युगसम्बाद साप्ताहिक

मधुमासमा मनछुने काम भएन
Monday, 05.26.2014, 07:24pm (GMT5.5)

काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार गठन भएको सय दिन पूरा गरेको छ । सरकारको मधुमाश अवधि भनिने यो सय दिनमा सरकारले जनताको मनछुने किसिमको कुनै काम गर्न सकेन । सय दिनमा सरकारले ५५ बुँदामा आफूले गरेका कामहरु भन्दै विवरण सार्वजसनक गरेको छ । सरकारको सय दिनको उपलब्धि आइतबार सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले सार्वजनिक गर्नुभयो । सरकारको सय दिनको उपलब्धिमा कुम्भ भेलाको उदघाटन र समापनदेखि लिएर नेपाली क्रिकेट टोलीले टी–२० विश्वकप खेलेको, उनीहरुलाई जनही दुई लाख रुपैयाँ दिएको लगायतलाई मुख्य उपलब्धि मानेको छ ।

सरकारले प्रस्तुत गरेको एकसय दिनको मुख्य मुख्य कामहरूमा शान्ति प्रक्रियाको लामो समयसम्म अल्झेको काम सम्पन्न गर्ने सिलसिलामा वर्तमान सरकारले विभिन्न राजनीतिक दलसँगको समझदारीमा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन ल्याएको र त्यसबाट संविधान निर्माणका लागि पनि वातावरण सहज बनेको उल्लेख गरिएको छ । 

सात सालको जनक्रान्तिमा सहभागी जीवित योद्वाहरूलाई सम्मान गर्न उनीहरूको विवरण तयार गर्ने काम भइरहेको, जनतालाई दैनिक उपभोग्य वस्तु तथा सेवा सहज रूपमा उपलब्ध गराउन बजार अनुगमनलाई निरन्तरता दिने, कालो बजारीलाई कडा कारबाही गर्ने र व्यापारिक लागत कम गर्ने उपायहरू पहिचान गरी लागू गर्ने निर्णय कार्यान्वयनमा ल्याएको सरकारद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । 

देशको अर्थतन्त्रको वर्तमान अवस्था सकारात्मक दिशातर्फ अग्रसर भएको, चालु आर्थिक वर्षमा पाँच दशमलव दुई प्रतिशतको आर्थिक वृद्विदर रहने पूर्वानुमान गरिएको, मुद्रास्फिति दर नौ दशमलव चार रहेको र राजश्व १९ दशमलव नौ प्रतिशतले वृद्वि भएको जनाइएको छ । 

गएको तीन महिनामा १९ हजार ११६ करदाता करको दायरामा आएका र ६ हजार ७०३ घरधनीलाई स्थानीय लेखा नम्बर दिएर बहाल करको दायरामा ल्याइएको, ५२ वटा घुम्ती करदाता सेवा कार्यक्रम चलाइएको र चार हजार ३५८ करदाताको बिलबिजक तथा कारोबारको जाँच गरिएको छ । यस अवधिमा रु ३३ अर्बभन्दा बढी वैदेशिक सहायता प्राप्तिको लागि सम्झौता भएकामा त्यसमध्ये रु २० अर्ब अनुदान र रु १३ अर्ब ऋण सहायता रहेका छन् । देशको आर्थिक पूर्वाधार र सामाजिक क्षेत्रको विकासका लागि वैदेशिक लगानी आकर्षण गर्न र लगानीको वातावरण सकारात्मक रहेको सन्देश अन्तर्राष्ट्रिय जगत्लाई दिन नेपाल व्यापारिक तथा आर्थिक सम्मेलन गरिएको तथा लगानीको वातावरण बनाउँदै प्रत्यक्ष वैदेशिक लगानीलाई सहज रूपमा आमन्त्रण गर्ने गरी सहजीकरण गर्ने काम भएको जनाइएको छ ।

त्यसका लागि लगानी वोर्डका बैठक बसी जलविद्युत् क्षेत्रका लगानीकर्तालाई थप सुविधा दिने, त्रिभुवन विमानस्थलको स्तरोन्नति गर्ने, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको लागि लगानी जुटाउने तथा काठमाडौँ–तराई–मधेस द्रूत मार्गमा लगानी जुटाउने विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यस अवधिमा नेपालमा कोरियाली लगानी भित्र्याउन त्यहाँ लगानीकर्ताको भेला गरिएको, राजदूत नियुक्तिको मापदण्डको मस्यौदा तयार गरिएको र राहदानी वितरणलाई सहज बनाउन काउन्टर सङ्ख्या बढाएर फाराम लिने समय बढाइएको छ । 

मुलुकको पूर्वाधार विकासका लागि स्वदेशमै स्रोतको परिचालन गर्न अन्तर्राष्ट्रिय वित्त निगमलाई जलविद्युत्, पर्यटन जस्ता पूर्वाधार र कृषि क्षेत्रमा लागनी गर्ने गरी अमेरिकी डलर पाँचसय मिलियनको स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न स्वीकृति दिने निर्णयसमेत सरकारले यो अवधिमा गरेको थियो । 

राष्ट्रिय बिमा संस्थानलाई जीवन बिमा र निर्जीवन बिमा अलगअलग गर्न निर्देशन दिनुका साथै नागरिकको स्वास्थ्य बिमा सञ्चालन गर्न स्वास्थ्य बिमा नीति यो अवधिमा कार्यान्वयनमा ल्याइएको छ भने पशु सेवा विभागअन्र्तगतका ८४ वटा कार्यालयमा रु पाँच हजारसम्मको क्षतिपूर्तिसहितको नागरिक बडापत्र जारी गर्न गृहकार्य थालिएको छ । वन तथा वातावरण संरक्षण गर्ने उद्देश्यले निश्चित मापदण्डको आधारमा मात्र रुखहरू हटाउने नीति लागू गरिएको, राष्ट्रिय  जैविक विविधता रणनीति तयार पारिएको तथा सार्क विकास कोषअन्र्तगत सामुदायिक सूचना केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाइएको कार्य विवरणमा उल्लिखित छ । नगरोन्मुख गाउँ विकास समितिलाई एक आपसमा समाहित गरी मुलुकभर थप ७२ नयाँ नगरपालिका घोषणा गरिएको छ । 

मुक्त हलियालाई समाजमा पुनःस्थापना गराई उनीहरूको जीवनयापनलाई सहज बनाउन र पुनःस्थापनामा देखिएका समस्या समाधान गर्न कार्ययोजना कार्यान्वयनमा ल्याइएको, प्रहरीलाई व्यावसायिक र दक्ष बनाउन सहज हुने गरी प्रहरी नियमावली २०७१ कार्यान्वयनमा ल्याइएको, जन्म, मृत्यु विवाह, पूजाआजा र पास्नीलगायतका सामाजिक कामलाई व्यवस्थित र मर्यादित बनाउन सामाजिक सुधार ऐन २०३३ लाई प्रतिस्थापन गर्न नयाँ विधेयक संसदमा प्रस्तुत गर्ने निर्णयसमेत यस अवधिमा भएको छ । 

क्यासिनोबाट राजश्व असुली गर्ने र त्यसलाई व्यवस्थित बनाउन नियमावली अनुमोदन गर्नुका साथै युनेस्कोको प्रधान कार्यालयमा भगवान् गौतम बुद्वको मूर्ति स्थापना गर्ने निर्णयसमेत सरकारले गरेको थियो । अस्थायी शिक्षकलाई म्याद थपको कानुनी प्रवन्ध तथा सभासद्हरूको सिफारिशमा रु दश लाखको निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिइएकोलगायतका विभिन्न कामहरू यो अवधिमा भएको सरकारद्वारा जारी प्रेस वक्तव्यमा जनाइएको छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com