युगसम्बाद साप्ताहिक

विश्वस्तरीय सडकमा सडक बत्ती छैन
Monday, 04.21.2014, 04:00pm (GMT5.5)

काठमाडौं । जापान सरकारको सहयोगमा विश्वस्तरीय सूर्यविनायक–तीनकुने ६ लेन सडक निर्माणको गुरुयोजनामै प्रत्येक चोकमा ट्राफिक सिग्नल बत्ती र सडकको दायाँबाया“ सडक बत्ती राख्ने उल्लेख भए पनि अझैसम्म सो कार्य सम्पन्न हुन सकेको छैन । 

सूर्यविनायकदेखि तीनकुनेसम्मको ९.१ किलोमिटर सडकमा एक वर्षअघि नै कोटेश्वर, जडीबुटी, गठ्ठाघर र सल्लाघारीमा मात्र ट्राफिक सिग्नल बत्ती राखिएको छ । यस्तै, कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशल्टार र गठ्ठाघरसम्म सडक बत्ती राखिए पनि पर्याप्त छैन ।

त्यहाँ जडान भएका कतिपय सडक बत्तीसमेत बिग्रिएका छन्, कतिपय बत्ती झुन्डिएका छन् तर आयोजनाले मर्मतमा ध्यान पुर्याउन सकेको छैन । थिमीबाट सूर्यविनायकसम्म सडकको दायाँबायाँ सडक बत्ती नभएपछि रातिको समयमा हिँड्न पैदल यात्रुलाई ज्यादै कठिन परेको छ । 

सडकको प्रत्येक चोकमा सडक बत्ती राख्ने भने पनि सम्झौता कार्यान्वयन हुन सकेको छैन । चालु आर्थिक वर्षभित्र नै सडकको सम्पूर्ण कार्य पूरा गर्ने लक्ष्य लिएको काठमाडौँ भक्तपुर सडक विस्तार आयोजनाका इन्जिनियर किरण कार्कीले बताउनुभयो । 

आयोजनाले ६ लेन सडकको ३० मिटर दूरीमा बत्ती राख्ने कार्य दु्रतगतिमा अगाडि बढाउने तयारी गरेको दाबी गर्दै उहाँले प्रस्तावित बजेट उपलब्ध नभएकाले सडकको सबै ठाउँमा बत्ती राख्न नसकेको बताउनुभयो ।

“सूर्यविनायकदेखि तीनकुने ९.१ किलोमिटर सडकमा ३० मिटर फरकमा ३०० बत्ती राख्न नौ करोडभन्दा बढी खर्च लाग्छ, यसका लागि प्रस्ताव गरेको लामो समयसम्म पनि बजेट प्राप्त नभएकाले बत्ती राख्ने कार्य सम्पन्न गर्न कठिनाइ परेको हो”— इन्जिनियर कार्कीले भन्नुभयो ।

सूर्यविनायकदेखि जडीबुटीसम्म ११ वटा आकाशेपुल र दाया“–बायाँ सर्भिस ट्र्याक निर्माणको कार्य भने जापान सरकारले नेपाल सरकारले गर्ने गरी छुट्याएको भए पनि सरकारले समयमै बजेट उपलब्ध गराउन नसक्दा नेपाल सरकारले गर्नुपर्ने काममा ढिलाइ हुन गएको आयोजनाको भनाइ छ । 

सडकमा राखेको रेलिङ पनि बिग्रिने एवम् भाँचिने क्रम बढ्दै गएको छ । रेलिङ बिग्रने पहिलो कारण नै सवारी दुर्घटना हो । आयोजनाले दुर्घटनाबाट रेलिङ भाँच्ने सवारी धनीसँग त्यसको क्षतिपूर्ति भराएर मर्मत गर्नुपर्ने भए पनि कडाइका साथ रकम उठाउन नसक्दा सडकको बीचबीचमा भाँचिएका रेलिङ बन्न सकेको छैन । 

सडकको मुख्य भागको काम सकिएको दुई वर्ष हुँदा पनि सर्भिस ट्र्याक अझै पूरा हुन सकेको छैन । ठेकेदारले समयमा काम नगर्दा ढिलाइ भएको आयोजनाको आरोप छ । जापानी सरकारले बनाएको कालोपत्रसमेत उप्किन थालेको छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com