युगसम्बाद साप्ताहिक

महिला पत्रकार शारीरिक र मानसिक हिसाको शिकार
Monday, 05.26.2014, 07:26pm (GMT5.5)

काठमाडौं । समाचार बनाउने पत्रकारहरू आफैं समाचारको पात्र बनिरहेका छन् । विश्वमा जति आधुनिकता, स्वतन्त्रता, मानवअधिकार जस्ता नाराहरू बढी प्रचलनमा आएँछन् उति हिंसाजन्य घटनामा वृद्धि भैरहेको छ । यस्तोमा महिला पत्रकारहरू शारीरिक र मानसिक हिंसाको शिकार हुने गरेको पाइएको छ । इन्टरनेसनल न्यूज सेफ्टी इन्स्टिच्युट र दि इन्टरनेसनल मिडिया फाउन्डेसन नामक महिला पत्रकारसँग सम्बन्धित संस्थाले गत वर्ष सार्वजनिक गरेको प्रतिवेदन उत्तर अमेरिकामा सबैभन्दा धेरै महिला पत्रकारमाथि शारीरिक तथा मानसिक हिंसा हुने गरेको छ ।

तथ्यांक अनुसार विश्वभरका महिला पत्रकारहरूमध्ये एसिया प्रशान्त क्षेत्रमा २६ दशमलव ५१ प्रतिशत, अफ्रिकामा ११ दशमलव २६ प्रतिशत, अरबमा ४ दशमलव ८१ प्रतिशत, युरोपमा १८ दशमलव ५३ प्रतिशत, ल्याटिन अमेरिकामा १० दशमलव ६४ प्रतिशत र उत्तर अमेरिकामा २७ दशमलव ८४ प्रतिशत शारीरिक तथा मानसिक हिंसा हुने गरेको पाइएको छ ।

विश्वभरका एकहजार महिला पत्रकारबीच गरिएको अनुसन्धानमा दुई तिहाई महिलामाथि शारीरिक तथा मानसिक हिंसा हुने गरेको पाइएको छ ।

यसै क्रममा ‘पत्रकार महिलाका भौतिक सुरक्षा’ विषयमा नेपाल पत्रकार महासङ्घले दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । बुधबार सम्पन्न सम्मेलनले एघारबुँदे काठमाडौँ घोषणापत्र–२०७१ जारी गरेको छ । घोषणापत्रमा आमसञ्चार क्षेत्रलाई समावेशी बनाउन निश्चित अवधिसम्म सकारात्मक विभेदको नीति लागू गरी पत्रकार महिलाको सहभागितामा वृद्धि र पेसामा निरन्तरताको वातावरण बनाउन सरकार, सम्बद्ध सञ्चारगृह र महासङ्घलगायत सञ्चारसम्बद्ध सबै सङ्घसंस्थाको ध्यानाकर्षण गराउने, सरकारी तथा निजी सञ्चारमाध्यमका समाचार कक्ष लैङ्गिकमैत्री बनाई प्रकाशन, प्रशारणका विषयवस्तुमा समेत त्यसको प्रभाव देखिने वातावरण बनाउनुपर्ने रहेको छ । 

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सम्मेलनले जारी गरेका ११ बुँदे घोषणापत्र कार्यान्वयन गर्नका लागि सरकारसँग आग्रह गर्ने र एकैपटक सबै मुद्दा कार्यान्वयन गर्न नसकेपनि चरणबद्धरुपमा कार्यान्वयन गर्नका लागि महासङ्घले पहल गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो । प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालले घोषणापत्र कार्यान्वयनका लागि नीति निर्माण गर्ने तहमा पहल गर्न सक्दो सहयोग गर्ने उल्लेख गर्नुभयो । क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रमा पत्रकार महिलाको समान सहभागिताभन्दा पनि विशेष सहभागिता हुनुपर्ने उल्लेख गर्नुभयो । प्रेस युनियनका बागमती अञ्चल संयोजक होम लम्साल, क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष कुमार शाहले राज्यका अन्य निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने अवधारणाजस्तै सञ्चारमा पनि पत्रकार महिलाको सहभागितामा वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

यसअघि सम्मेलनमा महासङ्घका पूर्व उपाध्यक्ष यशोदा तिम्सिनाले प्रस्तुत गर्नुभएको कार्यपत्रमा पत्रकार महिलामाथि कार्यस्थलमा हिंसा, दुुव्र्यवहार, यौन हिंसा, मानसिक हिंसा, शारीरिक हिंसा, ज्यान मार्ने धम्की दिने जस्ता काम हुने उल्लेख गरिएको छ । त्यस्तै नेपालमा महिला पत्रकारको अवस्थालाई हेर्दा छ वर्षयता पत्रकार महिलामाथि हत्या, आक्रमण, धम्की, दुव्र्यवहार र सवारी साधनमा क्षति बनाइएको घटनासमेत कार्यपत्रमा उल्लेख गरिएको छ ।

महासङ्घका पूर्व उपाध्यक्ष तिम्सिनाले न्यूनतम पारिश्रामिक र नियुक्तिपत्र नपाएका कारण महिला पत्रकारका लागि काम गर्न कठिन हुँदै गएको बताउनुभयो । 

पत्रकार तिम्सिनाले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि नागरिक दैनिकका प्रधान सम्पादक प्रतीक प्रधानले टिप्पणी गर्दै पत्रकारिता क्षेत्र लैङ्गिकमैत्री हुन अझै नसकेको बताउनुभयो । 

सोही कार्यपत्रमाथि टिप्पणी गर्दै सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले ४५ प्रतिशत श्रमजीवी पत्रकारले नियुक्तिपत्र नलिइकन काम गर्नु, काम गरेबापत न्यूनतम पारिश्रामिक पनि नपाउनुले महिला पत्रकारको व्यावसायिक तथा भौतिक सुरक्षामा समस्या आएको टिप्पणी गर्नुभयो । 

सो सम्मेलनमा ‘महिला पत्रकारको पेशागत सुरक्षा’ का विषयमा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय समाचार समिति (रासस) का प्रमुख समाचारदाता निर्मला आचार्यले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन हुन नसक्नु, नियुक्तिपत्र र परिचयपत्र नै नपाएर काम गर्नुपर्ने अवस्था हुनु, समयमा पारिश्रमिक नपाउनु र कार्यस्थल लैङ्गिकमैत्री नहुनु र यौन हिंसाका घटनाहरू बढ्नु जस्ता कारण गर्दा महिला पत्रकारको पेसागत सुरक्षा हुन नसकेको बताउनुभयो ।

सो कार्यपत्रमाथि टिप्पणी गर्दै क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) का संस्थापक अध्यक्ष सङ्गीता लामाले कार्यस्थल महिलामैत्री नहुनु र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन हुन नसक्नु दुःखद् भएको बताउनुभयो ।

सोही कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल समाचारपत्र दैनिकका सम्पादक टंक पन्तले महिला पत्रकारको सङ्ख्यात्मक तथा गुणात्मक वृद्वि गर्न सरकार, प्रेस काउन्सिल र नेपाल पत्रकार महासङ्घले विशेष पहल गरेर ३३ प्रतिशतभन्दा बढी महिला पत्रकारलाई सञ्चारमाध्यममा काम गर्नसक्ने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com