युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 12.19.2018, 02:26am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
प्रकाश दाहालको आकस्मिक मृत्यु
Friday, 11.24.2017, 12:51pm (GMT+5.5)

काठमाडौं । अचेत अवस्थामा नर्भिक अस्पताल लगिएका दाहालको त्यसअघि नै  मृत्यु भैसकेको थियो । अस्पतालका अनुसार बिहान ५ बजेर ५० मिनेट अचेतावस्थामा दुई सुरक्षाकर्मीले थापाथलीस्थित नर्भिक अस्पताल ल्याउँदा नै उहाँको मृत्यु भएको अस्पतालका मृटुरोग विशेषज्ञ डा जेपी जैसवालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पताल ल्याउँदा नै उहाँका हातखुट्टा चिसो भइसकेको थियो, आकस्मिक कक्षमा ल्याइएको नौ मिनेटमै हामीले उहाँको निधन भइसकेको जानकारी परिवारलाई गराएका थियौँ ।”
“अस्पतालको आकस्मिक कक्षमा ल्याउँदा उहाँ पूर्णतया बेहोश, हातखुट्टा पूरै नीलो र कडा, श्वासप्रश्वास पूर्णतया बन्द, शरीर पूरै चिसो, इसिजी गर्दा मुटुले गतिविधि नगरेको हँुदा बिहान ५ बजेर ५९ मिनेटमा मृत घोषणा गरिएको थियो”, डा जैसवालले भन्नुभयो । उहाँको उपचारमा डा जैसवाल, डा यादव भट्टसहित, डा रवीन्द्रप्रसाद यादव, डा विमलेश श्रेष्ठ र डा महेश यादवलगायत संलग्न हुुनुहुन्थ्यो ।
शरीर चिसो र सुन्निएको पाइएकाले अस्पताल ल्याइपु¥याउनु तीन घण्टाअघि नै उहाँको मृत्यु भएको हुनसक्ने चिकित्सकले बताएका छन् । पुत्रको निधन खबर पाएपछि चुनावी अभियानमा झापामा रहनुभएका अध्यक्ष दाहाल हेलिकप्टरमार्फत काठमाडौँ आउनुभएको थियो ।
छोराको मृत्युपछि शोकमा डुब्नुभएकी प्रकाशकी आमा सीता दाहालको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नर्भिकबाट डा यादव भट्टको टोली दाहाल निवास लाजिम्पाट पुगेको छ । श्रीमान्को मृत्युको खबर सुनेर छोरासहित अस्पताल पुग्नुभएकी प्रकाशकी पत्नी सिर्जना त्रिपाठी अचेत भएपछि उहाँको पनि नर्भिककै आकस्मिक कक्षमा स्लाइन दिई उपचार भइरहेको अस्पतालले जनाएको छ । 
नेता दाहाल काठमाडौँ पुगी निवास लाजिम्पाट पुगेर बिहान ११ बजेर ३० मिनेटमा अस्पताल आउनुभएको थियो । उहाँसँगै उहाँकी पुत्री तथा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल पनि सँगै अस्पताल पुग्नुभएको थियो । 
वाम गठबन्धनबाट कञ्चनपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएकी प्रकाशकी पत्नी विना मगर पनि शोकाकुलावस्थामा अस्पताल पुग्नुभएको थियो । 
शनिबार बेलुकी सामान्य बिरामी भएपछि जाउलो खाएर सुतेका प्रकाश चुनावी अभियानका क्रममा चितवनबाट शनिबार काठमाडौँ आउनुभएको बताइएको छ । डा जैसवालले भन्नुभयो, “उहाँलाई आकस्मिक हृदयाघात भएको हो, किनकि उहाँको शरीर हेर्दा राम्रो छ, केही सेवन गरेको देखिएन, धेरैजसो युवामा आकस्मिक हृदयाघात देखिन्छ, वंशाणुगत पनि हुन्छ, ९९ प्रतिशत यही कारण मृत्यु भएको हुनसक्छ ।” अन्य एक प्रतिशतमा मस्तिष्काघातको काराण हुन सक्ने स्ट्रोक हुनसक्ने चिकित्सकले बताएका छन् । आकस्मिक हृदयाघातका कारण हिँड्दाहिँड्दै छाती दुख्ने र तुरुन्त ज्यान जान सक्ने डा जैसवालले बताउनुभयो ।

राजनीतिक नेताद्वारा प्रकाशलाई श्रद्धाञ्जलि
प्रकाशको शव नर्भिक अस्पतालबाट माओवादी केन्द्रको पेरिस डाँडास्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । अध्यक्ष दाहालले पार्टीको झण्डा ओढाई सुपुत्र प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । 
नेपाली काँग्रेस, नेकपा(एमाले), माओवादी केन्द्रलगायतका सबै उच्च नेताले पेरिस डाँडामा पुगेर दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गर्न काँग्रेस नेता तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, एमालेका नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, प्रवक्ता नेता तथा मन्त्री जनार्दन शर्मा, मन्त्री कृष्णबहादुर महरालगायत सबै नेता पेरिसडाँडा पुग्नुभएको थियो । प्रकाशको श्रद्धाञ्जलिका लागि अहिले पार्टी कार्यालयमा लागेको थियो । प्रकाशलाई पेरिसडाँडामा श्रद्धाञ्जलिपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।
माओवादी केन्द्रका नेता भुसाल, वर्षमान पुन एमालेका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल काँग्रेसका नेता प्रकाशमान सिंह, डा प्रकाशशरण महत, नायक शिव श्रेष्ठ, रेखा थापालगायत निधनको खबरले बिहानै नर्भिक पुग्नुभएको थियो । 
सञ्चारमाध्यमका प्रतिनिधि पनि बिहानदेखि दाहालको अवस्था बुझ्न पुगेका थिए । झापामा रहनुभएका अध्यक्ष दाहाल बिहान हेलिकप्टरबाट काठमाडाँै आउनुभएको थियो । उहाँ भावुक हुँदै करिब १२ः३० बजे छोरा निधन भएको अस्पताल नर्भिक पुग्नुभएको थियो । नेता दाहाल पुगेपछि मात्र अस्पतालले औपचारिक रूपमा निधन भएको जानकारी पत्रकार सम्मेलनमार्फत दिएको थियो । 

राष्ट्रपतिबाट समवेदना प्रकट
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुपुत्र तथा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । 
राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माको नेतृत्वमा सचिवालयका पदाधिकारीहरूको एक समूहले आइतबार माओवादी केन्द्र मुख्यालय, पेरिसडाँडामा अध्यक्ष प्रचण्डसँग भेट गरी राष्ट्रपतिका तर्फबाट दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको हो ।

प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको असामयिक निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललेजारी गर्नुभएको विज्ञप्तिमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशको निधनप्रति गहिरो दुःख व्यक्त गरेको उल्लेख छ । 
 प्रधानमन्त्री देउवाले दिवंगत प्रकाशको चीरशान्तिको कामना गर्दै पूर्वप्रधानमन्त्री दाहाललगायत शोकसन्तप्त परिवारजनप्रतिसमवेदना प्रकट गर्नुभएको छ । 
 स्व प्रकाशप्रति काँग्रेसले श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको चीर शान्तिको कामना र परिवारजनप्रति समवेदना प्रकट गरेको छ । यसैगरी काँगे्रस वरिष्ठ नेता रामचन्द्र पौडेल र राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पनि दाहालको निधनप्रति दुःख व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गर्नुभएको छ । 
यसै गरी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालका पूर्वप्रधानमन्त्री एंव नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको असमायिक निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । विदेशमन्त्री स्वराजले आइतबार ट्वीट गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।
यसैबीच नेकपा (माओवादी केन्द्र)ले पार्टीका पोलिटब्युरो सदस्य सत्कार दाहाल (प्रकाश) को हृदयघातबाट अल्पायुमै भएको निधनले पार्टी र सिंगो आन्दोलनमा ठूलो क्षति पुगेको जनाएको छ । 
पार्टी प्रवक्ता पम्फा भुसालले आइतबार जारी गर्नुभएको शोक वक्तव्यमा पार्टीले एउटा जुझारु, उदीयमान नेता र व्यवस्थापक गुमाएको उल्लेख छ । प्रवक्ता भुसालले दाहालको निधन

राप्रपाबाट दुःख व्यक्त
राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ ।  पार्टीका प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा सगरमाथा आरोहणीसमेत रहनुभएका दाहालको आइतबार बिहान हृदयाघातका कारण भएको निधनमा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ । 
अध्यक्ष प्रचण्डलाई राजनीतिलगायत विषयमा आवश्यक सल्लाह सुझाव दिने उक्त पार्टीका नेता प्रकाशको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको विज्ञप्तिमा जनाइएको छ । यसअघि पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले पनि ट्विटरमार्फत उहाँको निधनप्रति समवेदना व्यक्त गर्नुभएको छ । 
यसैगरी राप्रपा (प्रजातान्त्रिक)ले दाहालको निधनमा दुःख व्यक्त गरेको छ । पार्टीका महामन्त्री राजाराम श्रेष्ठले विज्ञप्ति जारी गर्दै दाहालको निधनले आफ्नो पार्टी स्तब्ध रहेको जनाउनुभएको छ । 
यस्तै एकीकृत राप्रपा(राष्ट्रवादी)ले पनि शोकसंतप्न परिवारप्रति समवेदना व्यक्त गरेको छ । पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले उहाँको निधनले असल राजनीतिकर्मीको अभाव खट्कने बताउनुभयो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
ढल फुटेकको तीन महिना भो कसैको ध्यान गएन (11.24.2017)
घोषणापत्र कार्यान्वयन गरे, दश वर्षमा मुलुकको कायापलट (11.15.2017)
प्राधिकरणको लापरवाहीले यसरी गयो एक होनहार युवाको ज्यान (11.07.2017)
कहाँकहाँका बागीले लिए उम्मेदवारी फिर्ता (11.07.2017)
स्थानीय तहमा संघ संगठन गठन नहुने (09.12.2017)
जम्बो मन्त्रिमण्डलको नयाँ कीर्तिमान (09.12.2017)
लिपुलेक सम्झौता खारेजी र भारतीय सेना हटाउन ज्ञापनपत्र (09.06.2017)
राप्रपाद्वारा रिट निवेदन दर्ता (08.29.2017)
पन्चानब्बेवटा राजनीतिक दल दर्ताको निवेदन (08.29.2017)
बाढीपहिरो पीडित कुपोषणको शिकार (08.29.2017)
भदौ ४ र ५ गते महासङ्घको महाधिवेशन (08.15.2017)
घले दम्पतीद्वारा रु एक करोड दिने घोषणा (08.15.2017)
अनशन अन्त्य गर्न वार्ता समितिको अपिल (08.15.2017)
रेणुको विजय : नियोजित कि यथार्थ ? (08.08.2017)
सरकारी खर्चमा पढ्ने सरकारले तोकेको ठाउँमा नजाने (08.08.2017)
चार बालिकाको डुबेर मृत्यु भएको घटनामा अनुसन्धान (08.08.2017)
‘काठमाडौँका सडक पासोमा परिणत भए’ (07.26.2017)
च्यातिएका मतपत्र सर्वाेच्च अदालत पठाइने (06.28.2017)
वायु प्रदूषणको मारमा नेपाली पर्यटन (06.22.2017)
दरबार हत्याकाण्ड कहिलेसम्म रहस्यमै ? (06.15.2017)



 
::| Latest News

 
[Page Top]