको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशिर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।

पछिल्लो समय सामाजिक संस्कार र धर्म–संस्कृति तथा परम्परामाथि प्रहार हुँदैआएको छ । तीज पनि यसको निशानामा छ । विशेष गरी महिला अधिकारवादीहरूले ‘पुरुषको दीर्घायूका लागि महिलाले आफ्नो शरीरलाई कष्ट दिनु हुँदैन’ भन्दै सडकमा नारा घन्काइरहेका छन् । तर तीज नै महिला स्वतन्त्रताको पौराणिक कालदेखि चलिआएको संस्कृति हो । आफूले चाहेको पूरा गराउन पार्वतीले सुरु वात गरेको यो पर्वले बाबुआमासंग विद्रोह गरेको कथा सायद धेरैले भुलेका छन् । त्यसैले त आजभोलि दर खाने नाममा मांस–मदिरा सेवन गरेर होहल्ला गर्ने गरिन्छ । स्वतन्त्रताको नाममा स्वच्छन्द हुँदै अर्धनग्न भएर बुरुक बुरुक उफ्रनु स्वतन्त्रता होइन विकृति हो भन्ने समेत बुझ्न छाडिएको छ ।

तीज एउटा यस्तो पर्व हो जसको सरोकार महिलासंग मात्र जोडिए पनि आर्थिक–सामाजिक क्षेत्रमा पनि यसको व्यापक प्रभाव छ । तीजको आगमनसंगै मिठाई, फलफूल, लुगाफाटो तथा गरगहनाको व्यापार बढ्छ । आर्थिक क्षेत्रमा पनि यसको विशेष महत्व रहेको छ । वर्षभरि गरेको दुःखलाई बिर्सेर हाँसो–रमाइलो गर्ने पर्व हो तीज । धार्मिक पक्ष जे भए पनि यसले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दैआएको पाइन्छ । तर, केही वर्षयता तीजले विकृति भित्र्याइरहेको छ । तीजको गीतका नाममा छाडा गीतले बजार पिटेको छ । माइती र चेलीको सम्बन्ध पू्रगाढ बनाउने, घरमा भएको दुव्र्यवहारको तीतो ओकल्ने पुराना गीतहरू यतिबेला हराइसकेका छन् । अहिले त यौनजन्य अभिव्यक्तिका गीतहरूको बाढी आएको छ ।

तीज जस्तो हो र जुन उद्देश्यले यो पर्व मनाइनुपर्ने हो त्यसमा ह्रास आइरहेको छ । विशेष गरी शहरी क्षेत्रमा तीज भड्किलो बन्दै गएको छ । त्यसैले त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीजको भोजभतेर नगर्न निर्देशन दियो । किनभने हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो तर यही पर्वले गरीब–गुरुवाहरूको जीवन झन् कष्टकर बन्दै जाने अवस्था सिर्जित भएको छ । देखासिकीकै घरमा घरखेत बन्धक राखेर पनि चाडपर्व मनाउनुपर्ने स्थिति आइरहेको छ । पौराणिक कालसंग जोडिएको तीज आधुनिक कालमा आएर विकृत हुँदै गएका कारण आधुनिक समाजमा तीजको महत्वलाई अपव्इाख्या गर्ने गरिएको छ ।

सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइ घरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाइ पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी ब्रत बस्छन ।

तीज आफैंमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत भएको भए पनि फलफूल ग्रहण गरेर दिनभरि बस्नमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ । नारीहरूले रातो टीका रातो कपडा, रातो चुरा, पोते आदि सबै रातै रंगमा सजिनु तीज पर्वको रंग हो । नारीहरू त्यस दिन नाचगान गर्दै हर्षाेल्लासका साथ दिनभरि भोकै बसी श्रीमानको दीर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देश मानिन्छ । तीज व्रतको दिन घरको कामकाजलाई चटक्क छोडेर नेपाली महिलाहरू स्वतन्त्र तथा हर्षित भएर घर बाहिर निस्कन्छन् । उनीहरूको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुराहरू समेटिएका हुन्छन् । यसले महिलाहरूलाई सशक्त बनाउँछ । यी कुराहरू तीजको सकरात्मक पक्ष हो ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com