| युगसम्बाद साप्ताहिक | ||||
|
बल्बल्ल छानिए समितिका सभापति Monday, 04.28.2014, 05:53pm (GMT5.5) काठमाडौं । संविधानसभाका विभिन्न पाँच समितिका सभापतिहरूको चयनन शुक्रबार भएको छ । शुक्रबार तीन सभापतिको सर्वसम्मत चयन भयो भने दुई सभापहिरूको निर्वाचन भएको थियो । सर्वसम्मत चयन हुने समितिका सभापतिमा संवैधानिक–राजनीतिक संवाद समितिका सभापति डा बाबुराम भट्टराई, संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला, संविधान अभिलेख तथा निक्र्याैल समितिका सभापति विष्णु पौडेल हुनुहुन्छ भने निर्वाचनबाट नागरिक सम्बन्ध समितिका सभापति प्रमीला राणा र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिका सभापति लक्ष्मीकुमारी चौधरी चयन हुनुभएको हो । डा भट्टराई एकीकृत नेकपा माओवादीको वरिष्ठ नेता, सिटौला नेपाली काँग्रेसका महामन्त्री, पौडेल नेकपा एमालेका सचिव, राणा नेकपा संयुक्तका नेतृ तथा चौधरी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेतृ हुनुहुन्छ । ठूला तीन दलले आफूहरूलाई उपेक्षा गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले संविधानसभाका समितिहरूको सभापतिको निर्वाचनमा सहभागी भएको थिएन । शुक्रबार सिंहदरबारस्थित संसद् सचिवालयमा ती समितिका अलग अलग बैठकमा सभापति चयन गरिएको हो । नेता भट्टराईको प्रस्तावकमा काँग्रेसका पूर्णबहादुर खड्का र समर्थकमा एमालेका सुरेन्दप्रसाद पाण्डे रहनुभएको थियो । सभापतिको उम्मेदवारी दिनुहुने खम्बुवान राष्ट्रिय मोर्चाका रामकुमार राईका प्रस्तावक हरिचरण शाह र समर्थक गोपाल दहितले उम्मेदवारी फिर्ता लिनुभएको थियो । समितिमा बैठकको अध्यक्षता गर्नुहुने ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले भट्टराई निर्वाचित हुनुभएको घोषणा गर्नुभयो । सिटौलाको प्रस्तावकमा एमालेका भानुभक्त ढकाल र समर्थकमा एमाओवादीका गिरिराजमणि पोखरेल रहनुभएको थियो । सो समितिको आजको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य भरतमोहन अधिकारीले गर्नुभएको थियो । यस्तै पौडेलको प्रस्तावकमा काँग्रेसका बलबहादुर केसी र समर्थकमा एमाओवादीका हरिबोलप्रसाद गजुरेल रहनुभएको थियो । सो समितिको आजको बैठकको अध्यक्षतामा ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले गर्नुभएको थियो । निर्वाचन पश्चात् पत्रकारहरूसँग कुरा गर्दै संवैधानिक राजनीतिक संवाद सहमति समितिका सभापति डा भट्टराईले आफ्नो समिति संविधानसभाभित्रको महत्वपूर्ण समिति भएकाले संविधान निर्माणका क्रममा संविधानसभाभन्दा बाहिर रहेका शक्ति र पक्षसँग छलफल गर्ने बताउनुभयो । उहाँले तोकिएको समयमा संविधान निर्माणको कार्य पूरा गर्न आफूहरू प्रतिवद्ध भएको पनि उहाँले बताउनुभयो । संविधान मस्यौदा समितिका सभापति सिटौलाले बाह्रबुँदे सहमतिसँगै प्रारम्भ भएको प्रमुख दलको सहकार्य कायम रहको भन्दै यो निर्वाचनबाट पनि सो सहमतिको यात्रा कायमै रहेको पुष्टी भएको प्रतिक्रिया दिनुभयो । यस्तै संविधान अभिलेख तथा निक्र्याैल समितिका सभापति पौडेलले संविधानसभाले तर्जुमा गरेको कार्यतालिकाभित्र काम अघि बढाउने आफ्नो समिति एक आधार समिति भएकाले उक्त मर्मलाई ध्यानमा राखेर विलम्ब नगरी कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो । शुक्रबार चयन भएका संविधानसभा अन्तगर्ततका विभिन्न पाँच समितिका सभापतिहरूलाई शपथ गराइएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले निर्विरोध रुपमा निर्वाचित संविधानसभाका पाँच वटा समितिका सभापतिलाई शनिबार संसद् सचिवालयमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||