| युगसम्बाद साप्ताहिक | ||||
|
बनावटी अपहरणको आतंक Tuesday, 10.08.2013, 11:11am (GMT5.5) - इन्द्र आचार्य पछिल्लो समय किशोर किशोरीहरू अपहरणमा परेका उजुरी अत्याधिक बढिरहेका छन् । प्रहरीको तथ्याङ्क अनुशार किशोर किशोरीहरूको अपहरणको उजुरीको अनुसन्धानमा वास्तविक अपहरणभन्दा पनि बनावटी अपहरण बढ्न थालेको देखिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी निरीक्षक शिसु शर्माका अनुशार अपहरण र खोजीका घटना अत्याधिक बढिरहेको छ । “अघिल्लो रात अपहरण परेको जानकारी दिने र भोलिपल्ट विहानै अपहरण मुक्त भएको जानकारी आउने गर्दछ । त्यो समयसम्म प्रहरी प्रशासनको ठूलो जनशक्ति र राज्यको सम्पत्ति परिचालन भइसकेको हुन्छ । अनुशन्धान गर्दै जाँदा त्यो कुनै अपहरणकारीले अपहरण गरेको घटना नभई बनावटी भएको खुल्न आउँछ” निरीक्षक शर्माको भनाई छ । १३ महिना अघिसम्म अपराध महाशाखामा कार्यरत हाल महानगरीय प्रहरी परिसर ललितपुरमा खटिएका प्रहरी नायव उपरीक्षक सोमेन्द्रसिंह राठौरले प्रहरीमा दर्ता भएका अपहरणका मुद्दा मध्ये ८० प्रतिशत झूठो हुने गरेको जानकारी दिए । ३ वर्षसम्म अपहरण क्षेत्रमा काम गरेका डीएसपी राठौरका अनुशार किशोर–किशोरी आफ्नो गल्ती छोप्न र लेनदेनमा फसेकाहरू बच्नका लागि फेक अपहरणको रणनीति रच्ने गरेको अनुशन्धानमा देखिएको छ । किशोर–किशोरीहरूले लागू औषध तथा मादक पदार्थको लतमा तथा अनैतिक सम्बन्धमा रातभरि रमाउनका लागि बनावटी अपहरण आफैले सृजना गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखामा लामो समय कार्यरत डिएसपी राठौरका अनुसार नशामा लिप्त भएपछि त्यो दिन घर नै भुलेका किशोर–किशोरीहरूले आफू अपहरणमा परेको सन्देश घर पठाएर प्रशासन र प्रहरीलाई आतंकित गर्ने गरेका घटना बढिरहेको छ । किशोर–किशोरीहरू आफ्ना ब्वाइफ्रेण्ड–ग्रलफ्रेण्डसंग रात विताउन पनि बनावटी अपहरणको सिर्जना गर्ने गरेको उनीहरूको भनाइ छ । किशोरीहरू ब्वाईफ्रण्डसंग रात विताउन जाने त्यो समय आफू अपहरणमा परेको म्यासेज घरमा पठाउने र भोलिपल्ट विहानै अपहरण मुक्त भएको भन्दै फर्किने गरेका घटना पनि धेरै छ । त्यसै गरी लेनदेनको विषयमा तनाव खेपिरहेकाहरूले पनि वनावटी अपहरणको रचना गर्ने गरेको अनुशन्धानमा देखिएको छ । रकम लिएर तिर्न नसकेपछि वारम्बारको टर्चर खेप्न नसकेकाहरूले अपहरणको नाटक गर्ने र तिनै रकम तिर्नुपर्नेहरूलाई अपहरणकारी भएको दावी गर्नेहरूको पनि संख्या ठुलै छ । प्रहरी प्रवक्ता डिआइजी नवराज सिलवालका अनुसार अपहरण परेको जानकारी दिँदै खोजी गर्न निवेदन दिएपछि प्रहरीले तदारुकता देखाउनै प¥यो । तर पछि त्यो फेक अपहरण भएको प्रमाणित हुन्छ । यस्ता घटनाले नेपाल प्रहरीको ठूलो जनधनको क्षति भएको छ । राज्यको शक्ति खेर गइरहेको छ । यसलाई निरुत्साहित गर्ने खालको कानून ल्याएर गलत अपराधको प्रचार गर्नेलाई कार्वाही नगरे यो समस्याको रुपमा देखा पर्ने प्रवक्ता शिलवालको भनाई छ । उनी भन्छन् यो प्रवृत्तिको अन्त्य गर्न त्यस्ता व्यक्तिहरूलाई एक्स्ट्रा पेनाल्टी लगाउनै पर्छ । यसरी फेक अपराधको अतंक फैलाउनेलाई नेपालको कानूनमा कसुर ठहर गर्ने व्यवस्था कहीं पनि उल्लेख छैन । यसले गर्दा पनि यो नियन्त्रण बाहिर भएको हो अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक विजयलाल कायस्थको भनाइ छ । उनी भन्छन् फेक अपराधको अतंक फैलाउनेहरूबाट प्रहरी प्रशासनले सास्ती भोगेको छ । यसमा राज्यको पनि ठूलै धन गुमिरहेको छ । यस कारण पनि यसलाई निरुत्साहित हुने खालको कानूनको खाँचो छ । प्रहरीले फेक अपराध सिर्जना गरी आतंक फैलाउनेलाई कसुर ठानी कार्वाही गर्ने कानूनको माग गरेको छ । कानून व्यवसायी भिमार्जुन आचार्य पनि गलत लाञ्छना लगाएर प्रहरीमा उजुरी गर्नेहरूलाई पनि कानूनी कार्वाहीको व्यवस्था गर्नु उचित भएको तर्क गर्छन् । उनी भन्छन्– यदि यस्तो भएमा प्रहरीमा जाने फेक अपराधका उजुरी न्युनिकरण हुन्छन् र सामाजिक मर्यादा संरक्षण एवं मानहानी गर्ने उद्देश्यले मात्र गरिने गलत प्रचार समेत अन्त्य हुन्छ । यसलाई राज्यले सम्वोध गरे यस्तो प्रवृत्ति नियन्त्रण गर्न सकिन्छ । यो कार्य पनि कानून अनुसार कसुरयोग्य बनाउन जरुरी छ । यस्तो खालको कानून छिमेकी मुलुक भारतमै पनि छ । अपराध भएको भ्रामक आतंक फैलाएको प्रमाणित भएमा त्यहाँको कानूनले उसलाई दण्ड सजाय भोगाउछ । यसको डरले पनि त्यहाँ फेक अपराधको उजुरी कम पर्छ । त्यसै गरी विकसित मुलुक अमेरीका, युरोप लगायतका मुलुकमापनि फेक जानकारी दिनेलाई एक्स्ट्रा पेनाल्टी लगाउन पाउने कानूनी व्यवस्था छ । यसले गर्दा बनावटी अपहरणका मुद्दा कम पर्ने गर्दछन् । एउटा नाटक यस्तो थियो दुई वर्ष अगाडी अपहरणमा परेका एक किशोरको बयान हुबहु यसरी सुनाएका थिए । २०६८ असोजमा बुटवल घर भई काठमाडौ सितापाइला बस्दै आएका १७ वर्षीय नाम परिवर्तित सुजन थापा एघार कक्षाको परीक्षा सकाएर काठमाडौको ठमेल पुगेका थिए । ठमेलको ग्राण्ड मस्ति रेष्टुरेण्टमा बसेर उनले एक्लै दिनभरि मदिरा सेवन गरे । साँझ पर्नैलाग्दा उनी घर सम्झिएर लरखराउदै ठमेल नर्सिङ्ग चोकमा ट्याक्सीको खोजीमा थिए । त्यत्तिकैमा एक यौनकर्मी महिला आएर जाने हो भनेर प्रश्न गरिन् । मदिराले लठ्ठ सुजनले उनको प्रस्तावलाई तत्कालै स्वीकार गरे । उनी त्यहाँबाट त्यो यौनकर्मी लिएर नयाँ बसपार्कको एक गेष्ट हाउसमा पुगे । उनले त्यो दिन मदिराको सुरमै असुरक्षित यौन सम्पर्क गरे । भोलिपल्ट उनै यौनकर्मी महिलाको सम्पर्क नम्बर समेत लिएर उनी त्यहाँबाट छुटे । त्यो दिन त उनले आफू साथीकोमा गएको भन्ने सन्देश ममीको मोबाईलमा पठाएर मोबाईलको स्वीच अफ गरिदिएका थिए । त्यसको एक हप्तापछि सुजन त्यही ठमेलको रेष्टुरेण्टमा पुरेर मदिरा पिउन थाले । मदिरा हल्का लागेपछि उनै एक हप्ता अघि रसलिलामा साथ दिएकी महिलालाई फोन गरे । हेलो म सुजन कहाँ हो ? प्रति उत्तरमा म झापा आज पनि भेट्न मन लागेको थियो ? उनको यो प्रतिउत्तर टुङगिन नपाउदै उनले जवाफ फर्काइहालिन् । मलाई माफ गर्दिनुस् है मैले तपाईलाई यो कुरा त्यही दिन भनौ जस्तो लागेको थियो । तर गल्ति भइहाल्यो तपाईले नै जोरजवरजस्ति गरेर नमान्नुभएको थियो । सुजनले जवाफ दिए ह्या के भन्न खोजेको चाँडो भन ? उनले भनिन् त्यो दिन तपाईले पनि कुनै कन्ट्रासेफ्टी युज गर्नु मान्नु भएन म एचआइभी पोजेटिभ थिए । यो जवाफ आएपछि मदिराको लतमा डुवेका सुजनलाई पृथ्वी भासिएजस्तो भयो, आकाश खसे जस्तो भयो । उनले फेरि मदिरा थपे मदिराले पूर्ण रुपमा बेहोसीपन बनेपछि उनले मामीको मोबाइलमा “तिम्रो छोरा अपहरणमा परेको छ । १५ लाख फिरौती लिएर नयाँ बसपार्क आउनु” भनेर म्यासेज पठाए । र तत्कालै मोबाइलको स्वीच अफ गरिदिए । त्यसपछि उनलाई आफू अब बाँचेर पनि केही अर्थ नरहेको लाग्यो । र मर्नका लागि एउटा सिजर र डोरी किने । त्यसपछि उनी बालाजुभन्दा माथीको (रानीबन) जंगलमा ट्याक्सी चढेर पुगे । मर्न गएका सुजनलाई जंगल पुगेपछि मदिराले छोडेको महशुस भयो । उनले सोचे म एचआईभी पोजेटिभ नहुन पनि सक्छु परीक्षण नगरी मर्नुको के अर्थ भन्ने सोच परिवर्तन भयो । तर उनले घरमा अपहरण भएको सन्देश पठाएका छन् । उनले अपहरण प्रमाणित गर्न साथमा लागेको डोरीले कसेर विभिन्न ठाउँमा नील डाम लगाए र सिजरले काटेर घाउ पनि बनाए । यता छोरा अपहरणमा परेको सन्देश आएपछि प्रहरीको शरणमा पुगेका आफन्त खुवै चिन्तित थिए । प्रहरीलाई सबै संयन्त्र प्रयोग गरेर खोजिदिन हारगुहार गरिरहे । त्यो रात महानगरीय प्रहरी अपराध महाशाखाको ठूलै टोलीले खोजी गरिरह्यो । आधा दर्जन प्रहरी भ्यान प्रयोग गरियो । दर्जनौ प्रहरी कर्मचारी खटिए । रातको दुई बजे बालाजुभन्दा माथिको रानीबनमा एउटा नाङ्गो शरीर भएको एक किशोर फेला प¥यो । उही व्यक्ति थिए सुजन । प्रहरी देख्नासाथ सुजन अत्तालिदै रुदै प्रहरीको नजिक आए । नील डाम र चोटैचोट भएको किशोर उद्धार गरेर प्रहरीले हनुमानढोका ल्यायो । प्रहरीले त्यही दिनदेखि अपहरणकारीको खोजीका लागि सुजनसंग सोधपुछ सुरु ग¥यो । रक्सीको गन्ध आइरहेकाले प्रहरीलाई शंका लाग्यो । उनले आफूलाई अपहरण नै गरेको र डोरीले बाँधेर ब्लेडले चिरिदिएको दावी गरिरहे । रक्सी पनि जवरजस्ती कोच्याएको उनको दावी थियो । १२ घण्टासम्मको सोधपुछपछि आईसब्रेक भयो र सुजनले आफूले अपहरणको नाटक गरेको स्वीकार गर्दै माथि उल्लेख गरिएको बयान दिएका थिए । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||