युगसम्बाद साप्ताहिक

घटेन यस वर्ष पनि महिला हिंसा
Monday, 03.10.2014, 04:35pm (GMT5.5)

काठमाडौं । नेपालमा महिला अधिकारका सवालमा जतिसुकै अभियान चलाइए पनि महिलामाथि हुने हिंसाका घटनामा कमी आउनुको साटो बढिरहेको देखिएको छ । इन्सेकका अनुसार सन् २०१३ मा ३ हजार ४८ महिला तथा बालिकामाथि भएका घटनामध्ये महिलाविरुद्धका २ हजार ३ सय ४८ घटनाको अभिलेखीकरण गरिएको हो । १८ वर्षमुनिका बालिका पीडित भएका ७ सय घटना इन्सेकमा अभिलेख भएको मानव अधिकार अभियान तथा पैरवी विभाग प्रमुख सम्झा श्रेष्ठले जानकारी दिइन् । 

महिला हिंसामा परिवारकै सदस्यहरूको हात रहेको पनि देखिएको छ , प्रतिवेदन अनुसार सन् २०१३ मा १ सय ७८ महिला तथा बालिकाको हत्या भएकामध्ये १ सय ८ जनाको परिवारबाटै हत्या भएको छ । सार्वजनिक प्रतिवेदनका अनुसार बालिकाहरू आफ्नै घरपरिवार तथा छरछिमेकीको वातावरणमा पनि सुरक्षित हुन सकिरहेका छैनन् । विश्वास गरिएका मान्छेबाटै उनीहरू पीडित हुने गरेको प्रतिवेदनमा औंल्याइएको छ ।

प्रतिवेदनमा बहुविवाह, बलात्कार एवं यौनिक हिंसा, कथित बोक्सी आरोपमा प्रताडना एवं दुव्र्यवहार, ओसारपसार, दाइजोका लागि उत्पीडन, बेचबिखन नेपालमा भइरहेका महिला हिंसाका रूप उल्लेख छ । हिंसाका घटनामा एक वर्षदेखि ७२ वर्ष उमेरसम्मका महिला बलात्कृत भएको प्रतिवेदनमार्पत सार्वजनिक गरिएको छ । घटनामध्ये सबैभन्दा बढी घरेलु हिंसाका कारण १ हजार ५ सय ६९ महिला पीडित भएको पाइएको छ । 

सन् २०१३ मा २ सय १५ महिला तथा ४ सय ६ बालिका बलात्कृत भएकोमा पूर्वाञ्चल क्षेत्रमा मात्रै १ सय ३५ बालिका पीडित भएको इन्सेकले जनाएको छ ।

२५ दिनमा पाँच बलात्कार
महोत्तरी जिल्लामा प्रत्येक पाँच दिनमा एक बलात्कार हुने गरेको तथ्य फेला परेको छ । समाचार अनुसार जिल्लामा फागुन महिनाको २५ दिनभित्र पाँचजना बालिका तथा महिलाको बलात्कार भएको छ । फागुन महिनाको सुरुवातसँगै जिल्लाको बनौटा गाविसमा एक १४ वर्षिया बालिकाको बलात्कार भएपछि जिल्लामा शृङ्खलाबद्ध बलात्कारका घटनाहरू घटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

फागुन ५ गते बनौटामा बालिकाको बलात्कार भएको घटना सेलाउन नपाउँदै १२ गते जिल्लाको बथनाहा गाविसमा एक ४० वर्षीया महिला घरमा राति एक्लै सुतिरहेको बेला बलात्कृत भएकी थिइन् । 

त्यसको दुई दिनपछि जिल्लाको हलखोरी गाविसमा एक ११ वर्षीया बालिकालाई गाउँ नजिकैको वनमा केराउ खेतमा लगेर बलात्कारको प्रयास भएको थियो भने एक सातापछि पुनः जिल्लाको अनकार–५ बेला गाउँमा एक ३२ वर्षीया महिला वनमा घाँस काटिरहेको बेला बलात्कारको सिकार भएकी प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताउनुभयो ।

त्यसै गरी चार्वटा शृङ्खलाबद्ध बलात्कारको घटनापछि फागुन २२ गते पुनः जिल्लाको खैरबन्नी–४ मा वनमा गहुँखेत रुँग्न गएकी १४ वर्षीया बालिका बलात्कृत भएको  प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बनौटाको घटनामा पीडक र पीडित दुवै एकै जातका परेकाले  विवाह गर्ने सर्तमा घटनाको मिलापत्र भएको छ भने बथनाहाको घटनामा पीडक स्थानीय ३३ वर्षीय अनिल भने चन्द्रभूषण झाविरुद्ध मुद्दा दर्ता गरिएको तर उनी सपरिवार गाउँ छाडी भागेका छन् । 

त्यस्तै हलखोरीको घटनाका पीडक स्थानीय ३२ वर्षीय प्रमोदकुमार यादवलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइसकेको र बेलाको घटनामा प्रहरीले पीडक ४० वर्षीय ललन महतोलाई पनि घटनापछि पक्राउ गरी आवश्यक कारबाही चलाइसकेको छ । 

खैरबन्नीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको स्थानीय अल्लाउद्दिन नदाफ घटनापछि फरार भएको र उनको व्यापक खोजतलास भइरहेको प्रहरीले बताएको छ । जिल्लामा बढेको बलात्कारका घटनाहरूपछि महिला र सर्वसाधारणहरू त्रसित भएका छन् ।

जीउँदै जलाउने प्रयास
विश्वभर महिला अधिकार दिवस मनाइँदै गरिंदा नेपालको सप्तरी जिल्लामा भने शनिबार अपराह्न एक महिलालाई जिउँदै जलाएर हत्या गर्ने प्रयास भयो । राजविराज नगरपालिका–७ निवासी गुडु अन्सारीकी श्रीमती अन्दाजी २६ वर्षीया नजराना खातुनको शनिबार राति नै उपचारका क्रममा निधन भयो । आगजनीबाट नजरानाको करिब ९० प्रतिशत शरीरको भाग पूर्णरूपमा जलेको थियो । नजरानाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भैरहेको थियो । 

स्थानीयवासीले घटनास्थलमा मट्टितेलको गन्ध आइरहेकाले कसैले मट्टितेल छर्केर आगो लगाएको आशङ्का गरेका छन् । नजरानाका श्रीमान् गुडु अन्सारी करिब १५ दिनअघि मात्र वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका छन् ।

सप्तरीका प्रहरी नायब उपरीक्षक राजकुमार वैदवारले घटनामा संलग्न रहेको आशङ्कामा पीडितका सासू र जेठानीलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको जानकारी दिनुभयो ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com