| युगसम्बाद साप्ताहिक | ||||
|
विगतको गल्ती सच्चिंदै गएको अनुभूति Monday, 04.28.2014, 05:52pm (GMT5.5) काठमाडौं । ऐतिहासिक संविधानसभाले संविधान नबनाई मृत्युवरण गरेका कारण समयमै आफ्नो भूमिका निर्वाह नगरेको भन्दै तत्कालीन सभाध्यक्ष तथा सभामुख सुवास नेम्वाङको आलोचना खुब भयो । दोस्रो संविधानसभाको निर्वाचनका बेला उम्मेदवार बनाइनुभएका नेम्वाङको विषयमा बोल्दै एमाओवादी अध्यक्ष प्रचण्डले पुरानै अनुहार दोहोरिएकाले संविधान बन्नेमा आशंका व्यक्त गर्नुभयो तर निर्वाचित भएलगत्तै उहाँले “विगतमा सहमति हुन्छ भन्दाभन्दै समय सकिएको अब त्यसो हुन नदिने” प्रतिबद्धता व्यक्त गर्नुभयो र शुक्रबारको व्यवस्थापिका संसदमा त्यसलाई पालना गराउनुभयो । दलहरूबीच कडा आलोचना र आरोप–प्रत्यारोप चलिरहेका बेला शुक्रबार दुई दुई चोटि स्थगन गरेरै भए पनि व्यवस्थापिका–संसद्को बैठक शुक्रबार बिहानदेखि राति अबेरसम्म चलाउनुभयो । परिणामतः सात वर्षदेखि थाती रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भयो । यसअघि संसदले ‘विजनेस’ नभएकाले आउँदो बजेटमा छलफल चलाउनुपर्ने आवश्यकता औंल्याउनुभएका नेम्वाङले शुक्रबार राति अबेरसम्म संसदको बैठक चलाएर सत्य निरुपण तथा मेलमिलापा आयोगको विकेयक पारित गराउनुभयो । यसअघि संविधानसभाको पाँचवटा समितिका सभापतिहरूको चयनमा पनि उहाँले स्पष्ट निर्देशन र कार्यतालिका दिनुभएको थियो । शान्ति प्रक्रियालाई पूर्णता दिने महत्वपूर्ण कानुन निर्माणसँगै शुक्रबार नै संविधान निर्माणका लागि गठन भएका पाँच समितिका सभापतिको पनि चयन भएका छन् । निर्वाचित भएलगत्तै संवाद सहमति समितिका सभापति डा भट्टराईले आफू संविधान लेखनका लागि संविधानभित्र र बाहिर रहेको शक्तिसँग छलफल गरेर गुरुत्तर दायित्वलाई निर्वाह गर्न कुनै कसर बाँकी नराख्ने अभिव्यक्ति दिनुभयो । संविधानसभाभित्र महत्वपूर्ण समितिको सभातित्वको दायित्व पाउनुभएका नेता डा भट्टराईले विशेष गरी तोकिएको समयमै संविधान लेखनको कामलाई पूरा गर्ने प्रतिबद्वतासमेत व्यक्त गर्नुभयो । मस्यौदा समितिका सभापति सिटौलाले बाह्रबुँदे सहमतिसँगै प्रारम्भ भएको प्रमुख दलको सहकार्य र सहमतिको यात्रा कायमै रहेको पुष्टि भएको बताउनुभयो । अभिलेख तथा निक्र्याेल समितिका सभापति पौडेलले संविधानसभाले तर्जुमा गरेको कार्यतालिकाभित्र काम अघि बढाउन कुनै ढिलाइ नगर्ने अभिव्यक्ति दिनुभयो । प्रमुख ठूला दल मात्र नभएर अधिकांश साना दलसमेतको सहभागितामा सबै समितिकै समितिका सभापतिको चयन दुईजनाकोा निर्वाचन भए पनि लगभग निर्विरोध जस्तै भएकाले यसले दलहरूबीच सहमतिको वातावरणा बन्दै गएको देखिन्छ । यससंगै संविधान निर्माणको कामले पनि तीव्रता पाउने बलियो आधार खडा भएको छ । यद्यपि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भने आफ्नो दललाई ठूला दलले निषेध गर्न खोजेको भन्दै निर्वाचन बहिष्कार गर्न पुग्यो । चार वर्षसम्म पनि संविधान बन्न नसकेर संविधानसभा नै भङ्ग भएको पीडालाई दोस्रो संविधानसभाको उत्साहपूर्ण निर्वाचनले मल्हमपट्टी लगाउने प्रयास गरेको भए पनि त्यो पर्याप्त छैन र जनविश्वास जगाइहाल्ने किसिमको पनि छैन । तर, निराश भैहाल्नुपर्ने अवस्था पनि छैन । यद्यपि संविधान लेखनको काम त्यति सहज र सरल भने छैन । संविधान लेखनका लागि विगतमा भएको सहमतिको स्वामित्व लिएर अघि बढ्ने दलहरूको प्रतिबद्धताले केही सहज आधार खडा भए पनि शासकीय स्वरुप र राज्य पुनःसंरचना लगायत केही जटिल र कठिन विषय ज्यूँका त्यूँ छ । ती विषयमा अझै सहमति जुट्न बाँकी नै छ । त्यसो त राज्य पुनःसंरचना जस्तो जटिल विषयमा अहिलेसम्म दलहरूबीच अनौपचारिक छलफल समेत हुन सकेको छैन । यसै विषयलाई लिएर दलहरू पुनः विभाजित हुँदैनन् भन्नसकिने अवस्था भने छैन । संविधानसभाको तेस्रो र महत्वपूर्ण शक्ति एकीकृत नेकपा माओवादी र मधेशवादी तथा केही जातीवादी दलहरूबीच जातीय पहिचानसहितको संघीयताको पक्षमा एकजुट भएर जाने सहमति गरेकाले पनि यो विषय पुन विवादित बन्ने देखिन्छ । त्यस्तै अहिले चुपचाप लागेका तर अघिल्लो संविधानसभा भङ्ग हुनु केही दिनअघि सडकमा देखिएका विभिन्न वर्ग, क्षेत्र, जाति र पेसाका मानिस र समूहको माग, धर्ना, जुलुस, आवाज र आक्रोशलाई कसरी सम्बोधन गर्ने हो त्यो कठित चुनौति कायमै छ । विस्तृत शान्ति सम्झौता, संविधानसभा निर्वाचन, माओवादी लडाकुको नेपाली सेनामा समायोजन गरेका दलहरूलाई पहिलो संविधानसभा भङ्ग भएको पीडाबीचबाट सहमतिको आशाको त्यान्द्रो समातेर दोस्रो संविधानसभाको उत्साहपूर्ण निर्वाचनबाट फेरि एकचोटि शान्ति प्रक्रिया र संविधान लेखनको कामलाई पूर्णता दिएर समृद्ध नयाँ नेपाल निर्माणको काममा जुट्न पुनः अवसर जुटेको छ । सरकार संचालन र संसदमा पक्ष–विपक्ष भए पनि मुलुकको महत्वपूर्ण सवालहरूमा दलहरूबीच देखिएको एकताले संविधानसभामा पनि कायम रहने आशा पलाएको छ । दलहरूबीच संविधान निर्माणमा विगतमा हुन नसकेको सहकार्यको सन्देश यसपटक दिनन सफल भएकालले दिन केही सुखद सन्देश देखिएको छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||