युगसम्बाद साप्ताहिक

राष्ट्रका लागि अब सुध्रिने मौका आएको छ - यादब देवकोटा
Wednesday, 11.28.2012, 05:51am (GMT5.5)

लामो समयदेखिको राजनीतिक अन्योल चिर्दै राष्ट्रपतिबाट सहमतीय सरकार गठन गर्न राजनीतिक दलहरूलाई आव्हान भएपछि यसले समर्थन र विरोध दुवै पाएको छ । सत्तापक्ष राष्ट्रपतिको कदमको विरोधमा उत्रियो भने विपक्षीले यसको स्वागत गरिरहेको छ । नेताहरूले राजनीतिक निकासका लागि भन्दै आफ्नै लागि मात्र सहमति हुनुपर्ने र सत्ता स्वार्थका लागि मुलुकलाई जसरी खेलौना बनाइरहेका छन् अब पनि त्यसमा सुधार हुन्छ भन्ने आशा कमै भए पनि यतिबेला दलहरूका लागि सहमति गर्नैपर्ने वाध्यात्मक स्थिति छ । राजनीतिक दलका नेताहरूको व्यक्तिगत स्वार्थले प्राथमिकता पाउँदा जस्तोसुकै परिवर्तनन भए पनि यो मुलुकमा केही हुँदैन भन्ने मान्यताले डेरा जमाउँदै गएको स्थितिमा राष्ट्रपतिको आव्हानको पालना गर्दै दलका नेताहरूले सहमतीय सरकार गठन गर्न सफल भए त्यो काम नेताहरूका लागि पनि सुध्रने मौका बन्नेछ । जनताको नजरमा गिर्दैगएको शाख पुनः प्राप्त हुनसक्छ ।

लोकतन्त्र हुँदै गणतन्त्र घोषणा भएको झण्डै पाँच वर्षको अवधिको गतिविधिलाई मूल्यांकन गर्ने हो भने यतिबेला नेपालमा केही हुँदैन भन्नेहरूकै संख्यामा बढोत्तरी आइरहेको छ । सत्ता पक्षले विपक्षीलाई काम गर्न नदिएको आरोप लगाएर आफू चोखो हुने गरेको छ भने विपक्षीहरू सत्तापक्ष तानाशाही बन्दै गएको भन्दै एकले अर्कोलाई विकास विरोधी, जनविरोधी, विदेशीको दलाल, सामन्तका पक्षपोषक भनेर आरोप लगाउँछन् तर स्वयं मुलुक सपार्ने काममा भने कुनै अभियान चलाउँदैनन् । सामाजिक, आर्थिक, शैक्षिक क्षेत्र जताततै निराशाका स्वरहरू मात्र सुनिन्छन् । तर कसैले पनि आफूलाई हेर्ने गरेको पाइँदैन । अरुलाई गाली गर्ने र अरुलाई दोष दिन हामी जति अग्रसर हुनेहरू आफ्नो गल्ती सुधार्ने र आफूलाई सच्चा नागरिक बनाउनेतिर पटक्कै उत्सुक छैनन् । अरुले गरेन भनेर आफू पनि चुपचाप रमिते मात्र भएर बस्ने कि केही गर्न खोज्ने ? यो अहम् सवाल मुलुकको संक्रमणकालले हरेक सचेत नागरिकको मनमा उब्जाइदिएको हुनुपर्छ तर सचेतहरू अचेत बनेको अहिलेको सन्दर्भमा ‘परिवर्तनको सुरुवात आफैंबाट गर्नुपर्छ’ भन्ने मान्यताको विकास हुन सकेको छैन । अरुले गरेन भन्नेले आफूले गर्न नसकेको वा नचाहेको कुरा स्वीकार गर्न के को आपत्ति ? अहिलेको जल्दोबल्दो सवाल नै यही हो ।

अब हामीले गर्ने काम भनेको युवा पुस्ताको जोश–जाँगर र पाको पुस्ताको ज्ञान–अनुभव र सीपको मिश्रण गरेर मुलुकको विकास गर्ने आफ्नैखाले प्रविधिको विकास हो । यसका लागि राजनीतिक सहमति, सहकार्य कायम हुनु पर्दछ । फरक आदर्श, सिद्धान्त र नीति अँगालेका दलहरूको अन्तिम गन्तव्य राष्ट्र नै हुने भएकाले देश विकासका लागि एकले अर्कोलाई छिर्के हान्नुपर्ने कुनै कारण छैन । जनताको जीवनस्तर उकास्ने सवालमा दन्तबझान गर्नुको पनि कुनै औचित्य नहुनुपर्ने हो । मुलुक सपार्न चाल्नुपर्ने कदममा एकमत हुनुपर्ने हो । कसरी आफ्नो माटो सुहाउँदो प्रविधि र नेपाली श्रम–सीपको अत्यधिक उपयोग हुने काम गर्न सकिन्छ ? त्यसतातिर ध्यान दिनुपर्ने हो । तर यी सब कुरा अहिले सत्तामै गएर अड्किएको छ । सत्ता स्वार्गको गलपासोले मुलुकलाई कस्दै लगेको छ । यति किलोमिटर सडक बन्यो भन्नेमै मुलुकको विकासको मापन हुने गरेको छ । विकास भनेको सडक, पुल, ठूलठूला घर मात्र होइन, जनताको आयस्तर पनि उकासिनु हो । सडक पुगेपछि सो क्षेत्रमा उत्पादित वस्तुले बजार पाउनुपर्छ, त्यहाँका जनताको जीवन सरल बन्दै जानुपर्छ । तर अहिलेसम्म के देखिएको छ भने सडक पुग्यो तर जनताको समस्या जस्ताको तस्तै । 

सबभन्दा पिछडिएको क्षेत्र भनेर प्रचार गरिने कर्णालीमा अथाह प्राकृतिक स्रोत साधन छ र त्यहाँको सर्वाधिक सम्भावना बोकेको स्याउ खेती हो र सरकारले स्याउ खेतीका लागि लगानी पनि गर्याे तर प्रत्येक वर्ष स्याउ पाकेपछि बोटमै कुहिन्छ । त्यसको न बजार व्यवस्थापन हुन सकेको छ न त भण्डारणकै सुविधा । गाउँभरि स्याउको बास्ना चल्छ तर खरिददार कोही हुँदैनन् । मुलुकभरि नै भारत र चीनबाट आयात गरिएका स्याउले बजार ढाकेको हुन्छ तर आफ्नै देशमा उत्पादिन स्याउ कुहिएर जान्छ । यस्तो विडम्वनापूर्ण स्थितिको अन्त्यका लागि कोही त तात्नुपर्ने थियो । अहिलेलाई त्यो पनि देखिंदैन । यति हुँदाहुँदै पनि विकासका आफ्नै नमूना प्रस्तुत गर्नेहरू सक्रिय देखिएका छन् । कर्णालीको गरीबीको कुरा गरेर आफ्नो पेट भर्नेहरूलाई खबरदारी गर्नुपर्छ । कर्णाली गरीबीको भण्डार होइन मुलुक उन्नत बनाउने स्रोतको खानी हो भन्ने सबैले बुझेका छन् । यति हुँदाहुँदै पनि कर्णालीमा चामल ढुवाकीकै लागि रडाको मच्चिन्छ ।

भनिन्छ हरेक निराशाका बीचमा कहीं न कहीं आशाको किरण लुकेको हुन्छ । आकाशै खसाउँछ कि भने जसरी मडारिएको कालो बादलभित्र सेतो चाँदीको घेरा हुन्छ र त्यही सेतो घेरा हेरेर मानिस आशावादी बन्छ । तर नेपालमा त्यो आशाको सानो घेरा पनि छैन भन्नेहरू अत्यधिक छन् । आफूलाई सबैभन्दा बढी जान्ने र आफू मात्रै सबैभन्दा सही र असल ठान्ने मपाइत्व प्रदर्शनलाई नै जान्ने–बुझ्ने ठान्ने हो भने मुलुकले उहिले नै धरै फड्को मारिसकेको हुन्थ्यो । तर त्यस्ता जान्ने बुझ्नेहरूले आफ्ना लागि जे जति गरे समाजका लागि के गरे त भन्ने सवाल जहिले पनि अनुत्तरित नै छ । जान्ने बुझ्नेहरू सबै गलत छैनन्, धेरै मानिसहरू अहिले पनि मुलुक सपार्नुपर्छ, कम्तिमा पनि म गल्ती गर्दिन भन्ने भावना बोकेर कर्मक्षेत्रमा खटिरहेका छन् । मुलुको दीर्घकालीन हितका पक्षमा नियम, कानुनलाई टेकेर काम गर्नेहरूको अभाव छैन । त्यस्ता व्यक्तिहरू वर्तमान सन्दर्भमा कालो बादलभित्रका चाँदीका घेरा हुन् । तर उनीहरू चारैतिरबाट लखेटिएका हुन्छन् ।

जल सम्पदाले भरिपूर्ण नेपालमा खानेपानीकै हाहाकार छ, विद्युतको संकट छ, अथाह जडिबुटीको खानी भएर पनि भोकमरी छ । जैविक विविधता, प्राकृतिक स्रोत साधन र धार्मिक–सांस्कृतिक विविधताबीच सहिष्णुतापूर्ण वातावरणमा विकसित भएको सामाजिक जीवनलाई खोतल्ने हो भने हामीले विकासका थुप्रै नमूनाहरू प्राप्त गर्नेछौं । एउटा गाउँले किसानमा रहेको परम्परागत कृषिको ज्ञान र एउटा शहरमा बसेर शिक्षा आर्जन गरेको ठिटोको आधुनिक ज्ञानको मिश्रणबाट मुलुकले खाद्यान्न उत्पादनमा फड्को मार्न सक्छ । तर त्यस्तो जनशक्तिको परिचालनको सोच विकसित नै भएको छैन । राजनीतिक दलका नेताहरूलाई युवावर्गलाई राष्ट्र उत्थानमा परिचालन गर्नुभन्दा राजनीतिक विरोध प्रदर्शन, बन्द–हड्तालमा उतार्नमा मज्जा आउँछ । उनीहरू युवाहरूको काँधमा बन्दुक राखेर मुलुक सपार्ने नारासहित मुलुकमा ध्वंश गर्न उद्यत देखिन्छन् । अथाह पौरख गर्ने शक्ति र सामथ्र्य भएको युवावर्ग अवसरको खोजीमा भौतारिइरहेका छन् । उनीहरूको समुचित उपयोग राष्ट्र विकासका लागि गर्ने नीति नै छैन । वैदेशिक रोजगारको नाममा युवा शक्तिलाई विदेश धनी बनाउने काममा उपयोग गरिएको छ । त्यही विदेशी माटोमा श्रम गर्ने युवाहरूले कमाएको पैसाले मुलुक धानिएको छ ।

जीवन प्राकृतिक स्वरुपमा बिताउने कि कृतिम स्वरुपमा ? यो अहिलेको समयको ठूलो द्वन्द्वको विषय हो । मानिस भएर जन्मेपछि उसले माटोसंग खेल्न जानेन भने उसले प्रकृतिको सामिप्यता पाउँदैन । जसले प्रकृतिको सामिप्यता पाउँदैन उसको जीवन मृत्युतुल्य हुन्छ । हामी नेपाली स्वभावैले प्रकृतिप्रेमी भएको हुँदा प्रकृति संरक्षण अहिलेको पहिलो आवश्यकता हो । राजनीतिक नाराका भरमा प्रकृतिलाई ध्वस्त गर्दै विकासको फलाको हालेर विदेशी पोस्ने काम अहिले भैरहेको छ । जलविद्युत उत्पादन गर्ने भनेर ठूलठूला आयोजना विदेशीलाई सुम्पिएका छन् । ती आयोजनाबाट विद्युत उत्पादन भएपछि त्यसको खपत नेपाली जनताले गर्ने नभै विदेशीले गर्दछन् । नेपालले सित्तैमा विजुली पाएको नाममा नगण्य विद्युत र कर पाउनेछ । यसले नेपालको विकास हुँदैन । नेपालमा स्वतन्त्र ऊर्जा उत्पादकहरू नभएका होइनन्, तर उनीहरूलाई काम गर्ने वातावरण तयार पार्न सकिएको छैन । औद्योगिक–व्यावसायिक क्षेत्रले नेपालको प्राकृतिक स्रोत साधनमा निर्भर रहने गरी उद्योग–धन्दा चलाउन सकेका छैनन् । यसमा दोष कसको हो ? लगानीकर्ताको कि लगानीकर्तालाई आकर्षित गर्न नसक्ने राज्य संयन्त्रको ? सोचनीय विषय छ । तर पनि आशाका किरणहरू मरिसकेका छैनन् । मुलुक सपार्नुपर्छ भन्ने सोच विस्तारै पलाउँदैछ । नयाँ नयाँ सोचहरूको विकास भैरहेका छन् । 

एक एक मिलेर नै सय बन्ने हो, सयबाट हजार, हजारबाट लाख । लाखौं हातहरू एकजुट भएर कर्मक्षेत्रमा जुट्न सकियो भने मुलुकका तमाम विकृति, विसंगति र अवरोधहरू समाप्त भएर जानेछन् । “ठाउँ अनुसारको काम र काम अनुसारका माम”को व्यवस्था गर्दै “आफ्नो ठाउँ आफैं बनाऊ”को सूत्र पुनः जगाउनुपरेको छ । विकास शहरबाट गाउँ आफैं जाँदैन । शहरमा बसेर डोल्पाको दुर्गम गाउँको विकासको नक्सा कोरेर फल लाग्दैन । सिंहदरबारभित्र बसेर कर्णालीमा स्याउ खेती गर्ने योजना बनाएजस्तै हुन्छ । तसर्थ हामी आफ्नो ठाउँको विकासका लागि आफैं जुटौं, सिंहदरबारको मुख ताक्नुको साटो आफूसंग भएको स्रोत, साधन र सीपको प्रयोग गरौं । राजनीतिक दलको नाराको पछि लागेर पक्ष र विपक्षमा विभाजित हुनुको साटो एकजुट भएर देश सपार्ने अभियानमा लाग्ने हो भने मुलुकमा नयाँ परिस्थितिको जन्म चाँडै हुनेछ । यसको सुरुवात हामी आफैंबाट गरौं !

अहिले मुलुक खप्नै नसक्ने व्यथाहरूबाट पीडित छ । यो पीडा कम गर्नु प्रत्येक नेपालीको कर्तव्य हो । अहिलेसम्म देखिएका प्रवृत्तिहरूले नेपाललाई समुन्नत राष्ट्रको कोटीमा पुर्याउनुको साटो अस्थिर र असफल राष्ट्रको श्रेणीमा पुर्याउने छ । यसलाई चिर्न हरेक नेपालीबीच हातेमालो आवश्यक छ । त्यो हातेमालोले सरकार, राजनीतिक दल, कर्मचारी प्रशासन सबैलाई घच्घच्याउने छ । आ–आफ्नो स्वार्थको पछि कुदेका उच्चस्थानमा आशिनहरूले पनि आफ्नो भूमिका कस्तो हुनुपर्छ भन्ने बुझ्नेछन् । अहिलेको आवश्यकता भनेको नेताहरूले गरेनन् भनेर चुपचाप सहेर बस्नुको साटो नेताहरूलाई नै घच्घच्याउने गरी श्रम गर्नुपरेको छ । काम गर्नेहरूलाई कसैले पनि होच्याउँदैन । भ्रष्टाचार, अनियमितता, दूराचार, ठगी, बेइमानी गर्नेहरू मात्र अरुबाट डराउनुपर्छ । तपाईं हामीले गरेको राम्रो कामको पनि अनुसरण हुन्छ र खराब कामको पनि । अहिले राम्रो काम गर्नेभन्दा नराम्रो काम गर्नेहरू धेरै निस्किएकाले त्यस्तै काम बढी हुने गरेको छ । तर जो कोहीले राम्रो कामको थालनी गर्या भने त्यसलाई पछ्याउनेहरू पनि धेरै हुन्छन् । फरक के मात्र हो भने त्यस्तो काममा व्यक्तिगत स्वार्थ घुस्नु हुँदैन । सामाजिक सेवाका नाममा दुःखीहरूको नांगो शरीरको तस्बीर बेचेर आफ्नो आङमा बहुमूल्य कपडा सजाएजस्तो चाहिं हुनुहुँदैन । त्यसकारण अहिले मुलुकले खोजिरहेको एउटै चिज भनेको कालो बादलभित्र लुकेको चाँदीको घेरा हो । त्यो घेरा खोज्ने काम हामी सबैले गरौं । अरुले गरेन भन्दै समय बिताउनुको साटो मुलुक सपार्ने काम आफैंबाट सुरु गरौं ! 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com