युगसम्बाद साप्ताहिक

वाग्मती सफा गर्न राष्ट्रपतिदेखि मन्त्रीसम्म
Monday, 04.28.2014, 05:53pm (GMT5.5)

काठमाडौं । मुख्य सचिव लिलामणि पौडेलको प्रयासले वाग्मती नदीको केही ठाउँमा अब नुहाउन सकिने भएको छ । वाग्मती सफाइ अभियानका लागि सरकारी व्यक्तिहरूसंग स्थानीयबासीको ठूलो सक्रिय सहभागिता रहेपछि मुलुकका उच्च व्यक्तिहरू पनि वाग्मती सफाइमा होमिन थालेका छन् । वाग्मती सफाइ महाअभियान जति अघि बढिरहेको छ त्यत्तिकै रुपमा आमनागरिक समाज, स्थानीय समुदाय, सङ्घसंस्था, क्लबहरू एवम् सरोकारवाला निकायको वाग्मती सफाइप्रति उत्साह र सक्रियता बढ्दो छ त्यसैगरी राष्ट्रका उच्च, विशिष्ठ एवम् प्रतिष्ठित व्यक्तित्वहरूको पनि चासोको विषय बनिरहेको छ । 

यस क्रममा वैशाख १३ गते शनिबार वाग्मती सफाइ महाअभियान–२०७० को ५० औं सप्ताहमा राष्ट्रपति डा रामवरण यादव सरिक हुनुभयो । पशुपतिको गुह्येश्वरीमा आयोजित समारोहमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ, सहरी विकासमन्त्री डा नारायण खड्का, अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा प्रणव पाण्डेय लगायतको सहभागिता थियो ।

सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति डा यादवले काठमाडौँ उपत्यकाको सदियाँै पुरानो सभ्यता बोकेको वाग्मतीको प्रदूषण र वातावरणीय ह्रास सबैको चुनौती बनेको बताउनुभयो । राष्ट्रपति डा यादवले एउटा पुनित उद्देश्य प्राप्तिका लागि नेपाली कसरी जुट्छन् र यो सफल नभएसम्म निरन्तर लागिरहन्छन् भन्ने दरिलो उदाहरण यही अभियान हो भन्दै वाग्मती सफाइपछि प्राविधिक पक्षलाई ध्यान दिएर भविष्यमा पुनः फोहर हुन नसक्ने दीर्घकालीन कार्यक्रम अघि बढाउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

वाग्मतीसहित अन्य नदीको पनि सफाइ अभियान सञ्चालन गर्न आवश्यक रहेको भन्दै राष्ट्रपति डा यादवले उपत्यकामा बसोवास गर्ने हरेक घरबाट कम्तीमा एक जना सदस्य वाग्मती सफाइमा सक्रिय हुन आग्रह गर्नुभयो । यसअघि राष्ट्रपति डा  यादवले वाग्मतीको जल सेचन गर्नुभएको थियो ।

त्यस्तै संविधानसभाका अध्यक्ष नेम्बाङले २०१५ सालमा पहिलोपटक उपत्यका प्रवेश गर्दा देखेको वाग्मतीको स्वच्छताको स्मरण गर्दै त्यतिखेर सफा र सुन्दर वाग्मतीमा हामी केटाकेटी खेल्थ्यौँ, मैले सानो छँदा वाग्मतीमा माछा खेलिरहेको देखेको थिएँ । तर, उच्च शिक्षा हासिल गर्नेबेला वाग्मती ढलका रुपमा परिणत भइसकेको थियो । अहिले सरसफाइले फेरि त्यस्तै अवस्थामा फर्कन लागेको भन्दै उहाँले सफाइ गर्दै गयो त्यसलाई फोहर बनाउने ढलको उचित व्यवस्थापन गर्न सकेका छौ कि छैनौ भन्ने प्रश्न गर्दै भविष्यमा फेरि फोहर हुन नदिनका लागि आधार तयार गर्न जरुरी भएको र यो अभियानमा सिङ्गो संविधानसभा साथमा रहेको प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा शहरी विकासमन्त्री डा नारायण खड्काले वाग्मती धार्मिक, सांस्कृतिक ऐतिहासिक समग्र सभ्यताको प्रतीक भएको र सफाइ अभियान महाक्रान्तिका रुपमा परिणत भइसकेकाले नेपाललाई नयाँ युगमा लैजान वाग्मती सभ्यताको संरक्षण प्रवद्र्धनमा हरेक घर, परिवार, समाज र टोलबाट उठनु पर्ने खाँचो औँल्याउनुभयो ।

शहरी विकास मन्त्रालयका सचिव किशोर थापाले वाग्मती नदीमा बसौँदेखि फालिएको फोहर उठाउने, आइन्दा फोहर फाल्न नदिने र फोहर फाल्नेलाई दण्डित गर्ने उद्देश्यका साथ सुरु भएको सफाइ महाअभियान सामाजिक अभियानको रुपमा अघि बढेको उल्लेख गर्नुभयो ।

त्यस क्रममा सचिव थापाले सुन्दरीजलदेखि मनोहरासम्म ढल व्यवस्थापन भइसक्यो, गुह्येश्वरीसम्म नुहाउनयोग्य बनिसकेको बताउँदै वाग्मती नदीको दीर्घकालीन विकासका लागि सरकारले ठूलो योजना अघि बढाइसकेको जानकारी दिनुभयो ।

अखिल विश्व गायत्री परिवारका अध्यक्ष धार्मिक अभियानता डा प्रणव पाण्डेयले हिन्दूहरूको आस्थाको केन्द्र वाग्मतीको सभ्यता जोगाई आउँदो चार वर्षमा पूर्ण रुपमा नुहाउनयोग्य वाग्मती बनाउन सबै प्रतिबद्धताका साथ लाग्नुपर्ने बताउनुभयो ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नारायणप्रसाद रेग्मीले उपत्यकाको वाग्मती र यसका सहायक नदीको सभ्यता तथा वातावरण संरक्षण गरी धार्मिक प्राकृतिक पहिचान बनाउन हाल सुन्दरी जलदेखि चोभारसम्म कुल २८ किलोमिटर विभिन्न पूर्वाधार निर्माण भइरहेको बताउनुभयो । वाग्मती नदीको दुवै किनारमा करिब छ किलोमिटर ढल निर्माण कार्य सम्पन्न भएको र हालसम्म वाग्मतीको ९०० मेट्रिकटनभन्दा बढी फोहर सङ्कलन गरी ल्यान्डफिल्ड साइड पुर्याइएको उहाँले जानकारी दिनुभयो ।

वाग्मती अभियान्ता डा राजु अधिकारीले वरिपरि ठूला महलको चपेटामा वाग्मती छटपटाइरहेको भन्दै सफाइ महाअभियानलाई निरन्तरता दिई वाग्मतीको मुहार फेर्न आम समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सभ्यताको प्रतीक वाग्मती नदीको सफाइ महाअभियान निरन्तर चलिरहेको छ । २०७० जेठ ५ गते सुरु भएको अभियानमा दर्जनाँै सरकारी तथा गैरसरकारी निकाय नागरिक समाज एवम् सर्वसाधारणको सक्रियता बढ्दै गएको छ । वाग्मती नदी र यसका सहायक नदीहरूको पनि सफाइ अभियान सुरु हुन थालेको छ । सफाइ अभियानअन्तर्गत वाग्मतीबाट मात्रै हालसम्म ९०० मेट्रिक टनभन्दा बढी फोहर सङ्कलन गरी ल्यान्डफिल्ड साइडमा लगिएको जनाइएको छ ।

अभियानमा नागरिक समाज, कलाकार, सर्वसाधारण र ३५० भन्दा बढी सङ्घसङ्स्थाका प्रतिनिधि, विभिन्न स्कुल कलेज, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सक्रिय रहँदै आएका छन् । त्यस्तै भारतको अखिल विश्व गायत्री परिवारका सयौँ सदस्य पनि अभियानमा सक्रिय हुँदै आएका छन् । वाग्मतीको सफाइपछि अहिले सुन्दरीजलदेखि गुह्येश्वरी पशुपतिसम्म नुहाउन मिल्ने भएको छ, तथापि पानीको बहाव कम हुँदा फोहर व्यवस्थापनको मुख्य चुनौती देखिएको छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com