युगसम्बाद साप्ताहिक

एमाओवादीको लेवी नै साढे चार करोड बढी
Monday, 02.17.2014, 06:35pm (GMT5.5)

काठमाडौं । दक्षिण एसियाकै सबैभन्दा धनी पार्टी भनी प्रचार गरिएको एकीकृत नेकपा माओवादीले आफ्ना प्रत्येक सभासद्बाट मासिक रु १२ हजार मासिक लेवी उठाउने भएको छ । 

यसरी सभासद्बाट पार्टीले मासिक रु नौ लाख ६० हजार रकम उठाउनेछ । चार वर्षसम्म लेवी उठाउँदा एमाओवादीले ४ करोड ६० लाखभन्दा बढी रकम संकलन गर्नेछ । एमाओवादीको संसदीय दलमा कूल ८० सभासद् रहेका छन् । एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । 

अघिल्लो संविधानसभामा एमाओवादीले प्रत्येक सभासद्बाट जनही रु १० हजार लेवी लिने गरेको थियो । यस पटक जनही रु दुई हजार बढाइएको हो । गत माघमा सम्पन्न केन्द्रीय समितिको बैठकले सभासद्बाट जनही रु १२ हजार लेवी उठाउने निर्णय गरेको थियो । 

यस्तै बैठकले संसदीय दलको विधान परिमार्जनको लागि सभासद् हितराज पाण्डेको संयोजकत्वमा एक कार्यदल र आचारसंहिता चयन गर्नका लागि सभासद् डोरप्रसाद उपाध्यायको संयोजकत्वमा अर्को कार्यदल गठन गरेको छ । पाण्डेको संयोजकत्वमा गठित कार्यदलमा रेखा शर्मा, डिआर पौडेल र जाकिर हुसेन रहनु भएको छ भने उपाध्यायको संयोजकत्वमा गठित कार्यदलमा जेबी टुहुरे, सत्यनारायण भगत र सीता नेपाली रहनु भएको छ । 

यसै गरी संविधानसभा र व्यवस्थापिका –संसद्मा गठन हुने विभिन्न समितिमा बस्न चाहने सभासद्हरूलाई फर्म भरेर ल्याउन समेत निर्देशन दिएको एमाओवादी नेता एवम् सभासद् अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

बैठकमा संसदीय दलका नेता पुष्पकमल दाहालले दलको उपनेतामा बस्न नेता डा बाबुराम भट्टराईलाई आग्रह गर्नुभए पनि उहाँले अस्वीकार गर्नुभएको बुझिएको छ । एमाओवादीले संसदीय दलको नेता चयन गरेपनि उपनेता, प्रमुख सचेतक, सचेतक लगायतको पदमा भने कोही पनि चयन भएका छैनन् । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com