| युगसम्बाद साप्ताहिक | ||||
|
विकास कोष नै विकासको बाधक ! Tuesday, 01.21.2014, 08:34am (GMT5.5) विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पवित्र तिर्थस्थल भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको समग्र विकासमा लुम्बिनी विकास कोष नै बाधक देखिएको छ । करिब २६ सय वर्ष पहिला लुम्बिनीमा जन्मिएका बुद्धको जन्मस्थान भन्दा बुद्धसंग नाम जोडिएका नेपाल र भारतमा रहेका अन्य बुद्ध क्षेत्रको विकास उच्च गतिमा पुग्दा पनि लुम्बिनीको विकास नहुनु राजनीतिक भागबन्डा र नियुक्ति भएको स्थानीय बुद्धिजिवी बताउँछन् । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तको योजनामा सन् १९७८ मा जापानी वास्तुकलाविद् केन्जो टाँगेले तयार पारेको लुम्बिनी गुरुयोजनासमेत दशकौँ लाग्दासमेत पूरा हुन सकेको छैन । सन् १९९५ मा पूरा हुनुपर्ने गुरुयोजना दशकौँ लाग्दा समेत पूरा नहुनुमा राजनीतिक कारण नै रहेको संस्कृतविद् प्राडा गीतु गिरी बताउनुहुन्छ । गिरी राजा सत्तामा हुँदा दरबारका आसेपासे र राजनीतिक परिवर्तनपछि राजनीतिक दलहरूका कार्यकर्ताको भर्तीकेन्द्रको रूपमा लुम्बिनीलाई प्रयोग गरिएको बताउनुहुन्छ । त्यस्तै वि.सं. २०६८ मा लुम्बिनीको विकासका लागि एसिया प्यासिफिक एक्सचेन्ज एन्ड कोअपरेसन फाउन्डेसन (एपेक) मार्फत तीन अर्ब डलर खर्च गरी लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरको बुद्ध केन्द्रका रूपमा विकास गर्ने चिनियाँलगायतका देशहरूको लक्ष्य भए पनि राजनीतिक असहमतिले यो ओझेलमा परेको थियो । लुम्बिनी विकास कोषको स्थापनासँग यहाँको विकास अगाडि बढ्ने सोचिएको थियो तर यसो हुन नसकेपछि यहाँका स्थानीयवासी निरास देखिन्छन् । लुम्बिनीको विकासका लागि भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत चासोको रूपमा हेरिएको हुन्छ तर विकास कोषले ध्यान नराख्दा ओझेलमा परेको छ । लुम्बिनीलाई बुझेको भन्दा पनि राजनीतिक दललाई बुझेका र राजनीति दलका कार्यकर्तालाई लुम्बिनी विकास कोषका पदाधिकारीमा नियुक्ति गरेका कारण नै लुम्बिनीका विषयमा कोही जिम्मेवार हुन नसकेको लुम्बिनी क्षेत्रका पत्रकार माधव ढुङ्गानाको धारणा छ । कोषका पदाधिकारी विदेश भ्रमणमा जाने, आफ्ना आसेपासेलाई जम्मा गरेर गोष्ठी सेमिनार गर्ने कार्यमा कोष तल्लीन रहेको स्थानीय पर्यटन व्यवसायी नरेन्द्र मिश्रको भनाइ छ । मिश्रका अनुसार यहाँको विषयमा सरोकारभन्दा पनि कमाउधन्दामा र आएको बजेट पचाउने काममा विकास कोष लाग्नाले लुम्बिनी क्षेत्रको विकास ओझेलमा परेको हो । पहिलो पटक लुम्बिनीमा पर्यटनको विकासका लागि अङ्ग्रेजी नयाँ वर्ष २०१४ मा गरिएको लुम्बिनी फुड फेस्टिबलमा विश्वका बौद्ध धर्मालम्बीले समेत सहभागी जनाएको कार्यक्रममा कोषका पदाधिकारी उपस्थित हुन नखोज्नु उनीहरूको यहाँको विकासमा गम्भीर नभएको पर्यटन व्यवसायीहरू बताउँछन् । व्यवसायीका अनुसार भारतले लुम्बिनीमा नै आएर बुद्धको बाबुको राजदरबार तिलौराकोट कपिलवस्तुमा पर्छ भन्ने पम्प्लेट बाँड्दासमेत मौन बस्ने कोषले केही गर्न नसक्ने स्थानीयवासीको भनाइ छ । कोषका सदस्य सचिव अजितमान तामाङले समेत लुम्बिनीका विषयमा ज्ञान नभएका मानिसको आगमन विगतमा हुँदा केही कुराहरू हुन नसकेको स्वीकार गर्नुहुन्छ । लुम्बिनीलाई विकास गर्न चाहने हो भने राजनीतिक नियुक्ति बन्द गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बुद्धसम्बन्धी ज्ञान भएका व्यक्तिको सहभागिता र स्थानीयवासीको सहयोग हुन आवश्यक छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||