युगसम्बाद साप्ताहिक

अन्तरीक्षमा पठाइयो नेपालको पहिलो स्याटलाइट
Thursday, 04.25.2019, 02:16pm (GMT5.5)

काठमाडौं । नेपालको पहिलो स्याटलाइट प्रक्षेपण गरिएको छ । नेपालीस्याट– १ नामक उक्त स्याटलाइटमा नेपालको राष्ट्रिय झण्डाका साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को प्रतीकचिन्ह अंकित छ । अमेरिकाको न्युयोर्क समय अनुसार बुधबार दिउसो ४ बजेर ४५ मिनेट नेपाली समय अनुसार वैशाख ५ गते बिहान २ बजेर ३१ मिनेटमा नेपालको स्याटलाइट अन्तरिक्षमा पठाइएको हो । 
जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक)बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहनुभएका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहनुभएका हरिराम श्रेष्ठको पहलमा उक्त कार्यक्रम जापानको ‘बर्ड–३’ परियोजना अन्तर्गत स्याटेलाइट प्रक्षेपण गरिएको हो ।
नाष्टले भूउपग्रहको सूचना लिनाका लागि आफ्नै कार्यालयमा ग्राउण्ड स्टेशन निर्माण गर्ने तयारी अघि बढेको छ । उक्त स्टेशन निर्माणका लागि हाल २१ दिने सूचनासहितको बोलपत्र आह्वान गरिएको नाष्टका इञ्जिनीयर रोशन पाण्डेले जानकारी दिनुभयो । 
नाष्टमा पहिले लामो समय उपकुलपति नियुक्त नहँुदा ग्राउण्ड स्टेशन निर्माणका लागि व्यवस्थापकीय समस्या परेको हो । विगतमा उपकुलपति र हाल सचिवको पद रिक्त रहँदा केही समस्या हुन्छ कि भन्ने महसुस गरिएको छ । जाक्साले नाष्टलाई ९५ प्रतिशत सम्भावना भएको प्रविधिका साथै १०० प्रतिशत क्षमता भएको अर्बिटमा छाड्ने दर उपलब्ध गराइसकेको छ । ग्राउण्ड स्टेशनको एण्टिनाको दिशाले समस्या नपारेमा भूउपग्रहबाट छिट्टै जानकारी पाउन सकिने बताइएको छ ।
नाष्टले भूउपग्रह प्रक्षेपण गरिसकेपछि मास्के र श्रेष्ठ जापानमा रहँदासम्म दैनिक त्यहाँको जानकारी सहकार्र्य गरेर अघि बढ्नेछन् । उहाँहरू हाल ‘बर्ड–४’ परियोजनाअन्तर्गत फिलिपिन्स, पनामा र जापानको भूउपग्रह निर्माणमा जुट्नुभएको बताइएको छ । नाष्टका श्रेष्ठ एक वर्षको अध्ययन समाप्त गरेर नेपाल फर्कनु हुनेछ भने क्यूटेक विश्वविद्यालयको सदस्यका रूपमा रहनुभएका मास्केका लागि नाष्टले कार्यालयमा प्रयोगशाला निर्माण गरेर काम गराउने योजना अघि बढाएको छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com