युगसम्बाद साप्ताहिक

तेल चोर्न सघाउने कर्मचारी प्रहरी नियन्त्रणमा
Monday, 05.05.2014, 04:09pm (GMT5.5)

काठमाडौं । भारतबाट नेपाल भित्र्याइने पेट्रोलियम पदार्थ ढुवानीकर्ता र नेपाल आयल निगमका कर्मचारीको मिलेमतोमा बीच बाटोमा चोरी हुने गरेको फेला परेपछि अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र तथा प्रहरी विशेष सक्रिय भएको छ । यस क्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार नेपाल आयल निगमका भलवारी शाखाका अधिकृत द्वय दीपेन्द्र महतो र रवीन्द्रकुमार रावतलाई पक्राउ गरेको छ ।

भारतबाट आयात भई रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रीय डिपो भलवारी पुर्याउनुपर्ने तेल बीच बाटोमै सिल तोडेर चोरी भएका तथ्य बाहिर आएको चार दिनपछि मिलेमतो रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विक्रमसिंह थापाका अनुसार साधारण व्यक्तिले तेल चोरी गर्न असम्भव जस्तै भएको र चोरीमा कर्मचारीसमेतको मिलोमतो देखिएको बताउनुभयो । सिल तोडेर भूमिगत पेट्रोल पम्पमा केही डिजल झारेपछि पुनः सिलबन्दी गरी निगमको डिपोमा पुर्याउने गरेको ट्याङ्कर चालकको बयानको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवै सिलबन्दी हेर्ने फाँटका अधिकृत हुन् ।

प्रहरीले उक्त चोरी घटनामा १७ हजार लिटर डिजेल बरामद गरेको थियो । चोरीमा संलग्न ट्यांकरसंग गरिएको ढुवानीको सम्झौता रद्द गरिएको निगमले जनाएको छ भने त्यसमा संलग्नहरूबिरुद्ध पक्राउ पूर्जी जारी गरी खोजी भैरहेको छ । सो कार्यमा संलग्न भएको पाइएपछि रुपन्देही प्रहरीले उद्योग वाणिज्य महासंघका एक केन्द्रीय सदस्य र तीन जना पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघका जिम्मेवार पदाधिकारीसहित  १६ ट्यांकर धनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

गत मंगलबार सुनौली नाका हुँदै निगमको भलबारी डिपोका लागि आयात गरिएको डिजेल बीच बाटोमा पर्ने पडसरी र मदौलियास्थित भूमिगत २ वटा पम्प र २ वटा गोदाममा राखिएका दर्जनौं ड्रममा खन्याइरहेको अवस्थामा फेला परेको थियो । उक्त घटनाको छानबिनका क्रममा १९ वटा ट्यांकर धनीलाई प्रहरीले अनुसन्धान पश्चात पक्राउ पुर्जी जारी गरेको हो ।

प्रहरीका अनुसार बुटवलका चोपनारायण श्रेष्ठ, हरि बहादुर कुँवर, राकेशकुमार कसौधन, बालकृष्ण गैरे, प्रेमराज गैरे, पशुपतिनाथ कसौधन, दयाशंकरप्रसाद कसौधन, कपिलवस्तु पकडी १ का लप्पु चौधरी, भूमिगत पेट्रोल पम्प तथा गोदाम जग्गाधनी विकास क्षेत्री, विनोद उप्रेती र रामचन्द्र अधिकारी, बुटवल मिलनचोकका श्रवणकुमार श्रेष्ठ, रुद्र शर्मा, बुटवल ८ का प्रीति जैसवाल, पिंकी कलवार जैसवाल र पप्पुकुमार कसौधनलाई पक्राउ पुर्जी जारी गरिएको छ । 

जसमध्ये चोरीमा संलग्न ४ वटा ट्यांकर मालिक चोपनारायण श्रेष्ठ उद्योग वाणिज्य महासंघका केन्दीय सदस्य हुन् भने राकेशकुमार कसौधन पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघ अध्यक्ष, हरिबहादुर कुँवर संघका निवर्तमान अध्यक्ष र बालकृष्ण गैरे संघका वरिष्ठ उपाध्यक्ष हुन् । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com