युगसम्बाद साप्ताहिक

जलवायु परिवर्तनको गम्भीर असर : सगरमाथामा हिमपहिरो
Monday, 04.21.2014, 04:02pm (GMT5.5)

काठमाडौं । विश्व जलवायु परिवर्तनको प्रभाव नेपालमा प्रत्यक्ष अनुभूत हुन थालिसकेको छ । शुक्रबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा आएको हिम पहिरोले नेपालका हिमाल तीब्र गतिमा पग्लदैछ भन्ने स्पष्ट भएको छ । केही वर्षअघिदेखि नै हिमाली क्षेत्रको हावापानीमा परिवर्तन आउन थालेको र हिमनदीको आधार बढ्दै गएको अवस्थामा शुक्रबार विहान सगरमाथा आधारशिविरमा आएका हिमपहिरोमा परी १३ जनाको मृत्यु भएको छ । 

पर्यटन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मोहनकृष्ण सापकोटाले जानकारी दिनुभयो । त्यस्तै घाइतेहरूको उपचारका लागि काठमाडौं ल्याइएको छ । पहिरोमा परी मृत्यु हुनेमा मिङ्मा नुरु शेर्पा, दोर्जी शेर्पा, आङ्छिरिङ् शेर्पा, ङिमा शेर्पा, फूर्वा अङ्गेल शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, छिरिङ् वाङ्चु शेर्पा, खेमदोर्जे शेर्पा, फूर्वा तेम्बा शेर्पा, पासाङकर्मा शेर्पा, आसमान तामाङ् र दोर्जे खत्री हुनुहन्छ । त्यसै गरी, पहिरोमा परी तेन्जिङ शेर्पा, आङ्काजी शेर्पा, पेमतेञ्जी शेर्पा र आसबहादुर गुरुङ हराइरहनुभएको छ । 

सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको आरोहण मार्गमा पर्ने खुम्बु आइसफलको करिब पाँच हजार ९०० मिटरको उचाई (क्याम्प १ नजिक) मा हिम पहिरो गएको थियो । घटनापछि सगरमाथा आधार शिविरमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सम्पर्क कार्यालयमा रहेका नेपाली सेना, सशस्त्र प्रहरी लगायतका सम्पर्क अधिकृतहरूको टोली, सगरमाथा प्रदूषण नियन्त्रण समितिका चिकित्सक, हिमालयन उद्धार सङ्घका मेडिकल डाक्टरसहितको उद्धार टोली तथा आरोहण अभियान सञ्चालन गर्ने विभिन्न ट्रेकिङ टोली उद्धार तथा खोज कार्यमा खटिएको थियो ।

यसै घटनाका सन्दर्भमा उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको अध्यक्षतामा बसेको केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठकले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै हराइरहेकाहरूको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएको छ । बैठकले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै घटनामा परी मृत्यु भएका परिवारलाई अन्य दैवी प्रकोप पीडित परिवारसरह किरिया खर्च वापत रु ४० हजार आर्थिक सहायता सम्बन्धित जिल्ल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराउन निर्देशन दिएको छ ।

जलवायु परिवर्तनका कारण नेपाल जस्ता हिमाली र जैविक तथा प्राकृतिक विविधता भएको मुलुकले अनेक समस्या झेल्नुपर्ने विज्ञहरूको कथन सत्यको नजिक पुगिरहेको छ । हिमाली क्षेत्रहरूमा खाद्य बालीको चक्रमा व्यापक परिवर्तन आएको छ । पहाडी क्षेत्रमा फल्ने फल र फूल्ने फूलको समय बदलिएको छ । पुस–माघमै काफल पाक्ने, गुराँस फुल्ने गर्न थालेको केही वर्ष भैसक्यो । दुई वर्ष अघि पनि हिउँदयाममा अन्नपूर्ण हिमालमा आएको हिम पहिरोले कास्कीको सेती नदीमा अचानक बाढी आउँदा दर्जानौंको ज्यान गयो । जलवायु परिवर्तनका कारण उत्पन्न संकट कतिबेला आउँछ भन्नै सकिन्न ।

जलवायु परिवर्तनले नेपालमा अनेक समस्याहरू देखा परिरहेका छन् । यसको प्रभावले नेपालको शिक्षा, स्वास्थ्य, रोजगारी तथा आर्थिक विकासमा समेत प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । यसका प्रारम्भिक संकेतका रुपमा खाद्यान्न उत्पादनमा कमी र पर्यटकीय आकर्षणका केन्द्रका रुपमा रहेका हिमालहरूमाा हिउँ पग्लने क्रमबाट सुरु भएको छ । अर्कोतिर जैविक विविधतामा आइरहेको ह्रासले यहाँको जलवायुमा पनि ठूलो परिवर्तन देखा परिसकेको छ । मनसुनमा पर्याप्त वर्षा नहुने र मनसुन सकिएपछि घनघोर पानी पर्नेगरेको छ । हिमालदेखि तराईसम्म भौगोलिक विविधता भएको नेपालमा हिमालमा देखिने गडबडीले तराईलाई गाँज्न थालेको छ । विशेषज्ञ र नीति निर्माताहरूले जलवायु परिवर्तनबाट परेको प्रभावलाई न्यून गर्न र वैकल्पिक उपायको खोजी गर्नेतिर कमै मात्र ध्यान दिएका छन् । संचार माध्यमहरूमा यस विषयमा हुने एकाध बहसले समस्या समाधान हुँदैन भन्ने तथ्य बुझेर पनि बुझ पचाउने काम भैरहेको छ । चौतर्फी राजनीतिकरण र राजनीतिक लाभहानीको घनचक्करमा मुलुकको भविष्य नै अन्धकारमा पर्न लाग्दा पनि चेत खुलेको छैन । वातावरण संरक्षणका लागि हामीले आफ्नो तर्फबाट गर्नुपर्ने सकारात्मक पहल र प्रयास हुनै सकेको छैन । 

नेपालको जैविक र भौगोलिक विविधता हाम्रो राष्ट्रिय सम्पत्ति र सम्पदा हो । यसको प्रभाव विश्वमै परेको छ । तर यतिबेला हाम्रा यिनै सम्पदाहरू नासिएर जाने खतरा बढिरहेको छ । नेपालको मौलिक पहिचानहरूमा एकपछि अर्को गर्दै खतराको घण्टी बज्न थालेको छ । जलवायु परिवर्तनले नेपालमा पारेको प्रभाव र त्यसको क्षतिपूर्तिका लागि उठ्नुपर्ने जति आवाज उठेको छैन । धनी र औद्योगिक मुलुकहरूले गरेको हरितगृह ग्यास उत्सर्जनको क्षतिपूर्ति माग गर्ने र यसबाट परेको असरबाट बच्न वैकल्पिक उपाय अपनाउने सवालमा समेत हाम्रा नीति निर्माताहरूबाट ढिलासुस्ती भैरहेको छ । नेपालको प्राकृतिक स्रोत साधनको संरक्षण हुनु भनेको त्यो नेपालको लागि मात्र होइन विश्वकै लागि हो भन्ने सामान्य चेत समेत नबुझेको जस्तो देखिन्छ । प्रकृतिसंग खेलवाड गर्नु भनेको मानवले आफ्नो विनाश आफैं निम्त्याउनु हो भन्ने मान्यता अब पुष्टि भैसकेको छ । त्यसकारण वातावरण संरक्षणको नारा कुनै एक मुलुकको मात्र समस्या नभएर विश्वकै साझा चासो र चिन्ताको विषय हो ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com