युगसम्बाद साप्ताहिक

पेट्रोलको व्यापक कालोबजारी : पानीमा रंग हालेर समेत बेचियो
Monday, 05.12.2014, 04:12pm (GMT5.5)

चितवन । केही दिनयता तराई क्षेत्रमा बढेको पेट्रोलियम अभावलाई कमाइको धन्दा बनाउने काम व्यापक पमा हुन थालेको छ । चितवनका किराना पसलदेखि पुस्तक पसलेसम्मले पेट्रोलको कालोबजारी गरेको पाइएको छ । किराना र पुस्तक पसलेसमेत पेट्रोलको कालोबजारीमा संलग्न भएको पाइएकोले जिल्लामा कडा अनुगमन थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक जीवलाल चुँदालीले जानकारी दिनुभयो ।

उनीहरूले चर्काे मूल्यमा अनुमतिबिनै बोतलमा राखेर पेट्रोल बिक्री गरेको पाइएकाले कालोबजारी तथा सामाजिक अपराध ऐनअनुसार मुद्दा दर्ता गरेको प्रहरीले बताएको छ ।

त्यस्तै पेट्रोल भन्दै पानीमा रङ मिसाएर बिक्रीका लागि राखिएको अवस्थामा १२ वटा बोतलसहित चन्द्रनिगाहपुर बजारका नवदुर्गा जनरल स्टोर्सका संचालक लक्ष्मी साह शनिबार पक्राउ परेका हुनु । साहले रंगीन पानी अरुलाई हैन उद्योग वाणिज्य संघ चन्द्रनिगाहपुरका महासचिव उदयनारायण सापकोटालेलाई नै बेचेछन् र उनैको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । हिरासतमा रहेका साहलाई कालाबजारी अभियोग अन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले बताएका छन् । 

त्यस्तै अनुगमनमा माडीको अयोध्यापुरीमा रहेको ब्रदर्स पुस्तक पसलले पेट्रोल बिक्री गर्ने गरेको पाइएको छ । यस्तै भरतपुरको कौशल किराना पसल र भरतपुरकै मदिरा पसलले पनि पेट्रोल बिक्री गर्ने गरेको पाइएको छ । 

पेट्रोलमा कालोबजारी गरेर बिक्री गर्दै आएको पाइएकाले यहाँका विभिन्न क्षेत्रका छ जनालाई प्रहरीले पक्राउपछि मुद्दा दर्ता गरेको छ । उनीहरूले बिक्रीका लागि राखेको ३४० लिटर पेट्रोलसमेत प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक चुँदालीको भनाइ छ । 

मुद्दा चलान भएकामा माडी अयोध्यापुरीका धनुहर पहारी, खैरहनीका खेमराज अर्याल, भरतपुर– १३ सालचोकका नहिम मियाँ र विपना कुँवर, भरतपुरकै सुवास ज्ञवाली र राजेश श्रेष्ठ रहेका छन् । नहिम मियाको किराना पसलबाट मात्रै १५० लिटर पेट्रोल बरामद गरिएको छ । मदिरा पसल सञ्चालन गर्ने ज्ञवालीकहाँबाट ६५ लिटर बरामद गरिएको छ । पानीको बोतलमा पेट्रोल हालेर लिटरको रु २०० सम्ममा बिक्री हुने गरेको भन्दै जिल्लामा चर्काे आलोचना भइरहेको छ ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com