| युगसम्बाद साप्ताहिक | ||||
|
पत्रकारको जीवन विमा पक्का Tuesday, 10.08.2013, 11:06am (GMT5.5) काठमाडौं । नेपालका पत्रकारहरूको आर्थिक अवस्था तथा व्यावसायिक दक्षता र प्रतिबद्धतामा विकास गर्ने उद्देश्यले सरकारले पत्रकारको पाँच लाख रुपैयाँसम्मको दुर्घटना बिमा गर्नेभएको छ । नेपालका पत्रकारहरूले लामो समयदेखि यो माग गर्दैआएका थिए । मन्त्रिपरिषद् अन्तर्गत आर्थिक तथा पूर्वाधार समितिको बुधबारको बैठकले पत्रकार बिमा दुर्घटना बिमा व्यवस्थापन निर्देशिका, २०७० जारी गरेको हो । अब आफ्नो कार्यसम्पादन गर्दाका बखत हुनसक्ने दुर्घटनाबाट मृत्यु भएमा र श्रम नियमावली, २०५० मा उल्लेख भएको चोटपटकको कारणबाट ७५ प्रतिशतभन्दा बढी अशक्तता भएकामा रु पाँच लाखसम्म र सोबाहेकको अवस्थामा दुर्घटनाबाट उत्पन्न उपचारबापत लाग्ने खर्चको हकमा बिलबमोजिम बढीमा रु दुई लाखसम्मको वास्तविक उपचार खर्च पाउनेछ । निर्देशिका अनुसार त्यस्तो उपचार खर्चमध्ये २० प्रतिशत बराबर रकम सम्बन्धित पत्रकारले नै तथा बाँकी रकम बिमकले ब्यहोर्ने छ । उपचारको खर्चको कुल रकम बिमांकको दुई प्रतिशतभन्दा कम भएको अवस्थामा बिमितले क्षतिपूर्ति दाबी गर्न पाउने छैन । अन्य कुनै निकायबाट दुर्घटना बिमा गरिएका पत्रकारको हकमा निर्देशिकाअन्तर्गत बिमा नगरिने निर्देशिकामा उल्लेख छ । निर्देशिका अनुसार सरकारले ८ करोड रुपैयाँ को कोष खडा गरिएको छ । कोष सञ्चालनार्थ सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा महासंघका अध्यक्ष, नेपाल प्रेस काउन्सिलका सदस्य, बिमाविज्ञ सदस्य तथा सूचना विभागका महानिर्देशक सदस्य सचिव रहेको सञ्चालक समिति हुनेछ । यसमा नेपाल पत्रकार महासंघका सभापति र संचार सचिवको हस्ताक्षरमा खाता संचालन गरिएको छ । सो रकमको व्याजबाट पत्रकारको विमा किस्ता तिरिनेछ । सो सुविधा पाउन सूचना विभागबाट जारी प्रेस परिचयपत्र र पत्रकार महासंघको सदस्यता अनिवार्य छ । बिमा शुल्कको ७५ प्रतिशत कोषबाट ब्यहोरिनेछ भने २५ प्रतिशत रकम स्वतन्त्र पत्रकार भए स्वयंले र सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार भए सम्बद्ध संस्थाले ब्यहोर्ने निर्देशिकामा उल्लेख छ । बिमित व्यक्तिको मृत्यु भएमा, स्थायी रुपले पूर्ण वा आंशिक अशक्त भएमा, अस्थायी रुपले पूर्ण अशक्त भएमा तथा बिमित व्यक्ति दुर्घटनामा परी घरमै बसेर उपचार गर्नुपर्ने अवस्थामा निजको औषधोपचारमा बिलबमोजिमको लाग्ने खर्च बिमितले भर्पाइ लिन पाउने गरी बिमितले लाभ पाउने व्यवस्था गरिएको छ । साथै बिमित व्यक्तिको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले र इच्छाइएको व्यक्ति नभएमा नजिकको हकवालाले बिमा रकम बुझ्ने व्यवस्था गरिएको छ । पत्रकारिताको क्षेत्रमा क्रियाशील रहँदा कुनै दुर्घटनामा परी चोटपटक लागेको वा अंगभंग भएका अवस्थामा औषधोपचारको व्यवस्था गर्न तथा त्यस्तो दुर्घटनाका कारण मृत्यु भएको अवस्थामा आश्रित परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने व्यवस्था मिलाई पत्रकारको आर्थिक सुरक्षा तथा पेशागत व्यावसायिकता अभिवृद्धिमा सहयोग पु¥याउन पत्रकार दुर्घटना बिमा ल्याइएको निर्देशिकाको प्रस्तावनामा उल्लेख छ । निर्देशिकामा पत्रकार भन्नाले सञ्चार प्रतिष्ठानमा व्यवस्थापकीय वा प्रशासकीय अधिकार प्राप्त गरेको व्यक्तिबाहेक सञ्चारसम्बन्धी व्यवसाय वा सेवालाई मुख्य व्यवसाय अपनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण वा आंशिक समय काम गर्ने नेपाली नागरिकलाई जनाइएको छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||